साहित्य

शिक्षकबाट निवृत्त भएपछि लेखनमा जमेका साहित्यकार दलबहादुर

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

शिक्षकबाट निवृत्त भएपछि लेखनमा जमेका साहित्यकार दलबहादुर

दलबहादुर गुरुङ निवृत्त शिक्षक हुन् । उनले पढाउन छाडेको गत असारमा ७ वर्ष पुग्यो ।


Advertisement

अहिले आएर उनलाई शिक्षण पेशा जाँगिर होइन, समाज परिवर्तन गर्ने यात्रा रहेछ जस्तो लाग्न थालेको छ । 


Advertisement

यतिबेला उनी साहित्य सिर्जनामा छन्, उनी सामाजिक सेवामा छन् । उद्यमी महिलाका संघर्ष र सफलताका कथालाई बुनेर पौरखी पात्र पुस्तक लेखिसकेका छन् । उनको लेखाइ, अध्ययन र वाचन लोभलाग्दो छ ।

लेखकका रूपमा आफ्नो परिचय फराकिलो बनाउँदैछन् उनी । उनी प्रगतिशील लेखक संघ रुपन्देही शाखा अध्यक्ष पनि हुन् ।


Advertisement

दलबहादुर भन्छन्, ‘निरन्तर जो साधनामा लागिरहन्छन् उनीहरूको जीवन सुन्दर हुन्छ ।’ उनलाई मोसफलको साहित्यका ताराका रूपमा पनि लिइन्छ ।

सदा हँसिलो मुहारमा देखिने गुरुङ थकित मुद्रामा कहिल्यै देखिन्नन् । पाल्पाको तिनाउको दोभानमा जन्मिएका दलबहादुर गुरुङले नसोध मलाई (गीतिनाटक), आस्थाका स्वरहरू (चटनीसंग्रह), चिट्ठी साहिँलीलाई (यात्रा संस्मरण), नौ फन्का (लामो कविता), हात्ती करायो (बालगीत) लेखिसकेका छन् ।

संरक्षण यात्रा उनको प्रकाशोन्मुख कृति हो । उनले विभिन्न साहित्यिक र सामाजिक संघसंस्थाबाट थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । सन् २०१८ मा डब्ल्यूडब्ल्यूएफ संरक्षण पुरस्कार प्राप्त गरेका उनले शैक्षिक योजना तथा व्यवस्थापन र स्वास्थ्य शिक्षामा स्नातकोत्तर गरेका छन् । 

पत्रकार महासंघ पाल्पाबाट २ पटक केन्द्रीय पार्षद् बनिसकेका दलबहादुर गुरुङले दोभान माविको माध्यमिक तहमा ५ वर्ष पत्रकारिता विषय अध्यापन गराए । पत्रकारिता उनको रुचिको विषय हो । पत्रकारिता सम्बन्धी विभिन्न तालिम लिएका उनले खोजमूलक फिचर लेख्न रुचाउँछन् ।

उनी भन्छन्, ‘गाउँघरमा घुम्दाघुम्दै देखेको कुरा लेख्ने बानीले पत्रकारिता गर्ने रुचि जगायो ।’

कथ्य भाषामा जनबोलीलाई टिपेर लेख्ने गर्छन् उनी । त्यो उनको खुबीलाई धेरैले रुचाउँछन् । केन्द्रदेखि मोफसलका विभिन्न पत्रिकामा उनले लेख लेख्छन् । 

लकडाउनमा उनले आफ्नो स्कूले जीवनको संस्मरण लेखेका थिए । मिहिन तरिकाले जीवनको सूक्ष्म भोगाइ सहितको लेखाइले नयाँ पुस्तालाई केही सन्देश दिन सक्ने बताउँछन् उनी ।

उनले लकडाउनको सिर्जना नामक पाण्डुलिपि तयार पारेका छन् । पेन्सन खाएर सुत्दै बसेका छैनन्, सामाजिक क्षेत्रमा क्रियाशील छन् उनी । पाल्पाको तिनाउमा रहेको सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष उनले मन्दिरको व्यवस्थापन र प्रचारप्रसारमा जोड दिएका छन् । मन्दिरको ऐतिहासिक पुस्तक छापेका छन् । ४ वटा भाषामा ब्रोसियर प्रकाशन गरेका छन् ।

सहकारी, पर्यटन, शिक्षा उनका रुचीका क्षेत्र हुन् । अध्ययन गर्ने उनको बानी रहर लाग्दो छ । ‘तिमी जहाँ छौ, जस्तो अवस्थामा छौ, दिनमा ५ मिनेट भए पनि पुस्तक पढ भनिएको ऋग्वेदको अर्थपूर्ण भनाइ सम्झनामा आइरहन्छ । त्यसैले होला हिँड्ने बेला झोलामा र सुत्ने बिस्तारामा किताब छुट्दैन । मेरा अभिभावक नै पुस्तक हुन्,’ उनी भन्छन् ।

अहिलेका युवा पुस्तामा अध्ययन कम भएको भन्दै युवा पुस्तालाई पुस्तक पढ्न गुरुङ सुझाउँछन् । ‘अध्ययनमा जति धेरै गहिराइमा जराहरू जान्छन्, उति नै उचाइमा वृक्षको उचाइ बढेझैं हो,’ उनी भन्छन् ।

उनका बुवाआमाको निधन भइसकेको छ । उनका अभिभावक भनेका नै पुस्तक भएका छन् । ‘पुस्तकले समय चिनाउँछ, सल्लाहकार हो पुस्तक । पुस्तक साथी र दिशानिर्देशक पनि हो,’ उनले भने ।

दलबहादुरले सानै उमेरमा शिक्षण सेवा शुरू गरेका हुन् । त्यतिबेला जुँगाको रेखी बसेको पनि थिएन उनको । 

दलबहादुरका विगतका दिनहरू सुखमय रहेनन् । ठूलो परिवार थियो । घरमा कमाइ गर्ने कम थिए । भएको जग्गाजमिन सबै २०३८ असोज १३ गते आएको तिनाउको बाढीले लगेपछि भूमिहीन भए, सहाराविहीन भए उनीहरू ।

दलबहादुरले पाल्पाको दोभानमा बाख्रा चराएर बुटवलको ज्ञानोदय रात्री माविमा स्कूल पढ्न आउँथे भन्ने कुरा आफ्नो स्कूले जीवनको संस्मरणमा लेखेका छन् । उनले लेखेका छन्, ‘कुहिरे भीरको सिरेटोले आफ्नै नाक, कान छाम्दा आफैंलाई थाहै हुन्थेन । सुत्दा रातको १२ बज्थ्यो ।’

उनका बुवाआमा व्यापारको सिलसिलामा काभ्रेको कोशिदेखा गाउँबाट पाल्पाको दोभान आइपुगेका रहेछन् । यो कुरा २०१८ सालको हो । उनीहरू रक्सौल हुँदै सुनौली रेल चढेर आएका रहेछन् । उनका बुवाले सधैं दौरा–सुरुवाल, टोपी र आस्कोट लगाउने भएकाले सुनौलीमा देख्नेहरूले ‘नेपाल से आया नेपाले है’ भन्ने गर्दा रहेछन् । 

त्यही भएर उनका बुवालाई लालबहादुर भनेर होइन, आज पनि पाका पुरानाले ‘नेपाले साहु’ भनेर नै चिन्दछन् । निरक्षर थिए उनका बुवाआमा । तैपनि ३ बहिनी र ५ दाइभाइलाई सक्दो पढाए । दलबहादुरको राजनीतिमा गहिरो चेष्टा छ, अध्यनन पनि । मार्क्सवादी चिन्तनले उनलाई समाज बुझ्न सिकाएको सत्य बताउँछन् । दलबहादुर वन, वातावरण र जैविक विविधता संरक्षणमा निरन्तर गतिशील छन् ।

आफ्नै मिहिनत र परिश्रमले उनले आफूलाई दलबहादुर भनेर चिनाएका छन् । पौरखी दलबहादुरले कहरलाग्दो जीवन अवस्थाबाट आजका दिनसम्म आउँदा पनि सुखको श्वास फेर्न भ्याएका छैनन् । सधैं हतारो । फुर्सदमा हुँदैनन् उनी । कहिलेकाहीँ गीत लेख्छन्, कहिले वृत्तचित्रको स्क्रीप्ट लेख्छन् ।

बालअधिकार टेलिफिल्मको कथा, पटकथा लेखेका छन् उनले । बाँचुञ्जेल उनको दौडधूप पढाइ, लेखाइ, समाजसेवा त होला नि जस्तै लाग्छ । खिस्स हाँसिरहने दलबहादुरको बोली मीठो, कुरोमा गहिराइ, सुनिरहुँ लाग्ने । रिसाउँदा नि हाँसेकैझैं लाग्ने !

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्