पूँजीवादले निम्त्याएको समस्याको वीभत्स चित्र

संसारकै ध्यान तान्दै कोरियाली सिरियल 'स्क्विड गेम’, ९० देशमा कसरी बन्यो पहिलो नम्बरको शो ?

विन्देश दहाल
विन्देश दहाल

लोकान्तर डट् कमका कूटनीतिक मामिला सम्पादक विन्देश दहाल अन्तर्राष्ट्रिय राजनीति तथा पूर्वीय अध्यात्मबारे लेख्छन् । 

संसारकै ध्यान तान्दै कोरियाली सिरियल 'स्क्विड गेम’, ९० देशमा कसरी बन्यो पहिलो नम्बरको शो ?

विगत एक महिनादेखि सारा संसार दक्षिण कोरियाको एक टीभी धारावाहिकको मोहनीमा बाँधिएको छ । असोज १ गते नेटफ्लिक्सले सार्वजनिक गरेको ‘स्क्विड गेम’ ले संसारको ध्यान आफूतिर तानेको हो । ९० वटा देशमा यो सिरिज अहिले पहिलो नम्बरको शो बन्न सफल भएको छ ।


Advertisement

ऋणमा चुर्लुम्म डुबेका ४५६ जना मानिसलाई एक रहस्यमयी संस्थाले खेलमा सहभागी हुने र अर्बौं वन (दक्षिण कोरियाको मुद्रा) जित्ने अवसर दिन्छ । बच्चाहरूले खेल्ने ‘रातो बत्ती, हरियो बत्ती’, ‘डोरी तानातान’, मुट्ठीमा कतिवटा गुच्चा छ’ जस्ता खेलमा उनीहरू सहभागी हुनुपर्ने र अन्तिम विजेताले अर्बौं वन पाउने बताइन्छ । तर खेलमा हार्नेलाई ठाउँको ठाउँ गोली हानेर मारिन्छ । 


Advertisement

जीवन नै दाउमा राख्न परे पनि मानिसहरू यस खेलमा सहभागी हुन चाहन्छन् किनकि उनीहरूलाई ऋण दिने व्यक्तिले टिक्नखान दिइरहेका हुँदैनन् । तर आफ्नो आँखाअगाडि मान्छे मारेको देखेर पनि खेलमा उनीहरू कसरी सहभागी भइरहन सक्छन् त ? मानिस भाग्यको कमारो हो कि उसको कर्मले परिणाम निर्धारित गर्छ भन्ने दार्शनिक प्रश्नको उत्तर जान्न तपाईंले यो सिरिज हेर्नुपर्ने हुन्छ ।

कुल नौवटा एपिसोड भएको यस सिरिजका निर्देशक ह्वाङ दोङ–ह्युले दर्शकहरूको ध्यान अँठ्याएर राख्नका लागि सफलता प्राप्त गरेका छन् । प्रत्येक पात्रको आफ्नै रहस्य छ । खेल नै अर्कालाई उछिनेर अघि बढ्नुपर्ने किसिमको भएकाले कसले कुन बेलामा धोका दिन सक्छ भनी अनुमान गर्न नसकिने भएकाले ध्यान दिएर हेर्न दर्शकहरू बाध्य हुन्छन् । 


Advertisement

कथाका प्रमुख पात्र स्योङ गी–हुन (ली जुङ–जे) सोझा र प्यारा व्यक्ति हुन् । उनलाई जुवा खेल्ने लत लागेकाले आमाको पैसा लिएर जुवा खेल्छन् तर हारिरहन्छन् । उनले अरूसँग पनि ऋण लिने गरेका छन् तर तिर्न नसक्दा कुटाइ पनि खानुपरेको छ । 

उनी बस्ने टोलकै अर्का व्यक्ति चो साङ–वू (पार्क हे–सू) लगानीकर्ता बैंकर हुन् । उनले गलत ठाउँमा लगानी गरेर आफ्नो, आमाको र आफ्ना ग्राहकहरूको पैसा डुबाएका छन् । प्रहरीले उनको व्यापक खोजी गरिरहेको छ र उनी भागीभागी हिँडेका छन् । उनी पनि टन्न पैसा पाइने लोभमा हिंस्रक खेलमा सहभागी भएका हुन् । 

अर्की मुख्य पात्र हुन् काङ से–ब्योक (जुङ हो–योन) । उत्तर कोरियाबाट भागेर आएकी उनी अनाथालयबाट भाइलाई उद्धार गर्न अनि आमालाई उत्तरबाट ल्याउन चाहन्छिन् । बगली मारेर जीविका चलाउने उनी पनि पैसाका लागि खेलमा सहभागी भएकी हुन् । 

त्यस्तै अर्का प्रमुख पात्र छन् जाङ द्योक–सु (ह्यो सुङ–ते) । उनी आपराधिक समूहका नाइके हुन् । जुवा खेलेर पैसा उडाएपछि बेस्सरी ऋण काढेकाले उनी पैसा कमाउन खेलमा सहभागी भएका हुन् । 

त्यस्तै पाकिस्तानबाट पैसा कमाउन कोरिया पुगेका तर ठग मालिकको फन्दामा परेर सुको पनि हात नपारेका अली अब्दुल (अनुपम त्रिपाठी) र रहस्यमय वृद्ध ओह इल–नाम (ओह योङ–सू) को पनि सिरिजको कथामा प्रमुख भूमिका छ । 

यस कथामार्फत निर्देशक ह्वाङले पूँजीवादको शिकारी प्रवृत्तिको पोल खोलेका छन् । लोभ र ईर्ष्याबाट वशीभूत भई कथाका प्रमुख पात्र सबैले सजिलैसँग एकअर्काको बलि चढाउन तयार भएको देख्दा पूँजीवादले कसरी मानिसहरूलाई पछार्न र सिध्याउन प्रेरित गर्छ भन्ने स्पष्ट हुन्छ । अरूको भन्दा बढी कमाउने प्रतिस्पर्धामा लाग्न पूँजीवादले प्रेरित गर्ने भएकाले समाजको चरित्र नै पैसामुखी बन्दै गएको छ । 

पूँजीवादले आर्थिक असमानता पनि निम्त्याउँछ । अहिले संसारभरि धनीहरू अत्यधिक धनी हुँदै गएको र मध्यम तथा निम्न वर्गले जीवनयापन गर्न मुश्किल परिरहेको स्थिति छ । 

दक्षिण कोरियाले विगतका दशकमा अद्भुत आर्थिक प्रगति गरेको भए पनि आय असमानता त्यहाँ भयावह रूपमा बढिरहेको छ । देशका शीर्ष २० प्रतिशत व्यक्तिको सम्पत्ति तल्लो तहका २० प्रतिशतका व्यक्तिको भन्दा १६६ गुणा बढी छ । 

सिरिजमा धनाढ्यहरूले हिंस्रक खेलका खेलाडीहरूमाथि बाजी थापेको र मनोरञ्जन लिएको देखिन्छ । धनीको नजरमा गरीबहरू बाजी थाप्ने घोडा मात्र हुन् । गरीबले ऋण चुक्ता गर्न नसकेर भोग्नुपरेको पीडाबाट धनीहरू आनन्द लिइरहेका हुन्छन् । पूँजीवादले कसरी मानवीयतालाई नष्ट गर्दै जान्छ भन्ने कटुसत्य यसबाट प्रकट हुन्छ ।

दक्षिण कोरियामा विशेषगरी ऋण काढेका मध्यम तथा निम्न वर्गका परिवारहरूले ऋण चुक्ता गर्न नसकेर छटपटाइरहेको स्थिति छ । त्यहाँ परिवारले काढेको ऋण हालैका वर्षमा ह्वात्तै बढेर देशको कुल गार्हस्थ्य उत्पादनको शतप्रतिशतभन्दा बढी भएको छ । 

त्यसमाथि बेरोजगार युवाहरूको संख्या बढिरहेको, घरको मूल्य पनि चर्कोसँग बढेकाले किन्न नसकिने स्थिति रहेको अनि कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्प भएकाले ऋण चुकाउन व्यवसायीहरूलाई हम्मेहम्मे परिरहेको छ । त्यसैले पनि स्क्विड गेमको कथाले दक्षिण कोरियालीहरूलाई छोएको हुनुपर्छ । 

यस आर्थिक असमानतालाई कोरियाली कथावाचकहरूले निकै राम्रोसँग देखाउने गरेका छन् । सन् २०२० मा अस्कर पुरस्कार जित्ने दक्षिण कोरियाली फिल्म प्यारासाइटले पनि आय असमानतको तथ्यलाई निकै कलात्मक तवरले प्रस्तुत गरेको थियो । 

दक्षिण कोरियामा ऋण सजिलै उपलब्ध हुनाले पनि समस्या निम्तिएको विज्ञहरू बताउँछन् । बैंकहरूले धितोमा धेरै कडीकडाउ नगरी ऋण उपलब्ध गराइदिँदा मानिसहरूले ऋण लिने अनि तिर्न चाहिँ नसक्ने स्थिति छ । सरकारले ऋण काढ्नबाट रोक लगाउन प्रयास गर्दा मानिसहरू आपराधिक पृष्ठभूमिका व्यक्तिसँग ऋण लिन थालेका छन् । त्यो ऋण तिर्न नसक्दा अपराधीहरूले ऋण लिने व्यक्तिको अंग निकालेर बेच्ने गरेका छन् । सिरिजमा अंगहरूको त्यस व्यापारलाई हिंस्रक तरिकाले देखाइएको छ । 

सिरिजमा हिंस्रक खेल खेल्नेहरूलाई लोभ्याउनका लागि एउटा ठूलो पारदर्शी थैलोमा पैसा देखाइन्छ । त्यो थैलो पूँजीवादले निर्माण गरेको योग्यताको भाष्यको प्रतीक हो । अर्कालाई पछारेर अघि बढ्न सक्ने व्यक्ति नै पैसा कमाउन योग्य छ भनी लोभ्याउने काम उक्त थैलोले गर्छ । अर्थात्, पूँजीवादले मानिसमा रहेको लोभ जस्तो नकारात्मक भावलाई उत्तेजित पार्ने काम गर्छ ।

पूँजीवादको यस घिनलाग्दो अनुहारलाई स्क्विड गेमले कलात्मक रूपमा पस्केकाले यो संसारभरि लोकप्रिय बनेको हो । यसको कथा पूर्ण मौलिक हैन । यस्तो कथा जापानी फिल्म ब्याटल रोयाल, हलिउडले बनाएको हंगर गेम्स र दी एक्जाममा पनि देखिएको हो । 

तर कथामा रहस्यलाई राम्रो गरी कायम गरिएको अनि प्रमुख कलाकारहरूको अभिनय उम्दा रहेकाले यो यस्तै किसिमका अन्य कथाभन्दा अब्बल छ । तर यो कथा अयथार्थवादी हो भनी दर्शकले बुझ्नुपर्छ ।

हिंस्रक सामग्री हेर्न हिचकिचाउने गर्नुभएको छैन भने यो सिरिज कुनै हालतमा नछुटाउनुहोला । यसले बोकेको सन्देश निकै गहन छ । 
 

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्