लागूऔषधसँगै धर्मको राजनीति

शाहरुखपुत्र आर्यन खान पक्राउ प्रकरण– दृश्यमा लागूऔषध, पर्दापछाडि अर्कै खेल !

विन्देश दहाल
विन्देश दहाल

लोकान्तर डट् कमका कूटनीतिक मामिला सम्पादक विन्देश दहाल अन्तर्राष्ट्रिय राजनीति तथा पूर्वीय अध्यात्मबारे लेख्छन् । 

शाहरुखपुत्र आर्यन खान पक्राउ प्रकरण– दृश्यमा लागूऔषध, पर्दापछाडि अर्कै खेल !

बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान विगत १० दिनदेखि लागूपदार्थ नियन्त्रण ब्युरो (एनसीबी) को नियन्त्रणमा छन् । 


Advertisement

असोज १७ गते एक विलासी जहाजमा मानिसहरूले लागूपदार्थ सेवन गरिरहेको सूचना पाएपछि एनसीबीले छापा मारेर आर्यन सहित सातजनालाई पक्राउ गरेको थियो । एनसीबीलाई उक्त सूचना दिने व्यक्तिले पछि आर्यनसँग सेल्फी खिचेर अप्लोड गरेका थिए र उनी विवादास्पद पृष्ठभूमिका हुन् भनिँदैछ ।


Advertisement

आर्यनलाई पटकपटक म्याद थपेर एनसीबीकै हिरासतमा राखिएको छ । बुधवार उनलाई जमानतमा रिहा गर्ने कि नगर्ने भनी मुम्बईको सेसन्स अदालतले फैसला गर्ने पेशी तोकिएको छ । उनले अनुसन्धानमा सहयोग गरिरहेका छन् र आफू उक्त जहाजमा त्यसबेलामा रहेको भए पनि लागूपदार्थ सेवन भने नगरेको बताउँदै आएका छन् । 

यसैबीच आर्यनलाई खान थरको मुसलमान भएकैले सताउने नियतका साथ हिरासतमा राखिएको आरोप समेत लगाइएको छ । जम्मु–कश्मीरकी पूर्व मुख्यमन्त्री मेहबुबा मुफ्तीले ट्वीट लेख्दै खान थर भएकैले आर्यनको पछि सरकार लागिपरेको र भाजपाको कोर भोट बैंकको परपीडक इच्छालाई पूरा गर्नका लागि न्यायको मजाक उडाइएको आरोप लगाइन् । 


Advertisement

मुफ्तीको यस बयानमा आपत्ति जनाउँदै दिल्लीका एक वकिलले दिल्ली प्रहरीसमक्ष उनीविरुद्ध जाहेरी दायर गरेका छन् । 

इस्लामी विद्वान् अतीक उर रहमानले पनि मुसलमानहरूलाई अदबमा रहनका लागि पाठ पढाउने उद्देश्यका साथ सरकारले आर्यन खानलाई दुःख दिइरहेको आरोप लगाए ।

त्यस्तै अधिकारकर्मी र शिक्षाविद् सायरा शाह हलिमले इन्डिया टुडेमा लेखेकी छन्, ‘भारतका अल्पसंख्यकहरूलाई सरकारले खतरनाक सन्देश दिन खोजिरहेको छ: तिमीहरूलाई हामीले निगरानी गरिरहेका छौं । तिमीहरू को हौ र के गर्छौ त्यो मतलब छैन, शाहरुख खान नै भए पनि हामीलाई मतलब छैन तर तिम्रो थर खान भएकाले तिमी तल्लो दर्जाका मान्छे हौ ।’

मुसलमान टिप्पणीकारहरू मात्र नभई फिल्म उद्योगका हिन्दू कलाकारहरूले पनि शाहरुख खानको परिवारको प्रतिरक्षा गर्दै सरकारको नियतमा प्रश्न उठाइरहेका छन् । संगीतकार विशाल ददलानीले ट्वीट गर्दै लेखे, ‘जनताको ध्यान मोड्नका लागि शाहरुख र उनको परिवारलाई सताइँदैछ । अदानी बन्दरगाहमा तीन हजार किलो लागूपदार्थ फेला परेको विषय अनि भाजपाका मन्त्रीको छोराले किसानहरूलाई गाडीले कुल्चेर मारेको विषयबाट ध्यान भड्काउनका लागि शाहरुखको परिवारलाई तारो बनाइएको हो ।’

तर यसरी लागूपदार्थको अनुसन्धानमा धर्मको कोण भित्र्याउन मिल्छ त भनेर समेत प्रश्नहरू उठेका छन् । हुन पनि बलिउडमा लागूपदार्थ सेवनको समस्या विकराल देखिएको छ । त्यसलाई सम्बोधन गर्न किन प्रयास गरिँदैन भनी मूलधारे मिडिया र सामाजिक सञ्जालमा प्रश्न उठाइएको छ । 

ट्विटरमा ह्याशट्याग ड्रगीवूड भनी बलिउडमा लागूपदार्थको समस्याका विषयमा बहस चलाइएको छ । पोहोर साल पनि सुशान्त सिंह राजपूतको मृत्युको घटनापछि लागूपदार्थको एंगललाई निकै जोडतोडका साथ उठाइएको थियो । 

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले आफू पनि लागूपदार्थ लिने गरेको र सुशान्तलाई पनि दिने गरेको भनी चर्चा भएको थियो । रिया केही समयका लागि एनसीबीको हिरासतमा समेत बसेकी थिइन् । बलिउडका धेरै सेलेब्रिटीहरूले लागूपदार्थ सेवन गर्ने गरेको त्यतिखेर उजागर भएको थियो । 

बलिउडमा लागूपदार्थ सेवनको भण्डाफोर गरिरहेका एनसीबीका अधिकारी समीर वानखेडेले समेत आर्यन खानको पक्राउ राजनीतिक उद्देश्यले प्रेरित भएर नगरिएको स्पष्ट पारेका छन् । बरू आर्यनलाई पक्राउ गरेपछि आफूमाथि जासूसी बढेको उनको भनाइ छ । 

यस प्रकरणले बलिउडको शुद्धीकरणको माग गरिरहेका अभिनेताहरूलाई थप प्रेरणा दिएको छ । जस्तो, कंगना रनवातले बलिउडमा लागूपदार्थ सेवनको विकराल समस्या रहेको र शुद्धीकरण आवश्यक रहेको बताउँदै आएकी छन् । कंगनाको शुद्धीकरण अभियानमा धर्म र जातको प्रश्न पनि जोडिएको बताइन्छ । 

दलित चिन्तक कान्चा इलाइयाह शेफर्डका अनुसार, क्षेत्री समुदायकी कंगनाले भारतको अनुदारवादी (कन्जर्भेटिभ) विचारधारालाई प्रतिनिधित्व गर्छिन् । राष्ट्रिय स्वयंसेवक संघको समर्थन गर्ने क्षेत्री समुदायले संघको जीवनशैलीलाई अपनाउँदै शाकाहारी बनेको र लागूपदार्थका विरुद्ध अभियान चलाउन खोजेको शेफर्ड लेख्छन् । अझ, क्षेत्री समुदायकै सुशान्त सिंह राजपूतको असामयिक मृत्युपछि उक्त समुदाय लागूपदार्थका विरुद्ध थप आन्दोलित भइरहेको छ ।

यसमा जातको कोण जोडिए पनि अन्तर्यमा धर्म पनि गाँसिन चाहिँ पुगेको देखिन्छ । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी र त्यसको माउ संगठन आरएसएसले बलिउडलाई आफ्नो नियन्त्रणमा ल्याउनका लागि सक्दो कोशिश गरिरहेको छ । 

बलिउडका सानातिना स्टारहरू भाजपाको समर्थक भए पनि ठूला स्टारहरू खुलेर भाजपालाई समर्थन गर्दैनन् यद्यपि उनीहरूको सहानुभूति भाजपाप्रति हुन सक्छ । तर तिनलाई पनि आफूप्रति नतमस्तक बनाउने भाजपाको रणनीति छ । 

बलिउडमा खानहरूको जगजगी रहेको कुरालाई दक्षिणपन्थी भाजपा/आरएसएसले चित्त बुझाएको छैन । भाजपाको ट्रोल आर्मीले बलिउडलाई ऊर्दूवूड संज्ञा दिने गरेको छ । ऊर्दू भनी यहाँ मुसलमानलाई इंगित गर्न खोजिएको हो । 

बलिउडका तीन खान (शाहरुख, सलमान र आमिर) को रजगजलाई जसरी पनि हटाउने भनी एक दक्षिणपन्थी कार्यकर्ताले आफूलाई बताएको विश्लेषक आतिश ताशीरले ट्वीट गरेका छन् । 

अमिताभ बच्चनपछि उनकै स्तरको मेगास्टार कुनै हिन्दू भए हुन्थ्यो भन्ने भाजपा/आरएसएसको आकांक्षा छ । लामो समयको अन्तरालपछि बलिउडमा फेरि आउन खोजेका शाहरुखलाई बदनाम गरी पलायन हुन बाध्य पार्ने योजना शायद दक्षिणपन्थी खेमाले बनाएको हुनसक्छ ।

त्यसो त तीनै खानहरूको सूर्यास्त हुन थालेको पत्रकार कावेरी बामजईले आफ्नो पछिल्लो पुस्तक ‘द थ्री खान्स : यान्ड दी इमर्जेन्स अफ न्यु इन्डिया’ मा दाबी गरेकी छन् । सन् २०१४ पछि विशेषगरी तीन खानको भन्दा पनि प्रधानमन्त्री नरेन्द्र मोदीको ग्ल्यामर भारतीय जनताको आकर्षणको केन्द्रविन्दु बनिरहेको उनी तर्क गर्छिन् । 

हिन्दू हृदय सम्राट्को संज्ञा पाएका मोदीको पदचिह्नलाई पछ्याउँदै भारतको पहिचान बनेको बलिउड पनि हिन्दूकरण भए हुन्थ्यो भन्ने दक्षिणपन्थी जमातको आशा छ ।

खानहरूको दिन अब सकिएको भन्दै पायल रोहतगी, विवेक अग्निहोत्री, मनोज जोशी जस्ता कम चर्चित कलाकार तथा निर्देशकहरूले सामाजिक सञ्जाल तताउने गरेको र उनीहरूका पोस्टलाई लाखौंले समर्थन गरिरहेको द प्रिन्टमा ज्योति यादवले लेखेकी छन् । मोदीप्रति सबै कलाकार नतमस्तक होऊन् भन्ने रणनीतिका साथ उनीहरूले काम गरिरहेको स्पष्ट छ । 

बलिउडमा मुसलमानहरूको वर्चस्वलाई प्रतिनिधित्व गर्ने खानहरूको पकडलाई कमजोर बनाउन यसरी भारतको दक्षिणपन्थी जमात लागिपरेको छ । आमिर खानले किरण रावसँग पारपाचुके गर्दा उनीविरुद्ध सामाजिक सञ्जालमा आएका आपत्तिजनक आलोचना, अहिले शाहरुख खानविरुद्ध चलिरहेका अभियान र सलमान खानलाई सार्वजनिक स्थानमा थप्पड हान्ने व्यक्तिलाई दुई लाख भारुको पुरस्कार दिइने घोषणा गर्ने गोविन्द पराशर जस्ताको सक्रियतालाई यसै कडीमा हेर्नुपर्ने हुन्छ । 

आर्यन खान प्रकरणमा धर्मको आधारमा गरिएको भनिएको विभेदका साथै भारतका राज्य निकायहरूलाई सरकारको पक्षमा परिचालन गर्ने काम पनि मोदी सरकारले गरिरहेको देखिन्छ । आफ्नो आलोचना गर्नेलाई तह लगाउन सरकारले सीबीआई, एनसीबी, एफआईयू, एनआईए, इन्कम ट्याक्स डिपार्टमेन्ट लगायतलाई आलोचकहरूविरुद्ध छापा मार्न बाक्लै प्रयोग गरिँदैछ । 

यस्तो किसिमको कारवाही एक किसिमको सत्ताकब्जा नै भएको भनी खोज पत्रकार जोसी जोसेफले आफ्नो नयाँ पुस्तक ‘द साइलेन्ट कू’मा दाबी गरेका छन् । 

आर्यन खानलाई एनसीबीले हिरासतमा राखेर सोधपुछ गरिरहनुमा सरकारको त्यही रणनीति हुन सक्छ । समीर वानखेडेले विशिष्ट उद्देश्यले प्रेरित भई कारवाही नगरेको भए पनि अभियन्ता सायरा शाह हलिम आर्यनले आफैं लागूपदार्थ लिएको एनसीबीले प्रमाणित गर्न नसकेको र उनलाई धरौटीमा नछुटाउनका लागि कुनै कारण नरहेको दाबी गर्छिन् । त्यस्तै अधिवक्ता कनिष्क जयन्तले आर्यन खानको मुद्दामा एनसीबीले मजिस्ट्रेटसमक्ष पंचनामा पेश नगरी फौजदारी विधि संहिताको दफा १६५ (५) को उल्लंघन गरेको लेखेका छन् ।

सन् २०१५ मा शाहरुख खानले देशमा असहिष्णुता बढिरहेको भनी टिप्पणी गरेका थिए । त्यसमा निकै विवाद भएपछि उनले राजनीतिक अभिव्यक्ति दिन छोडेका थिए । प्रधानमन्त्री मोदीसँग यदाकदा उनको भेटघाट भइरहन्थ्यो । 

तर अक्षय कुमार जस्तो गरी मोदीप्रति नतमस्तक नभएकाले र मुसलमान भएकाले शाहरुख र आर्यनलाई लखेटिएको हो भनी भारतका उदारवादी वामपन्थी टिप्पणीकारहरू दाबी गरिरहेका छन् । त्यति हुँदाहुँदै पनि बलिउडमा लागूपदार्थ सेवनको समस्या पनि आर्यन खान प्रकरणले उजागर गरेको छ र त्यसको समाधानका लागि सरोकारवालालाई झकझक्याएको छ ।

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्