थारु ‘डसिया’ पर्वको अदृश्य पाटो : विजयोत्सव कि पितृशोक ?

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

थारु ‘डसिया’ पर्वको अदृश्य पाटो : विजयोत्सव कि पितृशोक ?

हिन्दू धर्मालम्बीको घरआँगनमा यतिबेला दशैंको उल्लास छाएको छ । उही तिथिमा पश्चिम नेपालका थारु समुदायमा आफ्नै मौलिक विधि, प्रक्रिया र संस्कार अनुसार ‘डसिया’ पर्वको उल्लास बढेको छ । 


Advertisement

साहित्यकार छविलाल चौधरी ‘कोपिला’ भन्छन्, ‘दशैं र डसिया पर्व लगभग उही तिथि, उही मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वभाविक हो तर सामाजिक मूल्यमान्यता, विधि प्रक्रिया र यससँग जोडिएको मिथक हेर्दा भिन्नभिन्नै रहेको छ ।’


Advertisement

आम हिन्दू धर्मावलम्वीले देवता र दानवहरू बीचको लडाइँमा देवताले विजय प्राप्त गरेको हुनाले विजय उल्लासको साथ मान्यजनबाट रातो टीका लगाउने र दुर्गा भवानीको पूजा गरी मनाउँछन् तर उही तिथिमा थारु समुदायले आफ्नो पुर्खाहरूको दिवंगत आत्माले शान्ति पाओस् भनी पुर्खाहरूको सम्झनामा डसिया मनाउने प्रचलन रहँदै आएको साहित्यकार कोपिला बताउँछन् ।

थारु समुदायमा असोज महिनाको औंसीको दोस्रो दिन डुटिया (चन्द्रमा) हेरेर तेस्रो दिन जमरा राखी डसियाको शुभारम्भ भएको छ । जमरा कोरा मल्सी (प्रयोग नगरिएको माटोको भाँडा)मा राख्ने प्रचलन छ । मल्सी नभए डेहुरारको पाटा (पूजा कोठा) माथि भूइँमा पनि राख्ने चलन छ ।


Advertisement

थारु समुदायले आफ्नो कूलदेवतालाई डसियामा जमरा र बाबरी मात्रै चढाउँछन् । फूल चढाउने प्रचलन छैन । उसो त थारू समुदायमा कुनै पनि पूजामा फूल चढाउने प्रचलन नै नभएको पनि साहित्यकार कोपिलाको दाबी छ । जुन संस्कार नै थारू जातिको मौलिक विशेषता भएको बताउँदै उनी अगाडि थप्छन्, ‘थारु समुदायमा देउता नुहाउने काम तथा मर्नि–कर्नि (मृत्यु संस्कार) मा छूट मान्ने चलन अनुसार डसियामा पनि पुर्खाहरूको मृत्युको कारण छूट मानिने भएकाले देउता नुहाउने काम हुन्छ । छिनोनी पानी (धातुपानी अथवा सुनपानी) छर्केर चोखो पार्ने । काज–क्रियामा जिटा मार्ने चलन अनुसार जिटा पुज्ने । देउता अनुसार जल, रक्सीको छाँकी चढाउने, पिट्टर (पिण्ड) दिने गरिन्छ,’ डसियाको पूजा विधिबारे प्रकाश पार्दै साहित्यकार कोपिला भन्छन्, ‘भित्तामा बकुल्ला बनाउने । दिवंगत आत्माले शान्ति पाओस् र यिनै बकुल्ला माथि चढेर सवार गरी सुखै–सुख स्वर्ग जाऊन् भनी बकुल्ला बनाउने चलन छ । देउता पठाएको भन्ने चलन पनि छ । गुर्वाहरू (तान्त्रिक) को वर्षभरिको सेवा र सम्मानको लागि घरगुर्वालाई टीका लगाउने चलनबाट पनि पुष्टि हुन्छ कि थारू आफ्नो पुर्खाहरूको सम्झनामा अथवा शोकमा डसिया मनाउँछन् ।’ 

बानढुप बनाउने र चढाउने

थारु समुदायमा डसियामा आफ्ना कूलदेवतालाई चढाउनका लागि बनाइने ‘बानढुप’लाई पनि महत्त्वपूर्ण मानिन्छ । बानढुप भनेको गुर्वाहरूले आफ्नो जिब्रो, छाती र गोडा (जाँघ) को रगत र धान लगायत ७ किसिमको फूला लोर्हके (फूल टिपेर) बनाएको विशेष धूप हो । जुन डसियामा मात्रै आफ्नो देउतालाई चढाइन्छ । यो बानढुप पनि धेरैजसो थारूहरू दहित थर भएकाहरूकै चलाउँछन् । अन्य थरको गुर्वाहरूले पनि चलाउँछन् तर अब बानढुपको नाउँमा बजारको अगरबत्ती सल्काउने चलन आएको बताइएको छ ।

५–७ पुस्ताका पितृ पूजा

थारु समुदायभित्र पिट्टर (पिण्ड) दिने प्रचलन रहँदै आएको छ । थारुभित्रको दहित गोत्र भएका थारुहरूले पञ्चमीको दिन (२५ गते) र आम थारुहरूले नवमीका दिन पुर्खाहरूलाई सम्मान गर्दै श्राद्ध तथा पिट्टर दिने कार्य गर्छन् ।

थारु बुुद्धिजीवी महावीर दहितका अनुसार श्राद्धको लागि पुईको साग, मसुर या मासको भुजा, माछाको सुकुटी, दही लगायत खाद्य सामग्री जोहो गरिन्छ । उनी भन्छन्, ‘डेहुरार पिट्टर’ दिने चलनमा पुस्तान्तर अनुसार खानेकुरा राख्ने गरिन्छ । जस्तो कि ७ पुस्ताको पितृलाई सम्झिँदा ७ वटा टपरीमा र ५ पुस्ताको पितृलाई पाँच टपरीमा खानेकुरा राखिन्छ तर दहित थारुभित्र ९ टपरीमा खानेकुरा राखिने र टपरीको अगाडि १८ वटा दुनाहरूमध्ये ९/९ वटा लहरै राखिन्छ । पहिलो लहरमा जल र अर्कोमा मिठाइ वा रक्सी चढाइन्छ ।’

ढिकरहुवा उत्सव

जखोर लेक परिषद् (इन्जल) नेपालद्वारा प्रकाशित थारु भित्तेपात्रो अनुसार असोज २५ गते झोलझर्ना (घर सरसफाई गर्ने), २६ गते पैनस्टोपी ढोइना अर्थात ढिक्री (चामलको विशेष परिकार) बनाउने उपकरण धुने दिन हो । २७ गते ढिकरहुवा (ढिक्री उत्सव), २८ गते पिट्टर अस्राइना (पिण्ड सेलाउने) र २९ गते टीका थप्ने दिन परेको छ ।

थारु बृद्धिजीवीका अनुसार पैनस्टोपी धोएको भोलिपल्ट ढिकरहुवाको उत्सवको तयारी बिहानैदेखि शुरू हुन्छ । घरको मुली अथवा पूजापाठ गर्ने व्यक्ति दिनभर निराहार व्रत बसेका हुन्छन् । उनीहरूले नै नयाँ धानको चामलको पिठो बनाइ ढिकरी बनाउँछन् । साथै विभिन्न आकार प्रकारका ढिक्री बनाइ प्रसादको रूपमा आफ्नो कुल देवतालाई चढाउने प्रचलन रहेको बताइन्छ । 

गोलो ढिक्री, लाठी ढिक्री, पौवा ढिक्री, ढकिया ढिक्री लगायत आकार प्रकारको ढिक्री बनाइन्छ । पूजापाठको लागि वनबाट बेलको पात सहितको हाँगा, कुश, भेला (रुख) को पात ल्याइन्छ । 

दिनभरि निराहार व्रत बसेका व्रतालुहरू साँझपख विधिपूर्वक ल्याएको बेलको हाँगा पूजाकोठामा गाडी त्यसको काँडामा ढिक्रीहरू लहरै खोपेर कूल देवताको पूजापाठ गर्ने संस्कार रहेको कैलारी गाउँपालिका–६ बेनौलीकी चोंधिया देवी थरुनी बताउँछिन् ।

साहित्यकार कोपिला थप्छन्, ‘साँझ डेहुरार रहेका र बाहिर रहेका सबै देउताहरूलाई नुहाएर छिनोनी पानी छर्केर नयाँ दियो बाल्छन् र गोलो ढिक्री, बाबरी, जमरा, रक्सी (टौला र बजारी) र जल चढाएर पूजा गर्छन् । देउता भएको घरका मान्छेले भेंडाको प्रतीकको रूपमा कुपिण्डोको भेडा बनाएर त्यसकै पूजा गर्छन् । गोठमा ढरमराज, पूर्वको आँगनमा ‘पूर्वी’ लगायत अन्य देउताहरूलाई पूज्दछन् । पूजा गर्नेबेला बानढुप पनि चढाउँछन् र सिन्दुर र कजरा (खरानी)को टीका पनि लगाउँछन् ।’

सेती टीकाको प्रचलन

नवमीको दिन बिहानै घर मूली तथा पूजा गर्ने व्यक्तिले नुहाएर सबै देउताहरूलाई अघिल्लो दिनझै जमरा–बाबरी चढाएर कुखुराको बलि दिन्छन् । बलि दिनुुभन्दा पहिले पाटामाथिको बहर्नी (झारु) हटाएर नयाँ बहर्नी राख्छ । जुन १ वर्षपछि दोस्रो डसियासम्मको लागि मात्रै राखिन्छ र दोस्रो डसियामा पनि त्यो बहर्नी साटिन्छ ।

देउता नभएको मानिसले १ अथवा ३ वटा आफ्नो चलन अनुसार कुखुरा पुज्दछन् भने देउता भएका घरका मानिसले हप्तादेखि १५ वटासम्म कुखुरा र डिँवा (समयावधि) अनुसार भेंडा, बाख्रा, सुँगुर पुज्दछन् । देवताहरूको प्रकृति अनुसार बलि सँगै जमरा, बाबरी, रक्सी, बानढुप चढाएर सेतो टीका लगाउने प्रचलन रहेको सहित्यकार कोपिला बताउँछन् ।

पूजा सकिएपछि महिलाहरू नदी घाट, कुलामा पिट्टर सेलाउन जान्छन् । पिट्टर सेलाउन जाँदा कराईमा छाँकी, समूह–समूहमा महिलाहरू ढकियामा डेहुरार राखिएको पूरानो बहर्नी, पूजा गरेको जमरा, बाबरी, कुपिण्डोको भेंडा लगायत जुन–जुन ठाउँ पूजा गर्छन् त्यहाँ सफा गर्दा निस्किएको फोहर लिएर जान्छन् । साथै खानपिनको लागि छाँकी र तरकारी पनि लिएर गएका हुन्छन् । सेलाई सकेपछि सबैजना मिलेर आफूसँग लिएर आएको छाँकी आपसमा मिली खान्छन् र मनोरञ्जन पनि गर्छन् । 

डसियाको टीकालाई ‘राजा–टीका’ रूपमा मनाइने प्रचलन थारु समुदाय छ । गाउँको महटवा अथवा भलमन्साको घरमा आफूभन्दा ठूलाबाट आशिर्वादसहित टीका लिने प्रचलन रहिआएको छ । उसो त गाउँभरि घरघरमा आफ्ना मान्यजनको हातबाट टीका थापिन्छ ।

आजभोलि रातो टीकाको प्रयोग भए पनि थारु समुदाय सेतो पीठोको टीका नै परम्परादेखि चल्दै आएको बताइन्छ । सेतो टीका शोकको टीका हो । यसलाई शान्तिको प्रतिक रूपमा लिने गरेको थारु बुद्धिजीवीको ठहर छ ।

यसैबीच थारु गाउँमा विभिन्न खाले सांस्कृतिक कार्यक्रम हुन्छन् । युवायुवतीहरूले आजभोलि स्टेजमा सांस्कृतिक कार्यक्रमदेखि परम्परागत झुम्रा, सखिया नाच नाच्ने र गर्छन् ।

अइ टे गैली बरी डुुरिक पहुनी हो

ए हो ... धानिन् चेरिया अंगना बहार

अइ टे गैली बरी डुुरिक पहुनी हो

ए हो ... अर्रर गोडरिया बिछाई ।

... .... .... ... ... .... ....

लडियाके ढिकुवाई ढिकुवाई फूलावा गैली हो

सखी हो, फूलवा लगैली गेडा सार ।

... .... .... ... ... .... ....

‘उरि उरि भौरा टिकुलि पर बैठे रे हाँ,

ए हो भौंरक छुवल मोर टिकुलि मलिन हो ।’

... .... .... ... ... .... ....

एनरी बाहाँस हो काटी कमवा सिटैबु

कमवा सिटैबु मै पिन्जला बनैबुँ

पिन्जला बनैबु मै सारी सुगा पलबु

वचनक बिनल पिन्जला कबु रे जिनी टुट

टुटीगिल पिन्जला रे मोर उरिगिल सुगिना ।।

धनगढी उपमहानगरपालिका–१६ भादामा १ हप्तादेखि सखिया नाच हुँदै आएको बताइएको छ । धनगढी उपमहानगरपालिका–१६ का वडाध्यक्ष तथा भादा गाउँ होमस्टे पर्यटन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लक्ष्मीनारायण चौधरी प्रत्येक दिन बेलुका सखिया नाच नाचिँदै आएको जानकारी दिए ।

यसैबीच बुढापाकाहरू आपसमा बर्किमार गाउँछन् । महाभारतको गाथामा आधारित लोक महाकाव्यको रुपमा रहेको बर्किमार अर्थात ठूलो लडाइको गीत गाउँछन् । जुन १२ पैढार (अंश) मा उल्लेख छ ।

बेबुरी बिनायक झमकी उरावै, बिना बुुन्डी टुहार पास ।

घनपती घनरे सुगा कई ठोर, हृडा बाइस मोती डेहो रे सिखाइ ।।

भगमोती शरण लेहबु टोहार नाउँ, डेखि धरम देवी बन्धन बा ।।। 

तर पछिल्लो समय बर्किमार गाउने चलन हराउँदै गएको छ । महाभारत गाथामा आधारित बर्किमार पुस्तान्तरणमा हुन नसकेपछि बिरलै गाएको बताइन्छ ।

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्