भिजेको धान स्याहार्ने चटारो– खेतमा हेर्दै टोलाउँछन् किसान, बादल देख्दा तर्सिन्छन् !

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

कुबेलाको झरीले आएको बाढी र डुबानपछि किसानहरूको दिनचर्या फेरिएको छ ।


Advertisement

दशैंसँगै धानबाली व्यवस्थापनको उत्तरार्द्ध र हिउँदे बालीको तयारीमा रहेका किसानहरूको दिनचर्या एकाएक केही पछाडि धकेलिएको हो ।


Advertisement

बाढीपछि धान खेतमा पानी जमेको छ । 

अझैसम्म काटिएको धान पानीमाथि तैरिरहेको छ । पुला (मुठा) पारिएको र सैका (कुन्यु) बनाइ थुपारिएको धानमा टुसा निस्किएका छन् । 


Advertisement

धानको बाला तथा परालको भाग सडेर ढुस्स गन्हाउने भएका छन् । किसानहरू टुसाएको धान हेरेर टोलाउन बाध्य छन् ।

कैलालीको कैलारी गाउँपालिका ६ बेनौलीका ७५ वर्षीय पतिराम डंगौरा मलिनो अनुहार पार्दै पीडा पोख्छन्, ‘असिन गन्ढैना ओ जामे लागल धान कसिक खाई सेकजाई ? अत्रा बुहागिल गिलु असिन विपत नैहुइल रहे । भुखे मुना खिढा होगिल ।(यस्तो गन्हाउने र उम्रिन थालेको धान कहाँ खान सकिन्छ ? यतिको उमेर भयो, यस्तो विपद देख्नुपरेको थिएन । भोकै मर्नुपर्ने अवस्था भयो ।)’

तर किसानहरू बिग्रिसकेको धानको व्यवस्थापनमै छन् । वर्षाभरिलाई पुग्ने गरि फलाइएको र भित्र्याउने बेलाको यो विपत्ति किसानहरूले सहन सकिरहेका छैनन् ।

हिउँदे बालीको तयारीमा लागिसक्ने किसानहरू त्यही भिजेको धान ओल्टाइपल्टाइ गर्ने, अग्लो भागमा सार्ने, सुकाउने र राम्ररी नसुक्दै थ्रेसिङ गर्ने कामकै चटारो भएको छ । कोही–कोही त झनै पानी तर्किँदै गरेको धान समेत थ्रेसिङ गरेको सुनाउँछन् ।

धान थ्रेसिङको काममा लागेका स्थानीय अनिल चौधरी भन्छन्, ‘किसानलाई यति हतारो भइसकेको छ, कि यो भन्दा बढी उनीहरू गुमाउन चाहँदैनन् । पूरै भिजेको धान समेत थ्रेसिङ गर्नुपर्ने अवस्था छ । थ्रेसरभित्र पराल जमेको अवस्था छ । किसानको बाध्यताका कारण जोखिम मोलेर पनि काम गर्नुपर्ने अवस्था छ ।’

उनले धान थ्रेसिङ गरेबापत १६/१७ को दर अर्थात १६ भाग धान किसान र १ भाग धान आफूले भाडाबापत लिने गरेको जानकारी दिए ।

कैलाली–कञ्चनपुर जिल्लाको हरेक बस्तीमा आजभोलि यही दृष्य देख्न सकिन्छ । चाहे पूर्व–पश्चिम राजमार्ग होस्, चाहे हुलाकी राजमार्ग या भित्री सडक, सडकैभरि काटिएको धानको बिस्कुन छरिएका छन् ।

यो विपत्तिले किसानको यति व्यर्थको व्यस्तता बढाइदिएको छ कि उनीहरू पूरै दिन खेतमै भेटिन्छन् । उनीहरूको खाना खेतमै पुग्ने गरेको छ । अबेर रातिसम्म पनि उनी खेतमै भेटिन्छन् ।

यससँगै कृषि तथा पशुपालनमा आश्रित किसानहरूलाई चालु वर्ष पशु आहारको समस्या हुने चिन्ताले अहिले नै पिरोल्ने गरेको छ ।

धान नसुक्दै गरिएको थ्रेसिङले निस्कने पराल थुपारिँदा त्यसबाट निस्किने तातो ग्यासले पराल गन्हाउने र सड्ने हुन्छ । जुन पशु आहारको लागि अनुपयुक्त हुने किसानहरू बताउँछन् ।

स्थानीय रामु डंगौरा भन्छन्, ‘यो सबै पराल काम नलाग्ने हुनेछन् । यो विपतकै कारण किसानलाई दाना मात्रै चाहिएको छ । खेतमै थ्रेसिङ भइरहेको छ । यसरी गरिने थ्रेसिङले पराल काम नलाग्ने भएकोले पशु आहारको समस्या हुने देखिन्छ ।’

किसानको पाइला बादल हेरेर

प्रतिकूल मौसमले यति विघ्न प्रताडित भएका किसानहरूले आजभोलि अकाशको बादल हेरेर आफ्नो पाइला चाल्ने गरेका छन् । कोही कुन दिनको मौसम कस्तो छ भनेर इन्टरनेट वा एप्सको साहारा लिन्छन् ।

स्थानीय हर्क चन्द भन्छन्, ‘त्यसो त मैले इन्टरनेटको माध्यमबाट मौसम हेरेर नै काम गर्ने गरेको छु । तर यस विपतमा जोगिन भने सकिनँ । आधा त भित्र्याएँ, तर आधा धान (१० कठ्ठा) खेतमै छ । पूरै भिजेर सुकाउनु परेको छ ।’

यो विपत्तिसँगै किसानले कुन बेलाको मौसम कस्तो छ ? जानेर मात्रै कदम चाल्नुपर्ने सिकाइ भएको चन्द बताउँछन् । 

आजकाल युवा पुस्ताले जल तथा मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा अन्य भर्चुअल माध्यमबाट मौसमबारे जानकारी लिने गरेका छन् ।

उत्पादनमा ह्रास

सुदूरपश्चिम कृषि निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिम प्रदेशमा १ लाख ८१ हजार हेक्टर जमिनमा धान खेती हुन्छ । कैलाली कञ्चनपुर जिल्लामा मात्रै ६५ प्रतिशत धान खेती हुँदै आएको छ । कैलालीमा ७० हजार हेक्टर र कञ्चनपुर जिल्लामा ४८ हेक्टरमा धान खेती हुँदै आएको निर्देशनालयले जनाएको छ ।

कैलाली कञ्चनपुर जिल्लामा मात्रै वार्षिक ४० लाख मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । तर बाढीले पुर्याएको क्षतिले उत्पादनमा ठूलो ह्रास आउने अवस्था छ ।

सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशी भन्छन्, ‘कात्तिक १ गतेदेखि नै फिल्डमा छु । यो वर्षाले भूकम्प आए जस्तो भएको छ । अहिलेसम्म २० प्रतिशत उत्पादनमा ह्रास आउने हाम्रो अनुमान हो । यो अझै बढ्न सक्छ । 

सरकारी राहतमा आशंका

बाढीपछि ३ तहकै सरकार र सरकारी निकायले बाढीपीडितप्रति सहानुभूति प्रकट गरिरहेका छन् । राहतको प्याकेज ल्याउने प्रतिबद्धता जनाइरहेका छन् । 

यता सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तह पनि विपद व्यवस्थापनलक्षित कार्यक्रममा व्यस्त छन् । तर पीडित किसान भने सरकारी राहत पाउनेबारे आशंका व्यक्त गर्छन् ।

भजनी कैलालीका विजयराज श्रेष्ठ भन्छन्, ‘अहिलेको बाढीले केही रहेन । हामी त सधैँको बाढी पीडित हौं । सरकारी अनुदानप्रति आश गरौं, भर नपरौं ।’

असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाले धान बालीमा क्षति पुगेको हो ।

 

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्