पौराणिक दर्शन

ज्ञान र विज्ञानको भण्डार भागवत पुराण

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

ज्ञान र विज्ञानको भण्डार भागवत पुराण

श्रीमद्भागवतको नाम नसुन्ने कमै हुनुपर्छ । सर्वाधिक बढी पाठ–पारायण तथा प्रवचन हुने पुराण यही हो । यसलाई भुक्तिमुक्ति प्रदायक पुराण मानिन्छ ।


Advertisement

मर्ने बेला एउटै मात्र श्लोक सुने पनि मुक्ति पाइन्छ भन्ने उल्लेख छ । पितृमुक्तिका लागि पनि यसको पाठ हुने गर्छ । हिजोआज विकास निर्माणका लागि समेत भागवत लगाउने चलन छ ।


Advertisement

प्रायः यसको साप्ताहिक अनुष्ठान हुने गर्छ, जसलाई लोकभाषामा सप्ताह लगाउने भनिन्छ । हिजोआज एकाह विधिको चलन पनि उत्तिकै बढ्दै गएको छ ।  

वेद र उपनिषद्को सार मानिएको यस पुराणलाई परमहंस संहिता भनिएको छ । महामुनि पाणिनीले भिक्षुगीता भनेका छन् । यसको अर्थ भिक्षुहरूले रुचाउने विषयवस्तु बढी छन् भन्ने हो । यो एउटै ग्रन्थले योगीदेखि भोगीसम्मका चाहनालाई पूरा गरेको छ ।


Advertisement

शुकदेव जस्ता जन्मसिद्ध परमहंस योगीलाई पनि यसैले तानेको छ । राजा परीक्षित जस्ता भोगी पनि यसैमा आकर्षित भएका छन् ।  गोकर्ण जस्ता महाज्ञानीलाई पनि यही मन परेको छ । धुन्धुकारी जस्ता महाअज्ञानीलाई पनि यसैले तानेको छ ।

संसारमा जस्तो आँखाले हेर्‍यो, त्यस्तै देखिने र जसरी व्याख्या गर्न खोज्यो, त्यसैगरी व्याख्या भइदिने कुनै ग्रन्थ छ भने भागवत नै छ भन्नुपर्छ । कर्मयोगीहरूका लागि यही ग्रन्थ बेजोड कर्मयोगको साधन हुन पुगेको छ । ज्ञानयोगीहरूका लागि यही ग्रन्थ विशुद्ध ज्ञानको साधन बन्न पुगेको छ । भक्तियोगीहरूका लागि यही ग्रन्थ भक्तियोगको साधन बनेको छ । ध्यानयोगीहरूका लागि यही ग्रन्थ ध्यानयोगको साधन बन्न पुगेको छ ।

गीता, ब्रह्मसूत्र र उपनिषद्लाई प्रस्थानत्रयी भनिन्छ । यो भनेको मुक्तिमार्गका ३ बाटा भन्ने हो । मुक्ति भन्नाले रोग, भोक, शोक लगायत तमाम दुःखबाट मुक्ति भन्ने बुझिन्छ । भागवत सोही प्रस्थानत्रयीमध्ये ब्रह्मसूत्रको भाष्य मानिएको छ ।   

सर्वप्रथम यस पुराणको उपदेश आदि कल्पमा भगवान् विष्णुले ब्रह्माजीलाई गरेका थिए, जसमा परमात्मातत्व, आत्मातत्व, मायातत्व र जगततत्वको विवेचन भएको थियो । पछि यही ज्ञान ब्रह्माजीले नारदजीलाई दिएका थिए । नारदजीबाट व्यासजी हुँदै शुकदेवसम्म आइपुग्दा विशाल ग्रन्थ बन्न पुगेको देखिन्छ । यसरी गुरुशिष्य परम्परामा चल्दै आएको भागवती ज्ञान शुकदेवले राजा परीक्षितलाई सुनाएपछि सार्वजनिक हुन पुगेको हो ।

नैमिषारण्यवासी ऋषिहरूले कलिकालका मानिसले सजिलै दुःखबाट मुक्ति पाउने उपाय के हो भनेर प्रश्न गर्दा सूतजीले यही भागवत सुनाएका थिए । त्यतिबेलादेखि प्रचलनमा आएको यो पुराण अहिलेसम्म अनवरत चल्दै आएको छ । 

१८ वटा महापुराणमा भागवत पुराण पाँचौ मानिएको छ । यसको अर्थ र महत्त्वको हिसाबले पाँचौं भन्ने होइन । गणनाको हिसाबले यो स्थान निर्धारण गरिएको हो । महत्त्वको हिसावले भन्ने हो भने सर्वाधिक महत्त्वको कुनै पुराण छ भने भागवत नै छ भन्नुपर्ने हुन्छ । 

पुराण पुरुषोत्तम भगवान्को अंगविग्रहमा यस पुराणलाई दाहिने तिघ्रा मानिएको छ । सर्पले टोकेर मरेका राजा परीक्षित मुक्त भएको देख्दा ब्रह्माजीसमेत अचम्भित भएका थिए रे ! कारण धर्मशास्त्रमा अकाल मृत्यु हुनेहरूले मुक्ति पाउँदैनन् भन्ने उल्लेख छ तर राजा परीक्षितले तत्कालै मुक्ति प्राप्त गरेका थिए । 

पद्मपुराणका अनुसार भगवान् श्रीकृष्णले धराधाम छाडेर गोलोकधाम प्रस्थान गर्ने बेला आफ्नो तेज खिचेर राखिदिएकाले भागवतको महत्त्व बढी हुन पुगेको हो । सायद त्यसै भएर हुनुपर्छ, सर्पले टोकेका मानिस नरक जानुपर्नेमा एउटै भागवत सुनेको भरमा कसरी मुक्त भए भनेर ब्रह्माजीले यसको महत्त्व तौलिन खोजेका थिए । त्यतिबेला अन्य सबै पुराणभन्दा एउटै भागवतको भार बढी पाएका थिए रे !

यद्यपि कसैले १८ पुराणमा पाँचौं पुराण देवीभागवतलाई मान्ने गरेका पनि छन् तर त्यो पनि रूपमा मात्र हो । सारमा देवीभागवत भन्नु र श्रीमद्भागवत भन्नु एउटै हो । दुवैले एउटै अद्वैत सिद्धान्तको कुरा गरेका छन् । मात्र फरक भागवतले भक्ति मार्गलाई माध्यम बनाएको छ, देवीभागवतले शक्ति मार्गलाई माध्यम बनाएको छ ।

पुराणहरूका प्रायः ५ वटा लक्षण अर्थात् उद्देश्य हुन्छन् भन्ने उल्लेख भेटिन्छ, जसमा सर्ग, प्रतिसर्ग, वंश, मन्वन्तर र वंशानुचरित पर्छन् तर भागवतमा १० लक्षण (उद्देश्य) को कुरा आएको छ, जसमा सर्ग, विसर्ग, स्थान, पोषण, ऊतय, मन्वन्तर, ईशानुकथा, निरोध, मुक्ति र आश्रय पर्छन् ।

भागवतका यिनै १० लक्षण अर्थात् उद्देश्य छन् भन्ने कुरा व्यासजी आफैंले प्रस्ट पारेका छन् । 

१२ वटा स्कन्ध (शाखा) रहेको भागवत पुराणमा ३३५ अध्याय र १८ हजार श्लोक छन् । यस अनुसार प्रमस्कन्धमा १९ अध्याय छन्, जसले अधिकार लीला प्रस्तुत गरेका छन् । यसको अर्थ शिष्य अधिकारी भए गुरुको अभाव हुँदैन भन्ने हो । दोस्रो स्कन्धमा १० अध्याय छन्, जहाँ ज्ञानलीलाको विवेचन भएको छ । 

तेस्रो स्कन्धमा ३३ अध्याय छन्, जसले भगवान्को सर्गलीला विवेचन गरेका छन् । सारा संसार कसरी सृष्टि भएका छन् भनेर देखाउने वा बुझाउने काम यस स्कन्धले गरेको छ । चौथो स्कन्धमा ३१ अध्याय छन् । यिनले पुनः सृष्टिको क्रम बुझाउने काम गरेको छन्, जसलाई विसर्ग लीला भनिन्छ ।

पाँचौ स्कन्धमा २६ अध्याय छन् । यिनले भुवनकोष अर्थात् खगोल भूगोलको व्याख्यान गरेका छन् । यसैलाई स्थान लीला भनिन्छ । छैटौं स्कन्धमा १९ अध्याय छन्, जसले वृत्रासुरको दृष्टान्तद्वारा भगवान्ले भक्तलाई कसरी पोषण गर्छन् अर्थात् रक्षा गर्छन् भन्ने कुरा बुझाउने काम गरेका छन् । यसैलाई पोषण लीला भनिन्छ ।  

सातौं स्कन्धमा १५ अध्याय छन्, जसले सुखदुःखको आधार मानिसको आफ्नै कर्म हो भन्ने कुरा बुझाउने प्रयास गरेका छन् । आठौं स्कन्धमा २४ अध्याय छन् । यिनले मनुहरूको नाम, काम र समय आदिमा प्रकाश पार्ने काम गरेका छन् । यसैलाई मन्वन्तर लीला भनिन्छ । नवौं स्कन्धमा पनि २४ अध्याय नै छन्, जसले सूर्यवंशी र चन्दवंशी राजाहरूको वंशबारे प्रकाश पार्ने काम गरेका छन् । यसैको नाम वंशानुचरित हो । 

दशौं स्कन्धमा ९० अध्याय छन्, जसले निरोध लीला अर्थात् कसरी मनलाई निरोध गरी भगवान्लाई पाउन सकिन्छ भन्ने कुरा बुझाउने काम गरेका छन् । यही नै निरोध लीला हो । एघारौं स्कन्धमा ३१ अध्याय छन् । यी अध्यायमा मुक्तिको कुुरा भएका छन् । यसैलाई मुक्ति लीला भनिन्छ । १२औं स्कन्धमा १३ अध्याय छन्, जसले अन्तिम आश्रयका बारेका प्रकाश पार्ने काम गरेका छन् । यसै अर्थमा यसलाई आश्रय लीला भनिएको हो ।

आध्यात्मिक ज्ञानको भण्डार मानिएको भागवत भौतिक विज्ञानका दृष्टिले पनि उत्तिकै महत्त्वको छ । आधुनिक विज्ञानले सापेक्षतावाद सिद्धान्तको प्रवर्तक महर्षि आइन्स्टाइनलाई मानेको छ तर भागवतमा व्यासजीले त्यतिबेलै यसको सुन्दर दृष्टान्त प्रस्तुत गरेका छन्, जतिबेला आधुनिक विज्ञान प्रकृतिको कुन गर्भमा थियो भन्नेसम्म थाहा थिएन ।

लिङ्ग परिवर्तन, क्लोन प्रविधि, शल्यक्रिया, टेस्ट ट्युब बेबी आदि आधुनिक विज्ञानको उच्चतम उपलब्धि हुन् तर भागवतमा व्यासजीले यिनको समेत सुन्दर व्याख्या गरेका छन् ।

यहाँ वृद्ध मानिसलाई जवान बनाउने प्रविधिको कुुरा पनि आएको छ, उमेर साटासाट गरी इच्छाअनुसार शरीर धारण गर्न सकिने प्रविधिको कुरा पनि आएको छ । थाहा छैन यसलाई प्रयोगमा ल्याउन भने आधुनिक विज्ञानलाई अरु कति समय लाग्ने हो । आशा छ एक दिन आधुनिक विज्ञान त्यहाँसम्म पनि पुग्नेछ । 

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्