एमालेको ‘गढ’ बुटवलमा उदाए युवा नेतृत्व

एमालेको ‘गढ’ बुटवलमा उदाए युवा नेतृत्व

बुटवललाई नेकपा एमालेले पार्टीको ‘गढ’ मान्छ । बुटवलमा एमालेको संगठन एकदमै मजबुत रहेको बताइन्छ ।


Advertisement

बुटवलका २९९ टोलमा अनेरास्ववियू, अनेमसंघ, युवासंघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, भूपू सैनिक संघ लगायतका कमिटी छन् ।


Advertisement

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ र ३ मा पर्ने बुटवलमा १९ वडा छन् । वडा नम्बर १–१३ सम्म क्षेत्र नम्बर २ र १४–१९ क्षेत्र नम्बर ३ मा पर्छ ।

क्षेत्र नम्बर २ उपमहासचिव विष्णु पौडेल निर्वाचित क्षेत्र हो भने क्षेत्र नम्बर ३ उपमहासचिव घनश्याम भुसालको क्षेत्र हो ।


Advertisement

बुटवलबाटै २०६४, २०७० र २०७४ सालको निर्वाचनमा एमाले उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा निर्वाचन जितेर ‘ह्याट्रिक’ गरिसकेका छन् । 

बुटवलका सामाजिक संघसंस्थाको निर्वाचनमा पनि एमालेले कब्जा जमाउँदै आएको छ । एमालेको बलियो संगठनले २०७५ सालको निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा तत्कालीन माओवादी केन्द्रका नेता डा. बाबुराम भट्टराई पनि बुटवलमा विष्णु पौडेलसँग पराजित भएका थिए ।

गत निर्वाचनमा पौडेलले ४४ हजार ९ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याएका थिए । 

स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी चुनावी तालमेल गरी निर्वाचनमा लड्दा एमालेको तर्फबाट मेयर, उपमेयरसहित १३ वटा वडामा एकछत्र विजयी भएका छन् । 

नेकपा एमालेको नगर अधिवेशनबाट बुटवलको नेतृत्व युवाले हाक्ने भएका छन् । मंगलवार भएको अधिवेशनले युवा नेता किसान ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । यसअघि बुटवल नगरपालिका हुँदा ज्ञानप्रसाद अर्याल नगर अध्यक्ष थिए । निर्वतमान अध्यक्ष बाबुराम पन्थी पनि युवा हुन् । 

नवनिर्वाचित अध्यक्ष ज्ञवालीले आगामी निर्वाचनमा विगतको विरासतलाई कायम राख्दै अन्य क्षेत्रमा पनि विजयी हाँसिल गर्ने गरी संगठनलाई अगाडि बढाउने बताए । ज्ञवालीले लोकान्तरसँग भने, ‘बुटवलमा हाम्रो संगठन मजबुत छ । विधान महाधिवेशनले निर्देशनसहित सबै पार्टी सदस्यलाई जिम्मेवारी दिएर सामाजिक क्षेत्रमा संलग्न गराउने सोचका साथ अगाडि बढ्छु ।’

३६ वर्षीय ज्ञवाली यसअघि नगर सचिव थिए । धेरै आकांक्षीलाई पछाडि पारेर ज्ञवाली सर्वसम्मत रूपमा नगरको नेतृत्वमा आएका हुन् । उनी एमालेको विद्यार्थी संगठनबाट राजनीतिमा आएका हुन् ।

ज्ञवालीले एमाले विना विकास र समृद्धि सम्भव नभएको भन्दै कार्यकर्तालाई पनि सोही अनुसार जनतामा जान आग्रह गर्ने बताए । ‘बुटवल र रुपन्देहीको विकासमा पनि एमालेले गर्दा नै भएका हो । विष्णु पौडेलले नै बुटवलमा सबै ठूलो योजना ल्याउनुभएको हो । यहाँ विकास हेर्दा साच्चै एमाले नै चाहिन्छ भन्ने जुनसुकै नेता कार्यकर्ताले बुझेका छन्,’ ज्ञवालीले भने । 

राजनीतिमै भएर पनि राजनीतिमा हस्तक्षेप गर्न सक्ने युवा बिरलै भेटिन्छन् तर बुटवलको राजनीतिमा युवा नेतृत्व विकसित र स्थापित छ । अहिले एमालेले जिल्लाभर संगठन विस्तार आक्रामक ढंगले अगाडि बढाएको छ ।

नगर उपाध्यक्षमा चयन भएका शोभाखर पोखरेल पनि युवा नै हुन् । सचिव र उपसचिवमा दावेदारहरू पनि युवा नै छन् । यद्यपि सचिव र उपसचिवको टुंगो लाग्न सकेको छैन । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्