चोलेन्द्रको राजीनामा ढिला भए सेवाग्राही सडकमा आउन सक्छन्- बार अध्यक्ष श्रेष्ठ

चोलेन्द्रको राजीनामा ढिला भए सेवाग्राही सडकमा आउन सक्छन्- बार अध्यक्ष श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा गर्न ढिला गरे सेवाग्राही सडकमा आउने चेतावनी दिएका छन् । 


Advertisement

कानून व्यवसायीबाहेक विभिन्न पेशाकर्मी पनि केही दिनमा सडकमा उपस्थित हुने उनले दाबी गरे । 


Advertisement

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्नापछि शुक्रवार बार प्रांगणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आज दिउँसो ३ बजेसम्म राजीनामा नआए उच्च अदालत भएको ठाउँमा पनि विरोध सभा गर्ने बताएका हुन् । 

‘भ्रष्ट प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै भइरहेको आन्दोलनमा विभिन्न पेशाकर्मी केही दिनमा सडकमा देखिनु हुनेछ । ९० वटा बार युनिटले काठमाडौं आउन तयार छौँ भनेका छन्, भ्रष्ट प्रधानन्यायाधीश जति लम्बियो सेवाग्राही प्रभावित हुनेछन् र सेवाग्राही पनि सडकमा आउने अवस्था छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘बारका सल्लाहकारको सुझावको आधारमा अर्को कार्यक्रम तय गर्दैछौँ आज ३ बजेसम्म राजीनामा नदिए १८ उच्च अदालत भएको ठाउँमा विरोध सभा हुनेछ, जहाँ न्यायकर्मी सहभागी हुनेछन् ।’


Advertisement

अध्यक्ष श्रेष्ठले बारको आन्दोलनलाई समर्थन गर्न अदालतका कर्मचारी र न्यायाधीशसँग आग्रह गरे । ‘कर्मचारी मित्रहरू तपाईंहरूले सेवा गर्ने मन्दिरमा भ्रष्ट रहन्छ भने तपाईंहरूको इज्जत रहँदैन,’ श्रेष्ठले भने । 

बार महासचिव लीलामणि पौडेलले सल्लाहकारहरूसँगको छलफल पनि आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बताए । सल्लाहकारको बैठक आज दिउँसो १ बजे बस्दैछ । 

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले गत बिहीवारदेखि सर्वोच्चको गेटमा धर्ना दिइरहेको छ । त्यसक्रममा हिजो प्रहरीसँग झडप हुँदा केही कानून व्यवसायी घाइते भएका थिए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्