मृत्युदण्डको कानूनबारे बहस थालौं

सरकार, जति लेख्दा पनि भएन; कि धूलो खाएर मर भन्, कि ठेकेदारलाई मृत्युदण्ड दे !

विमल गौतम
विमल गौतम

लोकान्तर डटकमका सम्पादक गौतम खोज समाचारमा विशेष रुचि राख्छन् ।

सरकार, जति लेख्दा पनि भएन; कि धूलो खाएर मर भन्, कि ठेकेदारलाई मृत्युदण्ड दे !

आदरणीय पाठकवृन्द, यो आलेखको शुरूमै म एउटा विषय स्पष्ट पार्न चाहन्छु– मैले जुन विषय उठान गरेको छु, त्यो समस्याले सीमा नाघेपछि, अति नै भएपछि कडा शब्दमा लेख्न मन लागेरै यो आलेख तयार गरेको हुँ । लेख तयार गर्दैगर्दा म अलिक भावुक, आक्रोशित र बहकिएको हुन सक्छु । आलेखमा व्यक्त शब्द रुखो र कुनै हिसाबले असभ्य हुन गएको भए शुरूमै क्षमाप्रार्थी छु :


Advertisement

पाँच वर्षदेखि धूलो खाँदाखाँदा दिक्क भएका नगरकोटवासीले केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको सवारी बाटोमै छेके । मन्त्रीको गाडीअगाडि थचक्कै बसेर स्थानीयले बाटो पिच नहुँदाका समस्या बताए । दुःख, पीडा पोखे । मन्त्री र तिनका सहयोगी स्थानीयको गुनासो सुनेपछि टाउकोसम्म हल्लाएर फर्किए, गुनासो सम्बोधन त त्यस्तै हो ।  


Advertisement

डेढ वर्षअघि खाडीचौर–मुडे–चरिकोट सडक खण्डका बासिन्दा समयमै बाटो मर्मतको काम नगर्ने ठेकेदारको तस्वीर ठाउँ–ठाउँमा टाँसेर विरोधमा उत्रिए । बेइज्जत हुने गरी ठेकेदारलाई नङ्ग्याए । तर समस्या ज्युँका त्युँ छ । 

डेढ वर्षअघि नै अर्को एउटा रोचक प्रसङ्गले सामाजिक सञ्जाल र मिडियामा व्यापक चर्चा पायो । त्यो थियो, ठेचो–सुनाकोठी–चापागाउँ सडक खण्डका बासिन्दाले गरेको विरोधको नौलो शैली । बाटो भत्केको लामो समयसम्म मर्मत नभएपछि सडकमा ठूला खाडल बने । वर्षातको समयमा ती खाडलमा पानी जम्यो । सडक पूरै हिलाम्मे भयो । उक्त क्षेत्रका बासिन्दाले भत्केर ध्वस्त भएको हिलाम्मे सडकमा धानको बिउ रोपेर सरकार, सडकका भ्रष्ट कर्मचारी र लुटेरा ठेकेदारप्रति तिखो व्यंग्य प्रहार गरे ।


Advertisement

संसारमा हामीभन्दा गए गुज्रेका देश हालैका वर्षमा कहाँबाट कहाँ पुगे । हामीचाहिँ धूलो र धूवाँको भुमरीबाट बाहिर निस्कन सकेका छैनौं ।

बौद्ध–जोरपाटी–गोकर्ण–साँखु सडक खण्डका बासिन्दा भत्केको सडक समयमै मर्मत नहुँदा त्यहाँबाट उडेको धूलोका कारण निसास्सिएपछि थुप्रैपटक विरोधमा उत्रिए । कैयौं पटक सवारी अवरुद्ध गरेर आन्दोलन चर्काए । उनीहरूको समस्या अहिले पनि समाधान भइसकेको छैन ।

सडक चौडा र स्तरोन्नति गर्ने नाममा भत्काइएको बाटो समयमै मर्मत र कालोपत्रे नहुँदा केही वर्ष अघिसम्म कलंकी–सतुंगल–नागढुंगा सडक खण्डका बासिन्दा दिनहुँजसो आन्दोलनमा उत्रन्थे । लोकान्तर डट्कमसँगको कुराकानीमा त्यहाँका बासिन्दाले भनेका थिए, ‘धूलोको समस्या यति भयावह छ कि हामी राति पनि मास्क लगाएर सुत्छौं ।’

अघिल्लो साता लोकान्तर डट्कममा हात्तीवन–ठैव–गोदावारी सडक खण्डको हरिसिद्धिमा भत्केको सडकबाट निस्केको धूलो र धूवाँमा निसास्सिँदै हिँडिरहेका बटुवाको तस्वीर प्रकाशित भयो । जसको शीर्षक थियो– तिम्रो शहरको मुहार हेर्न हरिसिद्धि जाऊ मन्त्री झाँक्री (शहरी विकास मन्त्री रामकुमारी झाँक्री) । त्यही क्षेत्रका बासिन्दा सोमवार सडकै जाम गरेर ठेकेदारविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

हरिसिद्धिको त्यो तस्वीर प्रकाशित हुनासाथ लोकान्तर न्यूज लिंकको तलपट्टि प्रतिक्रिया आयो– हरिसिद्धिमा मात्र होइन, धूलोको आतंक हेर्न बुटवल पनि आऊ ।

बुटवल आऊ भन्ने प्रतिक्रियालाई धूलोबाट सिर्जित समस्या उजागर गर्ने एउटा प्रतिनिधिमूलक खबरको रूपमा यस अर्थमा पनि लिन सकिन्छ, जसले भत्केको सडकको स्थिति र त्यसबाट निस्केको धूलो/हिलोको समस्या देशैभर रहेको संकेत गर्छ । 

दृश्य र तथ्यहरू केलाउँदै जाने हो भने भत्केका सडक, ती सडक मर्मतको जिम्मा लिएका ठेकेदारको चरम लापरवाहीका प्रशस्त उदाहरण भेटिन्छन् । त्यस्ता उदाहरण देशैभरि छन् । धूलोको समस्याबाट मुक्त मुलुकको कुनै भाग छैन । जहाँ जानुस्, धूलो । पानी परेको बेला हिलो । 

म ललितपुर महानगरपालिका वडा नं. २२ स्थित चुनिखेल, तपस्थली आवासमा बस्छु । एकान्तकुनाबाट मेरो घर पुग्न पाँच किलोमिटरको यात्रा छिचोल्नुपर्छ । म त्यता बस्न थालेको पाँच वर्ष भयो । पाँच वर्षअघि भत्काइएको नख्खु–भैंसेपाटी–चुनीखेल–छम्पी सडकको हालत यस्तो छ कि हामी कसैले अहिलेसम्म नदेखेको तर धेरै माध्यमबाट सुनेको/पढेको ‘नरक’को बारेमा थाहा पाउँदा हाम्रो दिमागमा जस्तो दृश्य नाच्छ त्यो नरक त्यही सडक खण्ड हो जस्तो लाग्छ ।

बाटो चौडा पार्ने जिम्मा लिएको भ्रष्ट ठेकेदार र भ्रष्ट ‘सडक कर्मचारी’ (सडक विभागका कर्मचारी)को लापरवाहीले यति हद नाघेको छ कि त्यो सडक खण्डमा दैनिक सवारी दुर्घटना भैरहेका छन् । दर्जनौं घाइते भैसके । पाँच वर्षको अवधिमा म स्वयंले त्यही सडक खण्डमा स्कुटी पल्टेर घाइते भएका सातजना स्कुटी चालक र तिनमा सवार स–साना नानी बाबुलाई अल्का अस्पताल पुर्‍याएको छु । स–साना सन्तान स्कूटीमा हालेर स्कुल पुर्‍याउन हिँडेका आमा र बच्चा सानाठूला दुर्घटनामा नपरेको दिनै हुँदैन ।  

म हरेक दिन ओहोरदोहर गर्ने त्यो बाटो र स्थानको नारकीय दृश्य धेरै हिसाबले उल्लेख गर्न आवश्यक  छ, किनभने त्यही सडक खण्डमा उपप्रधानमन्त्री भइसकेका यो मुलुकका शीर्ष नेताद्वय विष्णु पौडेल र वामदेव गौतमदेखि केही अघिसम्म मन्त्रीको हैसियतमा रवाफ छाँट्दै हिँड्ने हृदयेश त्रिपाठी, रघुवीर महासेठ, कांग्रेस नेताद्वय दीपकुमार उपाध्याय, एनपी साउद, आधा दर्जन राजदूतावास र राजदूत निवास, उच्चपदस्थ कर्मचारी, राष्ट्र बैंकका गभर्नर, मुलुकका ठूला कर्पोरेट हाउसका व्यापारी, वर्ल्ड बैंकका नेपाल कार्यालय प्रमुख, चर्चित टेलिभिजनकर्मी भूषण दाहाल, ठूलो मिडिया भनेर दाबी गरिने कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मादेखि पाका पत्रकार राजेन्द्र दाहाल, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख एवं विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसम्मका थुप्रै चर्चित अनुहार दैनिक ओहोर दोहोर गर्छन् । मासिक १५ लाख रुपैयाँ तलब बुझ्ने मैले चिनेका पाँचजना चर्चित चिकित्सक पनि त्यही बाटो दिनहुँ ओहोरदोहोर गर्छन् ।

त्यति मात्र होइन, यो सडक खण्ड अर्को हिसाबले पनि चर्चायोग्य छ । त्यही सडकखण्ड भएर जानुपर्छ अहिले बनिरहेको मन्त्री निवास पुग्न । 

नेपालको ठूलो मध्येको एउटा अस्पताल त्यही क्षेत्रमा छ । अस्पतालभित्र प्रवेश गर्दा कुनै सम्पन्न राष्ट्रको अत्याधुनिक भवनभित्र प्रवेश गरेजस्तो अनुभूति मिल्छ । तर त्यसको वरिपरि चौबीसै घण्टा निसास्सिने धूलो, धूवाँ र प्रदुषण व्याप्त छ । त्यो अस्पतालका साहुजीको निवास पनि त्यही निसास्सिने क्षेत्रमै छ भन्छन् । तर, उनी अन्तै बस्छन् रे ! अर्बभन्दा बढीको लागतमा बनेको दाबी गरिने उक्त अस्पतालले अहिलेसम्म धूलो नियन्त्रणका लागि एक शब्दसम्म आवाज उठाएको जानकारीमा आएको छैन । आफैँ पहल लिनु त परै जाओस् । 

अब त यस्तो लाग्न थालेको छ कि जति कडा शब्दमा समाचार, विचार या विश्लेषण लेखे पनि भ्रष्ट नेता, कर्मचारी र ठेकेदारलाई छुँदै छुँदैन । मानौं लेखेर केही हुनेवाला छैन । तर, लेख्न चाहिँ छोडिँदैन ।

अति भएपछि हामीले खाल्डैखाल्डो भएको सडकको बीचमै उभ्याएर रवीन्द्र मिश्रसँग अन्तर्वार्ता लियौं । उनले अन्तर्वार्ताको भिडियो लिंक शेयर गरे । त्यो लिंक व्यापक भयो । धेरैले हेरे । तर अहँ, सडक मर्मतको काममा रौं बराबर पनि प्रगति भएको छैन ।

उक्त सडक खण्ड भएर ओहोरदोहोर गर्ने केही चर्चित अनुहारको नामै उल्लेख गर्नुको अर्थ छ । उल्लेख गरिएका सबै अनुहार समाजमा प्रभाव राख्छन् । उनीहरूले आवाज बुलन्द पार्ने हो भने त्यसले प्रभाव पार्न सक्छ । तर, न उनीहरू नरक समानको त्यो सडकको अवस्थाबारे पर्याप्त आवाज उठाउँछन्, न त सम्बन्धित निकायलाई दबाब दिन्छन् । 

त्यसरी ओहोरदोहोर गर्ने ती चर्चित अनुहारले पाँच वर्षदेखि बेहाल बनेको उक्त सडकका बारेमा प्रभाव पर्नेगरी पहल गरेको मैले अहिलेसम्म सुनेको छैन । सार्वजनिक समारोहमा ती महोदयहरूलाई भेट्नुभयो भने तपाईंले तिनका मुखबाट बडेमानका आदर्शका गफ सुन्न सक्नुहुनेछ । तर, ती आफैँ दैनिक ओहोरदोहोर गर्ने सडक नरकमा परिणत हुँदा चुँसम्म बोल्दैनन्, लेख्दैनन् । देखेको नदेख्यै गर्छन् । धिक्कार छ ती अनुहारलाई ।

अरूलाई आरोप त लगाइस्, तैंले चाहिँ के गरिस् नि भनेर पाठकको मनमा स्वाभाविक प्रश्न उठ्ला । इमान्दारीपूर्वक भन्दा मैले ठूलै काम या पहल केही गरेको पटक्कै छैन । गर्ने सामर्थ्य पनि राख्दिनँ । तर, आफ्नो मिडियामा त्यो सडकको बेहालबारे थुप्रै रिपोर्ट प्रकाशित गरेको छु, जसका लिंकहरू यस आलेखको अन्त्यमा राखिएको छ ।

हामी बर्सेनि राज्यलाई सडक कर तिर्छौं । त्यो के केका लागि तिरिन्छ ? हामीले तिरेको करबाट जम्मा भएको रकमले त्यो सडकको मर्मत हुनुपर्ने होइन ? तर यहाँ त उल्टै ठेकेदारको लापरवाहीले हाम्रा सवारीमा असर पुगेको छ । दिनहुँ खाल्डाखुल्डीमा जबर्जस्ती गुडाउँदा हामीले बल्लबल्ल किनेको कारको आयु घटिरहेको छ । 

देशमा भ्रष्ट सडक कर्मचारी र लुटेरा ठेकेदारको बिगबिगी छ । ती भ्रष्ट कर्मचारी तथा भ्रष्ट र लुटेरा ठेकेदारको सहज पहुँच भ्रष्ट नेतासँग जोडिएको छ । भ्रष्ट ठेकेदारले भ्रष्ट कर्मचारीलाई घुस खुवाउँछ । भ्रष्ट नेतालाई पनि पैसा दिन्छ । अनि ठेक्का हात पार्छ । ठेक्का हात पारेपछि पहिलो किस्ताबापत आउने रकम जग्गा या अन्य व्यवसायमा लगानी गर्छ । सडक खनेर/उप्काएर यत्तिकै छोडिदिन्छ । जनता धूलो खाएर मर्छन् । भ्रष्ट ठेकेदार, कर्मचारी र नेता मस्ती गरेर हिँड्छन् । के धर्म या पाप भन्ने विषय यथार्थ हो ? यदि हो भने त्यस्ता भ्रष्ट ठेकेदार, कर्मचारी र नेतालाई किन पाप लाग्दैन ? त्यस्तालाई किन सधैँ अवसरै अवसर ? अनि सोझासाझा जनता सधैँ धूलो र धूवाँ खाएर मर्नुपर्ने ? 

सडक उप्काएर बेवारिसे बनाई हिँड्ने त्यस्ता भ्रष्ट ठेकेदारलाई कारवाही त के समयमा किन काम नसकेको भनेर सोध्ने आँट समेत गरिँदैन । सोध्नुपर्ने सडकका जिम्मेवार कर्मचारी, मन्त्री र सचिवले हो । ती सबैलाई त्यो ठेकेदारले किनेको हुन्छ । अनि सोध्ने आँट गर्छन् तिनले ? आँट गरुन् पनि कसरी ? प्रश्न सोध्यो भने घुस खुवाएको सबै विवरण सार्वजनिक गरिदेला भन्ने डर ।

मृत्युदण्डको कानून भएका देशमा कर्मचारी, ठेकेदार र नेताले हाम्रोमा जस्तो खुलेआम लूट र भ्रष्टाचार गर्न हिम्मत गर्दैनन् । कहिल्यै नसुध्रने हो र देश लुटिरहने मात्र हो भने हामीले पनि भ्रष्ट कर्मचारी र ठेकेदारका लागि मृत्युदण्डको कानून किन नबनाउने ?

अब त यस्तो लाग्न थालेको छ कि हामीले जति कडा शब्दमा समाचार, विचार या विश्लेषण लेखे पनि भ्रष्ट नेता, कर्मचारी र ठेकेदारलाई छुँदै छुँदैन । मानौं लेखेर केही हुनेवाला छैन । तर, लेख्न चाहिँ छोडिँदैन ।

हालैको एक भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं नेपालका प्रख्यात उद्योगपति शेखर गोल्छासँग यो देशको पछिल्लो अवस्था, समस्या एवं दुर्गतिका बारेमा चर्चा भयो । मैले भेट्ने उद्योगी व्यवसायीमध्ये शेखर यस्ता व्यक्तिमा पर्छन्, जो अक्सर देशको अवस्थाका बारेमा, देशमा मौलाइरहेको भ्रष्टाचार, विकृति र विसंगतिका बारेमा चिन्तित देखिन्छन् । केही गरौं भन्ने हुटहुटी भएको तर विभिन्न कारणले काम हुन नसकेको बारे उनी जहिल्यै चिन्ता गर्छन् ।  

‘विमलजी, मैले व्यापार व्यवसाय गर्न थालेको ३० वर्ष भयो । देशमा यति साह्रो भ्रष्टाचार, यति साह्रो बेथिति र गैरजिम्मेवारीपन मौलाएको मैले यसअघि कहिल्यै देखेको थिइनँ,’ शेखरले भने । 

संयोग कस्तो रह्यो भने मेरो र शेखरको विचार ठ्याक्कै मिल्यो । केही दिनअघि मैले हाम्रो न्यूजरूमको बैठकमा सहकर्मी साथीहरूसँग भनेको थिएँ– मैले पत्रकारिता शुरू गरेको २१ वर्ष पूरा हुनै आँट्यो । मेरो करियरका दौरान अहिलेजस्तो भ्रष्टाचार, बेथिति, विसंगति, लुट, विचौलियाको बिगबिगी, खुलेआम राज्य कोषको दोहन यसअघि कहिल्यै देखेको थिइनँ । 

मेरो जिल्ला बाग्लुङका पुराना नेता एवं समाजसेवी लिलबहादुर थापा मगर (जसलाई हामी लीला दाइ भनेर बोलाउँछौं) हालै अन्तर्वार्ताका लागि लोकान्तर डट्कमको कार्यालयमा आउनुभयो । उहाँ पनि भैँसेपाटी नै बस्ने । मैले त्यही सडक खण्डको अवस्थाको प्रसंग झिकेँ ।

आज भोलि जहाँ गएपनि, जो भेटे पनि प्रायः म त्यो सडकको बारेमा गुनासो गरेकै हुन्छु । म जति आजित र प्रताडित छु, लीला दाइ त्यो सडकको बारेमा त्योभन्दा बढ्ता चिन्तित र गम्भीर पाएँ । केपी ओलीले पार्टीको कुनै एउटा बैठकमा आफ्नो पालामा काठमाडौंका सडक चिल्ला र धूलोमुक्त बनाएको दाबी गरिरहँदा तत्काल प्रतिवाद गर्दै आफूले उठाएको प्रसंग सुनाउँदै लीला दाइले भन्नुभयो, ‘सडकका भ्रष्ट कर्मचारी र ठेकेदारसँग हामीमध्ये कोही जोडिएका छौं भने होसियार साथीहरू । भैँसेपाटीको सडकको अवस्था बेहाल छ । म कुनै पनि दिन सडकको डिजी र ठेकेदारलाई त्यही सडकमै उभ्याएर नाङ्गेझार पार्ने योजनामा छु । सडकको अवस्था यति हरिबिजोग हुँदाहुँदै सबै सडक चिल्ला र धूलोमुक्त बनाएको भ्रमपूर्ण सूचना कसले दिन्छ हँ अध्यक्षज्यू (केपी ओलीप्रति लक्षित गर्दै) तपाईंलाई ?’

स्पष्ट, इमान्दार तर खरो स्वभावका लीला दाइ भन्दै हुनुहुन्थ्यो– विमल भाइ, मलाई डर लाग्दैन । कुनै पनि दिन म त्यो सडक यसरी बेहाल बनाउनेलाई सोत्तर पारेर छाड्छु । मेरो छिमेकका भाइहरूले पनि लिड गर्नुस् भनेका छन् । मलाई भाइको पनि साथ चाहिन्छ ।’

लीला दाइको कुरा सुनेपछि मैले भनें, ‘त्यो सडकको अवस्था सुधार्ने काममा मेरो मिडियामार्फत जस्तोसुकै सहयोग गर्न पछि पर्दिनँ दाइ ।’

हामी बर्सेनि राज्यलाई सडक कर तिर्छौं । त्यो के केका लागि तिरिन्छ ? हामीले तिरेको करबाट जम्मा भएको रकमले त्यो सडकको मर्मत हुनुपर्ने होइन ?

उक्त सडक खण्डको अवस्था दिनदिनै बिग्रँदो छ । आज बनाउला कि भनेर हेर्‍यो बन्दैन । भोलि बनाउला कि भनेर हेर्‍यो उस्तै हुन्छ । अति भएपछि मैले तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई उक्त सडकको बेहाल र त्यसको धूलो धूवाँले पारेको असरबारे व्यक्तिगत कुराकानीका क्रममा ध्यानाकर्षण गराएँ, जतिबेला उहाँ अर्थमन्त्री नै हुनुहुन्थ्यो ।

सडक चौडा गर्ने कामका लागि बजेट विनियोजन गर्ने उहाँ नै हुनुहुँदोरहेछ । उहाँ पनि सडकका कर्मचारी र ठेकेदारको लापरवाहीबाट आजित हुनुभएको रहेछ । मेरै अगाडि उक्त सडक खण्ड हेर्ने आयोजना प्रमुखलाई फोन गरेर निकै कडासँग कुरा गर्नुभयो । ‘भोलि बिहान म आफैँ साबेल लिएर सडक बनाउन निस्कन्छु । तपाईं हेर्न त आउनुहोला नि,’ सडक आयोजनाका प्रमुखसँग पौडेलले भने । 

त्यसरी सडक आयोजनाका प्रमुखलाई फोन गर्नुअघि पटक–पटक बैठक गरेर उहाँले काम छिटो सकाउन निर्देशन दिनुभएको रहेछ । उहाँले निर्देशन दिएको महिनौं बितिसक्यो । तर, त्यहाँ रौं बराबरको प्रगति भएको छैन ।

भत्केको सडकबाट निस्कने धूलोले हाम्रो शरीरमा पार्ने असर गम्भीर छ । वृद्ध आमाबुवा र स–साना नानी बाबुलाई अझै बढी असर गर्छ । धूलोले हाम्रो फोक्सो बिगार्छ । आँखा बिगार्छ । नाकमा एलर्जीको समस्या उत्पन्न गराउँछ । क्यान्सर समेत गराउने चिकित्सकहरूले बताइसकेका छन् । धूलोले पार्ने समस्याको सूची लामो छ ।

मानव शरीरका लागि यति हानिकारक धूलो नियन्त्रणमा राज्यको विशेष पहल हुनुपर्ने होइन ? तर राज्य कानमा तेल हालेर बसेको छ । त्यसैले जहाँ गएपनि धूलो, फोहोर प्रदुषण व्याप्त छ । 

संसारमा हामीभन्दा गए गुज्रेका देश हालैका वर्षमा कहाँबाट कहाँ पुगे । हामीचाहिँ धूलो र धूवाँको भुमरीबाट बाहिर निस्कन सकेका छैनौं । जाबो धूलो जस्तो सामान्य समस्या समाधान गर्न नसक्ने सरकारले मुलुकलाई समृद्धितिर लैजान्छ भनेर पटक–पटक यिनै नेतालाई भोट हाल्ने हामी जनता पनि कम जिम्मेवार छैनौं । 

संसारका धेरै देशमा अहिले पनि मृत्युदण्डसम्बन्धी कानून छ । चीनमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिइन्छ । मृत्युदण्डको कानून आफूलाई लोकतन्त्रको हिमायती ठान्ने देश अमेरिकामा पनि छ । त्यहाँका २७ वटा राज्यमा ‘क्यापिटल पनिसमेन्ट’ अर्थात मृत्युदण्डसम्बन्धी कानून छ ।

मृत्युदण्डको कानून भएका देशमा कर्मचारी, ठेकेदार र नेताले हाम्रोमा जस्तो खुलेआम लूट र भ्रष्टाचार गर्न हिम्मत गर्दैनन् । कहिल्यै नसुध्रने हो र देश लुटिरहने मात्र हो भने हामीले पनि भ्रष्ट कर्मचारी र ठेकेदारका लागि मृत्युदण्डको कानून किन नबनाउने ?

 


 

विमल गौतम
विमल गौतम

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्