पूर्वी युरोपमा तनाव

रुस र पश्चिमा शक्ति राष्ट्रबीच युद्धको खतरा बढ्यो: युक्रेनमाथि किन नजर लगाउँदैछन् पुटिन ?

विन्देश दहाल
विन्देश दहाल

लोकान्तर डट् कमका कूटनीतिक मामिला सम्पादक विन्देश दहाल अन्तर्राष्ट्रिय राजनीति तथा पूर्वीय अध्यात्मबारे लेख्छन् । 

रुस र पश्चिमा शक्ति राष्ट्रबीच युद्धको खतरा बढ्यो: युक्रेनमाथि किन नजर लगाउँदैछन् पुटिन ?
Photo : emerging-europe.com

युक्रेनमाथि रुसले आक्रमण गर्न लागेको भन्दै अमेरिकाले केही दिनअघि चेतावनी दिएलगत्तै पश्चिमी शक्तिहरूले कृष्णसागर (ब्ल्याक सी) र बेलारुस सीमा नजिक सैन्य गतिविधि बढाएपछि रुस र पश्चिमबीच युद्ध हुने सम्भावना बढेर गएको छ । 


Advertisement

त्यसो त अप्रिल महिनामै रुसले विशाल संख्यामा आफ्ना सैनिकहरू युक्रेन सीमा नजिक तैनाथ गरेको थियो । युक्रेनी सेनाले पूर्वी क्षेत्रमा रहेको डोनबासमा रुससमर्थक पृथक्तावादीहरूमाथि ड्रोन आक्रमण गरी आर्टिलरी इकाइलाई ध्वस्त पारेपछि रुसले युक्रेन सीमाभन्दा १५० किलोमिटर वर आफ्नो भूमिमा सैनिक तैनाथ गरेको थियो । 


Advertisement

तीमध्ये केही सैनिक आफ्नो अड्डामा फर्केका भए पनि अधिकांश सीमा नजिक बसिरहे । अहिले ९० हजारजना रुसी सैनिकहरू त्यस क्षेत्रमा तैनाथ रहेको बताइएको छ । त्यसलाई युक्रेनमाथि आक्रमणको पृष्ठभूमिका रूपमा पश्चिमले लिएको हो ।

यससँगै रुसको सहयोगी मुलुक बेलारुसले आफ्नो भूमिमा अफ्रिकी र एसियाली शरणार्थीहरू ल्याएर पोल्यान्ड र युरोपेली संघ (ईयू) का सदस्य अन्य मुलुकमा प्रवेश गराउन खोजेको आरोप छ । बेलारुसी भूमि हुँदै शरणार्थीहरू पठाएर ईयूमा अशान्ति मच्चाउन रुसले षड्यन्त्र गरेको आरोप ईयू अधिकारीहरूले लगाएका छन् । एकथरीले चाहिँ बेलारुस सीमामा तनाव चर्काएर संसारको ध्यान त्यतै आकर्षित गर्दै युक्रेनमा आक्रमण गर्ने रणनीति पुटिनले बनाएको तर्क गरेका छन् ।


Advertisement

 

 

 


तर बेलारुस भन्दा पनि युक्रेनको तनाव महत्त्वपूर्ण छ । युक्रेनको भौगोलिक अखण्डतालाई रुसको आक्रमणबाट सुरक्षित गर्नका लागि नेटोले प्रतिबद्धता व्यक्त गरेको छ । नेटो सदस्यहरूले युक्रेनलाई अत्याधुनिक हातहतियार समेत उपलब्ध गराइरहेका छन् । 

त्यसलाई रुसी नेताहरूले रुसको सार्वभौमसत्तामाथिको प्रहारको बहानाका रूपमा लिएका छन् । रुसी आक्रमणको हौवा पिटाएर युक्रेनले रुसमाथि आक्रमणको पृष्ठभूमि निर्माण गर्न खोजेको आरोप रुसी नेताहरूले लगाइरहेका छन् । 

रुसी सरकार (क्रेमलिन) का प्रवक्ता दिमित्री पेस्कोभले सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै युक्रेनलाई मस्कोले थर्काइरहेको भन्ने भाष्य स्थापित गरी पश्चिमी सञ्चारमाध्यमले रुसलाई आक्रान्ताका रूपमा प्रस्तुत गर्न खोजेको आरोप लगाए । त्यसरी रुसलाई नकारात्मक रूपमा प्रस्तुत गरेर युक्रेनको आक्रामक कदमलाई ढाकछोप गर्न खोजिएको उनको भनाइ छ ।

रुसको विदेशी गुप्तचरी सेवाले सोमवार सार्वजनिक बयान जारी गर्दै अहिलेको परिस्थिति सन् २००८ मा जर्जियामा भएको घटनाक्रम जस्तै भएको बताएको छ । त्यतिखेर रुसले जर्जियाविरुद्ध छोटो युद्ध गरेको थियो । जर्जियाका तत्कालीन राष्ट्रपति मिखाइल साकशभिलीले पश्चिमको पक्षधरता लिँदै गएपछि जोखिम अनुभव गरेको रुसले युद्ध गरेको थियो ।

सोमवार नै रुसको सुरक्षा परिषद्का उपप्रमुख अलेक्जेन्डर ग्रेबेनकिनले कृष्णसागर, पूर्वी युरोप र आर्कटिक क्षेत्रमा नेटोले सैन्य गतिविधि बढाइरहेको आरोप लगाए । सीमामा युद्ध हुन सक्ने सम्भावना झन् झन् बढिरहेको उनको भनाइ छ । 

पश्चिमी मुलुकहरूका बमवर्षक जहाजहरूले घातक हतियार बोकेर रुसी सीमा नजिक उडान गरिरहेको आरोप रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता लगाएका थिए । रुसले खिचेको लक्ष्मणरेखालाई पश्चिमले हलुका रूपमा लिइरहेको उनले गुनासो गरे ।

यसरी आरोपप्रत्यारोपको सिलसिला चलिरहँदा भवितव्य युद्ध (एक्सिडेन्टल वार) को सम्भावना प्रबल बन्दै गएको भनी विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । 

यसैक्रममा पश्चिमका सुरक्षा विश्लेषकहरूले भूउपग्रहीय तस्वीर, सामाजिक सञ्जालमा गरिएका पोस्ट तथा अन्य स्रोतबाट रुसी सैनिकहरू कहाँ छन् र तिनीहरूले कस्तो योजना बनाइरहेका छन् भनी अध्ययन गरिरहेका छन् । 

हुन पनि युक्रेन र बेलारुसलाई पुटिनले रुसी साम्राज्यकै हिस्सा मान्ने गरेका छन् । गत जुलाई महिनामा उनले एउटा आलेख प्रकाशन गर्दै रुसी र युक्रेनी एउटै हुन् भनी तर्क गरेका थिए । 

पुटिनले युक्रेन सीमा नजिक रुसी सैनिक तैनाथ गर्नुमा के कारण छ ? टाइम पत्रिकामा अमेरिकी भूराजनीतिक विश्लेषक इयन ब्रेमरले गरेको विश्लेषणअनुसार, युक्रेनमाथि आक्रमणको तानाबुना बुनेर पुटिनले आफूप्रति रुसी जनताको बफादारितालाई थप बलियो बनाउन खोजेका हुन् । 

युक्रेनको कुरा आउँदा पुटिनले तर्कसंगत सोच राख्दैनन् भनी रुसका लागि अमेरिकाका पूर्वराजदूत अलेक्जेन्डर भर्शबोले भोइस अफ अमेरिकासँगको कुराकानीमा बताएका छन् । उनका अनुसार, पुटिनले युक्रेनलाई पश्चिमी गठबन्धनमा सहभागी हुनबाट रोक्नका लागि थप जोखिम उठाउनुपरे उठाउने सोच राखेका हुन सक्छन् । त्यसैले पुटिनले रुसी भूमिहरू फिर्ता लिने व्यक्तिका रूपमा आफ्नो छवि चम्काउनका लागि सैन्य कारवाही गर्न सक्छन् भन्ने तर्क भर्शबो गर्छन् ।

हुन पनि युक्रेन र बेलारुसलाई पुटिनले रुसी साम्राज्यकै हिस्सा मान्ने गरेका छन् । गत जुलाई महिनामा उनले एउटा आलेख प्रकाशन गर्दै रुसी र युक्रेनी एउटै हुन् भनी तर्क गरेका थिए । 

क्रेमलिनको वेबसाइटमा प्रकाशित उक्त लेखमा पुटिनले रुसी, युक्रेनी र बेलारुसीहरू सबै प्राचीन रुसका सन्तति भएको लेखे । उक्त प्राचीन रुस युरोपको सबभन्दा ठूलो राज्य थियो र स्लाभिक तथा अन्य जातिका मानिसहरू विशाल रुसी साम्राज्यमा फैलिएर बसेका थिए भन्ने दाबी पुटिनले गरे । 

समय बित्दै जाँदा प्राचीन रुसको केन्द्रीय सत्ता कमजोर हुँदै गयो र रुस साम्राज्य पनि छिन्नभिन्न हुँदै गयो । शताब्दियौंसम्मको विभाजन र विभिन्न राज्यमा जीवन बिताउँदै जाँदा भाषामा विभिन्नता आउँदै गयो । तर जति भिन्न भए पनि प्राचीन रुसका सन्ततिहरू समान संस्कृति र रुसी अर्थोडक्स धर्मको बन्धनमा बाँधिएको पुटिनले तर्क गरेका छन् । 

सन् १९२२ मा सोभियत संघ निर्माण गरिँदा युक्रेन र बेलारुस पनि त्यसको अंग थिए । लेनिनले ती देशहरूलाई रुसी संघमा रहेका समान हैसियतको गणराज्यको दर्जा दिएका थिए । पुटिनका अनुसार, सोभियत संघभित्रका गणराज्यहरूलाई सीमा सहितका राज्यको रूपमा हेरिँदैनथियो, बरू संघको एक इकाइका रूपमा हेरिन्थ्यो । 

सोभियत संघको पतनपछि युक्रेन, बेलारुस तथा अन्य इकाइहरू स्वतन्त्र राज्य बनेको भए पनि प्राचीन धरोहरका सन्ततिका रूपमा उनीहरू रुसी नै भएको पुटिन लेख्छन् । यस्तो ऐतिहासिक पृष्ठभूमिका आधारमा पुटिनले युक्रेन रुसकै एक अंग भएको र ऊ पश्चिमसँग नजिकिनु उचित नहुने तर्क गरेका छन् । तर युक्रेनीहरू पुटिनको यस तर्कलाई खारेज गर्छन् ।

विद्यमान अवस्थामा युक्रेन नेटोको सदस्य मुलुक हैन यद्यपि ऊ नेटोको साझेदार भने हो । युक्रेनलाई नेटोको सदस्य बनाउनुपर्ने भनी पश्चिमी विश्लेषकहरूले तर्क गरिरहेका छन् । 

नेटोले पराआन्ध्रीय सुरक्षा (ट्रान्सएट्लान्टिक सेक्युरिटी) का लागि पनि आफूलाई विस्तार गर्दै लग्नुपर्ने र युक्रेन तथा जर्जियालाई समेत सदस्य बनाउनुपर्ने भनी एट्लान्टिक काउन्सिल नामक थिंकट्यांकको वेबसाइटमा एड्रियन होफरले धारणा राखेका छन् । युक्रेनलाई सदस्य नबनाउँदा रुसले उसलाई निल्न सक्ने अनि त्यसबाट थप प्रेरणा पाएर युरोपका अन्य मुलुकलाई पनि आफूसँग मिसाउन सक्ने होफरको दाबी छ ।

रुस र नेटोको द्वन्द्वमा अग्रपंक्तिको मुलुक भएकाले युक्रेनलाई आफ्नो पक्षमा पार्नका लागि दुवै पक्ष मरिमेटेर लागेका छन् । वर्तमान तनावको प्रमुख कारण यही हो । 

तर तनाव चर्केको भए पनि रुसले युक्रेनमाथि आक्रमण नगर्ने तर्क पनि विभिन्न विश्लेषकहरूले गरेका छन् । फरेन पोलिसी पत्रिकामा जेफ हनले गत साता प्रकाशन गरेको लेखमा रुसले युक्रेन कब्जा गर्नु महंगो, खतरनाक र अर्थहीन हुने भएकाले त्यसो नगर्ने तर्क गरेका छन् ।

टाइम पत्रिकामा इयन ब्रेमरले पनि पुटिनको आक्रामकताका कारण लाखौं युक्रेनीहरूको धारणा मस्कोप्रति नकारात्मक रहेका कारण युद्ध नहुने तर्क गरेका छन् । मस्कोले क्राइमियालाई रुसमा मिसाउँदा क्राइमियामा रहेका बफादार रुसीहरूको साथ पाएका थिए । तर युक्रेनीहरूले त्यसरी मस्कोलाई साथ नदिने भएकाले युद्ध कठिन हुने र युक्रेन कब्जामा आएछ भने पनि त्यसलाई नियन्त्रणमा राखिरहन पुटिनलाई राजनीतिक रूपमा महंगो पर्ने ब्रेमरको दाबी छ । 

त्यस्तै रुसका राजनीतिशास्त्री तथा मस्कोस्थित सेन्टर फर कम्प्रिहेन्सिभ युरोपीयन यान्ड इन्टरनेसनल स्टडीजका उपनिर्देशक दिमित्री सुस्लोभले पनि युक्रेनमाथिको पूर्ण आक्रमणको सम्भावना नरहेको बताए । रेस्पोन्सिबल स्टेटक्राफ्ट नामक वेबसाइटका डेभिड साभेलिएभ र आर्टिन डेरसिमोनियनसँग कुरा गर्दै उनले सोभियत संघको पतनपछि रुसले विशाल स्तरको युद्धमा रुचि देखाएको छैन भने । 

तर कथंकदाचित् युद्ध भएको स्थितिमा पश्चिमले युक्रेनलाई सहयोग गर्ने कुनै ग्यारेन्टी छैन । कृष्णसागरमा युद्धाभ्यास गरेर रुसलाई दबाबमा राख्न खोजेको अनि बेलायतले युक्रेनलाई युद्धपोत तथा क्षेप्यास्त्र बेच्नका लागि सम्झौता गरेको भए पनि युद्ध भइहालेको खण्डमा नेटोले युक्रेनको पक्षमा आफ्ना सैनिक उतार्ने देखिँदैन । 

रुसले कम खर्च हुने गरी प्रोक्सी, भाडाका सैनिक, सूचनामा आधारित युद्ध तथा अन्य गैरपरम्परागत प्रविधिमा जोड दिने गरेको सुस्लोभको तर्क छ । उनको भनाइमा विश्वास गर्ने हो भने रुसले युक्रेन सीमा नजिक लगभग एक लाख सैनिक तर्साउनका लागि मात्र राखेको हो, आक्रमणका लागि हैन । 

तर कथंकदाचित् युद्ध भएको स्थितिमा पश्चिमले युक्रेनलाई सहयोग गर्ने कुनै ग्यारेन्टी छैन । कृष्णसागरमा युद्धाभ्यास गरेर रुसलाई दबाबमा राख्न खोजेको अनि बेलायतले युक्रेनलाई युद्धपोत तथा क्षेप्यास्त्र बेच्नका लागि सम्झौता गरेको भए पनि युद्ध भइहालेको खण्डमा नेटोले युक्रेनको पक्षमा आफ्ना सैनिक उतार्ने देखिँदैन । 

ब्रेमरले आफ्नो लेखमा नेटो युद्धमा सहभागी नहुने दाबी गरेका छन् । उनकै जस्तो मत क्विन्सी इन्स्टिच्युट फर रेस्पोन्सिबल स्टेटक्राफ्टका वरिष्ठ अनुसन्धान फेलो एनाटोल लिएभनले व्यक्त गरेका छन् । उनका अनुसार, युद्ध भएमा रुस र पश्चिम दुवैलाई घाँडो हुनेछ । तर युक्रेनको भने बिजोकै हुनेछ किनकि उसले युद्ध हार्नेछ अनि पश्चिमले उसलाई सहयोग गर्ने छैन ।

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्