×

X
Dabur
Nic Asia
Marvel

पुस्तक समीक्षा

हिन्दू धर्मभित्रका कुरीतिको चिरफार : भाउजू बेहोर्ने प्रथा हराउँदै जाँदा सतीप्रथाको हतियार !

काठमाडाैं | पुस २४, २०७८

TVS INSIDE

सतीप्रथाको केस्राकेस्रा केलाउने सुजित मैनालीको पुस्तक ‘सतीः इतिहास र मीमांसा’ नेपाली भाषामा गरिएका यसप्रकारका अध्ययनमध्ये सर्वश्रेष्ठ प्रयास भन्न मिल्छ । लेखकको परिश्रम र विशिष्ट विश्लेषणात्मक क्षमता यस पुस्तकमा पाठकले अनुभव गर्न पाउँछ ।

IME BANK INNEWS
morang Auto yamaha

पतिको मृत्युपछि स्वेच्छाले चितामा आफूलाई पनि पतिसँगै वा केही पछि दहन गराई पवित्रताको उदाहरण प्रस्तुत गर्ने मिथकका रूपमा सतीप्रथा विकसित भएको हो । कालान्तरमा यसको दुरुपयोग हुँदै गएर सम्पत्ति वा राजनीतिक स्वार्थसिद्धिका लागि विधवालाई मार्ने प्रपञ्चमा परिणत भएको कुरालाई लेखकले मिहिन रूपमा विश्लेषण गरेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उत्तरवैदिक कालमा समाज पुरुषप्रधान बन्दै गएपछि नारीलाई नियन्त्रणमा राख्नका लागि अनेकौं भाष्यको निर्माण गरिएको र त्यसक्रममा पत्नीलाई पति नै सर्वस्व हुन् भन्ने मानसिकता विकास गराइएको देखिन्छ । एकल विवाहको चलन शुरू गरिएपछि पितृसत्तात्मक समाजले पत्नी पतिकी आश्रित तथा अर्धांगिनी भएकाले आफ्नो सबै ऊर्जा र शक्ति पतिका लागि खर्च गर्नुपर्ने सोच नारीमा विकसित गराएको थियो । 

कर्तव्यपरायणा पत्नी र पुत्रवती मातालाई आदर्श नारीका रूपमा चित्रित गरिन थालेको थियो । पतिको मृत्युपछि उनकै साथ लागेर परलोकमा पनि सुख दिनका लागि सती जान उत्प्रेरित गरिएको थियो । 

Vianet communication
Maruti inside

नारीमा यस्तो सोच विकसित गराउने कामलाई लेखक मैनालीले सांस्कृतिक हिंसाको संज्ञा दिएका छन् । अनि पतिको मृत्युपछि बिताउनुपर्ने वैधव्य जीवनको भयावहताबाट उन्मुक्ति पाउनका लागि सती वा आत्मोत्सर्ग उचित विकल्प हो भन्ने भान पनि नारीहरूमा पारिएको थियो भनी उनले चर्चा गरेका छन् । भारतीय पत्रकार शकुन्तला नरसिंहनको पुस्तक सती ः विडो बर्निङ इन इन्डियामा पनि जीवनकालभरि वैधव्यको पीडा झेल्ने कि आगोमा पोलिएर ज्यान गुमाउने यी दुईथरी अतिवादको विकल्प नारीलाई दिएर पितृसत्ताले आफ्नो दमनकारी मूल्यमान्यता नारीमाथि थोपरेको व्याख्या गरेकी छन् ।

विडम्बनाको कुरा, नारीलाई पवित्रताका सबै आदर्श पालन गर्न लगाउने पुरुषहरू आफैं चाहिँ धर्म पालन गर्दैनथिए । पत्नीको मृत्यु भएलगत्तै अर्को विवाह गर्नेदेखि लिएर अनेकौं महिलालाई पत्नी बनाउने कामलाई जायज ठहर्‍याइन्थ्यो । लैंगिक अध्ययनमा यस दोहोरो मापदण्डको व्याख्या पनि गर्नुपर्ने देखिन्छ । 

त्यससँगै युगधर्मको पनि कुरा आउँछ । सत्ययुगमा स्वेच्छाले मृत्युवरण गर्ने सतीदेवीका प्रसंगलाई कलियुगमा पनि जस्ताको त्यस्तै पालन गराउन खोज्नु धर्मका व्याख्याताहरूको असंगत तर्क हो । यस मूढाग्रहलाई मैनालीले विदेशी आक्रान्ताहरूको आगमनसँग जोडेका छन् । आक्रमणकारीहरूबाट हिन्दू धर्मको रक्षा गर्न कठोरता अपनाइएको व्याख्याका क्रममा सतीप्रथालाई प्रचलनमा ल्याइएको कुरा पुस्तकमा इंगित गरिएको छ । 

सम्पत्तिको लालसालाई सतीप्रथाको अर्को मूल कारणका रूपमा लेखकले औंल्याएका छन् । दायभागका आधारमा विधवालाई सम्पत्ति दिनुपर्ने भएकाले उनलाई त्यसबाट वञ्चित गराउन सती बन्नका लागि बाध्य बनाइने गरेको विवरण पुस्तकमा उल्लेख गरिएको छ । मैनाली लेख्छन्, ‘हिन्दूहरूमाझ नियोगप्रथा र भाउजू बेहोर्ने प्रथा हराउँदै गएपछि विधवाको सम्पत्ति परिवारबाहिर जान नदिन र पुस्तैनी सम्पत्तिको पुरुषकेन्द्रित हस्तान्तरण सुनिश्चित गर्न सतीप्रथालाई हतियार बनाइएको हामी पाउँछौं’ (पृष्ठ १०५) । 

विदेशी आक्रमणका कारण हिन्दू धर्म कठोर बनेको र सतीप्रथालाई प्रचलनमा ल्याइएको भन्ने लेखकले सतीप्रथा हट्नुमा नजानिँदो तवरले विदेशीलाई नै श्रेय दिएका छन् । बेलायतीहरूले भारतमा उपनिवेश कायम गरेपछि सतीप्रथालाई रोक्न सन् १८२९ मा कानून बनाएका थिए । त्यसका साथै बेलायतीहरूले सती जान खोज्ने भारतीय नारीहरूलाई रोक्नका लागि विभिन्न कोशिश गरेको विवरण पनि पुस्तकमा दिइएको छ । नेपालमा पनि बेलायतीहरूको संगत गरेका राणा शासकहरूले सतीप्रथा अन्त्य गराएको भनी लेखिएको छ ।

यस विश्लेषणले प्रकारान्तरबाट भारतमा उपनिवेशी शासन सही थियो भन्ने छनक दिन्छ । यस्तो किसिमको व्याख्यालाई भारतीय मूलकी विश्लेषक गायत्री चक्रवर्ती स्पिभाकले खारेज गरेकी छन् । सुप्रसिद्ध निबन्ध ‘क्यान द सबाल्टर्न स्पीक ?’ मा स्पिभाकले सतीप्रथामा रोक लगाउने कार्यलाई गोरा पुरुषले गहुँगोरो पुरुषबाट गहुँगोरो महिलालाई बचाउने कामका रूपमा उपनिवेशी शासकले हेर्ने गरेको भनी वर्णन गरेकी छन् । यसक्रममा हिन्दू महिलाको आवाज (गोरा र गहुँगोरा पुरुष) दुवै पक्षले नसुनेको उनको भनाइ छ । 

उनी तथा अन्य केही नारीवादी विश्लेषकहरूले सती जानका लागि हिन्दू महिलाले देखाएको कर्तृत्व (एजेन्सी) लाई बेलायती शासकहरूले बेवास्ता गरेको दाबी गरेका छन् । त्यसै सन्दर्भमा नारीवादी विश्लेषक मेरी डेली (जसलाई मैनालीले पुस्तकमा उद्धृत गरेका छन् र उनका केही सीमिततालाई केलाएका पनि छन्) को सतीप्रथामाथिको टिप्पणीको आलोचना अर्की उदार नारीवादी विश्लेषक जुलिया लेस्लीले गरेको प्रसंग यहाँ सान्दर्भिक छ । 

डेलीले झैं र्‍याडिकल युनिभर्सल फेमिनिजम अर्थात् संसारभरिका नारीको पीडालाई एउटै दृष्टिकोण कायम गरी सतीप्रथालाई हेर्नुभन्दा सन्दर्भको संवेदनशीलता (कन्टेक्स्ट सेन्सिबिलिटी) का आधारमा हेर्नुपर्ने भनी लेस्लीले सम्पादन गरेको पुस्तक रोल्स यान्ड रिचुअल्स फर हिन्दू विमेनमा रहेको सती ः भिक्टिम अर भिक्टर शीर्षकको अध्यायमा तर्क गरेकी छन् । त्यसो त मैनालीले पुस्तकमा ‘अश्वेत, दलित वा कुलीन परिवारका महिलाले भोग्ने समस्या एकैनास हुँदैन’ (पृष्ठ २३५) भनेर लेस्लीको आशयलाई समातेका पनि छन् ।

लेस्लीले सतीप्रथाको गुणगान नगरिकनै यस प्रथाले महिलालाई पितृसत्तात्मक दमनकारी विचारधाराको विद्रोहका रूपमा आफ्नो शक्ति र मर्यादाको प्रदर्शनका लागि अवसर दिएको भनेकी छन् । लेस्ली तथा अन्य विश्लेषकहरूको अध्ययन हेर्दा सती बन्नका लागि महिलालाई विचारधारात्मक रूपमा तयार पारिएको भनी मैनाली गरेको व्याख्याले सतीप्रथारूपी लैंगिक हिंसाको जटिलतालाई बहुआयामिक रूपमा सम्बोधन गर्न सक्दैन । 
त्यस जटिलताको व्याख्या गर्न थाल्दा आफ्नो मूल तर्क कमजोर हुने भयका कारण शायद मैनालीले त्यसमा प्रवेश नगरेको हुन सक्छ । तर डेलीको जस्तो पश्चिमी प्रतिमानका आधारमा सतीप्रथालाई हेर्दा प्रकारान्तरले मैनाली हिन्दू धर्मविरोधी ओरिएन्टलिस्टहरूसँग नजानिँदो तवरले नजिकिएको अनुभव हुन्छ । सतीप्रथालाई फ्रेडरिक एंगेल्सको सम्पत्तिसम्बन्धी व्याख्याको आलोकमा हेर्नु पनि ओरिएन्टलिजमको उदाहरण हुन सक्छ ।


बेलायती उपनिवेश भारतमा कायम नभएको अनि राणाहरूले बेलायतीसँग संगत गर्न नपाएको भए हिन्दू धर्म नारीप्रति दमनकारी रहिरहने थियो भन्ने लेखकको आशय पुस्तकमा नजानिँदो गरी प्रकट भएको छ । यसले हिन्दूहरूको कर्तृत्व शक्तिलाई अवमूल्यन गर्दछ । 

तर नेपालमा सतीप्रथा सजिलै हटेको भनी उनले गरेको आफ्नै व्याख्याले कालान्तरमा यो कुरीति हट्ने थियो भन्ने तथ्यलाई स्थापित गर्छ र पश्चिमको योगदानलाई अतिरञ्जना गर्नबाट रोक्छ । त्यसो त हिन्दू धर्मका कतिपय ग्रन्थ तथा ऋषिमुनिहरूको उदारवाद प्रतिबिम्बित भई उनीहरूले सतीप्रथाको निन्दा गरेको प्रसंग पनि पुस्तकमा अटाएको छ ।

यस पुस्तकमार्फत मैनालीले धर्मको आडमा नारीमाथि गरिने विभिन्न विभेदप्रति सचेतनाका लागि गरेको प्रयास स्तुत्य छ । ‘सतीप्रथा उन्मूलन भइसकेपछि पनि त्यस प्रथासँग गाँसिएको मनोविज्ञान निर्मूल भएको छैन । त्यस्तो मनोविज्ञानलाई कमजोर वा नामेट पार्ने दिशामा यो किताबले तिलबराबर योगदान गर्न सके पनि आफ्नो प्रयत्न सफल भएको ठान्नेछु’ (पृष्ठ २२६) भन्ने मैनालीको उद्गार मर्मस्पर्शी छ । महिनावारी, छाउपडी, जातका आधारमा गरिने छुवाछुत लगायतका विकृतिहरू पनि सतीप्रथा जस्तै कुनै दिन उन्मूलन होस् भन्ने कामना गर्न पुस्तकले पाठकलाई झकझक्याउँछ ।

पुस्तकमा केही तथ्यगत त्रुटि भेटिन्छन् । चीनमा पहिलेपहिले अभ्यास हुने लोटस फीट अर्थात् महिलालाई यौनाकर्षक बनाउनका लागि पाइताला खुम्च्याउने कामको बारेमा उल्लेख गर्दा लेखकले पाइताला काटेर बंग्याउने भनेका छन् । पाइताला काटिने गरेको विवरण पाइँदैन । अनि पुस्तकमा भेनेजुएलाका महिलाले छरितो कम्मर बनाउन कोर्सेट लगाउने गरेकोलाई (लामो समयदेखि चलिआएको) चलन भनिएको छ । त्यो चलन भन्दा पनि केही महिलाले फेशनका रूपमा अपनाएको देखिन्छ ।

यी सानातिना त्रुटिलाई बेवास्ता गर्ने हो भने पुस्तकलाई नेपाली वाङ्मयको उत्कृष्ट कृति भन्न मिल्छ । यति गहन र विशद अध्ययन गरिएको अनि लैंगिक विमर्शमा योगदान गर्ने कृति नेपाली भाषामा दुर्लभै लेखिने गरिन्छन् । त्यसका लागि लेखक मैनाली साधुवादका पात्र हुन् ।

पुस्तक : सती इतिहास र मीमांसा
लेखक : सुजित मैनाली
प्रकाशक : किताब पब्लिसर्स प्रालि
प्रकाशन वर्ष : २०७८ 
मूल्य : रु ७००

TATA Below
NLIC
असार १९, २०७९

साहित्यकार रेणुका पन्थीको ‘प्यारो नेपाल’ नामक खण्डकाव्य विमोचित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा देवी नेपाल, समालोचक प्रा डा रामप्रसाद ज्ञवाली र वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा भाग...

असार २८, २०७९

कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् ।  असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत ...

असार २८, २०७९

कवि तथा चर्चित गीतकार वसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् ।  असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह (छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत...

साउन २१, २०७९

वनारसबाट उत्तरमध्यमा गरी काठमाडौं फर्केर गोपाल गाउँले साथीहरूसँगै नरदेवीतिर बस्न लाग्यो । साथीहरू बिहानै खाना खाएर माडवारीको काममा जान्थे, ऊ जागिर खोज्न । विदेशमा पढेर आएको गोपाललाई नेपालको भूगोल र इतिहास...

असार २५, २०७९

नेपाल मानव धर्म सेवा समितिले २०९औं भानु जयन्तीको अवसरमा अन्तर विद्यालय कविता प्रतियोगिता आयोजना गरेको छ ।  शनिवार काठमाण्डौंमा आयोजना गरिएको प्रतियोगितामा वेद विद्याश्रमका उत्सव ढुंगाना प्रथम भएका छन् ...

साउन २, २०७९

रमेश थापा यो मेरो सानो देश जहाँ केन्द्रीय सरकार छ यही सानो देशभित्र सात प्रदेश सरकार छन् यही  सानो देशभित्र सात सय त्रिपन्न स्थानीय सरकार छन् यही सानो देशभित्र छ हजार सात सय त्रिचालीस वडाहर...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x