साउन १९, २०७९
अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमण खतरनाक रणनीतिअन्तर्गत आएको देखिन्छ । एक चीन नीतिलाई परित्याग गरी ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न अमेरिकाका नवअनुदारवादीहरूले राखिरहेको मागलाई पल...
काठमाडाैं | पुस २७, २०७८
चीन र अमेरिकाले संसारभरि आफ्नो प्रभाव कायम गर्नका लागि तीव्र प्रतिस्पर्धा गरिरहेका बेलामा पूर्वी अफ्रिका, अझ विशेषगरी, हर्न अफ अफ्रिका प्रतिस्पर्धाको महत्त्वपूर्ण केन्द्र बनेको छ ।
हिन्द महासागरलाई लाल सागर र स्वेज नहर हुँदै युरोपसँग जोड्ने रणनीतिक महत्त्व बोकेको हर्न अफ अफ्रिकामा जिबुटी, इरिट्रिया, इथियोपिया र सोमालिया पर्छन् । सांस्कृतिक समानता रहेका यी मुलुकसँगै केन्या, सुडान, साउथ सुडान र युगान्डालाई पनि यसै क्षेत्रसँग जोडेर हेर्ने गरिन्छ ।
अघिल्लो साता चीनका परराष्ट्रमन्त्री वाङ यीले इरिट्रिया, केन्या र कोमोरोसको भ्रमण गरेका थिए । त्यस भ्रमणमा उनले हर्न अफ अफ्रिकामा शान्तिपूर्ण विकासको पहल चीनले गर्न चाहेको बताए र उक्त क्षेत्रका लागि चीनले विशेषदूत नियुक्त गर्ने घोषणा गरे । त्यसका साथै उक्त क्षेत्रका मुलुकहरूले सामना गरेको सुरक्षा, विकास र सुशासनको चुनौतीलाई सम्बोधन गर्न पनि चीनले सहयोग गर्ने उनले बताए ।
त्यसअघि नोभेम्बर महिनामा अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले केन्या, नाइजेरिया र सेनेगलको भ्रमण गरेका थिए । उक्त भ्रमणमा उनले अमेरिकाको परराष्ट्रनीतिमा अफ्रिकालाई थप प्राथमिकता दिइने वाचा गरेका थिए । अफ्रिकालाई भूराजनीतिको शिकार नभई खेलाडीको रूपमा व्यवहार गर्नुपर्ने उनको भनाइ थियो ।
भ्रमणभरि उनले अफ्रिकामा प्रभावका लागि चीनसँग आफूहरूले प्रतिस्पर्धा नगरेको बताए र मुलुकहरूलाई चीन वा अमेरिकामध्ये एकलाई छान्नुपर्ने बाध्यता नरहेको भनी आश्वस्त पार्न खोजे । तर उनको यस्तो आश्वासनका बावजूद अमेरिकाका सुरक्षा तथा गुप्तचर संयन्त्रहरू अफ्रिकामा चीनको बढ्दो प्रभावबाट चिन्तित देखिएका छन् ।
अफ्रिकी मुलुकहरूलाई आफूप्रति बफादार राख्नका लागि ब्लिन्केनले उक्त भ्रमणमा विभिन्न अमेरिकी कम्पनीहरूबाट अफ्रिकामा गरिने विकासका कामका लागि अर्ब डलर लगानीको सहमतिमा हस्ताक्षर गरेका छन् । सार्वजनिक सुरक्षा सेवा तथा थप स्तरीय सडक बनाउन अमेरिकी कम्पनीहरूले काम गर्नेछन् ।
त्यसका साथै जीवाष्म इन्धनको विकल्पका रूपमा हरित ऊर्जालाई प्रोत्साहन गर्नका लागि पनि अमेरिकाले सहयोग गर्नेछ । अनि अफ्रिकी मुलुकहरूसँग अन्तरिक्ष गतिविधिहरूमा पनि अमेरिकाले सहयोग गर्ने कुरा भएको छ ।
दुई महाशक्तिले हर्न अफ अफ्रिकामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा उक्त क्षेत्रका लागि विशेषदूत नियुक्तिमा प्रतिस्पर्धा गरिरहेका छन् । अमेरिकाले केही दिनअघि मात्र जेफ्री फेल्टम्यानको स्थानमा डेभिड स्याटरफील्डलाई विशेषदूतमा नियुक्त गरेको छ ।
फेल्टम्यानको कार्यकालमा इथियोपिया र इरिट्रियाले टीपीएलएफ विद्रोहीहरूसँग युद्ध गरेको र सुडानमा सेनाले लोकतन्त्रसमर्थकहरूमाथि दमन गरेको थियो । टर्कीका लागि अमेरिकी राजदूत फेल्टम्यानको आगमनले हर्न अफ अफ्रिकाको द्वन्द्व समाधानमा योगदान पुग्ने र अमेरिकाको प्रभाव वृद्धि हुने आशा अमेरिकाले लिएको छ ।
चीनका परराष्ट्रमन्त्री वाङ यीले हर्न अफ अफ्रिकामा विशेषदूत नियुक्त गरिने भनी अघिल्लो साता केन्यामा घोषणा गरेलगत्तै अमेरिकाले आफ्नो विशेषदूत परिवर्तन गरेको हो । विशेषदूतले हर्न अफ अफ्रिकामा शान्ति प्रक्रियाको नेतृत्व गर्ने उनको भनाइ छ ।
चीनलाई आफ्नो महत्त्वाकांक्षी परियोजना बेल्ट यान्ड रोड इनिसिएटिभको सफलताका लागि पनि हर्न अफ अफ्रिकामा शान्ति आवश्यक छ । विशेषगरी इथियोपियामा चलिरहेको जातीय द्वन्द्वका कारण चिनियाँ परियोजनालाई गति दिन गाह्रो परिरहेको हो ।
विगत १४ महिनादेखि इथियोपियाको उत्तरी भागमा सरकारी सेना र टिग्रे विद्रोहीहरूबीच भीषण द्वन्द्व चलिरहेकोमा सरकारी पक्ष लगभग विजयी भएको छ । स्थलयुद्ध अस्थायी रूपमा बन्द भएको छ तर सरकारी सेनाले विद्रोहीहरूमाथि हवाई आक्रमण जारी राखेको छ ।
यसको पृष्ठभूमिको संक्षिप्त चर्चा गरौं । सत्ताईस वर्षदेखि इथियोपियामा एकदलीय शासन चलाउँदै हालीमुहाली गरिरहेको टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) का विरुद्ध प्रधानमन्त्री आबी अहमदले विभिन्न दललाई मिसाएर प्रोस्पेरिटी पार्टी बनाउँदै टीपीएलएफलाई सत्ताच्युत गरेका थिए ।
सत्ताबाट बाहिरिएको झोंकमा टीपीएलएफले आबी सरकारविरुद्ध विद्रोह शुरू गरेपछि इथियोपिया र इरिट्रियाका सेनासँग टीपीएलएफ लडाकूहरूको भिडन्त सन् २०२० को नोभेम्बर महिनाबाट शुरू भएको हो । उक्त द्वन्द्वमा परी अहिलेसम्म ५७ हजारजनाको ज्यान गइसकेको आँकडा छ ।
इथियोपियामा चलेको यस द्वन्द्वमा चीन र अमेरिकाको प्रतिस्पर्धा पनि जोडिएको छ । अमेरिकाले टीपीएलएफका विद्रोही लडाकूहरूलाई साथ दिइरहेको छ भने चीनले सरकारलाई समर्थन गरेको छ ।
चीनले नै पहिला द्वन्द्व गरिरहेका इथियोपिया र इरिट्रियाका सरकारलाई शान्तिवार्ता गर्न उत्प्रेरित गरेको थियो र त्यसमा सफलता पाएका इथियोपियाली प्रधानमन्त्री अहमदले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका थिए ।
इथियोपिया र इरिट्रियाबीचको शान्तिबहाली दह्रो बन्न नपाउँदै अमेरिकी उक्साहटमा टीपीएलएफले हर्न अफ अफ्रिकालाई अशान्त बनाउन थालेको हो ।
इन्डियन पन्चलाइन नामक वेबसाइटमा भूराजनीतिक विश्लेषक एमके भद्रकुमारको आलेखमा उल्लेख भएअनुसार, अमेरिकाले टीपीएलएफका रूपमा प्रोक्सी उपयोग गरी इथियोपियामा अस्थिरता ल्याउन खोज्दा अफ्रिकीहरू अमेरिकासँग रिसाएका छन् ।
उनीहरू ह्याशट्याग नोमोर अभियान चलाइरहेका छन् । भद्रकुमारका अनुसार, नो मोर भनेर उनीहरूले उपनिवेशवाद, विभिन्न प्रतिबन्ध, गलत सूचना र सीएनएन बीबीसीको झूट अब पुग्यो भन्न खोजेका हुन् ।
अमेरिकाले टिग्रे युद्धको सन्दर्भ उठाउँदै इथियोपिया र इरिट्रियाविरुद्ध विभिन्न प्रतिबन्ध लगाएको छ । मानवअधिकार उल्लंघनको आरोप लगाउँदै अमेरिकाले इथियोपियालाई माली र गिनीसँगै प्राथमिकतामा आधारित व्यापार कार्यक्रमबाट समेत निकालेको छ । उक्त कार्यक्रमअन्तर्गत अफ्रिकी सामानमा आयातकर छुट दिने व्यवस्था थियो ।
त्यस्तै गत नोभेम्बर महिनामा अमेरिकाले इरिट्रियाको सेना, सत्तारूढ दल र सरकारका दुई वरिष्ठ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको थियो । उनीहरू इथियोपियाको द्वन्द्वमा सहभागी रहेको भनी प्रतिबन्ध लगाइएको हो । टिग्रे विद्रोहीलाई अमेरिकाले गरेको समर्थन यस कदमबाट झन् स्पष्ट भएको छ ।
आवरणमा मानवअधिकारको कुरा उठाए पनि अमेरिकाले खासमा ती मुलुकहरूले चीनको बीआरआईलाई अँगालेकोमा असन्तुष्टि जनाएको हो । उक्त क्षेत्रमा चीनको प्रभाव जसरी भए पनि घटाउने अमेरिकाको लक्ष्य हो ।
अमेरिकाले किन यसो गर्न खोजिरहेको हो ? बेलायती भूराजनीतिक विश्लेषक टम फाउडीले यसको उत्तर दिएका छन् । आरटीमा प्रकाशित उनको विश्लेषणमा उल्लेख भएअनुसार, उक्त क्षेत्र अमेरिकाले हिन्द प्रशान्त नाम दिइएको विशाल परिधिमा रहेको रणनीतिक गौंडो हो । त्यहाँ अमेरिकाले चीनलाई घेराबन्दी गर्नका लागि आर्थिक, राजनीतिक तथा सैन्य मोर्चामा प्रभुत्व जमाउन खोजेको छ ।
हर्न अफ अफ्रिकामा रहेको मुलुक जिबुटीमा चीनको सैन्य अड्डा रहेको नै अमेरिकालाई चित्त बुझिरहेको छैन । त्यसका साथै चीनले अफ्रिकामा आर्थिक मोर्चामा अमेरिकालाई निकै पछाडि पारिदिएको तथ्यले अमेरिकालाई ठूलै पीडा दिएको छ ।
चीनले ऋण पासोमा पार्छ भनी अमेरिकाले जतिसुकै प्रचारबाजी गरिरहेको भए पनि अफ्रिकीहरूले पूर्वाधार विकास तथा व्यापारका लागि चीनलाई पत्याउने गरेका छन् । अफ्रिकी मुलुकहरूको सबभन्दा ठूलो व्यापारिक साझेदार चीन नै हो ।
यस्तो अवस्थामा हर्न अफ अफ्रिकामा अशान्ति मच्चिएमा चिनियाँ परियोजना गतिहीन हुनेछन् भन्ने आकलन गरेरै अमेरिकाले इथियोपिया र इरिट्रियामा टीपीएलएफमार्फत हिंस्रक विद्रोहलाई समर्थन गरेको देखिन्छ । त्यसैलाई मद्देनजर गरी चीनले हर्न अफ अफ्रिकाका लागि विशेषदूत नियुक्त गर्न खोजेको हो तर त्यसमा चीनले सफलता पाउने सम्भावना प्रबल छ ।
मर्काटोर इन्स्टिच्युट फर चाइना स्टडीज नामक संस्थाका लागि हेलेना लेगार्डाले गरेको विश्लेषणमा चीनले विभिन्न देशमा द्वन्द्व समाधानका लागि मध्यस्थता गरेको सप्रमाण उल्लेख छ । हर्न अफ अफ्रिकामै चीनले सुडान र साउथ सुडानबीच मध्यस्थता गरेको हो ।
चीनको छवि अफ्रिकी मुलुकहरूमा राम्रो रहेको ताजा सर्वेक्षणले पनि देखाएको छ । अफ्रिका पोलिसी रिसर्च इन्स्टिच्युटको वेबसाइटमा प्रकाशित सामग्रीमा अफ्रोब्यारोमिटर नामक सर्वेक्षण संस्थाको ताजा सर्वेक्षणको नतिजा उल्लेख गरिएको छ । कुल ३४ देशमा गरिएको सर्वेक्षणमा ६३ प्रतिशतले अफ्रिकामा चीनको प्रभावलाई सकारात्मक रूपमा लिएका छन् । त्यसैले हर्न अफ अफ्रिकाको द्वन्द्व समाधान गर्न सक्ने सामर्थ्य चीनसँग छ ।
त्यसबाहेक चीनले अफ्रिकी मुलुकहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने अनि राष्ट्रिय सार्वभौमसत्तालाई सम्मान गर्ने भएकाले मुलुकहरूले उसलाई विश्वास गर्छन् । तर अमेरिकाले टिग्रे विद्रोहीलाई समर्थन गरेर आफ्नो पक्षधरता देखाई रणनीतिक भूल गरेको र बेइजिङलाई फाइदा गराएको भन्ने टम फाउडीको दाबीमा दम छ ।
यसै सन्दर्भमा फरेन पोलिसी पत्रिकामा ब्रोनवीन बर्टन र यान फिजजेराल्डले बाइडन प्रशासनलाई इथियोपियाका सम्बन्धमा सुधारात्मक कदम चाल्न अनि टीपीएलएफको हिंस्रक विद्रोहलाई राजनीतिको आवरण नदिलाउन दिएको सुझाव मननयोग्य छ ।
अमेरिकाले विद्रोहीलाई साथ दिएको अवस्थामा इथियोपिया र इरिट्रियाले आफ्नो सार्वभौमसत्ता जोगाउनका लागि बेइजिङलाई महत्त्वपूर्ण राजजनीतिक साझेदार बनाउनु चीनको भूराजनीतिक विजय हो । त्यसो त चीनले इथियोपियामा कैयौं वर्षदेखि निरन्तर लगानी गरेर सद्भाव कमाएको पनि छ ।
सबभन्दा मुख्य कुरा त अमेरिकाले चीनको बीआरआई जस्तो भूआर्थिक परियोजना ल्याउन नसक्दा अफ्रिकामा ऊ पछि परिरहेको देखिन्छ । हरेक कुरालाई सैन्य दृष्टिकोणबाट हेर्ने अमेरिकी परराष्ट्रनीतिका कारण संसारका विभिन्न मुलुकहरू उसप्रति उदासीन हुन थालेका छन् । तर व्यापार र पूर्वाधारमा जोड दिएकाले चीनले नयाँ साझेदार कमाइरहेको छ ।
अफ्रिकी मुलुकहरूले अमेरिकाको एकल विजयी (जिरो सम) जालोमा नपरी चिनियाँ बीआरआईको दुवै पक्ष विजयी (विन विन) लाई अँगालेका छन् । हर्न अफ अफ्रिकामा देखिएको प्रतिस्पर्धामा तत्कालका लागि चीनले अग्रता लिएको देखिन्छ ।
अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमण खतरनाक रणनीतिअन्तर्गत आएको देखिन्छ । एक चीन नीतिलाई परित्याग गरी ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न अमेरिकाका नवअनुदारवादीहरूले राखिरहेको मागलाई पल...
चीनको चेतावनीलाई बेवास्ता गर्दै अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि आक्रोशित चीनले ताइवान क्षेत्र नजिक सैन्य अभ्यास जारी राखेको छ । आइतवार (७ अगस्ट) सम्म भएको अभ्यास अब नियम...
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको पाँचदलीय गठबन्धन सोमवारदेखि सीट बाँडफाँडको छलफलमा प्रवेश गरेको छ । सीट बाँडफाँड गर्न गठबन्धनले बनाएको कार्यदल सोमवारबाट...
अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि आक्रोशित चीनले ताइवान वरपर लगातार युद्धाभ्यास गरिरहेको छ । ताइवानमा उठेका स्वतन्त्रता (अलग राष्ट्र बनाउने) स्वरहरूलाई क्रमशः दबाउँदै जाने रणनीतिअन्तर्ग...
चीन र अमेरिकाबीचको सम्बन्ध अहिले निकै चिसिएको छ र त्यसको प्रमुख कारण ताइवान हो । अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले चीनलाई रणनीतिक पासोमा पार्ने उद्देश्यले ताइवान भ्रमण गरेपछि चिनियाँ जनमुक्ति से...
आगामी मंसिर ४ गते हुने आम चुनावमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ ५ दलीय गठबन्धनले सिट बाँडफाँटबारे औपचारिक छलफल थालेको छ । सिट बाँडफाँट गर्न गठबन्धनले कार्यदल बनाएको छ । चुनावी तालमेलको सैद्धान्तिक स...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...