×

X
Dabur
Nic Asia
Marvel

न बेच्न मिल्ने, न फाल्न

डेढ अर्बको रक्तचन्दन सरकारलाई घाँडो: सिंहदरबारको मुखैमा १५ वर्षदेखि प्रहरीको निदहराम !

जफत गरिएको रक्तचन्दन कतै चोरी, कतै साटफेर; विभागसँग छैन अभिलेख

काठमाडाैं | चैत ६, २०७८

TVS INSIDE

तस्करी गरेर नेपाल भित्र्याइँदै गर्दा बरामद भएको रक्तचन्दनको सुरक्षा सरकारका लागि टाउको दुखाइको विषय बनेको छ । बरामद रक्तचन्दनलाई डेढ दशकदेखि शसस्त्र प्रहरीले पहरा दिइरहेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुखैमा रहेको बबरमहलस्थित वन तथा भूसंरक्षण विभाग कार्यालय परिसरमा राखिएको रक्तचन्दन सुरक्षाका लागि सरकारले १५ वर्षदेखि सुरक्षाकर्मी खटाएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

वन तथा वातावरण मन्त्रालयका सह–सचिव समेत रहेका सहभागितामूलक वन महाशाखा प्रमुख डा. सिन्धुप्रसाद ढुंगाना रक्तचन्दन सरकारलाई 'घाँडो' भएको बताउँछन् ।

'एकप्रकारले हामीलाई यसले धेरै तनाव भएको छ । न प्रयोग गर्न पाउने, न लिलाम गरेर राजश्व दाखिला गराउन मिल्ने, यहाँ त हामीले सुरक्षा दिएर बस्नुपरेको छ,' ढुंगानाले लोकान्तरसँग भने, 'पटक–पटक मन्त्रिपरिषदको बैठकबाट भारतलाई रक्तचन्दन फिर्ता लैजान आग्रह गर्ने निर्णय भए पनि भारतले फिर्ता नलैजाँदा समस्या भएको छ ।'

Vianet communication
Maruti inside

वन विभागको परिसरमा २०६३ सालमा अस्थायी रूपमा सशस्त्र प्रहरीको पोस्ट खडा गरिएको थियो । त्यसको तीन वर्षपछि २०६६ असोज ७ गते प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी रहने गरी सशस्त्र प्रहरी बल नेपाल वन विभाग सुरक्षा बेस क्याम्प नै स्थापना गरियो । उक्त बेस क्याम्प अहिले पनि छँदैछ । तर विगत दुई वर्षदेखि भने प्रहरी नायब निरीक्षकको कमाण्डमा १० जना प्रहरी मात्र खटिएका छन् ।

'यहाँ दुईवटा ट्रक, एउटा बस र टिनको टहरामा राखिएको रक्तचन्दनको सुरक्षा गर्न हामीलाई भनिएको छ,' उक्त बेस क्याम्पका इञ्चार्जले लोकान्तरसँग भने, 'हामीले बाहिरबाट मात्र सुरक्षा गर्ने गरेका छौं, भित्र के कति संख्यामा रक्तचन्दन छन् वा छैनन् भन्ने कुरा पनि हामीलाई थाहा छैन ।'

वन विभागको परिसरमा दुईवटा ट्रकमध्ये ना २ ख ४८६७ नम्बरको कन्टेनर र अर्को नम्बर प्लेट नखुलेको ट्रकलाई त्रिपालले ढाकेर राखिएको छ। त्यसैगरी नम्बर प्लेट नखुलेको एउटा बस र टिनले बनेको टहरामा रक्तचन्दन राखिएको उनले बताए। 'हामीले वास्तवमा त्यो ट्रकलाई अहिलेसम्म खोलेर हेरेका पनि छैनौं,  कति परिमाणमा काठ छन् वा छैनन् भन्ने कुरा पनि थाहा छैन,' ती सईले लोकान्तरसँग भने, 'त्यो सबै तथ्यांक विभागले नै राखेको छ, हामीले बाहिरी सुरक्षा दिने काम मात्र गरेका छौं ।'

वन तथा भूसंरक्षण विभागको परिसरमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रसुवासहित ६ जिल्लामा बरामद गरिएका रक्तचन्दन राखिएको छ ।

विभागको रक्तचन्दन हेर्ने साइटिङ शाखाका सहायक वन अधिकृत सुरेन्द्रप्रसाद अधिकारीले उपलब्ध गराएको तथ्यांकअनुसार विभाग परिसरमा कुल ८८ हजार ५ सय ४२ किलो रक्तचन्दनको काठ राखिएको छ, जसमध्ये सिन्धुपाल्चोकबाट ३० हजार ५५१.६ किलो, काठमाडौंबाट ७३ हजार ३१९.२५ किलो, ललितपुरबाट ६१९ किलो, भक्तपुरबाट ४९ किलो, काभ्रेपलान्चोकबाट ५७ किलो र रसुवाबाट १३ हजार ९४६.८ रक्तचन्दन बरामद गरी भण्डारण गरिएको उनले बताए ।

 

देशभरी २ लाख ११ हजार ५४ किलो रक्तचन्दनको काठ  

वन तथा भू-संरक्षण विभागले दिएको तथ्यांकअनुसार देशका २० जिल्लामा बरामद गरिएकामध्ये २ लाख ११ हजार ५४ किलो रक्तचन्दन नेपालमा राखिएका छन् ।

विभागका सहायक वन अधिकृत अधिकारीका अनुसार ती सबै रक्तचन्दन भारतबाट नेपालको मार्ग हुँदै चीनतर्फ तस्करी गर्न लाग्दा बरामद गरिएका थिए । उक्त काठमध्ये १६ हजार ४८७ किलो काठको विषयमा देशका विभिन्न अदालतहरूमा मुद्दा चलिरहेको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा रक्तचन्दनको मूल्य प्रतिकिलो ८ हजार नेपाली रुपैयाँसम्म पर्ने वन विभागकै कर्मचारीहरू बताउँछन् । त्यस आधारमा हिसाब १ अर्ब ६८ करोड ८४ भन्दा बढी मूल्य बराबरको रक्तचन्दन थन्किएर बसेको छ ।

अदालतमा जरिवाना तोक्ने प्रयोजनका लागि भने प्रतिकिलो ८ सय रुपैयाँका दरले मूल्यांकन गर्ने गरिएको छ, जुन वास्तविक मूल्यभन्दा कैयन गुणा कम हो ।    

व्यक्तिको निजी काठ रहेको मुद्दा जितेका व्यक्तिलाई फिर्ता गर्नुपर्ने ८ हजार ४५९ किलो रक्तचन्दन पनि सम्बन्धित व्यक्तिले फिर्ता लगेका छैनन् ।

'अदालतमा मुद्दा परेपछि व्यक्तिले मुद्दा जिते, तर जित्ने व्यक्तिले फिर्ता लग्नुपर्ने काठ पनि बिक्री नै गर्न नपाइने भएपछि फिर्ता लगेका छैनन्,' अधिकारीले लोकान्तरसँग भने, 'त्यसैगरी अदालतले नै लिलाम गर्न भनेको भक्तपुरको १५ हजार ४७० किलो रक्तचन्दन समेत लिलाम गरिएको छैन। लिलाम गर्दा पनि कसैले किन्न नसक्ने हुनाले लिलाम नगरी त्यसै थन्क्याएर राखिएको छ ।

चितवन, सर्लाही, दोलखा, झापा, नवलपरासी, ताप्लेजुङ, कपिलवस्तु, धादिङ, तेह्रथुम, रुपन्देही, बझाङ, गोरखा, संखुवासभा, सप्तरी सहितका जिल्लाहरूमा पनि रक्तचन्दन बरामद गरेर राखिएका छन्। ती जिल्लाहरूमा भने डिभिजन वन कार्यालयका सशस्त्र वन रक्षकहरूले नै रक्तचन्दनको सुरक्षा गरिरहेका छन्।

विभागका अनुसार नेपालमा सबैभन्दा पहिले २०६२ साल फागुन २ गते सिन्धुपाल्चोकमा रक्तचन्दनको काठ बरामद गरिएको थियो । त्यसपछि २०६४ साल कात्तिक २७ गते सिन्धुपाल्चोकबाट नै कूटनीतिक नम्बर प्लेटको नक्कली नम्बर ११ सिडी ३८ र ११ सीडी २६ प्रयोग गरी खासा कटाउन लागिएको दुई भ्यान रक्त चन्दन बरामद गरिएको थियो।

त्यसैगरी २०६४ असोज ३ गते कपिलवस्तुको भिल्मीबाट ८ सय ८३ किलो रक्तचन्दनसहित ५ जना पक्राउ परेका थिए । २०६४ वैशाख ६ गते सिन्धुपाल्चोकको चेहरेबाट ना २ ख २६३४ नम्बरको भ्यानसहित रक्तचन्दन बरामद गरिएको थियो ।

२०६४ वैशाख ६ गते वीरगञ्जबाट २ वटा गोदाममा लुकाएर राखिएको रक्तचन्दन बरामद गरिएको थियो । २०६४ मंसिर १३ गते बालाजु बाँजोघारी बाइपासबाट ८३ थान रक्तचन्दनसहित १ जना पक्राउ गरिएको थियो ।

२०६६ भदौ ३ गते दोलखाबाट ६ सय किलो, २०६६ भदौ २८ गते भक्तपुरबाट २ हजार किलो, २०६८ जेठ १८ गते सिन्धुपाल्चोकको तातोपानीबाट १ हजार ४ सय ५३ किलो रक्तचन्दन बरामद गरिएको थियो।

२०६८ असार १७ गते सिन्धुपाल्चोकको कोदारीबाट १ हजार ४ सय किलो, २०६८ भदौ १६ गते काभ्रेको पाँचखालबाट ६ सय किलो, २०६८ भदौ २४ गते सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार कार्यालयबाट १ सय २८ किलो रक्तचन्दन बरामद गरिएको थियो ।

यसरी विभिन्न मितिमा देशका विभिन्न स्थानबाट रक्तचन्दन बरामद गरिएको थियो। त्यसमध्ये केही राजश्व बुझाएर ल्याएको पाइएको थियो भने धेरैजसो अवैध रूपमा चीनतर्फ तस्करी गर्नकै लागि ल्याइएको अवस्थामा बरामद गरी कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको वन तथा भू-संरक्षण विभागका कानून अधिकृत पुष्पराज धितालले बताए ।

रक्तचन्दनसहित पक्राउ गरिएका व्यक्तिहरू विरुद्धका अधिकांश मुद्दा अदालतमा विचाराधीन अवस्थामै रहेको धितालले बताए । १६ हजार ४८७ किलो रक्तचन्दनको विषयमा अदालतमा मुद्दा विचाराधीन छ ।​

वन कार्यालयकै कर्मचारीको मिलेमतोमा रक्तचन्दन चोरी

एकातर्फ व्यक्तिले फिर्ता लग्नुपर्ने रक्तचन्दन लगेका छैनन् र लिलाम गर्नुपर्ने रक्तचन्दन पनि लिलाम हुन सकेको छैन भने अर्कातर्फ जफत गरी वन कार्यालयमा राखिएका वनका कर्मचारीकै संलग्नतामा चोरी पनि भएका छन् ।

जिल्ला वन कार्यालय ललितपुरमा वन कार्यालयका केही कर्मचारीहरूकै मिलेमतोमा ११ हजार २४३ किलो रक्तचन्दन चोरी भएको थियो ।

उक्त घटनामा संलग्न रहेका वन कार्यालयका सहायक कर्मचारीहरू र वनरक्षकलाई विभागीय कारवाही गरी सेवाबाट बर्खास्त गरिएको थियो । वन कार्यालयका चालक, सशस्त्र वनरक्षकसहित सहायक कर्मचारीहरूले रक्तचन्दन चोरी गरेको पुष्टि भएपछि उनीहरूलाई सेवाबाट बर्खास्त गरिएको थियो।

त्यसैगरी जिल्ला वन कार्यालय सिन्धुपाल्चोकमा पनि बरामद गरी राखिएका रक्तचन्दनलाई संरक्षण गर्नुपर्ने दायित्व बोकेका कर्मचारीहरूले नै मिलेमतो गरेर अन्य काठसँग फेरबदल गरेका थिए। त्यस्तो कार्यमा संलग्न भएका केही कर्मचारीहरूलाई पनि विभागीय कारवाही गरी सेवाबाट बर्खास्त गरिएको थियो।

विभागको तथ्यांकअनुसार १९ हजार ३२४ किलो रक्तचन्दन  हराएको छ, जसमध्ये ललितपुरमा बरामद गरेर राखिएको ११ हजार २ सय ४३ किलो रक्तचन्दन चोरी भएको पुष्टि भए पनि अन्य रक्तचन्दन कहाँ चोरी भयो वा कसरी हरायो भन्नेबारे विभाग बेखबर छ ।

भीआईपीको दाहसंस्कारमा रक्तचन्दन प्रयोग

बरामद गरेर राखिएका ती रक्तचन्दन भीआईपीहरूको दाहसंस्कारमा समेत प्रयोग हुने गरेको छ ।

वन विभागका सहायक वन अधिकृत अधिकारीका अनुसार हालसम्म ६१४.९६ किलो रक्तचन्दन देशका पूर्व प्रधानमन्त्रीहरूको मृत्युपश्चात दाहसंस्कारमा प्रयोग गरिएको छ ।

पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला सूर्यबहादुर थापा, तुलसी गिरी र कीर्तिनिधि विष्टको मृत्युपश्चात दाहसंस्कारका लागि रक्तचन्दन पठाइएको उनले बताए।

भारत फिर्ताका लागि १ लाख ६८ हजार ५२७ किलो काठ प्रस्तावित

१ लाख ६८ हजार ५२७ किलो रक्तचन्दन भारत फिर्ताका लागि प्रस्ताव गरिएको छ ।

२०६५ माघ २ गते र २०७१ फागुन १२ गते गरी दुईपटक मन्त्रिपरिषदले नै रक्तचन्दन भारत फिर्ता पठाउने निर्णय गरेको थियो । तर भारतीय पक्षले अहिलेसम्म फिर्ता लगिसकेको छैन ।

मन्त्रिपरिषदको निर्णयपश्चात ४ कन्टेनर रक्तचन्दन विभागबाट रक्सौलस्थित नाकामा पुर्‍याएर भारतीय पक्षलाई बुझाएको वन विभागका एक कर्मचारीले बताए । त्यसको आधिकारिक अभिलेख विभागसँग छैन ।

२०६५ साल माघ २ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार भारतले ३६ हजार ९२८ किलो रक्तचन्दन फिर्ता लगेको उनले बताए ।

भारतीय राजदूतलाई समेत भेटेर रक्तचन्दन फिर्ता लैजान आग्रह गरिए पनि कोभिडको कारण देखाउँदै भारतीय पक्षले फिर्ता लैजान ढिलाइ गरेको वन मन्त्रालयका सह–सचिव सिन्धुप्रसाद ढुंगानाले बताए ।

'मन्त्रालयकै दुईपक्षीय कार्यक्रमका लागि अफिसियल भिजिट हुँदा पनि हामीले भारतीय राजदूतलाई रक्तचन्दन फिर्ता लैजान आग्रह गर्ने गरेका छौं, त्यसबाहेक पत्राचार गरेर पनि भन्ने गरेका छौं,' उनले लोकान्तरसँग भने, 'तर, कोभिडका कारण लैजान नसकिएको भनेर उहाँहरू पन्छिँदै आउनुभएको छ ।'

भारतको आन्ध्र प्रदेश, कर्नाटक, तमिलनाडुसहितका राज्यमा उत्पादित रक्तचन्दन नेपाल हुँदै चीनतर्फ तस्करी गर्नका लागि लगिँदै गरेको अवस्थामा नेपालमा बरामद गरिएको थियो ।

अन्तर्राष्ट्रिय सन्धि र कानूनले निम्त्याएको समस्या

वन मन्त्रालयका सहसचिव सिन्धुप्रसाद ढुंगानाले अन्तर्राष्ट्रिय महासन्धि र नेपालको कानूनका कारण जफत गर्न सकिने तर त्यसलाई लिलाम गर्न नसकिने अवस्था रहेको बताए ।

नेपाल दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएकाले बरामद गरिएको रक्तचन्दनलाई लिलाम गर्न नसकिएको उनको भनाइ छ ।

त्यसैगरी संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ ले पनि बाहिरबाट आएको रक्तचन्दनलाई बाहिरै फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।

'नेपालमा जफत भएका ती रक्तचन्दन नेपाल सरकारले निर्णय गरेर ९० दिनभित्र फिर्ता लैजान परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार पनि गरिएको छ,' ढुंगानाले लोकान्तरसँग भने, 'तर मन्त्रिपरिषदबाट निर्णय भएको ९० दिनभित्र भारतले फिर्ता नलैजाँदा यहाँ थन्किएको छ ।'

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन , २०७३ को दफा २१ मा दुर्लभ वनस्पति वा सोको नमूना सम्बन्धी कसूर गर्नेलाई कसूरको मात्रा हेरी १ देखि ५ वर्षसम्म कैद वा १ लाखदेखि ५ लाख लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।

त्यसैगरी उक्त कसूर ठहरिने कुनै कार्य गर्ने व्यक्तिलाई मद्दत गर्ने वा कुनै किसिमले सहयोग पुर्‍याउने मतियारलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुने उल्लेख छ ।

वन विभागका कानून अधिकृत पुष्पराज धितालका अनुसार नेपालमा रक्तचन्दनसहित पक्राउ परेका व्यक्तिहरू भरियाको रूपमा मात्र प्रयोग भएको अनुसन्धानबाट पाइएकाले उनीहरूलाई मतियार करार गरी त्यही अनुसारको सजाय मागदाबी लिई अदालतमा मुद्दा दायर गरिएको छ ।

अदालतमा जरिवानाका लागि मुल्यांकन गर्न प्रति किलो ८ सय रुपैयाँको दरले रक्तचन्दनको मुल्यांकन गर्ने गरिएको छ। रक्तचन्दनको अन्तर्राष्ट्रिय बजारमा ८ देखि १० हजार रुपैयाँ प्रति किलो सम्मको मूल्य रहेको पाइएको छ। त्यस कारण पनि रक्तचन्दनको तस्करी बढेको थियो। पछिल्लो केही वर्ष देखि रक्तचन्दनको तस्करीमा भने कमि आएको देखिन्छ ।

TATA Below
NLIC
असार १७, २०७९

पछिल्लो ४ महिनामा विशेष अदालतले फैसला गरेकामध्ये ८३ प्रतिशत भ्रष्टाचार मुद्दामा प्रतिवादीलाई सफाइ दिएको पाइएको छ  । अध्यक्ष श्रीकान्त पौडेलको नेतृत्वमा विशेष अदालतमा आएका ६ न्यायाधीशको टोलीले ४ महिनामा ...

साउन १५, २०७९

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले मन्त्रालय मातहतका विभागीय प्रमुख र कर्मचारीको सरुवामा आर्थिक लाभ लिएको आरोप लागेको छ । चुनाव खर्च जुटाउन भन्दै मन्त्री चौधरीले रकम संकलन गर्न थालेपछि मन्त्रालयमा आत...

साउन ५, २०७९

भवन निर्माणमा भएको अनियमिततासम्बन्धी प्रकरणमा सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच द्वन्द्वको स्थिति उत्पन्न भएको छ । काठमाडौंको रामशाहपथमा सर्वोच्च अदालतले निर्माण गरिरहेको भवनमा भ्रष्टाचार भएको व...

साउन २५, २०७९

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवारी साधन मर्मत तथा इन्धनमा व्यापक अनियमितता भएको पाइएको छ । अन्य निकायलाई मितव्ययिताका लागि निर्देशन दिने प्रधानमन्त्री कार्यालयमै सवारी साधनको चरम दुरुपयोग हुने गर...

साउन ११, २०७९

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अक्सिजन प्लान्ट जडानदेखि मर्मतको काममा व्यापक अनियमितता भएको पाइएको छ । ठेक्का पाएको कम्पनीले सम्झौता भएको १२० दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्नेमा सम्झौता भएको ५ ...

असार २१, २०७९

ललितपुरको लगनखेलस्थित नापी कार्यालयले कानूनविपरीत कृषियोग्य जग्गा कित्ताकाट गरेको खुलेको छ । त्यसैगरी त्यहीँको भूमिसुधार तथा मालपोत कार्यालयले गैरकानूनी कित्ताकाट गरिएको खेतीयोग्य जग्गा बिक्री गर्नका लागि रजिस्ट्...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x