×

Nic Asia
Marvel

चुनावी यात्रा संस्मरण– ३

चपुरस्थित ९० वर्षीया हवल्दार्नी आमाको चिया पसल– जहाँ हरेक दिन जन्मिन्छ 'विन्दास' दल !

रौतहट | बैशाख २२, २०७९

NTC
TVS INSIDE
Esewa

जिउमा ब्लाउजजस्तो देखिने एकसरो पातलो र मैलो कपडा । सामान्य धोती । खुट्टामा उति नै सामान्य चप्पल । चाउरी परेको मुहार । वैशाखको ४० डिग्री तापक्रमका बीच दैनिक १२ घण्टा दाउराको आगो र धूवाँवरिपरिको बसाइले हुनसक्छ, अनुहार र घाँटीवरिपरि प्रशस्त काला धब्बा । उमेर लगभग ९० वर्ष । परिचय– चिया पसलकी हवल्दार्नी आमा ।

IME BANK INNEWS
morang Auto yamaha

स्थान हो– मध्य तराईमा पर्ने रौतहट जिल्लास्थित पूर्वपश्चिम राजमार्गमा अवस्थित चन्द्रनिगाहापुर बजार (अहिले चन्द्रपुर) ।


Advertisment
NMB BANK
Saurya island

मुलुकको प्रधानमन्त्री जन्माउने थोरै जिल्लामा रौतहट पनि पर्छ भन्ने हामी धेरैलाई थाहा छ । तर त्यही रौतहटको एउटा व्यापारिक केन्द्र चन्द्रनिगाहापुर यस्तो ठाउँ हो जहाँ हरेक दिन ‘विन्दास’ नाम गरेको राजनीतिक दल जन्मन्छ र उसै साँझ फासफुस हुन्छ ।

यो संस्मरणात्मक आलेख हवल्दार्नी आमाको चिया पसल, चिया पिउन दैनिक जम्मा हुने विभिन्न पृष्ठभूमिका स्थानीय व्यक्ति र उनीहरूले हरेक दिन जन्माउने विन्दास दलको बारेमा केन्द्रित छ । यसपटक स्थानीय चुनावको सन्दर्भ परेकाले त्यहाँ देखिएको चुनावी माहोलले यो आलेखमा स्वाभाविक ठाउँ लिएको छ ।

Vianet communication
Maruti inside

जब तपाईं चन्द्रनिगाहापुर बजारमा पुग्नुहुन्छ, जुनसुकै बेला प्रायः भीडभाड भैरहने एउटा अति सामान्य चिया पसल देख्नुहुनेछ । त्यो चिया पसल त्यहाँ रहेको प्रहरी कार्यालय नजिकै राजमार्गको छेवैमा अवस्थित छ ।

चिया पकाउँदै हवल्दार्नी आमा

हवल्दार्नी आमा (नरकुमारी गुरुङ)ले अन्दाजी २०२६ सालदेखि त्यो चिया पसल चलाएकी रहिछन् । उनी लमजुङबाट पहिला नेपाल (काठमाडौं), त्यसपछि भारत र हेटौंडा हुँदै रौतहट झरेकी हुन रे ।

९० वर्षको उमेरसम्म तपाईं हामी बाँच्छौं कि बाँच्दैनौं थाहा छैन । तर चपुरस्थित चिया पसलकी हवल्दार्नी आमाले आज पनि दैनिक सय/डेढसय जनालाई आफ्नै हातले चिया बनाएर खुवाउँछिन् । चियाका जुठा ग्लास आफैँ सफा गर्छिन् । मीठो बोल्छिन् । यो उमेरमा पनि उनलाई थकाइ लाग्दै लाग्दैन रे !   

‘शुरूमा एक कप चियालाई २० पैसामा बेच्थें बाबु । अहिले त एक ग्लासको २५ रूपैयाँ पर्छ,’ आमाको भनाइ थियो, ‘दूधको भाउ बढेपछि चियाको मोल (मूल्य) बढेको हो ।’

दिनमा कति कमाइ हुन्छ, आमालाई याद हुँदोरहनेछ । हुन त एक छोरा र छोरी साथमै छन्, तैपनि चियाको काममा धेरैजसो आमा नै खट्छिन् । 

त्यो चिया पसल चपुर बजारबासीमाझ मात्र होइन, राजमार्ग भएर हिँड्ने यात्रुदेखि चपुर नगरपालिकाका विभिन्न वडाका स्थानीयहरूबीच अत्यन्तै लोकप्रिय छ । स्थानीयहरू दिनहुँ त्यो चिया पसलमा झुम्मिन्छन्, गफिन्छन् । एअअर्कालाई भेट्न पर्‍यो भने फोन नै नगरी त्यहीँ जम्मा हुन्छन् । 

...अनि जन्मिन्छ दैनिक ‘विन्दास दल’

चन्द्रपुर नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने स्थानीयहरू (जो हरेक दिन बिहान या साँझपख हवल्दार्नी आमाको चिया पसलमा आउँछन्) बीच गज्जबको राजनीतिक संस्कार रहेछ । उनीहरू दुई कारणले त्यो चिया पसलमा आउँदा रहेछन् । पहिलो, हवल्दार्नी आमाले पकाएको चियाको स्वाद मन पराएर । किनभने आमाले दिनभर दाउराको आगोमा चिया घोटेको घोट्यै गर्छिन् । अर्थात्, चिया पाकिरहेकै हुन्छ । कसैले चिया माग्यो भने पहिला आफूले चाख्छिन् । ठीक लागेमा मात्र ग्राहकलाई दिन्छिन् । चियाको गुणस्तरमा ५० औं वर्षदेखि कुनै कामी आएको छैन । 

दोस्रो, सबैजनासँग भेट हुने र समय कटाउन सजिलो हुने ।

चिया पसलमा जम्मा हुने स्थानीय भद्रभलादमी हुन् । तीमध्ये कोही पूर्व कर्मचारी छन् । कोही स्थानीय शिक्षक, साहित्यकार, समाजसेवी आदि । उनीहरू विभिन्न पार्टीमा आबद्ध छन् । आउँछन्, बस्छन् । चिया अर्डर गर्छन् । अनि बजारमा जे विषयको बढी चर्चा छ, त्यसैको बारेमा खुलेर बहस गर्छन् । राजनीतिक हिसाबले फरक–फरक पार्टीसँग झुकाव राख्ने भए पनि उनीहरू सामूहिक छलफलका क्रममा सबै पार्टीका गलत कुराको एक स्वरमा विरोध गर्छन् । सबै दलका नेताका गलत कामको आलोचना गर्छन् । जस्तो कांग्रेसले माओवादी नेताको आलोचना गर्दा त्यहाँ जम्मा भएको माओवादी पार्टीप्रति सहानुभूति राख्ने व्यक्ति रिसाउँदैन । एमालेले कांग्रेसको उछितो काडेपनि त्यहीँ बसिरहेको कांग्रेसी रिसाउँदैन । 

उनीहरूबीच एक किसिमको भद्र सहमति जस्तै रहेछ कि जसले जुनसुकै पार्टीको आलोचना गर्न पाउने । घोचपेच गर्न पाउने । तर त्यही निहुँमा झगडा नगर्ने । 

‘केन्द्रमा या अरू जिल्लामा हाम्रा नेताहरू जति नै झगडा गरून् हामीलाई मतलब छैन । हामी विभिन्न पार्टीमा आस्था राख्ने भएपनि यहाँ (चिया पसलमा) जम्मा भएपछि कहिलेकाहीँ हाँस्छौं । कहिले जिस्क्कन्छौं । कहिले एकले अर्कालाई प्रोत्साहन गर्छौं । कहिले रमाइलो गर्छौं,’ वैशाख २० गते सोही चिया पसलमा भेटिएका चन्द्रपुर नगरपालिका वडा नं. ६ का कविप्रसाद काफ्ले (पूर्व बैंकर) ले भने, ‘हुन त हाम्रा आ– आफ्ना पार्टी छन् । तर हाम्रो यो चिया पसलमा आएपछि जन्मने साझा पार्टी भनेको ‘विन्दास पार्टी’ हो ।’

बायाँबाट क्रमश: लीला तिमल्सिना, हरिकृष्ण काफ्ले र कविप्रसाद काफ्ले

गफ गर्दागर्दै उनीहरू विन्दास मूडमा पुग्दा रहेछन् । मज्जाले हाँस्छन् । एकले अर्कालाई उडाउँछन् । त्यसलाई उनीहरूले उनीहरूकै शब्दमा ‘विन्दास’ पार्टी जन्माएको ठान्दा रहेछन् । 

‘खासमा हाम्रो आफ्नै पार्टीको नाम चाहिँ विन्दास पार्टी हो,’ हाँस्दै उनीहरूले सुनाए ।

चिया सकिएसँगै उनीहरूका गफ पनि सकिन्छन् । आ–आफ्नो घरतर्फ लागेसँगै विन्दास पार्टी पनि केही क्षणमै विलय हुन्छ । भोलिपल्ट फेरि भेट्छन् । फेरि गफिन्छन् । फेरि उनीहरूकै शब्दमा विन्दास पार्टी जन्मन्छ । अनि केहीबेरमा त्यो पार्टी बिलाएर जान्छ ।

‘यो क्रम वर्षौंदेखि चलिरहेको छ । हामी विभिन्न पार्टीमा आस्था राख्छौं, तर हामीलाई कसैले चुनावका बेला पाँच लाख दिन्छु भनेपनि आफ्नो पार्टीको चुनाव चिह्न छाडेर अर्को पार्टीको चुनाव चिह्नमा भोट हाल्दैनौं,’ चन्द्रपुर नगरपालिका वडा नं. ४ का साहित्यकार हरिकृष्ण काफ्लेले भने । काफ्लेको भनाइमा वरपर बसेका सबैले सही थपे ।

चिया पसलमा बसेर घण्टौं गफ गरेपनि अरूलाई बिगार्ने, खुट्टा तान्ने काम कहिल्यै नगरेको स्थानीय सामाजिक कार्यकर्ता उमेश खनालको भनाइ छ । 

‘क’ पनि नपढेकाले अंग्रेजी समाचार सुन्नैपर्नेदेखि किस्सैकिस्सासम्म 

उनीहरू आफ्ना कमजोरी पनि नलुकाइ सुनाउँदा रहेछन् । २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भयो । चुनावपछि पार्टी एकीकरण हुने सहमति बन्यो । त्यो घटनाले माओवादीप्रति आस्था राख्ने कविप्रसाद काफ्ले उत्साहित भएछन् ।

‘चुनावको माहोल हेर्नुस्, वाम पार्टी एक भएपछि एक महिना त म गाउँभरि नाच्दै हिँडे,’ उनले भने, ‘भोट त वाम उम्मेदवारलाई हालियो तर जित्यो काँग्रेसको उम्मेदवारले । पहिला बेस्सरी नाचियो । मत परिणाम उल्टो आएपछि बढो अप्ठ्यारो भयो । यसो सोचें– विपक्षीको विजयी जुलुसमा जाने कुरा भएन । सिधै बस चढेर यहाँ (चन्द्रनिगाहापुरबाट) चितवन पुगें र प्रचण्ड (माओवादी अध्यक्ष पुष्पकमल दाहाल) को विजयी जुलुसमा सहभागी भएर नाचेर फर्केको मान्छे मैँ हुँ ।’ यो रोचक प्रसंग सुनाउँदै गर्दा कविप्रसाद बेस्सरी हाँसे । उनीसँग बसेका अरू पनि मज्जाले हाँसे ।

उनी यतिमै रोकिएनन् । ‘हेर्नुस्, आज पनि म जुलुसमा सहभागी भएर फर्केको हुँ । हाम्रो उम्मेदवारले जित्दैन भन्ने थाहा छ । तै पनि जानु त पर्‍यो । हिँड्दै थिएँ, ऊ भाइ (आफ्नो अगाडि बसेका नेपाली कांग्रेसप्रति आस्था राख्ने युवा आलोक कोइरालालाई देखाउँदै)सँग बाटोमा भेट भयो । हामीले हेलो हाइ गर्‍यौं । खास त मलाई आफ्नै पार्टीको बारेमा चिन्ता हुनुपर्ने हो नि । तर मैले ‘हेर भाइ, तिम्रो पार्टीमा यो–यो मानिसले गडबडी गर्दैछन्, ख्याल गर है,’ भनेर सुझाव समेत दिएँ । फरक पार्टीको जुलुसमा हिँडेको छु । अर्को पार्टीको साथीलाई सुझाव दिन्छु, यस्तोसम्म गर्छौं हामी,’ काफ्लेले भने ।

‘हामी त यस्तै हो’ कोइरालाले स्वरमा स्वर मिलाउँदै भने, ‘घरको झ्यालझ्यालबाटै हामी एकअर्कालाई हात हल्लाएर अभिवादन गर्छौं । वास्तवमा यस्तो संस्कार तपाईंले अन्त देख्न मुश्किलै पर्छ ।’

हवल्दार्नी आमाको चिया पसलमा जम्मा भएर चिया खाने क्रममा विभिन्न पात्र, प्रवृति, किस्सा र अनुभव बटुलेका रहेछन् उनीहरूले । स्थानीय उनै कविप्रसादले दुईवटा रोचक प्रसंग सुनाए । 

केही वर्ष अघिसम्म एकजना यस्ता व्यक्ति नियमति रूपमा त्यो चिया पसलमा आउँदा रहेछन्, जसले अध्ययनको मामिलामा ‘क’ पनि पढेका थिएनन् रे, तर हरेक दिन रेडियो नेपालमा बज्ने अंग्रेजी समाचार सुन्नै पर्ने । कविप्रसादले बढो रोचक शैलीमा उक्त घटना सुनाए– ‘कति पढेको छ भन्दा ‘क’ पनि पढेको छैन । पढाइ जिरो छ । तर हरेक दिन घरमा गएर बुढीसँग झगडा गरीगरी अंग्रेजी समाचार सुन्नै पर्ने रे ! नबुझ्ने आवाज सुन्न र अंग्रेजी समाचार आउनुअघि बज्ने म्युजिक सुन्न मजा आउँथ्यो रे उसलाई । उनले यसो भनिरहँदा फेरि हाँसोले गुञ्जियो चिया पसलवरपरको वातावरण ।

अर्का एकजना पात्र पनि त्यो चिया पसलमा नियमित आउँथे रे । उनी दशैँतिहारमा अति नै जुवातास र कौडा खेल्थे रे । कविप्रसादका अनुसार, केही वर्षअघिको तिहारमा चार दिनसम्म ती व्यक्तिले राति नसुती लगातार कौडा खेलेछन् । चौंथो दिन बिहान घर गएछन् । श्रीमतीले यतिका दिन कहाँ हराएको भनेर प्रश्न गर्दै थालमा भात पस्केर खान दिइछन् । 

‘त्यो निदले झुपझुप भएको थियो रे, श्रीमतीले थालभरि भात पस्केर दिएपछि थालको भातलाई सेतै देखेपछि ‘मर्‍यो’ (कौडा खेलमा मर्‍यो भन्नाले जितेको अर्थ लाग्छ) भन्दै थाललाई उचालेर भुइँमा पछारेछन् । भातको थाललाई नै कौडाको खाल सम्झेर पछारेछ,’ कविप्रसादले सुनाए । कौडा पनि सेतो हुने र थालमा राखेको भात पनि सेतै हुने भएकाले निद्राको झोंकमा ती व्यक्ति झुक्किएको हुनसक्ने उनीहरूले विश्लेषण गरे । कविप्रसादले यो घटना सुनाइरहँदा त्यहाँ हाँसोको फोहोरा छुट्यो ।

कविप्रसादका अनुसार चिया पसलले जन्माएका त्यस्ता रोचक किस्सा धेरै छन् । ‘यस्ता रमाइला विषयको चर्चा गरिसाध्ये छैन । पत्रिकाले समाचार एकथोक लेखेको हुन्छ, तर अर्कै बुझेर तर्क गर्ने पनि हामी यहीँ छौं,’ उनले थपे ।   

२०७४ को चुनावमा एमाले र माओवादीबीच जब चुनावी तालमेल भयो तब कविप्रसाद त नाँच्दै हिँडे, अनि तपाईंचाहिँ के गर्नुभयो नि ? कविप्रसादको छेवैमा बसेका नेपाली कांग्रेसप्रति आस्था राख्ने साहित्यकार हरिकृष्ण काफ्लेलाई मैले सोधें । ‘अब कांग्रेस ५० वर्षलाई सकियो भन्थे । शुरूमा त चिन्ता लाग्यो । दिन बित्दै गए । तनाव कम हुँदै गयो । हुँदाहुँदा पाँच वर्ष नपुग्दै कांग्रेस पो सरकारमा आयो,’ हरिकृष्णले भने ।

हरिकृष्ण काफ्ले

राजनीतिक दललाई हेर्ने चश्मा एउटै– खाए, सकाए !

चिया पसलमा नियमित आउने चाहे कविप्रसाद हुन् या हरिकृष्ण, या आलोक कोइराला हुन् अथवा उमेश खनाल । केन्द्रको राजनीति र त्यही राजनीतिलाई डोर्‍याउने नेताहरूलाई हेर्ने उनीहरूको दृष्टिकोणमा समानता रहेछ । ‘दलका नेताहरूमा हामीले जे गर्दा पनि हुन्छ, अरूले मानिहाल्छन् भन्ने दम्भ छ । हुँदाहुँदा हामीले नै नियुक्त गरेको त हो नि भनेर न्यायाधीशलाई समेत पेल्न खोज्छन् । आफू अनुकूल फैसला गर्न दबाब दिने प्रयास गरेको देखियो,’ कविप्रसादले भने, ‘अवसरवाद मौलायो । राज्यको ढुकुटीमा लूट मच्चियो ।’

कविप्रसादको भनाइसँग हरिकृष्ण पनि पूर्ण सहमत देखिए । ‘राजनीतिक दलप्रतिको विश्वसनीयता हरायो । सामाजिक संरचना ध्वस्त भए । मानिस–मानिसबीच द्वन्द्व फैलाउने काम भयो । राजनीति सही दिशामा गएन,’ हरिकृष्णले थपे । 

रमाइलो दृश्य के देखियो भने गम्भीर विषयमा मन्थन गर्दागर्दै उनीहरू तत्काल रमाइलो प्रसंगमा फर्किहाल्दारहेछन् । 

पेशा रिक्साचालक– उम्मेदवारी वडाध्यक्षमा

चपुर बजारको त्यो चिया पसलमा अर्को रमाइलो दृश्य देखियो– चन्द्रपुर नगरपालिका वडा नं. ४ को अध्यक्षमा उम्मेदवारी दिएका रिक्सा चालक केदारप्रसाद तिमल्सिनाको । रमाइलो गफ चल्दाचल्दै केदारप्रसाद त्यही पसलमा आइपुगे ।

‘उसले स्वतन्त्रतबाट उम्मेदवारी दिएको छ, तर जित्दैन,’ कविप्रसादले स्पष्ट शैलीमा भने, ‘सामाजिक काम त उसले गरेको छ नि तर चुनाव जित्न कहाँ सजिलो छ र ?’

केदारले २० वर्षकै उमेरदेखि रिक्सा चलाउन थालेछन् । अहिले उनी ४६ वर्षका भए । यो २६ वर्षमा उनले आफ्नै गाउँठाउँका हजारौंलाई रिक्सामा ओहोरदोहोर गराएका छन् ।

‘मेरो रिक्सामा चढेकाले मात्र यसलाई एकपटक मौका दिऊँ भनेर सोच्ने हो भने जित्छु,’ केदार भन्छन्, ‘जाडोमा गरीबलाई कम्मल बाँडेको छु । आफ्नै कमाइ धेरै छैन, तर सामाजिक काम गरेकै छु । मैले जितें भने सबैभन्दा पहिला चपुरबजार र वरपरका बस्तीहरू सफा बनाउँछु ।’

यसअघिका जनप्रतिनिधिले बजार सफा गर्न ध्यानै नदिएको, जनताको समस्यालाई वास्ता नगरेकाले आफूले हिम्मत गरेर वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको केदारको भनाइ छ ।

तपाईं दैनिक कति कमाउनुहुन्छ ? सामान्य पेशा व्यवसाय गर्ने तपाईंले चुनावमा कति खर्च गर्नहुन्छ ? चुनाव प्रचारमा लाग्दा उल्टै रिक्साको कमाइ सुक्यो कि ? लेखकको प्रश्न सुनेपछि केदार थप खुले । 

केदारको सानो अटो रिक्सा (मयुरी) छ । त्यही चलाएर उनले दैनिक एकहजार देखि २५ सय रूपैयाँसम्म आम्दानी गर्दा रहेछन् । केही दिनयता चुनाव प्रचारमा लाग्दा कमाइ प्रभावित बनेको छ । उनका दुई छोरी, एक छोरा र श्रीमती छन् । आयस्रोतको माध्यम मयुरी मात्र हो । पुर्ख्यौली सम्पत्ति पनि थोरै मात्र छ । 

वडाध्यक्षका स्वतन्त्र उम्मेदवार तिमल्सिना

तैपनि वडाध्यक्षको उम्मेदवार ? कति खर्च गर्नुभयो अहिलेसम्म ? ‘६ हजार बजेट छुट्ट्याएको छु । हुन त ५० लाखदेखि करोडसम्म खर्च गर्ने उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्दैछु । तर पनि हिम्मत हारेको छैन,’ केदारले थपे । केदारले चलाउने मयुरी केही दिनयता उनका छोराछोरीले चलाइरहेका छन् । मयुरीमा आफ्नै बाबाको चुनाव प्रचारमुखी गीत गाउँदै यात्रुलाई ओहोरदोहोर गराउँदै गरेको दृश्य रमाइलो लाग्थ्यो ।

केदारले जम्मा ५ कक्षासम्म पढेका रहेछन् । ‘नपढे पनि के भो र सर ? वडा चलाउन पढ्नै पर्छ भन्ने रहिन्छ नि ! पढेकाले वडामा जित्दा कुनै सुधार भएन । महिनौंसम्म फोहर थुप्रँदा नाक थुनेर हिँड्नुपर्छ । बाटाघाटा पनि सही ढंगले बनाएका छैनन् । अवसर पाएँ भने उनीहरूले भन्दा राम्रो काम गरेर देखाउँछु,’ केदारले यसो बताइरहँदा छेवैमा बसेर चिया पिइरहेका कविप्रसाद काफ्लेलगायत स्थानीयहरू मुसुमुसु हाँस्न थाले ।

‘तपाईंहरू किन हाँस्नुभएको ?’ जवाफ आयो, ‘खासमा अघि बोल्दाबोल्दै चिप्लिएर केदारले फुस्काएको कुरा नै सही हो ।’ कसैले भन्यो ।

केहीबेर अघि मैले केदारलाई तपाईंले जित्ने सम्भावना कति प्रतिशत छ भनेर सोधेको थिएँ । केदारको जवाफ थियो– ५ प्रतिशत ।

खासमा उनले ५ प्रतिशत हार्ने सम्भावना छ, जित्ने सम्भावना ९५ प्रतिशत भन्न खोजेका रहेछन् । तर, सही ढंगले भन्न सकेनन्, प्रस्तुतिमा त्रुटि रह्यो । यहि कुराले छेवैमा बसेर चिया पिइरहेकाहरूलाई हँसाएको रहेछ ।

‘बोलीमा चिप्लेर उसले जित्ने  चान्स ५ प्रतिशत भनेपनि यथार्थ त्यही हो,’ कविप्रसाद काफ्लेले थपे ।

‘सामाजिक काम गरेको छन् केदारले । तर त्यसकै आधारमा भोट तान्न कहाँ सजिलो छ र ? छेवैमा बसेका आलोक कोइरालाले भने, ‘चुनाव जित्न साम, दाम, दण्ड, भेद सबै गर्नुपर्ने जमानामा केदारलाई कसले सम्झेला र ?’

केदारले चाहिँ वडाध्यक्षमा जितेपछि नगरपालिका प्रमुख, प्रदेश सांसद हुँदै सिंहदरबारसम्मको यात्रा तय गर्ने सपना बुनेका रहेछन् ।

‘यसपटक वडाध्यक्षमा हारें भने पनि केही छैन । आउने चुनावमा प्रदेश सांसदमा स्वतन्त्र उम्मेदवारी दिन्छु । हार्दैमा के हुन्छ र ?’ केदारले यति भन्दै गर्दा हाँसोको फोहोरा छुट्यो ।

भ्रष्टाचारमुक्त वडा बनाउने आफ्नो प्रमुख उद्देश्य रहेको केदारले बताए । ‘अरूले जिते आफैँ मोटाउने हुन्, यसले जित्दा के फरक पर्छ र ? गरीब हो । गरिखाओस् न । कमसेकम भ्रष्टाचार त यसले गर्दैन,’ वडा नं ४ का स्थानीय रामप्रसाद गौतमले भने । 

नाताले केदारका हजुरबुवा पर्ने गोविन्द दाहालले हामीसँगको कुराकानीका क्रममा केदारलाई शुभकामना दिए । ‘यो मेरो नाति पर्छ । आज उसको घरदैलो कार्यक्रममा सयजना जति देखें । म त उत्साहित पो बनेको छु,’ गोविन्दले भने ।

यसले जिते एक क्विन्टल अवीर किनेर बजारभरी छर्छुः लीला तिमल्सिना 

केही दिनयता चपुर बजार र अझै विशेष गरी हवल्दार्नी आमाको चियापसल वरपर केदार चर्चा, ठट्टा, व्यंग्य र रमाइलो गफगाफका पात्र बनेको स्पष्ट देख्न सकिन्थ्यो । कतिपय उनलाई देख्नेबित्तिकै ‘ऊ आयो, अब के–के सुन्नुपर्ने हो,’ भन्दा रहेछन् । कसैले चाहिँ ‘अब केदारले केही गर्छ कि’ भनेर जिस्क्याउँदा रहेछन् । तर केदार स्वयं भने आलोचना गरे पनि, व्यंग्य गरेपनि नरिसाउने स्वभावका छन् । 

कुराकानीका क्रममा केदारका हजुरबुवा पर्ने स्थानीय लीला तिमल्सिनाले त आफूले एक क्विन्टल अवीर किन्न बजेटको जोहो गरिसकेको व्यंग्यमिश्रित प्रसंग सुनाए ।

‘केदारले जितेछ भने म एक क्विन्टल अबीर किन्छु र बजारभरि त्यो अवीर छर्दै हिँड्छु । केदारमाथि त प्रशस्त अवीर खन्याउँछु,’ लीलाले भने, ‘ल यो मेरो वचनै भयो । सुन्ने तपाईंहरू हुनुहुन्छ है ।’

लीला तिमल्सिना बायाँतर्फ

लीलाको कुरा सुनेर सबै गलल्ल हाँसे । लीलाले त्यसो भनिरहँदा केदार पनि त्यहीँ थिए । मैले केदारको अनुहार हेरें । तर अहँ, त्यत्रो व्यंग्य प्रहार भइरहँदा पनि केदार उत्तेजित देखिनन् । शान्त मुद्रामा थिए ।   

चिया गफ आजभोलि स्थानीय चुनावकै विषयमा बढी केन्द्रित हुने गरेको छ । जीतहारको हिसाबकिताब पनि त्यहाँ सुनिन्छ ।

राजनीतिक रूपमा नेकपा एसप्रति आस्था राख्ने स्थानीय प्रभासविक्रम थापा लथालिङ्ग रहेको चन्द्रपुरको विकासका लागि मतदाताहरूले सक्षम उम्मेदवारलाई विजयी गराउने विश्वास व्यक्त गर्छन् ।

‘लथालिङ्ग बनेको विकासलाई गति दिने तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार यहाँको आवश्यकता हो र चुनावी नारा पनि बनिरहेको छ,’ कुनै समय पत्रकारिता क्षेत्रमा सक्रिय रहेका थापाले भने, ‘सुकुम्वासी समस्या समाधान गर्ने र पलायन भएका युवालाई आफ्नो क्षेत्रमा फर्काउने कुरा पनि बिकाउ एजेन्डा बनेका छन् ।’

र, अन्त्यमा भिटेन प्रसंग 

छाडा शब्द प्रयोग गरेर र्‍याप गीत गाउने चर्चित र्‍यापर समिर घिसिङ अर्थात भिटेन चन्द्रनिगाहापुरकै हुन् । मलाई हवल्दार्नी आमाको चिया पसलवरपर भेटिएका स्थानीयहरूसँग भिटेनबारे जान्न मन लाग्यो । 

‘अनि, भिटेन नाम गरेका र्‍यापर छन् नि, उनको बारेमा सुन्नु भएको छ ?’ मैले सोधें । 

केहीबेर कोही बोलेनन् । एकछिन पछि जवाफ आयो । ‘अँ, पर जंगल छेउको (चन्द्रपुर बजारबाट थोरै परको जंगलतर्फ देखाउँदै) गाउँकै केटा त हो नि ! उसको गीतमा टन्नै भ्युज छ रे भन्ने सुनेको छु,’ साहित्यकार हरिकृष्ण काफ्लेले भने ।

‘गीत त लास्टै छाडा छ,’ स्थानीय आलोक कोइरालाले थपे, ‘परिवारसँग बसेर सुन्न गाह्रो हुन्छ । फेरि कुरा पनि ठूलो गरेछ केटोले । कहाँ १५ बिघाहा सम्पत्ति हुनु ?’

भिटेनको एउटा गीतमा भनिएको छ– ‘घर मेरो चन्द्रनिगाहा, हजुरबाउको सम्पत्ति १५ बिघाहा ।’

कोइरालाले गरेको संकेत त्यही १५ बिघाहा सम्पत्तितर्फ थियो । 

साहित्यकार हरिकृष्ण काफ्लेले चाहिँ भिटनेप्रति ‘सफ्ट’ धारणा देखाए । ‘त्यस्ता शब्द बनाउनु नै वास्तवमा साहसको कुरा हो । त्यो समयसापेक्ष गीत छ । अब गीतमा धेरथोर गफ त मिसिन्छन् नि !’ काफ्लेले थपे । भिटेनको प्रसंग यत्तिमै सकियो ।

‘जे होस्, तपाईंहरूलाई भेटेर खुशी लाग्यो । गज्जबको राजनीतिक संस्कार रहेछ यहाँ । तपाईंहरूसँगको कुराकानी रमाइलो भो । अब हामी निस्कछौं,’ सहकर्मी सुशील पन्तलाई जाऊँ भन्ने इशारा गर्दै मैले भनें ।

‘यस्तै हो हेर्नुस्, हामीले त आफ्नो ठाउँबाट प्रयाससम्म गर्ने न हो,’ छुट्टिँदै गर्दा कविप्रसाद काफ्लेले भने, ‘सुन्नेले जब सुन्दैन, भन्नेले मात्र गर्नु के ? नाङ्गाका देशमा गई धोबी पाउँछ, काम के ?’ कति मार्मिक छ यो श्लोक हेर्नुस् त ।’ कवि शिरोमणि लेखनाथ पौड्यालको यो श्लोक कविप्रसादले सुनाए । यो श्लोकसँगै उनीहरूसँग बिदा माग्यौं र फेरि भेट्ने वाचा गर्दै हामी चन्द्रपुरबाट बर्दिवासतर्फ हानियौं ।


 

NLIC
TATA Below
बैशाख १९, २०७९

कञ्चनपुर, भीमदत्त नगरपालिकाका उम्मेदवारहरूको घोषणापत्र हेर्ने हो भने विकास निर्माणको काम चुट्की मै गर्छौं भन्ने देखिन्छ । तर, यस्ता लोकरिझ्याइँ मुद्दा पहिले पनि नउठाइएका भने होइनन् ।  उम्मेदवारले उठा...

बैशाख २०, २०७९

ललितपुरको सातदोबाटोबाट करीब ५ किलोमिटर दूरीमा रहेको गोदावरी नगरपालिकाको १३ नम्बर वडास्थित झरुवारासी विकट गाउँको पीडा भोग्न बाध्य छ । भन्नका लागि त उनीहरू राजधानीवासी हुन् तर उनीहरूले भोग्ने पीडा दुर्गम गाउ...

बैशाख २०, २०७९

भुइँ (स्थानीय) तहको जनप्रतिनिधि छान्नका लागि निर्वाचनको मिति नजिकिँदै गर्दा मतदाताहरू अन्योलमा छन् । पाँच वर्षमा स्थानीय तहका जनप्रतिनिधिको हर्कतले हैरान मतदाता अब कस्तो जनप्रतिनिधि छान्दा धोका खाइँदैन भन्ने निर्क्...

बैशाख २६, २०७९

नेपालकै होचो स्थान भनेर चिनिएको झापाको कचनकवललाई यसपटक स्थानीय तह चुनावले फेरि राष्ट्रिय राजनीतिको चर्चामा ल्याएको छ । कचनकवलमा भइरहेको चुनावी गठबन्धनलाई राष्ट्रिय रूपमा नै चासोका साथ हेरिएको छ । स्थानीय ...

बैशाख २७, २०७९

स्थानीय तह निर्वाचन रिपोर्टिङको क्रममा मधेश प्रदेशमा लोकान्तरकर्मीहरू चहारिरहेका थियौं । जनकपुरबाट सिरहाको लहान र सप्तरी हुँदै प्रदेश–१ प्रवेश गर्नेक्रममा थियौं । हाम्रो गन्तव्य सुनसरीको इटहरी थियो ।  ...

बैशाख १७, २०७९

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएलगत्तै नेपाली कांग्रेस र एमालेका उम्मेदवार दुवै आशीर्वाद माग्दै नगरपालिकाका जेष्ठ नागरिक परशुराम उपाध्यायकोमा पुगे । १०२ वर्ष...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x