बैशाख २६, २०७९
नेपाली कांग्रेसको प्रभाव रहेको विराटनगर महानगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नागेश कोइराला चुनावी मैदानमा छन् । कांग्रेस संस्थापक बीपी कोइराला, गिरिजा र अहिल...
विराटनगर | बैशाख २६, २०७९
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विराटनगर महानगरपालिकामा आफ्नो उम्मेदवार जिताउने भरमग्दुर प्रयासमा छन् । नागेश कोइरालाई उम्मेदवार बनाउन सम्पूर्ण शक्ति लगाएका कोइरालाई विराटनगरमा जीत निकाल्नु पार्टीभित्रै प्रतिष्ठाको विषय बनेको छ । कांग्रेसको बाहुल्य रहेको विराटनगरमा एमालेले पनि जनतामा भिजेको उम्मेदवार खडा गरिदिएको छ । चुनावी प्रतिस्पर्धा रोचक बनेको छ ।
पार्टीमा संस्थापनइतर खेमाको नेतृत्व गरिरहेका डा. कोइरालासँग विराटनगरको चुनावी माहोल, देशव्यापी चुनावी गठजोड र सम्भावित नतिजाका बारेमा विराटनगरस्थित कोइराला निवासमा पुगेर लोकान्तरका विन्देश दहाल र उद्धव थापाले अन्तर्वार्ता गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
विराटनगरको चुनावी माहोल कस्तो देखिरहनुभएको छ ?
बिस्तारै तातिरहेको छ । स्थानीय निर्वाचन भएकाले स्वाभाविक रूपमा वडाहरूमा हाम्रो ध्यान केन्द्रित हुन्छ । वडावडामा जाँदा चुनाव प्रचारप्रसार भइरहेको देखिन्छ । बजारमा घुम्दा नदेखिन सक्छ । चुनावको गर्माहट बिस्तारै बढ्दैछ ।
विराटनगरको मेयरको उम्मेदवार बनाउनका लागि तपाईंले पार्टीभित्र निकै रस्साकस्सी गर्नुभयो । नागेश कोइरालालाई नै उम्मेदवार बनाउन जोडबल गर्नुको कारण के हो ?
हेर्नुस्, मेयरको उम्मेदवार एउटै व्यक्ति बन्ने हो । यसअघि पनि आकांक्षीहरू धेरै थिए, अहिले पनि धेरै थिए । तर, पाउने एउटैले हो । नेपाली कांग्रेस जस्तो दलमा तपाईंले मेयरको उम्मेदवार दोहोर्याइरहनुभयो भने त्यसले पार्टीलाई नोक्सान गर्छ । निवर्तमान मेयरले राम्रो काम गर्नुभएको छ । तर उहाँलाई नै दोहोर्याउने हो भने उहाँपछिका मानिसले अवसरै पाउँदैनन् ।
त्यसलाई विचार गर्दै नयाँनयाँ मानिसलाई हामीले अवसर दिनुपर्छ । अनि अर्को कुरा, जतिसुकै राम्रो काम गरे पनि सत्ताविरोधी सोच (इन्कम्बेन्सी फ्याक्टर) हुन्छ । यी सबै कुरालाई विचार गरी मैले पार्टीमा कुरा राखें । अनि सभापतिजी र अन्यले पनि यसलाई स्वीकार गर्नुभयो ।
विराटनगरका मतदाताले नागेश कोइरालालाई मेयर बनाउनका लागि किन भोट हाल्ने ? उहाँमा तपाईंले देख्नुभएको विशेष क्षमता के हो ?
अहिले नेपालको बुद्धिजीवी तथा युवा वर्गलाई सुशासनको अभाव र भ्रष्टाचारको वृद्धिले चिन्तित पार्ने गरेको छ । नागेशमा सुशासनप्रतिको लगाव छ । उसले फिलिपिन्सको अमेरिकन युनिभर्सिटीबाट जनप्रशासन विषयमा मास्टर्स गरेको हो । नागेशले भ्रष्टाचार गर्छ भन्ने कुराको कल्पना पनि विराटनगरवासीले गर्न सक्दैनन् ।
त्यति मात्र योग्यताले पुग्दैन होला नि त । विराटनगरको समृद्धि र विकासका कुरा पनि आउलान् ।
समृद्धि र विकास नेपाली कांग्रेसको घोषणापत्रमै आएको छ । हामीले सामाजिक न्याय र सामाजिक सुरक्षालाई ध्यानमा राखेर घोषणापत्र बनाएका छौं । त्यसमा शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखिएको छ । विराटनगरमा पनि त्यसलाई जोड दिइनेछ ।
अर्को कुरा, विराटनगर पहिलेदेखि नै राजनीतिक राजधानीका रूपमा चिनिएको छ । प्रथम औद्योगिक नगरीको रूपमा विराटनगर परिचित छ । अहिले त्यो ओझेलमा परेको छ । विराटनगरलाई नयाँ तरिकाले औद्योगिकीकरण गर्नुपर्ने भएको छ । यहाँ विशेष आर्थिक क्षेत्र (स्पेसल इकोनोमिक जोन) बनाउनुपर्छ ।
उद्योग स्थापना गर्न हामीसँग ७०० बिगाहा जति जमिनहरू छन् । यस्तो आर्थिक क्षेत्र बनाउनका लागि संघीय सरकारलाई झक्झक्याउने काम नागेशको टीमले गर्नेछ ।
विराटनगरमा कांग्रेसको पोजिसन कस्तो पाउनुभएको छ ?
कांग्रेस अहिले लीड गर्दैछ र त्यो क्रमशः बढ्ने क्रममा छ । टिकट वितरणका क्रममा केही तिक्तताहरू देखिएका थिए । त्यो स्वाभाविक हो । अहिले हामी असन्तुष्टहरूलाई सम्झाइरहेका छौं । उहाँहरूलाई हामी मनाउनेछौं । त्यस असन्तुष्टिले वडाको चुनावमा असर गर्छ जस्तो लाग्छ तर मेयरको चुनावमा त्यसले फरक पार्छ जस्तो मलाई लाग्दैन । तैपनि हामी सतर्क हुनुपर्छ ।
विराटनगरको मेयर जिताउने कुरा पार्टीभित्र तपाईंका लागि प्रतिष्ठाकै विषय बनेको छ होइन ?
यो प्रतिष्ठा भन्ने कुरा मिडियाले भनिदिने रहेछ । कोइरालाको विरासत भन्ने कुरा आउँछ । म यसलाई धेरै महत्त्व दिन चाहन्नँ । हामीले त काम गर्ने हो । अहिले नागेशजी हुनुहुन्छ, पहिला भीमजी हुनुहुन्थ्यो । भीमजीका लागि पनि म अहिले जति नै खटेको थिएँ । यो मेरो संसदीय क्षेत्र पनि हो । त्यसैले यहाँ नेपाली कांग्रेसलाई स्थानीय चुनाव जिताउनु मेरो पनि जिम्मेवारी हो ।
तपाईं पार्टीमा एउटा खेमाको नेता हुनुहुन्छ । सभापतिलाई तपाईंले चेक यान्ड ब्यालेन्स गरिरहनुभएको छ । तर, अहिले निर्वाचनमा सभापति जस्तै देशव्यापी रूपमा घुमिरहनुभएको चाहिँ छैन, किन ?
यो त स्थानीय निर्वाचन हो । यसमा स्थानीय मुद्दालाई सम्बोधन गर्नुपर्ने हुन्छ । प्रदेश र संघीय चुनावका लागि यो स्थानीय निर्वाचन सर्वेक्षण र प्रिफाइनल जस्तो हो ।
देशभरि घुमेर लोकप्रिय हुन्छु भन्ने बेला हैन यो । आफ्नो ठाउँ, आफ्नो गाउँमा तपाईंले प्रभाव कायम राख्नुपर्यो । स्थानीय चुनावमा असन्तुष्ट हुने, बागी बन्ने धेरै हुन्छन् । उनीहरूलाई सम्झाउने जिम्मेवारी मैले नै लिनुपर्छ । म अरू जिल्लामा गएर सम्झाउन सक्दिनँ, त्यहीँको नेताले सम्झाउनुपर्यो नि त । त्यो कुरा बुझेरै म यहाँ बसिरहेको छु । तर प्रदेश र केन्द्रको निर्वाचनमा त म देशभरि घुम्छु ।
पार्टीभित्र तपाईंहरूले चुनावी गठबन्धन गर्नुहुँदैन भनेर सशक्त आवाज उठाइरहनुभएको थियो, अहिले गठबन्धन भयो । स्थानीय तह निर्वाचनको यो गठबन्धनले कांग्रेसको शक्ति क्षयीकरण गराइरहेको भन्न मिल्छ ?
एउटा समयसम्म हामीले गठबन्धन गर्न हुँदैन भन्यौं । तर पार्टीले निर्णय लिइसकेपछि पार्टीको एक अनुशासित क्याडर भएको हिसाबले निर्णयलाई स्वीकार गरेर हिँड्नुपर्ने हुन्छ । क्षयीकरण भन्ने कुरा भोलिको नतिजाले बताउँछ । तर कतिपय जिल्लाहरूमा क्षेत्रीय सभापति भइसकेका साथीहरूले राजीनामा दिनुभएको सुन्दा नरमाइलो पनि लाग्छ ।
वर्षौंवर्ष कांग्रेसलाई योगदान गरेका साथीहरूले राजीनामा दिनुभएको छ । उहाँहरूलाई अहिले फोन गरेर सम्झाउँदैछु । चुनावपछि भेटेरै सम्झाउनेछु । साथीहरू पार्टीमा फर्केर फेरि आउनुहुन्छ कि हुँदैन भन्ने कुराले पनि क्षयीकरण भएको हो कि हैन देखाउनेछ ।
तपाईंलाई देशभरिबाट रिपोर्टिङ आइरहेको होला । त्यसले कांग्रेसको स्थिति कस्तो छ भन्ने कुरा देखाइरहेको छ ?
गठबन्धनको मर्मलाई नेपाली कांग्रेसले वास्तवमा पालन गरेको छ । तर अन्य दलले त्यसलाई पालन गरेनन् । धेरैतिर हामीले पहिले जितेका ठाउँहरू छोडिदियौं । त्यो गलत भयो । जितेको ठाउँलाई हामीले आफूसित राखेर एमालेले जितेको ठाउँमा गठबन्धन गरेको भए त्यसले राम्रो सन्देश दिन्थ्यो ।
दोस्रो कुरा, गठबन्धनले देशभरि महिलाहरूको राजनीतिक आकांक्षामा कुठाराघात गरेको छ ।
तेस्रो कुरा, केही जिल्लामा कांग्रेसले उम्मेदवारी दिएपछि सभापतिजीले चिट्ठी लेखेर उम्मेदवारी फिर्ता गर्न लगाउनुभयो । ५ बजेपछि त्यो चिट्ठी निर्वाचन आयोगमा पुग्छ अनि सभापतिजीले दबाब दिनुहुन्छ । नेपाली कांग्रेसको उम्मेदवारी त रहिरह्यो नि । त्यो उम्मेदवारको स्थिति कस्तो भयो होला ? गठबन्धनका अन्य घटकले नेपाली कांग्रेसको मर्मलाई बुझ्न सक्नुभएन ।
एमाले तपाईंहरूको प्रतिस्पर्धी हो । अहिले तपाईंहरूले गठबन्धन गरेका कारण जन्मेको असन्तुष्टिले गर्दा देशभरि नै एमालेलाई फाइदा गर्न सक्ने आकलन पनि कतिपयले गरिरहेका छन् नि ।
हैन, गठबन्धन गरेका दलहरूले आआफ्नो सीट इन्ट्याक्ट मात्र राखे भने पनि राम्रै हुन्छ । विराटनगरकै कुरा गर्दा, नेपाली कांग्रेसको मेयर र जसपाको उपमेयरको आफ्नो भोटका साथै दुवै पार्टीको भोट अलिकति भए पनि ट्रान्सफर भएमा सकारात्मक परिणाम आउँछ नि त ।
त्यसो भए देशभरि जहाँ पनि गठबन्धन भएको छ, त्यहाँ सफल भइन्छ भन्ने तपाईंको आशय हो ?
म त्यो भन्दिनँ । हाम्रा आआफ्नै विचारधारा छन् । राष्ट्रियताका सवालमा कांग्रेस र कम्युनिस्टका फरक विचारधारा छन् । समाजवादमा पनि हामी लोकतान्त्रिक समाजवाद भन्छौं । उनीहरू लोकतन्त्रको आधारभूत कुरा नै मान्न तयार छैनन् । तर स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने पक्षमा म रहन्छु । केन्द्रबाट गठबन्धन लाद्ने कुरालाई म विरोध गर्छु ।
चितवनमा गठबन्धनको बृहत् आमसभामा सभापतिले तपाईंलाई बोलाउनुभएको तर तपाईं नगएको कुरा सुनियो । चितवन किन जानुभएन ?
चुनावको बेलामा आजको भोलि नै आइज भनेर हुँदैन नि । मोरङको २ नम्बर क्षेत्र मेरो हो । यहाँ मेरा धेरै कामहरू थिए । माओवादीबाट कांग्रेस प्रवेश गर्नुहुने साथीहरूलाई स्वागत गर्ने कार्यक्रममा म व्यस्त भएँ । दुःखदायी कुरा पनि भएको छ । नेपाली कांग्रेसको सर्कुलरमा हाम्रो नाम कतै देख्नुभएको छ ? अनि सभापतिजीले भन्नेबित्तिकै मान्छे सर्लक्क गइहाल्छ र ?
चितवनमा कांग्रेसका बागी उम्मेदवार उठ्नुभएको छ । त्यसलाई तपाईंले कसरी लिनुभएको छ ?
जगन्नाथ पौडेलजी निकै पुरानो मान्छे हुनुहुन्छ । उहाँ मभन्दा पहिलेदेखि नै कांग्रेसको राजनीति गरिरहनुभएको छ । राष्ट्रिय सभाको सदस्य भइसकेको मान्छे हो । उहाँ वरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ– म बागी हुँदै हैन । भरतपुरमा नेपाली कांग्रेसको उम्मेदवार उठेको भए पो मलाई बागी भन्न मिल्थ्यो भन्नुहुन्छ उहाँ । म स्वतन्त्र उठेको छु भन्नुभयो उहाँले । हामीले जगन्नाथजीलाई भेट्यौं । उहाँले भन्नुभयो– चितवन सधैं कांग्रेसले छोड्ने हो भने किन यहाँ कांग्रेसको वातावरण बनाउने ?
चितवन गएर सभापतिले माओवादीलाई नजिताए पार्टी दुर्घटनामा पर्छ भन्नुभयो । अवस्था त्यस्तै हो र ?
डिटेलमा कसले के भन्यो म जान्दिनँ । यो स्थानीय निर्वाचनको परिणामले सत्तारूढ गठबन्धनलाई कुनै असर पर्दैन भन्नेमा म विश्वस्त छु । रेनुले हार्नुभयो भने गठबन्धनमै समस्या पर्छ भनेर प्रचण्डजीले किन भन्नुभयो मैले बुझ्न सकेको छैन । त्यो भन्नुपर्ने आवश्यकतै थिएन ।
कांग्रेसलाई थर्काएको हो कि त ?
चितवनका कांग्रेसीहरूले भोट दिन्छौं भनेकै छन् त । रेनुजीलाई जिताउन पूर्वसभापति लगायत सबैजना लागेकै छन् त, किन चिन्ता गरेको ? तर जगन्नाथजी थर्काएर थर्किने मान्छेचाहिँ हैन । उहाँ आफ्नो सिद्धान्तमा अडिग रहेर बस्ने व्यक्ति हुनुहुन्छ । उहाँले स्वतन्त्र उठ्ने निर्णय लिनुहुँदा चितवनका साथीहरूसँग धेरै सल्लाह लिनुभयो होला । निर्णय लिइसकेपछि त्यसबाट पछि हट्ने उहाँको स्वभाव छैन ।
सभापतिजीले भन्नुभएको कुरा मलाई कताकता अप्ठ्यारो लाग्यो । गठबन्धन नभएको भए म सभापति नै हुँदैनथिएँ भन्नुभएछ । यो नेपाली कांग्रेसका लागि दुःखदायी कुरा हो । उहाँले बोल्नुपर्ने कुरै हैन यो । गठबन्धनले उहाँलाई सभापति बनाएको हैन । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले भोट हालेर उहाँलाई सभापति बनाएको हो ।
नेपाली कांग्रेसको प्रभाव रहेको विराटनगर महानगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नागेश कोइराला चुनावी मैदानमा छन् । कांग्रेस संस्थापक बीपी कोइराला, गिरिजा र अहिल...
कोशीपारि पूर्वको प्रमुख शहर इटहरीमा चुनावी सरगर्मी बढिरहेको छ । इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि प्रमुख दलहरूबीच तीव्र प्रतिस्पर्धा छ । नेकपा एमालेले याम सुब्बालाई मेयर पदमा उठाएको छ । लामो समय पार्टी स...
जनकपुरधाम उपमहानगरपालिकामा पाँच वर्ष मेयर रहेका लालकिशोर साह नयाँ कार्यकालका लागि पुनः चुनावी मैदानमा उत्रेका छन् । दल परिवर्तन गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका साहलाई जनकपुरधाम उपमहानगरपालिकामा गठ...
प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा नेकपा एमालेबाट सागर थापा मेयर पदका उम्मेदवार छन् । कांग्रेसको परम्परागत गढ विराटनगरमा मेयर बन्छु भनेर प्रतिस्पर्धामा उत्रिएका थापा आफूलाई भुइँमान्छेका रूपमा चित्र...
देशको राजधानी शहर रहेको काठमाडौं उपत्यका भित्रको दोस्रो ठूलो महानगर ललितपुरको मेयरका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालको प्रतिस्पर्धात्मक निर्वा...
सत्ता गठबन्धनबीच कास्कीको पोखरा महानगरपालिकामा चुनावी तालमेल भएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार बनेका छन् । नेकपा एमाले भने एक्लै चुनावी मैदानमा छ । सत्ता गठबन्धनको सामना ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...