असार १२, २०७९
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
‘आग्रहले भरिएको दिमाग भन्दा खाली दिमाग सत्यको नजिक हुन्छ’, यो भनाइ हो अमेरिकाको संस्थापक मध्येका एक थोमस जेफर्सनको । उनी अमेरिकाको तेस्रो राष्ट्रपति पनि हुन् ।
उनको यो उद्गार उत्तिकै कालजयी पनि छ । मष्तिस्कमा आग्रहले अड्डा जमाएपछि मानिसले आफ्नो पूर्ण क्षमताले कार्य गर्दैन । उसले कुन काम गर्नुपर्ने हो, कुन चाहिँ नपर्ने हो भनेर वर्गीकरण गर्न शुरू गर्छ । समस्या यहीँबाट शुरू हुन्छ र बेथिति निम्त्याउँछ । उसले सम्हालेको समाज वा संस्थाले आफ्नो मौलिक चरित्र गुमाउन पुग्छ र घोषित लक्ष्यहरू अलमलिन्छन् । त्यसबाट प्राप्त हुने परिणाम भद्दा र कुरूप हुन्छ । त्यसको स्वाद चटपटे त होला तर स्वास्थ्यवर्द्धक हुँदैन ।
यो प्रसंग किन उठाइएको हो भने कांग्रेस महाधिवेशन सकिएको ठ्याक्कै ६ महिना पूरा भयो । कम्तीमा यो समयलाई नयाँ कार्यसमितिको प्रारम्भिक मूल्यांकनको समय मान्नुपर्छ । यस अवधिभित्र केन्द्रीय समितिमा केही व्यक्तिहरूको मनोनयन, कार्यसम्पादन समितिमा केही सदस्य थप र संसदीय समितिमा एक जना थप्ने बाहेक महत्त्वपूर्ण कार्य अधूरै रह्यो । ६ महिनाभित्र पदाधिकारी चयन, केन्द्रीय समिति, विभाग र अन्य समितिहरुलाई पूर्णता दिएर पार्टीलाई सांगठनिक व्यवस्थापनले सुदृढ बनाउनुपर्ने अभिभारा उपर यस्तो उदासिनता किन ? आज सर्वत्र प्रश्न उठ्ने ठाउँ पार्टी नेतृत्वले किन दियो ? पार्टीका जानकार नेताहरूले नेतृत्वलाई किन यो विषय सम्झाएनन् या झक्झक्याएनन् ?
पार्टीभित्रको विगतको बेथिति र पद्धतिविहीनता रोक्न केन्द्रीय समितिको निर्णायक जिम्मेवारीमा पुगेका नेताहरू समेत किन रमिते भए ? १४औं महाधिवेशन पश्चात् पार्टीलाई व्यवस्थितरूपमा चलाउने उद्घोष गरेका दुवै पक्षको कमबेसी उपस्थिति रहेको केन्द्रीय कार्यसमितिले यी विषयमा ध्यान किन दिइरहेको छैन ? सार्वजनिक बहस गर्नुपर्ने बेला भएको छ ।
यो विषयमा नेतृत्व तहका नेताहरू सबैको मौनताबाट आश्चर्यचकित भएर पनि जिम्मेवारी पालनाको मुद्दा उठाइएको हो किनभने समुन्नत लोकतन्त्रमा कर्तव्य र आश्चर्य दुवैको आ-आफ्नो विशेष ठाउँ हुन्छ । आश्चर्य मानेर पनि बोल्न पाइन्छ र कर्तव्य सम्झेर पनि बोल्नुपर्ने हुन्छ ।
यो विषयले पार्टी नेतृत्वलाई टाउको दुखाउन सक्छ या चिढ्याउन पनि सक्ला, तथापि पनि एउटा सचेत नागरिकको हैसियतमा मात्र भए पनि यो विषय उठाउनैपर्ने पेचिलो प्रश्नको रूपमा इतिहासका सामु खडा छ । आँखै अगाडि बिग्रिएको र भत्किएको बिषयलाई नजरअन्दाज गर्नु, मौनता साँध्नु र मुकदर्शक हुनु ठूलो गैरजिम्मेवारी हो । त्यसैले, पार्टी नेतृत्वले समयमै पूरा गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको विषय आम सदस्यको चासो र सरोकारको विषय भएकाले एउटा सामान्य तर जिम्मेवार सदस्यका नाताले समेत नउठाई बस्दा इतिहासको कठघरामा अपराधीकोरूपमा खडा हुनुपर्ने कटुसत्यलाई दृष्टिगत र मनन समेत गरी छलफलको प्रयास गरिएको मात्र हो ।
पङ्तिकारले बेलाबेलामा भन्दै आएको कुरा के हो भने, लोकतन्त्रवादी भइटोपल्न धेरै सजिलो कुरा छ तर यसका आदर्श र चरित्रहरुलाई परिपालना गर्न असाध्यै गाह्रो छ । लोकतन्त्र फगत गायत्री मन्त्र होइन, जसलाई जपिदिए मात्रै पुग्छ । अनि यो त्यस्तो पौराणिक शास्त्र पनि होइन, जसलाई भट्याइदिए पुग्छ । कर्म र व्यवहारले सिद्ध नगर्ने हो भने लोकतन्त्रको गीत गाउनु या जामा लगाउनुको कुनै अर्थ रहँदैन । हामी कुन बाटोमा छौं, कर्मले सिद्ध गर्ने या गीत मात्र गाउने ? इतिहासका सामु गम्भीर प्रश्न छ । कसले सम्झाइदिने वा कति सम्झाउने वा किन सम्झाउने भन्ने प्रश्न पनि सँगसँगै छ । तथापि, भोलिको पुस्ताले इतिहास खोतल्दा कम्तीमा कसै न कसैले त भनेको रहेछ भन्ने कुरा अभिलिखित होस् भन्ने अभिप्रायकासाथ यो चर्चा गरिएको हो ।
लोकतान्त्रिक शासन प्रणालीमा राजनीतिक दलहरुको जीवनपद्धति संस्थागत, लोकसम्मत र पारदर्शी हुनुपर्दछ । हाम्रो नेपाली लोकतन्त्र अर्थात् लोकतन्त्रको नेपाली संस्करणले यो मन्त्रलाई आजसम्म आत्मसात् गर्नै सकेन । हामी प्रणाली अवलम्बन गरिदिए पुग्ने, थप केही गर्नु नपर्ने मानसिकतामा बस्यौं । यो भन्दा गैरजिम्मेवार शैली अर्को हुन सक्तैन । हाम्रो सकारात्मक चालचलन, व्यवहार र निष्ठापूर्ण अभ्यास कर्मले मात्र लोकतन्त्र सार्थक हुन्छ भन्ने कुरा बुझ्नैं चाहेनौं । लोकतन्त्र ल्याएपछि बासी दिमाग खाली गर्नु पर्थ्यो तर हामी पुरानै दिमागले काम गर्न थाल्यौं । त्यसैले, जेफर्सनले भनेजस्तो सत्यबाट धेरै टाढा दौडिरहेका छौं । किनभने दिमागमा आग्रह छ । आँखा अगाडिको सत्यलाई अनदेखा गर्नु लोकतन्त्र हुँदै होइन भन्ने कुरा कहिले बुझ्ने र कसले बुझाउने ? पार्टीलाई वैधानिक रूपमा तन्दुरुस्त बनाउन केले रोक्यो र कसले रोक्यो ? यो विषय सामान्य होइन, कसैको घरेलु मामला पनि होइन, कांग्रेसका लगभग नौ लाख सदस्यहरुको साझा मामला हो । कांग्रेसका बारेमा सार्वजनिकरूपमा उठ्ने प्रश्नको सामना यही नौ लाखले गर्नु पर्दछ तर अन्तिम जवाफ चाहिँ नेतृत्वले दिने हो भन्ने कुरा ख्याल गर्नुपर्छ पर्दैन ? कि आजसम्म जसोगरी पार्टी चलेको छ, त्यसैगरी नै चल्दा कसले के लछारपाटो लाउन सक्छ भन्ने मानसिकता हो ? यदि त्यसो हो भने यो लोकतान्त्रिक चरित्र होइन ।
नीति महाधिवेशन नगर्ने ?
कोरोनाको वैश्विक महामारीको कारण समेत कांग्रेसको चौधौं महाधिवेशन समयसीमा भित्र सम्पन्न हुन सकेन । पार्टी विधान र मुलुकको संवैधानिक प्रवन्ध नाघेर भए पनि महाधिवेशन सम्पन्न हुनुलाई जे भए पनि हुन त भयो भनेर सबैले स्वीकारे । यसले पार्टीको वैधानिकता गुम्न लाग्दालाग्दै सुरक्षित अवतरण पायो र एउटा ऐतिहासिक खड्गो टर्यो । पार्टीको आगामी कार्यकालको नेतृत्व चयन भयो । नेतृत्वमा को आयो, त्यो गौण कुरा थियो । लामो विमर्श र बिग्रह हुँदै निश्चित प्रक्रियाको माध्यमबाट नेतृत्वको टुंगो लागेपछि त्यस विषयको माथापच्ची सकियो । तर, महाधिवेशनले गर्नुपर्ने अर्को महत्त्वपूर्ण काम अधुरै अर्थात् बाँकी नै थियो,पार्टीको आगामी कार्यकालको नीति र कार्यक्रमको तर्जुमा ।
महाधिवेशनलाई दुई खण्डमा विभक्त गरी एक खण्डमा नेतृत्व चयन गर्ने र अर्को खण्डमा नीति तर्जुमा गर्ने वैधानिक प्रवन्ध गरियो । पार्टीका नीम्ति नेतृत्व ‘हार्डवेयर’ हो भने नीति र कार्यक्रम ‘सफ्टवेयर’ । यी दुवैको समुचित बन्दोबस्त र संयोजनमा मात्र पार्टी चल्छ । त्यसैले, ६ महिनासम्म पनि नीति अधिवेशन गर्ने सुरसार किन नभएको हो, अब यसको विषयमा पनि प्रश्न किन नउठाउने ? कि नीति कार्यक्रम बेगर नै एकपल्ट चलाई हेरौं न भन्ने सोचाइ या सबैको सहमति हो ? एउटा अर्को यक्ष प्रश्न हामी उपर छ ।
भ्रातृ संगठन यस्तै राख्ने ?
कुनै पनि राजनीतिक दल वा संस्थालाई त्यसका नयाँ सदस्यहरूले जीवन्त राख्ने हो । पुराना सदस्यहरू धेरै गतिविधि गर्दैनन् किनभने उनीहरुले आफू नयाँ हुँदा प्रशस्तै गतिविधि गरेका हुन्छन् । यो प्राकृतिक कुरा पनि हो । नयाँ सदस्य उर्जाशील हुन्छन् र उनीहरूले संस्थामा आफ्नो पहिचान बनाउनुपर्ने हुन्छ, योग्यता देखाउनु पर्ने र योगदान बढाउनु पर्ने हुन्छ । यसका लागि भूमिका चाहिन्छ । भूमिकाको वितरण स्थापित प्रवन्ध र व्यवस्थापनले प्रदान गर्छ । यसको अग्रसरता नेतृत्वले लिन्छ र लिनु पर्दछ ।
कांग्रेसको चौधौं महाधिवेशनपछि संगठन सञ्चालनको परम्परागत कार्यशैलीमा के परिवर्तन भयो ? परिवर्तनका संकेत देखिनलाई बितेका चार महिना पर्याप्त छन् । स्पष्ट नै छ, पार्टी परम्परागत पदचिन्हमा हिँडेको छ, नयाँपनको कुनै आभास छैन । के यस्तो शैलीले लोकतन्त्रप्रति न्याय गर्ला ? जनता, राष्ट्र र इतिहासप्रतिको आफ्नो दायित्व पूरा गर्ला ? पार्टीभित्र उत्साह थपेर वर्तमान प्रणालीको भविष्यप्रति नै उठेका प्रश्नहरूको समुचित जवाफ देला ? वर्षौंसम्म आफ्नो बहुमूल्य जीवन खर्चेका पार्टीका महत्त्वपूर्ण सदस्यहरूमा आशा जगाउला ? विस्तार यो बहसलाई सघन तुल्याउनुपर्ने आवश्यकता बढ्दै गएको छ ।
पार्टीका एकदर्जन भन्दा बढी भ्रातृ संस्थाहरुको वर्षौंसम्म महाधिवेशन हुँदैन । तदर्थ, समिति गठनको श्रृंखला जारी छ । तदर्थ समितिले पूर्णता प्राप्त गर्दैन । विचित्रको कुरा त के छ भने स्वयं भ्रातृ संस्थामा बसेका वा बस्न चाहने नेता कार्यकर्ता चुँ सम्म बोल्दैनन् । यो भन्दा विडम्बना के हुन सक्छ ? यो सिलसिला कहिलेसम्म ? यसको अन्तर्यमा के छ ? कुन त्यस्तो अज्ञात शक्ति छ, जसले सत्य र विवेक बोल्न रोकेको छ ?
मौन बस्नेले बिग्रियो भन्न पाइन्छ र ?
राजनीतिक दल एउटा बृहत् परिवार हो । यसमा सबैको हक र स्वामित्व हुन्छ । यसलाई सुधार्न, अघि बढाउन थोर बहुत सबैको भूमिका रहन्छ । समाजका हरेक सदस्यको योगदानबाटै त्यसको प्रगति या अवन्नतिको आधारशिला तयार भएजस्तै राजनीतिक दलका हरेक सदस्यको भूमिकाद्वारा नै दलको भविष्य निर्धारण हुन्छ ।
हामी अहिले कांग्रेसका विषयमा आश्चर्यजनक मौनता साधिरहेका छौं । यसको तात्पर्य बुझिनसक्नु छ । समयक्रममा बुझिएला । तर, मौनता साध्नेसँग दलमा चित्तबुझ्दो काम भएन वा दल बिग्रियो भन्ने अधिकार पनि रहँदैन । यतिसम्म कि बिग्रियो भनेर रुने अधिकार पनि रहँदैन । समय छँदै सबै पक्षमा सुधार र परिवर्तन ल्याएर अघि बढ्ने तर्फ अग्रसरता देखाउँ भन्ने आग्रह मात्र हो । एउटा विवेकशील तथा स्वतन्त्र नागरिक भएर बाँच्न पनि लोकतन्त्र नै चाहिन्छ भनेर मात्र हो ।
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...