जेठ १४, २०८०
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
विश्वभर निर्वाचित नेताबाट नै उदार लोकतन्त्र जोखिममा परिरहेको अवस्थामा अमेरिकी लेखकहरू स्टिभान लेभित्स्की र डानियल जिब्लान्टले लोकतन्त्र कसरी मर्छ ? (हाउ डेमोक्रेसी डाइ ?) भन्ने पुस्तक प्रकाशन गरेका छन् । पुस्ततकको अध्ययनबाट लोकतन्त्र सधैं जोखिममा पर्दोरहेछ भन्ने व्यावहारिक तथ्य उद्घाटित हुन्छ । के लोकतन्त्र सधैँ जोखिममा रहने तरल विषय हो ? किन र कसरी आफ्नै संरक्षकबाट लोकतन्त्र जोखिममा पर्दछ ? केही दृष्टान्त हेरौं । सन् १९३० को मन्दीको समय पारेर युरोपमा लोकतन्त्रमाथि कालो बादल मडारियो । १९७० को दशकबाट ल्याटिन अमेरिकामा र ट्रम्पकालीन समयमा संयुक्तराज्य अमेरिकामा त्यस्तो स्थिति आयो । एसियाली र अफ्रिकी मुलुकहरूमा त यो क्रम सधैं देखिएको छ, किनकी अधिकांश एसियाली तथा अफ्रिकी मुलुकहरू आर्थिक सामाजिक आधारशिलामा कमजोर छन् ।
पहिला लोकतन्त्र सैनिक विद्रोहबाट मासिन्थ्यो । पछिल्लो समय निर्वाचित पदाधिकारीबाट नै लेकतन्त्र असुरक्षित बन्ने गरेको छ । लोकतन्त्रको संरक्षणका लागि क्रियाशील हुने विधिप्रविधिहरू लोकतन्त्रका पात्रहरूबाट असुरक्षित हुँदै आएका छन् । आवधिक निर्वाचन, शक्ति हस्तान्तरण र आमसञ्चार माध्यमहरू माथि अतिक्रमण हुँदै आएको छ । सार्वजनिक बौद्धिकप्रति दृष्टिदोष राखिँदैछ । प्रणाली निर्वाह गर्ने प्रशासनमाथि वृत्ति इष्र्या बढ्दो छ । निगरानी निकाय, अदालत, व्यावसायिक कर्मचारीतन्त्र लोकतन्त्रका ‘बफर जोन’ हुन् भन्ने भुलिएको छ । आधुनिक लोकतन्त्रको प्रयोगशाला मानिएको अमेरिका २०१७–२१ को अवधिमा अधिनायकवादको प्रयोगशाला बन्न पुग्यो । ओजहीन, अनुभवहीन, उत्साहहीन र स्वार्थपरस्त शक्तिउन्मादीहरू नेतृत्वमा पुग्दा लोकतन्त्रका संस्थाहरू त्यसको बोझ थाम्न नसकी धराशायी बन्दा रहेछन् भन्ने धेरै दृष्टान्त देखिएका छन् ।
लोकतन्त्र कसरी मासिन्छ (मर्छ) त ? लोकतन्त्रको पहिलो शत्रु हतियार भएका मानिस हुन् । शीतयुद्धकालीन समयमा अर्जेन्टिना, ब्राजिल, डोमिनिकन गणतन्त्र, ग्रीस, ग्वाटेमाला, नाइजेरिया, पाकिस्तान, थाइल्यान्ड, टर्की, उरुग्वेहरूमा बन्दुकबाट लोकतन्त्र उखेलियो । एकपटक हतियारले शक्तिको स्वाद पाएपछि नागरिक सर्वोच्चता पटक–पटक निरीह हुन्छ भन्ने उदाहरण पनि यिनै मुलुकहरूबाट पाइन्छ ।
तर जनताकै शक्तिबाट निर्वाचितहरूले पनि लोकतन्त्रलाई देखिसहेनन् भने लोकतन्त्र कसरी बाँच्छ ? यो प्रश्नचाहिँ धेरै संवेदनशील छ । लोकतान्त्रिक विधिबाट शक्तिमा पुग्नेहरू शक्तिमा रहिरहने लोभमा, अहंकार र उन्मादमा लोकतन्त्रलाई खतरामा पारेको कैयन उदाहारण छन् । हिटलरले रिग्स्ट्याग (संसद्) विघटन गरेर लोकतन्त्रलाई हत्या गरे । लोकतन्त्रको नाममा, आर्थिक तनावबाट मुलुकलाई माथि उठाउने लोकप्रिय चुनावी अभियान (प्रोपगान्डा) बाट जर्मनीको नेतृत्व सम्हालेका हिटलरको प्रधान शत्रु नै लोकतन्त्र बन्यो । अरू धेरै उदाहरणहरू छन् ।
ह्युुगो चाभेजको कथा पनि हिटलरको जस्तै छ । भेनेजुएलामा त्यहाँको सम्भ्रान्तवादी शासनबाट वाक्क भएका जनताले ह्युगो चाभेजलाई आस्थाको केन्द्र माने । यहाँसम्म कि चाभेजको शहर बारिनासका महिलाहरू लोकतन्त्र सङ्क्रमित (इन्फेक्टेड) भयो, हामीसँग भएको एउटै औषधि (एन्टिबायोटिक) चाभेज हो भन्ने भाष्य बनाउन थाले । शुरूका दिनमा उनले राम्रै पनि गरे । १९९८ मा राष्ट्रपति जितेपछि १९९९ मा गरिएको संविधानसभाको चुनाव परिणामले चाभेजलाई लोकतन्त्र बचाउने एन्टिबायोटिक मान्यो । अत्यधिक बहुमतका कारण उनको एकल सोचको आधारमा संविधान बन्यो । २००० को राष्ट्रपति चुनावमा पनि उनले शानदार विजय हासिल गरेपछि भने २००३ बाट लोकतन्त्रका नाममा अधिनायकवाद शुरू गरे ।
२००६ मा उनको विरोध गर्ने टेलिभिजनहरू प्रतिबन्धित भए । प्रतिपक्षीहरूलाई नजरबन्द गरियो । न्यायालय र मिडियामाथि आक्रमण गरियो । प्रतिपक्ष, आलोचना र खबरदारीविनाको शासनशक्तिमा उनी रमाइ रहे । उनको मृत्युपश्चात २०१४ मा भएको निर्वाचनमा चाभेजका सच्चा अनुुयायी निकोलस मादुरोले उनकै उत्तराधिकारीका रूपमा अधिनयाकवादी शासन चलाइरहे । परिणामतः भेनेजुएला निरङ्कुश शासन प्रणालीको ज्वलन्त उदाहरण बन्यो । प्रतिपक्षको खबरदारी नहुँदा एकपक्षीय संविधान बन्दा, अरूको प्रश्न सामना गर्न नपर्दा जनताका नेताहरू शक्तिमादमा कसरी निर्लज्ज निरङ्कुश बन्दारहेछन् भन्ने दृष्टान्त भेनेजुएलाले दियो ।
शक्तिको भोक र त्यसलाई पूरा गर्ने महात्वाकाङ्क्षाले लोकतन्त्रलाई कसरी कमजोर (सबभर्टिङ) बनाएर अन्ततः मासिन्छ भन्ने अर्को उदाहारण अल्वर्टो फुजिमोरीकालीन पेरु पनि हो । फुुजिमोरी निर्लज्ज निरङ्कुश बन्लान् भन्ने न कसैको अनुमान थियो, न त आफैं त्यस दिशामा जाने स्वभावका वा सपनामा थिए । विश्वविद्यालयका रेक्टर फुुजिमोरी १९९० मा सजिलै सिनेटर बने । उनको अनुुभवहीनता र प्राविधिकपनाका कारण कुनै राजनैतिक दलले उनलाई नपत्याएपछि उनले आफैंले आफैंलाई मनोनित गरेका थिए ।
उनलाई परिस्थितिले कसरी साथ दिएको थियो भने डा. गोञ्जालोे नेतृत्वको माओवादी गुरिल्ला साइनिङ्पाथले दशौं हजार मानिसको निश्रंश हत्या गरेको थियो । अर्थतन्त्र तहसनहस थियो । उच्च तहको मुद्रास्फीतिले सर्वसाधारणले दैनिकी धान्न सकिरहेका थिएनन् । सामाजिक तनाव थियो । यी सब कारणले वाक्क जनता सडकमा नारा घन्काउन थाले ‘फुुजिमोरी हामी तिमीजस्तालाई राष्ट्रपति देख्न चाहन्छौं । पुराना राजनीतिज्ञ, सम्भ्रान्त समाज, व्यापारिक घराना र संस्थापन पक्षका सञ्चार मारियो भेर्गास लोसालाई राष्ट्रपति देख्न चाहन्थे । महङ्गी, असुरक्षा र बेथितिबाट आक्रोशित सर्वसाधारणको स्वरले फुजिमोरीको प्रियतालाई ह्वात्तै उराल्यो र उनी नै राष्ट्रपति बने । शुरूमै अर्थतन्त्र सुधारका जनमुखी कार्यक्रम ल्याउन चाहे, तर अनुुभवले साथ दिएन । जितेपछि के गर्ने भन्ने योजना पनि उनीसँग थिएन । असल सोच मात्र थियो । विधि नपुुर्याइएका उनका प्रत्येक कदमलाई कंग्रेस (संसद्) ले साथ दिएन । आमसञ्चारले खेद्यो । अदालतले उल्टाइदियो । पेरुभियन सम्भ्रान्तहरू त पहिल्यैदेखिनै विरोधमा थिए । जनताको शक्तिको माद लागेका फुजिमोरीले संसदमा सहमति खोज्नुपनि अनुपयुक्त ठाने, सहयोग नगर्ने अदालतलाई ‘धूर्त स्याल’ भन्दै आलोचना गर्न थाले ।
एक दिन व्यापारीहरूको वृहत भेलामा फुजिमोरीले सम्बोधन गर्दै भने ‘के हामी साँच्चै लोकतन्त्रमा छौं ? मैले त्यो पाउन सकिनँ । देश त थोरै घराना, अल्यसंख्यक, स्वार्थ समूह र कोठरीले पो चलाएको रहेछ,’ त्यसपछि उनले लोकतान्त्रिक संस्थाहरूलाई बाइपास गरेर काम गर्न थाले । द्वन्द्वमा, अपराधमा थुनिएकाहरूलाई मुक्ति दिए । न्यायाधीशहरूको समाजले उनलाई अधिनायकवादी घोषणा गर्यो । आमसञ्चारले जापानी सम्राट भन्यो । जापानी मूलका भएकाले पनि आलोचना छिटो फैलियो । विदेशी मूलको नागरिकले शासन गरेको तुष संस्थापनमा छँदैथियो । अप्रिल ५, १९९२ मा फुजिमोरीले कंग्रेस विघटन गरिदिए । सुरक्षा, सुधार र स्थीरता चाहेका जनताको धैर्य टुट्यो र दुुई वर्षको अवधिमा जनप्रियाताले आँखाको नानी बनेका फुजिमोरी आक्रोशको तारो बन्न पुगे । जनता लोकतन्त्रको लागतमा सामान्य कुरा चाहिरहेका थिएनन् । यसले अनुुभवहीनता र उग्रमहत्वाकांक्षाले लोकतन्त्र मासिन पुग्छ भन्ने दृष्टान्त दिएको छ ।
प्रश्न गर्ने मानिसहरू नभएपछि राजनेताहरू कसरी स्वेच्छाचारी बन्दा रहेछन् भन्ने हालसालैको अर्को उदाहरण श्रीलंकाबाट पनि पाउन सकिन्छ । मेहनती मानिसहरू बस्ने सानो सुन्दर टापू श्रीलंका कुनै समय सिंगापुरको दृश्यविम्ब मानिन्थ्यो । १९६५ मा विकासको युुगान्तकारी अभियान थालेका ली क्वान युले आफ्नो मुलकलाई एक दशकभित्र श्रीलंका जस्तो बनाउने मार्गचित्र घोषणा गरेका थिए । तर २७ वर्षको जातीय गृहयुुद्धमा फसेको श्रीलंकाले करीब एक लाखजति नागरिक गुमायो । आर्थिक संरचनाहरू तहसनहस हुन पुग्यो । युद्धबाट क्षतविक्षत अर्थतन्त्र र बिग्रिएको सामाजिक सम्बन्धको पुननिर्माणको अर्को यात्रा शुरू भयो ।
सुधार एजेन्डालाई नेतृत्व दिन राजापाक्छे दाजुुभाइ लागिपरे । १९१९ को निर्वाचनमा गृहयुद्धका समय सैनिक नेतृत्व सम्हालेका प्रिय राजनेता गोतावाया राजापक्छे राष्ट्रपति बने भने उनका दाइ महिन्द्रा राजापाक्छे प्रधानमन्त्री । गोतावाया निकै प्रिय राजनेता भएकाले उनका दाजुले उनको राज्यकौशल, अनुुभव र ख्यातीलाई उपयोग गरिरहेका थिए । निर्वाचनको परिणामपछि राजापक्छे परिवारका गोतावाया, महिन्द्रा, वासिललगायत पाँचजना उच्च कार्यकारी तहमा विराजमान भए भने करीव तीन दर्जनजति आफन्तले विधायकलगायत महत्त्वपूर्ण जिम्मेवारी पाए । संसद्मा बहुमत र महत्त्वपूर्ण पदहरूमा परिवारको पकड भएकाले उनीहरूको नीति कार्यक्रम र भनाइमा प्रश्न गर्ने अवस्था पार्टीभित्र थिएन, प्रतिपक्षले पनि पहरेदारी गर्न सकेन ।
युद्धकलामा पाराङ्गत गोतानायक अर्थनीतिमा सिद्धहस्त थिएनन् । आर्थिक रूपमा मुलुक टाट पल्टियो । दैनिक उपभोग्य वस्तुहरू उपलब्ध भएनन् । शैक्षिक तथा सामाजिक सेवाहरू स्तब्ध भए । राष्ट्रका स्टाटस सिम्बोल बनेका राजनेता गोतानायक दाइको शक्ति उन्मादका कारण देशलाई डुबाउँदै अन्ततः मुस्किलले ज्यान जोगाउँदै भागेर विदेशको शरणमा पुुग्नुुपर्यो । उनका परिवार त यसअघि नै अमेरिका पलायन भै उहीँको नागरिक बनेपनि श्रीलंकाली जनताको भने दुःखका दिन फेरि शुरू भए । मुलुकको लोकतन्त्र मात्र धरापमा पारेन, अर्थतन्त्र र सामाजिक प्रणाली पनि स्तबध पार्यो, नजाने यसको पुननिर्माणका लागि कति समय लाग्ला ।
जिब्लान्ट र लेभित्स्कीले ऐतिहासिक तथ्यको विश्लेषणमार्फत निर्वाचित पदाधिकारीहरू लोकतन्त्र मास्ने चार रणनीति लिने गर्दछन् भन्ने निष्कर्ष निकालेका छन् । पहिलो, लोकतान्त्रिक मूल्य मान्यतालाई विस्तारै पाखा लगाउँछन् । दोस्रो प्रतिपक्षको उपस्थितिलाई अस्वीकार गर्छन् । तेस्रो, हिंसा–दमनलाई दुरुत्साहन गर्दछन् । चौथो नागरिक अधिकार र प्रेसप्रति असहिष्णु बन्दछन् । हो, अधिनायकवादी शासकहरू लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनउँछन् । निष्पक्ष निगरानी गर्ने संस्थालाई कानून र शक्ति देखाएर हतियारकरण (विपनाइजिङ) गर्छन् । सञ्चारलाई खरिद गर्छन् वा दलबाटै प्रेस चलाएर प्रश्न सोध्ने मुख टालिदिन्छन् । नागरिक समाजलाई चाहिँ को–अप्सनमा लान्छन् । धूूर्त पेशा व्यवसायीलाई राजनीतिमा ल्याउँछन् । व्यावसायिक प्रशासनलाई उसको मूल्य संस्कारबाट अलग्याउँछन् । राज्यका विशिष्ट अंगमा राजनीतिक मूल्याग्राहीलाई नियुक्त गरी आफ्नो सुरक्षाप्रति आश्वस्त बन्छन् । यी सबै प्रक्रिया लोकतन्त्र मास्ने मन्दविष हुन् । यर्दोगान, पुटिन, बोल्सोनारो, जाँ पेरोन र ट्रम्पहरू हिट्लर, मुसोलिनी, चाभेजहरूका यही रणनीतिका अनुयायी हुन् ।
धेरैजसो नेताहरू शक्तिमा पुगेपछि संविधानका अक्षरको आफूअनुकूल व्याख्या गर्छन्, त्यसैगरी अभ्यास गर्छन् तर आफूहरू जनमुखी र लोकतन्त्रवादी भएको भन्न पछि पर्दैनन् । आफूलाई अलोकतान्त्रिक अहिलेसम्म कसले पो भनेको छ र ? परवेज मुसरफ र थानस्वेले पनि लोकतन्त्रको हत्या गर्दा लोकतन्त्रको रक्षा गरेको भन्न भुलेनन् । अमेरिकी गभर्नर जर्ज वालाकले भनेका थिए, लोकतन्त्रमा संविधानभन्दा पनि शक्तिवान कुरा हुन्छ, त्यो चाहिँ जनइच्छा हो । संविधान जनइच्छाको उत्पादन हो । शक्तिको पहिलो स्रोत जनता हुन् । जनइच्छा परिचालन नभए जनताले संविधान नै परिवर्तन गरिदिन्छन्, तर भुल्न नहुुने केरा के हो भने राजनैतिक दलहरू संविधानका प्रधान रक्षक हुन् । चुनाव जित्नु मत जित्नुमात्र होइन, मन जित्नु हो । लोकतन्त्रमा राजनेताहरू दम्भको सगरमाथा बन्दैनन्, शालीनताले सगरमाथा बन्ने गर्दछन् । लोकतन्त्र न बास्केट बल हो, न शक्ति सङ्घर्षको अस्वस्थ खेल । यसलाई विधि, मानक, स्वनियन्त्रण, शालीनता, स्वार्थ समर्पण र निष्ठाको संस्कृतिले नै रक्षा गर्न सकिन्छ । इतिहासले यही कुरा सिकाएको छ । (@mainaligopi)
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
नेपाली कांग्रेसका नेता नरहरि आचार्य २०५२ साल मंसिर २७ गते संसदीय व्यवस्था मन्त्री बनेका थिए । आचार्यले मन्त्री बनेको ६ महिनापछि २०५३ असार २५ गते मन्त्रिपरिषद् सचिवालयमा सम्पत्ति विवरण पेश गरेका थिए । आचार्य २०५३ ...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...