×

चुलिँदो आक्रोश

टुँडिखेलबाट सल्किएको फिलिङ्गो– नेताहरूविरुद्ध भएको नाराबाजीले के संकेत गर्छ ?

काठमाडाैं | भदौ ११, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समाजलाई बिथोल्ने प्रयास भइरहेको छ’ भनेर भाषण गरेको केही घण्टामै सोमबार शीर्ष नेता उपस्थित कार्यक्रममा नाराबाजी भयो । गौरा पर्व अवसरमा टुँडिखेलमा सुदूरपश्चिमवासीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएका थिए । 

सोही कार्यक्रममा केही युवाले नेताहरूविरुद्ध चर्को नाराबाजी गरे । नाराबाजीबीच प्रधानमन्त्री छोटो मन्तव्य दिएर हिँडे । कांग्रेस सभापति पनि युवालाई गाली गर्दै भाषण छोट्याएर हिँड्न बाध्य भए । 


Advertisment

यो नाराबाजी प्रधानमन्त्रीले सोमबार नै जिल्ला प्रहरी परिसर काठमाडौंको भवन उद्घाटन गर्दै बोलेकै शैलीमा भएको थियो ।


Advertisment

‘अनेक प्रकारका सो कल्ड, कहिले के नाममा, कहिले के नाममा, कोही पहिचानका नाममा, कोही धर्मका नाममा अनेक प्रकारका शक्तिहरू समाजमा शान्ति खल्बल्याउन र समाजलाई बिथोल्नका लागि प्रयासरत छन्,’ ओलीले भनेका थिए, ‘उनीहरूलाई देशको विकाससँग सरोकार छैन । देशमा शान्ति, सुव्यवस्था र अमनचयनसँग सरोकार छैन । अरूका अधिकारमाथि अतिक्रमण गर्नुहुँदैन भन्ने कुराको चेत गुम भइसकेको छ । देशलाई अझ बढी अन्योल, अस्थिरता र अराजकतातर्फ लिएर जाने प्रयासहरू भएका छन् ।’

Laxmi Bank

ओलीले यस्तो भनेको केही घण्टामै युवाहरूले उनैविरुद्ध नाराबाजी गरे । 

टुँडिखेलमा नेताहरूविरुद्ध आक्रोश

सोमबार नै श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध पनि हुटिङ भएको थियो ।

पाटनमा राष्ट्रपति तथा टुँडिखेलमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीप्रति भएको हुटिङ र नाराबाजीप्रति सुरक्षा निकायले समेत सूक्ष्म निगरानी गरिरहेको छ ।

मंगलबार संसद्मा समेत प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि अमरेशकुमार सिंहसम्मले जनतामा आक्रोश र निराशाको आगो बढ्दै गएको बताए । 

‘सत्यले शक्ति देखाउन संख्या हुनु पर्दैन । सरकार यति छिटो यो तहमा एक्सपोज हुनु प्रतिपक्षीका रूपमा हाम्रा लागि राम्रो हो, तर म खुशी छैन । ठूलो चिन्ताले रोस्ट्रममा उभिएको छु,’ प्रचण्डले भने, ‘केही दिनमै सरकार सत्ता समूहका पक्षमा जसरी खुला रूपमा उभियो, त्यसले जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रूपमा बढ्दैछ । झिल्का जताततै देखिँदैछन् । त्यो आगो कतै लोकतन्त्रका विरुद्ध प्रयोग होला कि भन्ने हाम्रो चिन्ता छ ।’

उनी मात्रै होइन, स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले टुँडिखेल घटना खतराको संकेत भएको बताए । 

‘हिजो टुँडिखेलमा घटना भएको छ, त्यो हाम्रा लागि खतराको संकेत हो । नेताजीसँग प्रश्न गर्न चाहन्छु, पहिलेजस्तो गर्ने कि सुध्रिने ?’ बंगलादेशमा शेख हसिनासँग ७ महिनाको ताजा दुईतिहाइ बहुमत भएपनि त्यसले काम नगरेको टिप्पणी गर्दै उनले भने, ‘लोकतन्त्र कहीँ जाँदैन, तर हावाहुन्डरीमा नेताजी र दलहरू जान सक्छन् ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीका संयोजक रामशरण बजगाईं जनताको समस्या समाधान र निराशा चिर्नेगरी सरकारले काम गरिरहेको बताउँछन् ।

टुँडिखेलमा नेताहरूविरुद्ध आक्रोश

‘जनताको असन्तुष्टि समाधान गर्न, जनतामा भएको निराशालाई आशामा बदल्न सरकारले काम गर्छ । गर्ने प्रयत्न गरिरहेको छ । यो सरकार बनेकै जनताको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि हो । सरकार यो दिशातर्फ अगाडि पनि बढेको छ,’ बजगाईंले लोकान्तरसँग भने, ‘तर, निराश हुनुपर्ने कारण भएर आएका असन्तुष्टि मात्रै छैनन् । निराशाको नाम दिएर भड्काउने प्रयास पनि भएका छन् । यस्तो जे मन लाग्यो त्यही गर्ने प्रवृत्तिलाई मात्रै उचालेर त्यो नै जनताको असन्तुष्टि हो भन्नुहुँदैन ।’

सरकारले उद्यम गर्न चाहने युवालाई विनाधितो ऋण दिने, उद्यमशीललाई अवसर दिने कार्यक्रम ल्याएको भन्दै युवाहरू यसतर्फ आकर्षित हुनुपर्ने बजगाईंले बताए ।

‘सरकारले काम गरिरहेको छ । स्टार्टअपअन्तर्गत युवालाई विनाधितो ऋण दिने कार्यक्रम ल्याएको छ । सानो भोलुममा १६५ जनाले यो ऋण पाइसकेका छन् । सरकारले ६ सय उद्यमशील युवालाई यस्तो सुविधा दिएर अवसर सिर्जनाको काम गरिरहेको छ,’ बजगाईंले भने, ‘अरू अवसर सिर्जनामा पनि काम गरिरहेको छ । सरकारको ध्यान नै आशावादिता कायम गर्नतिर छ । तर, हुलदंगा र अराजकता फैलाउने, ठेगाना नभएकाहरूले सामाजिक सञ्जालमार्फत सद्भाव बिथोल्ने काम गरेका छन् । यस्तो प्रवृत्ति अनुचित छ ।’

टुँडिखेलमा प्रधानमन्त्री ओली

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सोमबार टुँडिखेलमा युवाहरूले स्वतःस्फूर्तरूपमा वितृष्णा व्यक्त गरेका हुन् भने त्यसमा गम्भीर हुनुपर्ने बताए । 

‘सोमबारको हुटिङ, आक्रोश र प्रतिक्रिया कुनरूपमा आएको हो, अझै प्रस्ट भइसकेको छैन,’ परियारले लोकान्तरसँग भने, ‘तर, यदि युवाहरूले स्वतःस्फूर्तरूपमा नेताप्रति वितृष्णा व्यक्त गरेका हुन् भने राज्य सञ्चालन गर्नेहरू र पार्टी नेतृत्वमा बस्नेहरू गम्भीर हुनैपर्छ ।’

के भएको थियो टुँडिखेलमा ? 

सोमबार गौरा पर्व अवसरमा टुँडिखेलमा प्रधानमन्त्रीसहित शीर्ष नेताको उपस्थितिमा कार्यक्रम गरिएको थियो । ओली र देउवाले दमाहा बजाएर उद्घाटन गरेको कार्यक्रममा सयौं सर्वसाधारण र नागरिक उपस्थित भएका थिए । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्ति भएपनि नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए । उनी बोल्दा नै युवाहरूले हुटिङ र नाराबाजी गरिरहेका थिए । 

टुँडिखेलमा नेताहरूविरुद्ध आक्रोश

ओली बोलेर हिँडे, तर युवाहरूले झन् चर्को स्वरमा नाराबाजी गरे । 

नाराबाजी गरेपछि देउवाले आक्रोशित हुँदै नारा लगाउनेलाई ‘लाज नभएकाहरू’ भने ।

कुनै प्रस्ट विषयमा भन्दा नेताको नाम नै लिएर अराजक शैलीमा युवा उत्रिएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा जंगिएका थिए । ‘तपाईंहरू जति गरे पनि गर्नुस् । जति कराउनु छ, कराउनुस् । लाज छैन ? यही हो नेपालको चलन ? यही हो सिकेर आएको ? लाज नभएकाहरू,’ देउवाले भने । 

null

समाजशास्त्री एवं अध्यापक राम गुरुङ टुँडिखेलको घटनाबाट राज्यसँग नागरिकको अपेक्षा के रहेछ भनेर बुझ्नुपर्ने बताउँछन् । ‘लोकतन्त्रमा नागरिकमा देखिएको गुनासो, विरोध र असन्तुष्टिलाई सुरक्षाकर्मी लगाएर निस्तेज गर्न सकिँदैन । गर्नु पनि हुँदैन,’ गुरुङले लोकान्तरसँग भने, ‘तर, राज्यले अनुगमन गरेर आमनागरिकको अपेक्षा के हो भनेर पहिचान गर्नुपर्छ । विपक्षीले पनि उत्तेजकभन्दा समस्या के हो भनेर सरकारलाई देखाइदिनुपर्छ ।’

कृषिबाट अलग्गिएर अर्को रोजगारी नपाएको समूहले सार्वजनिक पीडा देखाएको उनी बताउँछन् ।  

‘हामी धेरैजना खेतीपातीबाट अलग्गिसक्यौं । यसैले वैकल्पिक स्रोतबाट जीविकाको पक्षमा युवा र नागरिक छन् । खेती र कृषिबाट निस्किएकाहरूमा रोजगारी नभएको पीडा सार्वजनिक ठाउँमा देखापर्छ । यसलाई अस्वाभाविकरूपमा लिन र अराष्ट्रिय तत्व भनेर पन्छिन हुँदैन,’ गुरुङ भन्छन्, ‘फरक राजनीतिक दलले घुसपैठ गर्न सक्छन् । तर, सत्ता चलाउने व्यक्ति र नेताले कुनै व्यक्ति तथा दललक्षित भनेर बुझ्नुहुँदैन । आमजनताको आक्रोश हो भनेर बुझ्दा समस्या पहिचान गर्न सकिन्छ ।’ 

उल्टै खेद्दा र अराष्ट्रिय तत्त्व भनिदिँदा नागरिकको अपेक्षा राज्यले नसुन्ने उनी बताउँछन् । 

‘राज्यको प्रकृति सरकार र जनतालाई जोड्ने हो । कुनै विरोध र असन्तुष्टि आउनेबित्तिकै अराराष्ट्रिय तत्त्व र घुसपैठ भनिदिँदा समस्या पहिचानमा चुकिन्छ । नागरिकले असन्तुष्टि देखाउनु सचेत हुने मौका पनि हो,’ उनी भन्छन्, ‘टुँडिखेलमा सोमबार भएको प्रदर्शनलाई नागरिकको सरकारसँग अपेक्षा रहेछ भनेर बुझ्नुपर्छ । विगत सरकारसँग अपेक्षा रहेनछ, तर अहिलेका प्रधानमन्त्री र सरकारसँग अपेक्षा भएर जनताले प्रतिक्रिया दिए भनेर सकारात्मक हिसाबले पनि बुझ्नुपर्छ ।’

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x