बैशाख २६, २०८१
‘कति ठाउँमा दोहोरो भिडन्त गरियो, यसो गणना गर्दा ४१ ठाउँमा प्रत्यक्ष भिडेको रहेछु । बमका ९ वटा छर्रा शरीरमै टाँसिएको छ । असर गर्दैन रे, डाक्टरको सल्लाहमै झिकेको छैन’, कुनै बेला काठमाडौं उपत्यकालाई...
तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र संघर्ष गरेको २ वर्षपछि २०५४ वरपरबाट युवा पंक्तिलाई विशेष ध्यान दियो र तल्लो कमिटीबाट केन्द्रमा बढुवासँगै नयाँ जिम्मेवारी पनि सुम्पियो । २०५७ सम्म आइपुग्दा ‘तेस्रो पुस्ता’ भनिएको युवापंक्ति प्रायः केन्द्रीय समितिमा बढुवा भइसकेको थियो ।
त्यतिखेर माओवादीको गतिविधि राप्ती र कर्णालीमा बढी थियो, जसका कारण सोही क्षेत्रका युवा बढी बढुवामा परे । टीम गज्जबको थियो । बढुवा हुने युवाहरू समाजको चरित्रअनुसार बाहुन, खस, क्षेत्री, ठकुरी, मगर, दलित सबै जात र समुदायका थिए । पार्टीको कार्यदिशालाई युवा पुस्ताको टीमले ‘फिल्ड’मा व्यापक कार्यान्वयन गर्यो, जसले माओवादीलाई हलक्कै माथि पुर्याइदियो ।
सशस्त्र गतिविधिको ‘गति’मा तीव्रता आउनुमा युवाको ऊर्जा, उनीहरूलाई बाँडिएको परिवर्तनकारी सपना आदि कारण थिए । युवाहरूको त्यो ऊर्जाले पार्टीलाई शक्ति सञ्चय गर्ने स्थानमा पुर्यायो । युवाहरू आ–आफ्नो भूमिका निभाउने क्रममा पार्टीभित्र स्थापित नेता बन्दै गए । ‘युद्धकाल’भित्रै त्यो युवाहरूको भीडमा छुट्टै पहिचान बनाउन सफल भएका थिए, नेत्रविक्रम चन्द ‘विप्लव’ ।
सशस्त्र संघर्षकै क्रममा माओवादीले अनेकन अन्तर्विरोध, दुईलाइन संघर्ष झेल्यो । कतिपय अवस्थामा दुईलाइन संघर्षहरू आन्तरिक सम्झौतामै टुंगिए । तर, केही युवाले पार्टीसमेत छाडे । सशस्त्र संघर्षकालमा माओवादी विभाजन भएन, बरु शान्ति प्रक्रियामा आएपछि छिन्नभिन्न भयो । त्यही छिन्नभिन्न भएमध्येको एउटा धारलाई नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरिरहेका छन् ।
पार्टीमा दुईलाइन संघर्ष नेताको इच्छाभन्दा स्वतन्त्रता र अनिवार्यता हुने बुझाइ विप्लवको छ । दुईलाइन संघर्षलाई खरो रूपमा बहस गरेर हल गर्नुपर्छ भन्ने धारणाका कारण उनले पार्टीमा आफूलाई युद्धकालमै स्थापित गरिसकेका थिए । त्यसैका कारण हुनसक्छ, उनी अहिले पनि माओवादीको वैकल्पिक धारमा नेतृत्व गरिहेका छन् ।
‘दुईलाइन संघर्षलाई व्यक्तिगत इच्छापूर्ति गर्ने, रहस्यमय तरिकाले कसैको जीवन सिध्याउने, पूर्वाग्रह साँध्ने र सत्यतथ्य लुकाएर झूट लाद्ने साधनमा प्रयोग गरिनुहुँदैन, बरु दुईलाइन संघर्ष त वर्ग, क्रान्ति, विचार र ज्ञानको विकास तथा संरक्षण गर्ने साधन हुनुपर्छ’, विप्लवले दुईलाइन संघर्षलाई यसरी संश्लेषण गरेका छन् ।
‘युद्धकाल’का समकक्षीहरू मन्त्री, सांसद, सभामुख, उप–राष्ट्रपतिलगायत राजकीय पदमा पुगिसके । तर, विप्लव अहिलेसम्म यस्ता अपवाद एवं विद्रोही पात्र हुन्, जो कुनै पनि राजकीय पद नलिई बसेका छन् । पछिल्लो समय समकक्षीहरूलाई नियाल्दा विप्लवको मनमा प्रश्न उब्जिन्छ, ‘हिजोका दिनमा आफूसँगै अनि एउटै आदर्श बोकेका साथीहरू अहिले समाजमा अलिक अर्कै पात्रका रूपमा चित्रण भइरहेका पो छन् कि ?’ उनी थप्छन्, ‘मान्छे कहिलेकाहीँ सैद्धान्तिक पक्षमा तलमाथि हुन सक्छ । तर, समाजमा साथीहरूप्रति उठेका प्रश्नले आदर्श, निष्ठा छाड्दै गएका हुन् कि भन्ने लाग्छ ।’
सत्ता प्राप्तिबाहेक आखिर राजनीति केका लागि ? यसको सेरोफेरोमा उभिएका राजनीतिज्ञ विप्लवको नालिबेली उत्तिकै चासोको विषय हो । मगर मावली एवं ठकुरी परिवारमा जन्मिएका हुन्, विप्लव । उनको हजुरबुवाका ६ दाजुभाइ सबै लाहुरे थिए । गाउँघरमा लाहुरे परिवार भनेपछि छुट्टै सान हुन्छ । २०२४ फागुन ११ गते रोल्पाको इरिबाङमा जन्मेका विप्लवले २०३९ मा कक्षा ७ मा अध्ययन गर्दैगर्दा तत्कालीन अखिल (छैठौं)को सदस्यता लिए । विद्यार्थीकालदेखि उनको राजनीतिक यात्रा निरन्तर रह्यो । २०४२ सालमा मोहनविक्रम सिंहबाट छुट्टिएर बनेको नेकपा ‘मोटो मशाल’को नेतृत्व मोहन वैद्य गरे । विप्लव उतिखेरैदेखि वैद्यको पक्षमा लागे । कृष्णबहादुर महरा ‘गुरु’को स्कूलिङमा हुर्किएका उनी २०४३ मा अखिल (क्रान्तिकारी)को रोल्पा जिल्ला अध्यक्ष बने ।
२०४३ सालमा एसएलसी उत्तीर्ण भएपछि २०४४ मा काठमाडौं झरेर ल क्याम्पसमा भर्ना भए । उनी राजधानीमा कानून विषय अध्ययन गर्दै गर्दा २०४५ मा उनको परिवार कपिलवस्तुको शिवगढी बसाइँ सर्यो । विप्लव २०४६ को जनआन्दोलनमा काठमाडौंबाट फर्किएर कपिलवस्तुमा सक्रिय भए ।
२०४७ मा अखिल (क्रान्तिकारी)का काठमाडौं जिल्ला सचिव र सोही समयमा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को जिल्ला सदस्य हुँदै पछि क्षेत्रीय सदस्य बने ।
अखिल (क्रान्तिकारी) बागमती अध्यक्षबाट उनी २०४८ मा अखिल (क्रान्तिकारी)को केन्द्रीय नेता बने । २०४८ मा उनी पार्टीको इलाका कमिटी सदस्य थिए । २०५० मा पार्टीको काठमाडौं जिल्ला सदस्य र २०५१–२०५२ मा ललितपुर जिल्ला सचिव बने । २०५३ मा उपत्यका माओवादीको ब्यूरो सदस्य बने । २०५४ मा काठमाडौंबाट कर्णाली सरुवा भएसँगै उप–क्षेत्रीय ब्यूरो इन्चार्जको जिम्मा पाएपछि उनी माओवादीमा पछाडि फर्किनुपरेन, निरन्तर बढुवा हुँदै गए ।
२०५४ को चौथो विस्तारित बैठकले उनलाई केन्द्रीय सदस्यमा बढुवा गर्यो । २०५९ मा राप्तीमा कार्यरत रहँदा उनी पोलिटब्युरो सदस्यमा फेरि बढुवा भए । २०६३ सम्म तत्कालीन राप्तीमै हुँदा उनी डिभिजन कमिसार भए, जुन बेला बेनी आक्रमणमा उनले ‘राजनीतिक कमिसार’को भूमिका निर्वाह गरेका थिए । २०६४ मा प्रायः युवा नेता संविधानसभाको चुनाव लडे । कतिपय समानुपातिकतर्फबाट सांसद बने, तर विप्लव बनेनन् । त्यसपछि विप्लव माओवादी युवा पंक्तिमा ‘फरक धारको युवा नेतृत्व’ भनेर पहिचान बनाउन सफल भए ।
केन्द्रीय समितिमा वैद्य पक्षधर विप्लव २०६९ असारमा पार्टी विभाजन हुँदा वैद्यसँगै रहे । २०७० को चुनाव वैद्य समूहले बहिष्कार गर्यो । त्यसलगत्तै वैद्य नेतृत्वको माओवादीबाट २०७१ मंसिरमा अर्को ‘विद्रोह’ गरेर विप्लवले नेकपा गठन गरे । उनको पार्टीले २०७४ को स्थानीय, प्रदेश र संघीय चुनाव बहिष्कार गर्यो । त्यसलगत्तै सशस्त्र गतिविधि गर्दा केही कार्यकर्ता र सर्वसाधारणसहित जनधनको क्षति भयो ।
२०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगायो । तत्कालीन (नेकपा)का तर्फबाट नेतृत्व गरेका केपी शर्मा ओलीको सरकारले प्रतिबन्ध लगाएको २ वर्ष २०७७ फागुन २० गते ३ बुँदे सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा स्वागत गर्यो । सँगै प्रतिबन्ध पनि फुकुवा गरियो ।
अहिले खुला राजनीतिमा रहेका विप्लव नेपाली मौलिकताका आधारमा ‘वैज्ञानिक समाजवाद’को दिशामा अघि बढ्न प्रयत्न गरिरहेको बताउँछन् । विप्लवलाई ३ बुँदे सम्झौता गर्दा ओलीनिकट भएका आरोप लाग्यो । अहिले समाजवादी मोर्चामा रहेका विप्लव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट भनेर चर्चामा छन् । तर, यी दुई चर्चाको बेलिविस्तार लगाउँदै विप्लवले लोकान्तरसँगको भेटमा भने– ‘प्रचण्ड र ओलीजीसँग मेरो सम्बन्ध सुमधुर छ, दुरी टाढिएको छैन ।’
सम्भव छ माओवादीको ‘रि–ब्रान्डिङ’ ?
‘जनयुद्ध स्थगन, विघटन, समाप्ति, विसर्जन, जे भने पनि त्यससँगै माओवादी ‘ब्रान्ड’पनि सकिएको हो ?’ लोकान्तरको प्रश्नमा विप्लवले भने, ‘माओवादी एउटा संघर्षको नाम हो । माथि तपाईंले भनेजस्तै माओवादी विखण्डन, विचलनतिर गएको र ब्रान्ड सकिएजस्तो देखिन्छ । हिजोको पुरानो माओवादीले गरेका कामहरू सकिएकै हो । अब नयाँ ढंगले जानुपर्छ भनेरै मैले प्रस्ताव गरेको छु ।’
वैद्यबाट विभाजनलगत्तै विप्लवले माओवादीको उद्गम थलो थवाङमा सम्पन्न महाधिवेशनबाट पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राखे । यसै सन्दर्भमा विप्लवलाई प्रश्न थियो, ‘२०५२ देखि १० वर्षे जनयुद्धको क्लाइमेक्स प्रचण्डले लिइसके भनेर ‘माओवादी’ नाम छाड्नु भएको हो ? उनले भने, ‘हो, १० वर्षे जनयुद्धको उथलपुथलबाट प्राप्त उपलब्धिको क्लाइमेक्स प्रचण्डजी नै हो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्नुमा माओवादी ब्रान्ड प्रचण्डजीसँगै छ भन्ने निष्कर्ष प्रमुख कारण थियो । तर, सैद्धान्तिक रूपमा माओवादलाई त्यागेको होइन । यसलाई अझ विकसित गरेर जाऔं भन्ने हो । पुरानो माओवादीबाट नहुने देखेरै नयाँ माओवादीलाई रि–ब्रान्डिङ गरौं भनेर प्रस्ताव अघि सारेको छु ।’
पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राखेर खुला हृदयका साथ २००६ सालमा पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टीलाई ब्यूँताउने प्रयत्न गरेको समेत उनले बताए । ‘पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टीमा सबै गोलबद्ध हौं भन्ने खुला सोचका साथ सबै अग्रजहरूलाई प्रस्ताव गरेको छु’, उनले भने ।
नेपाली मौलिकताका आधारमा वैज्ञानिक समाजवाद निर्माणका लागि विप्लवले वर्तमान समाजभित्र रहेका मध्यमवर्ग र पुँजीपति वर्गलाई अनिवार्य जोड्नुपर्ने औंल्याए । ५ जात र समुदायको विविधिकरणबाट निर्मित समाजको विश्लेषण गर्दै वैज्ञानिक समाजवादको चरित्रबारे उनले भने, ‘वैज्ञानिक समाजवादको चरित्र नयाँ अर्थसम्बन्ध, शिक्षा, व्यवसायमा श्रमिक वर्गको विस्तार, विद्यार्थी, मध्यम वर्गसँगै राष्ट्रिय पुँजीपतिवर्गलाई एकताबद्ध गर्ने हो ।’
‘संघीयता छ, कार्यान्वयन छैन, समावेशी–समानुपातिक छ, वास्तविक समुदाय सहभागी भएको छैन,’ विप्लवले भने, ‘उत्पीडित वर्गका मान्छेहरू जो थिए, उनीहरूले नै लडेर अहिलेको चरणमा ल्याएका हुन् । हिजोका दिनमा रोल्पा, रुकुमका तमाम आदिवासी जनजातिहरू लडेर यहाँसम्म ल्याए । तर, अहिले रोल्पा, रुकुमका मान्छेहरू जनयुद्धका दिनमा नबुझेर लडिएछ भन्ने वातावरण बन्यो । यसलाई परिवर्तन गर्न जरुरी छ ।’
‘शून्यबाट माओवाद उठाएको छु’
प्रचण्ड, वैद्य र अन्य समकालीनहरूबाट समेत विभाजन भई पुनः पूर्व माओवादी शक्ति एक हुन सकिन्छ भन्ने ‘झिनो विश्वास’मा उनी अघि बढेका छन् । प्रचण्डले पुराना माओवादीलाई कसरी शून्यमा पुर्याए ? भन्नेमा विप्लवको तर्क छ, ‘सबै ध्वंश मात्रै भयो । बैंक, सहकारी, विद्यालय, स्वास्थ्य, उद्योग, कम्युन सबै प्रचण्डले ध्वंश बनाउनुभयो । कतिसम्म भयो भने जमिन्दारको जग्गा कब्जा गर्यौं, त्यसलाई किन्ने वा भाडामा लिएर उत्पादन गर्नका लागि जमिन्दारसँग सम्झौता गर्नुपर्ने थियो, तर भइदियो अर्कै । माओवादीका साथीहरू नै विचौलिया बनेर जमिन्दारसँग मिलेर बेचबिखन गरी नाफा बाँडे ।’
सांसद, मन्त्री भइसकेका र राजकीय पदमा रहेका माओवादीभन्दा भिन्न छ, विप्लवको जीवनशैली । ललितपुरको हरिसिद्धिमा एक शुभेच्छुकको ५ रोपनी जग्गा भाडामा लिएर बनाइएको टहरामा काठमाडौं उपत्यकाका लागि पार्टी कार्यालय छ । ‘युद्धकालीन माओवादी नेताकै शैली’मा उनीसँग सम्पर्क हुन्छ । कपिलवस्तुमा जग्गा भाडामा लिएर खेती गरेका छन् । कार्यकर्तालाई उत्पादनमा जोडिरहेका छन् । सामूहिक खेती–किसानी कार्यमा जोडिएका विप्लवको शैलीलाई नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले सदनमै खुलेर प्रशंसा गरेका थिए ।
‘पार्टीको संगठनात्मक जीवन र नेता/कार्यकताहरूको दैनिक जीवन सञ्चालनका लागि उत्पादनका कार्यमा जुटिराखेका छौं । यो पुँजीको उत्पादन, निर्माण र विकास सत्ता प्राप्तिका लागि मात्रै होइन, भन्ने पुष्टि हो । उत्पादन, विकास र निर्माण क्रान्तिभित्र पनि आत्मसाथ गरेर प्रयोगमा लिन सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने ।
‘युद्धकाल’मा सहकारी निर्माणको याद गर्दै विप्लवले भने, ‘५ लाख रुपैयाँबाट शुरू गरेको सहकारी २०६३ सम्म आइपुग्दा २० लाख रुपैयाँको पुगेको थियो । त्यो मैले नै स्थापना गरेको थिएँ । अहिले ठूला सहकारीहरूमा बचतकर्ताहरूको रकम अपचलन एवं दुरुपयोग भएका छन् । तर, हामीले स्थापना गरेका सहकारीहरू दिनदिनै फस्टाउँदै छन् ।’
तमाम युवाको विदेश पलायन रोक्नका लागि उत्पादनसँग जोड्न अनिवार्य रहेको उनले बताए । त्यसको सम्भावना औंल्याउँदै उनले भने, ‘समाजमा पूरै निराशा फैलाउने, नेपालमा केही पनि छैन, हुँदैन भन्ने भाष्यलाई चिर्न जरुरी छ । उत्पादनको योजना, शिक्षा, तालिमको व्यवस्था गरेर युवाहरूलाई नेपालमै आत्मनिर्भर बनाउन सकिन्छ ।’
‘नयाँ पुस्तालाई उत्पादनसँग कसरी जोड्ने ?’ भन्ने विषयमा उनको धारणा छ¬, ‘राजनीतिकरूपले हामीहरूको पुस्ता जुन चरण पार गरेर यहाँ आयो, त्यही बाटोबाट नयाँ पुस्ता आउनुपर्छ भन्ने धारणाबाट मुक्त हुनुपर्छ । त्यसैले नयाँ पुस्तालाई हाम्रो समयको राजनीतिक बाटो भनेका छैनौं, जसका लागि शिक्षा, उत्पादन क्रान्तिमा जान सक्ने रोडम्याप तयार पारिदिएका छौं । यसको अर्थ हो, पुरानो पुस्ता नयाँ राजनीति, नयाँ पुस्ता, नयाँ आन्दोलनबाट नयाँ युगलाई जोड्ने ।’
नेतृत्वका लागि निरन्तर प्रयत्न अनिवार्य हुने उनको तर्क छ । नेतृत्वमा पुगिहालिन्छ भन्ने पनि छैन, यद्यपि उज्यालो भविष्यका लागि प्रयत्न निरन्तर जारी राख्नुपर्छ । ‘सुख र खुशीसाथ रमाएर बाँच्न पाउने समाज निर्माण गर्ने मुख्य उद्देश्य हो’, उनले भने, ‘त्यसका लागि सही नेतृत्व आवश्यक छ, त्यही नेतृत्व प्राप्तिका निम्ति निरन्तर प्रयत्नमा छौं ।’
‘समकक्षी टीम भेट्दा भक्कानो फुट्छ’
हिजोको रोल्पा । माओवादी आन्दोलनको उर्वर भूमि । जनताको गौरवपूर्ण पौरखको गाथा । वर्षौं ‘जनसत्ता’ चलाएको टीम यतिखेर कहाँ–कहाँ पुगे, कहाँ भेटिन्छन्, भनिसाध्ये छैन । अहिले समाजमा रोल्पा, त्यहाँका माओवादी नेता, वरिपरिका व्यक्तिहरूको नाम विभिन्न ‘काण्ड’मा मुछिँदा विप्लवको मन अमिलो हुन्छ ।
रोल्पाका आफ्ना गुरु, समकालीन नेता/कार्यकर्ताहरू विभिन्न ‘काण्ड’मा मुछिएको सन्दर्भमा विप्लवले भावुक हुँदै भने– ‘मान्छेमा कहिलकाहीँ सैद्धान्तिक विचलन त आउँछ, तर जुन–जुन काण्डमा साथीहरूको नाम जोडिएर आएको छ, त्यतिसम्मचाहिँ नहुनुपर्ने हो भनेर म आफैं भावुक हुन्छु । त्यो त हामीबाट हुन सक्ने कुरै होइन । पुरानो टीमका साथीहरूबीच भेट हुन्छ । भेटमा केही छैन, सर्वहारा नै छौं भन्छन्, तर समाजमा त्यस्तो छाप छैन । कतिपय साथीहरू व्यावहारिक रूपमै पुरानै आदर्शमा छन् । हिजो सँगै हिँडेको, लडेको, एउटै टीमका साथीहरूबीच भेट हुँदा भक्कानिन्छौं, आशु झर्छ । बडो भावनात्मक सम्बन्ध जोडिने रहेछ ।’
त्यही भावनाकै कारण ‘हिजोका माओवादीहरू सबै एक ठाउँ हौं’ भन्ने धारणा बनेको उनले बताए ।
प्रचण्ड र ओलीसँग सम्बन्ध
‘नयाँ माओवादी’ आन्दोलन निर्माणका लागि उनले प्रचण्डसँग निरन्तर छलफल चलाइरहेका छन् । आफू विद्यार्थी राजनीतिमा हुँदा पार्टीको शीर्ष नेतृत्वमा पुगिसकेकाहरूसँग विप्लवले २ पटक विद्रोह गरिसकेका छन् । त्यो ‘विद्रोह’लाई पुष्टि गर्नुपर्ने चुनौती पनि उनीसामु छ ।
अहिले समाजवादी मोर्चामा सँगै रहेका आफ्ना पुराना नेता प्रचण्डसँग पार्टी एकता भइहाल्छ त ? उनको जवाफ छ, ‘हिजो लिडरशिपप्रति चित्त बुझेन अनि विद्रोह गर्यौं । अब विचार, राजनीति, संगठन, कार्यविभाजन नयाँ ढंगबाट हुने भयो भने एकता गर्न सकिन्छ भन्ने हो, जसले नयाँ कम्युनिस्ट पार्टी स्थापना गर्न सकोस् ।’
पुरानै माओवादीसँग एकता गर्दा ‘एउटै व्यक्ति (प्रचण्ड)को लिडरशिपमा दुई क्रान्ति वा परिवर्तनको सम्भावना कत्तिको देख्नुहुन्छ ? भन्ने जिज्ञासामा विप्लवले यो चुनौती स्वयं आफूसामु पनि रहेको बताए । ‘एउटै व्यक्तिको लिडरशिपमा २ क्रान्ति सफल सम्भव हुन्छ कि हुन्न भन्ने चुनौती प्रचण्डजीलाई मात्रै होइन, स्वयं मलाई पनि छ । यसलाई सम्भव बनाउन सकिन्छ भन्नेमा म छु,’ विप्लवले भने ।
प्रचण्डको लामो मूल नेतृत्वप्रति उनकै समकक्षी जनार्दन शर्माले लिखितरूपमा फरक दस्तावेज पेश गरेका छन् । प्रचण्डसँगै अनेकन मतभेदबीच हुर्किएका विप्लवले जनार्दनको पछिल्लो फरक मतलाई नजरअन्दाज गरेका छैनन् । जनार्दनको फरक मतलाई राम्ररी बुझे पनि उनले स्पष्ट जवाफ भने दिएनन् ।
२०७७ सालमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग ३ बुँदे सम्झौता गर्दा ओलीसँग विप्लवको सम्बन्ध स्थापित भयो । ‘उहाँहरूले हामीलाई प्रतिबन्ध लगाउनुभयो, त्यो गलत थियो । प्रतिबन्ध फुकुवा गरेर राम्रो काम गर्नुभयो । राम्रो काम गर्नुभयो भनेर मैले पटक–पटक भनेको छु । एमाले अध्यक्ष ओलीसँगको सम्बन्ध अहिले पनि राम्रो छ’, उनले भने ।
कसैसँग एकता भइहाल्छ भन्ने कुरा सत्य नभएको उनको भनाइ छ ।
‘समाजवादी मोर्चा, पूर्व सहकर्मी, कार्यकर्ताहरूको भावनात्मक सम्बन्धका कारण प्रचण्डसँग अलिक बढी छलफल हुन्छ । त्यसको अर्थ एकता भइहाल्छ भनेको होइन । प्रचण्डसँग र समाजवादी मोर्चामा रहेको भनेर यता ओली कमरेडसँग पनि दूरी टाढा गरिएको छैन,’ उनले भने ।
नेपाली समाजको चरित्र, वर्ग संघर्षको विश्लेषण, समाजवादी आन्दोलनको स्वरूप, वामपन्थी आन्दोलनसम्बन्धी संवादमा विप्लवमा केही नयाँ हुटहुटी देखिन्छ । उनी अहिलेसम्म सत्तामा पुगेका छैनन् । हिजोको माओवादीको क्रान्तिकारी अवशेषका रूपमा रहेका छन् ।
सत्ता सञ्चालनमा कतै परीक्षण नभएका, उमेरले पनि साथ दिएका विप्लव मूलतः माओवादीलाई ‘रि–ब्रान्डिङ’ गर्नेमा बढी केन्द्रित देखिन्छन् । साथै उनले ‘सबै कम्युनिस्टहरू एक ठाउँ भएर आलो–पालो नेतृत्व गरी अघि बढौं न !’ भन्ने ‘छिपछिपे आशा’लाई पनि जीवित राखेका छन् ।
‘कति ठाउँमा दोहोरो भिडन्त गरियो, यसो गणना गर्दा ४१ ठाउँमा प्रत्यक्ष भिडेको रहेछु । बमका ९ वटा छर्रा शरीरमै टाँसिएको छ । असर गर्दैन रे, डाक्टरको सल्लाहमै झिकेको छैन’, कुनै बेला काठमाडौं उपत्यकालाई...
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पत्रसहित पठाएको उजुरीको आधारमा सरकारले अतिक्रमित जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन छानबिन समिति गठन गरेको खुलेको छ । परिषद्का अध्यक्ष शीतल साहले गृह मन्...
मितिः १७ फागुन २०७४ । स्थानः नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, काठमाडौं । समयः मध्याह्न । सई बालकृष्ण सञ्जेलको मोबाइलमा घण्टी बज्यो । उनले फोन उठाए । अपरिचित नम्बरबाट फोन गर्ने व्यक्तिले सिधै...
पुरानो सम्झौता रद्द गरी गौशाला खाली गर्न पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गरे पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पुनः मारवाडी सेवा समितिलाई नै जिम्मा दिने तयारी गरेका ...
नेपालको राजनीतिमा कोइराला परिवारको छुट्टै इतिहास छ । कोइरालाहरू भौतिकवादी होइनन्, तर उनीहरू परम्परा र चाडबाड मान्ने अभ्यासमा भने कम्युनिस्ट भन्दा प्रगतिशील छन् । कांग्रेसका संस्थापन बीपी कोइराला मा...
कात्तिक १७ गते राति ११ः४७ बजे काठमाडौंमै पनि भूकम्पले मज्जैसँग हल्लायो । म कलेजको प्रयोगात्मक परीक्षाअन्तर्गतको ‘अनलाइन पत्रकारिता’ विषयका लागि आर्टिफिसियल इन्टेलिजेन्स, सीएआर र एआईले पत्रकारितामा पा...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...