×

सन्दर्भ: बढ्दो जनआक्रोश

कांग्रेस–एमाले पुनर्जन्मको अपरिहार्यता

काठमाडाैं | भदौ १३, २०८१

हुन त पुनर्जन्मको कुरा हर कोहीलाई पत्याउन वा विश्वास गर्न निकै गाह्रो हुन्छ । विशद आध्यात्मिक ज्ञान, साधना, आत्मज्ञान, सम्बोधी र ईश्वरप्रति गहिरो आस्था भएको व्यक्ति वा समूहले मात्र जन्म र पुनर्जन्ममा विश्वास गर्छ । तर, आजको प्रसंग त्यस्तो पुनर्जन्मको होइन । न त यो इहलौकिक र पारलौकिक जीवनको सन्दर्भ हो ।

३० वर्षको उमेरमा जीवनदेखि बिरक्तिएर आत्महत्या गर्न लागेका प्रख्यात अध्यात्मिक गुरु एक्हार्ट टोलको एकै जीवनमा अचानक पुनर्जन्म भएजस्तो घटना सबैको जीवनमा घट्न दुर्लभ छ । तर, यस्ता दुर्लभ घटनाले केही व्यक्तिको जीवन बदलिदिएको छ । एउटै जीवन पनि २ खण्डमा बाँडिएको छ । त्यसले स्वयं व्यक्ति मात्र होइन, मानव सभ्यता समेत लाभान्वित र गौरवान्वित भएको छ । त्यसैका दृष्टान्त हुन्, एक्हार्ट टोल, जसलाई उनको 'वर्तमानको शक्ति' पुस्तकमार्फत राम्रोसँग बुझ्न सकिन्छ । आजको मूल प्रसंग यो होइन । यस विषयमा समयक्रममा विमर्श गरौंला । अहिले भने नेपालको वर्तमान सत्ता समीकरणको बारेमा थोरै चर्चा गरौं ।


Advertisment

यतिबेला नेपालको राजनीतिमा शक्तिशाली तर खतरनाक संसदीय प्रयोगको अध्याय चलिरहेको छ । संसद्को सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक राजनीतिक दल नेपाली कांग्रेसले सत्ताको बागडोर संसद्को दोस्रो ठूलो दल (नेपाल कम्युनिस्ट पार्टी एमाले)लाई सुम्पेको छ । यस निर्णय र कदमलाई कांग्रेसले राष्ट्रिय आवश्यकता तथा समयको माग वा अनिवार्य विकल्प भनेको छ ।


Advertisment

यस आवश्यकताको अपरिहार्यतालाई पुष्टि गर्न दुवै दलद्वारा प्रस्तुत ७ बुँदे कार्यसूचीभित्र संविधान संशोधन र सुशासनलाई मुख्य रूपमा जोड दिइएको छ । राष्ट्रिय हित, भौतिक विकासमा तीव्रता र भ्रष्टाचारको नियन्त्रण उच्च प्राथमिकतामा छन् । यी प्राथमिकताहरू निकै राम्रो सुनिएका र देखिएका छन् । र, यसका लागि कांग्रेस–एमाले दुवै दलले पालैपालो सरकारको नेतृत्व गर्ने समेत भनेका छन् र तदनुरूप लिखित सहमति पनि भएको छ । त्यसैको जगमा नयाँ सरकार समेत निर्माण भई अघि बढेको अवस्था छ ।

Laxmi Bank

भोलिको परिस्थिति जेसुकै भएपनि अहिलेको राजनीतिक कदमको कतैबाट पनि त्यति साह्रो आलोचना भएको छैन । र, नेपाली सचेत समुदायले समेत नयाँ सहमतिलाई शंकाको लाभ दिएको छ । एमाले पार्टी पंक्ति त दंगदास नै छ, जसले वर्तमान संसद् गठनको प्रारम्भमा यसै संसद्बाट आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ला भन्ने शायद परिकल्पना नै गरेको थिएन ।

कांग्रेसभित्र पनि अभूतपूर्व सन्नाटा अर्थात् गज्जबको मौनता देखिन्छ र प्रचण्डलाई हटाएर सत्ताको लडाइँ जितेको विजयी मुद्रा झल्किन्छ । त्यसैले हुनुपर्छ, सबै नेता यसको जस लिने प्रतिस्पर्धामा छन्, तर यस समीकरणको खास कारण र अन्तर्य कसैलाई थाहा छैन । या थाहा भएपनि दुवै दलका मुख्य नेताहरू अरूलाई बताउन चाहँदैनन् ।

कदाचित यो सरकार असफल भए के होला ? यसरी सोच्न थाल्नेहरूको पनि कुनै कम छैन । अहिलेलाई हामीसँग पर्खिनु र हेर्नुको कुनै विकल्प छैन । दुई ठूला दल मिलेर सरकार बनाउनुको खास अभिप्राय के रहेछ भनेर थाहा पाउन अरू १/२ महिना लाग्नेछ ।

सम्भवत: नेपालको इतिहासमा यो राजनीतिक गठबन्धनको मौलिक चरित्र निकै भिन्न छ । यस प्रयोगका प्रारम्भिक परिणाम के–के होलान् भनेर सुन्न र हेर्न सबै नेपाली जनता आतुर र व्यग्र रूपमा प्रतिक्षारत छन् । घटनाको गर्भमा जेभए पनि अहिले भने यस सरकारले राष्ट्र र जनताका लागि केही गरोस् भन्ने शुभेच्छा नै बढी देखिन्छ । तथापि गहिरो दुष्चिन्ता सर्वत्र देखिन्छ ।

कदाचित यो सरकार असफल भए के होला ? यसरी सोच्न थाल्नेहरूको पनि कुनै कम छैन । अहिलेलाई हामीसँग पर्खिनु र हेर्नुको कुनै विकल्प छैन । दुई ठूला दल मिलेर सरकार बनाउनुको खास अभिप्राय के रहेछ भनेर थाहा पाउन अरू १/२ महिना लाग्नेछ ।

सबैभन्दा पहिले यस सरकारले हाम्रो देशको स्थिति कस्तो छ र हामी कहाँ छौं, साथै जनताको मनस्थिति कस्तो छ भन्ने धरातलीय यथार्थलाई बुझ्न सक्नुपर्छ । यतिबेला नेपाली जनता बालखैमा बाबुआमा गुमाएका टुहुरा सन्तानजस्ता छन्, जसको कुनै गतिलो छहारी र जीविकाको बलियो आधार छैन । गरीबी र पछौटेपनको दुष्चक्रमा जेलिएका असहाय नेपालीहरू परदेश गएको अभिभावक फर्कने दिन गनेर बसेको आशामुखी दुःखी परिवारजस्तो भएका छन् ।

गाउँ र शहरमा युवा रित्तिने क्रम जारी छ । जनसंख्याको स्वनियन्त्रण निकै कठोर, अदूरदर्शी र पलायनवादी छ । राज्यलाई चाहिने जनशक्तिको अभाव हुन थालेको छ र यही क्रम जारी रहे दुई दशकभित्र नेपालका विद्यालयहरू खण्डहरमा परिणत हुनेछन् । युवा र किशोर किशोरीहरूमा सरकारप्रति तीव्र आक्रोश छ र परम्परागत राजनीतिप्रति घृणाभाव छ ।

हामी सबैलाई थाहा छ, राष्ट्र निर्माणका लागि मानवीय संसाधनको धेरै ठूलो महत्त्व हुन्छ । जनता आक्रोशित र युवा पलायन भएपछि राष्ट्रोन्नतिमा योगदान कसले गर्ने ? मूल कुरा राष्ट्र निर्माण हाम्रो प्राथमिकता हो कि हैन ? यदि हो भने हाम्रो कार्यशैली बदल्ने कि नबदल्ने ? आजसम्म कुनै पनि सरकारले नाराबाहेकका राष्ट्र निर्माणका विश्वसनीय कार्य गर्न सकेनन् भन्ने तथ्य जगजाहेर छ । मूल कुरा त विकासको प्राथमिकता नै तय गर्न सकेनन् ।

भन्नलाई  धेरै वर्षसम्म स्वास्थ, शिक्षा, रोजगारलाई विकासको मूल नारा बनाइयो । गाउँमा–गाउँमा बाटो, खानेपानी र सञ्चारको विकास भनियो । थोरबहुत गरियो पनि । तर, सञ्चार क्षेत्रको उल्लेखनीय प्रगतिबाहेक अरू क्षेत्रमा दिगो र भरपर्दो विकास केही भएन । सञ्चार क्षेत्रको विकासका कारण पनि हामी मात्र होइनौं, सञ्चार र प्रविधिको विश्वव्यापी लहर र व्यापारीकरणलाई हामीले अङ्गालेको मात्रै हो । हामीले संसारका महंगा गाडी चढेका छौं । आफूले बनाएर चढ्नुपर्ने भए हामी अहिलेसम्म बयलगाडा यूगमै हुन्थ्यौं शयद ! आजसम्म न हामीले देशको तीव्र विकासमा जाँगर देखाएका छौं, न नागरिकको उत्साह बढाएका छौं ।

बारम्बार राष्ट्रिय दायित्व र भूमिका पाएर पनि देशलाई अघि बढाउन सकेका छैनौं । हामीले यस सत्य र आफ्नो अकर्मण्यतालाई सबैभन्दा पहिले आत्मसात गर्नुपर्छ, अनि मात्र राष्ट्र निर्माणको यात्रा प्रारम्भ हुन सक्छ । यसो गर्नका निम्ति कांग्रेस एमालेको परम्परागत कार्यशैलीमा बदलाव हुन जरुरी छ । अब यतिखेर कार्यशैलीमा बदलाव ल्याउन दुवै दलले कम्मर कस्लान् त ? के यी २ दलको पुनर्जन्म होला त ? खासगरी कांग्रेस सभापति देउवा र वर्तमान प्रधानमन्त्री ओलीको पुनर्जन्म सम्भव छ त ? आजको मुख्य प्रश्न यही हो ।

स्वतन्त्र, समुन्नत, सुरक्षित एवं स्वाभिमानी राष्ट्र तथा स्वावलम्बी, आत्मनिर्भर र प्रतिष्ठित नागरिक राजनीतिको मुख्य ध्येय हो । फगत शासन प्रणालीको स्थापना र आवधिक निर्वाचनले मात्र प्रजातान्त्रिक राजनीतिलाई सुनिश्चित गर्दैन । यसका लागि राजनीतिक दलको भूमिका सर्वोपरि हुन्छ । बारम्बार चुनाव जित्नु र सरकारमा पुग्नु मात्र राजनीतिक दलको बहादुरी र सफलता होइन । सरकारमा पुगेर उसले निर्वाह गरेको भूमिका र जनताले प्राप्त गरेको सुविधा तथा उपलब्धि मुख्य कुरा हो । कुन राजनीतिक दल कतिपटक सत्तामा पुग्यो भन्ने कुराले राजनीतिमा अर्थ राख्दैन । र, यो राजनीतिक सफलताको मानक पनि होइन ।

हामीले जनताको आत्मसम्मानलाई कति माथि उठायौं र संसारको तीव्र विकासलाई कति पछ्यायौं भन्ने कुराले ठूलो महत्त्व राख्छ । यस दिशामा नेपालको निराशाजनक स्थिति छ भनेर हामी बोल्नै पर्दैन, संसारले भनिरहेको छ । आजसम्मको स्थिति हाम्रै अकर्मण्यताको परिणाम हो । यस सत्यलाई हामीले आत्मसात गर्न सक्नुपर्छ । पटक–पटक जनताले गरेको विश्वासलाई हामीले कहिल्यै पनि सदुपयोग गर्न सकेनौं भन्ने कुरा निसंकोच स्वीकार्न सक्नुपर्छ ।

आफ्नो दलभित्र एकछत्र शासन चलाएजस्तो देशमा पनि शासन चलाउन खोज्ने हो भने त्यो अब निकै प्रत्युत्पादक हुनेछ । दलका सदस्यहरूले त आफ्नो वैयक्तिक स्वार्थ वा नेताप्रतिको श्रद्धा, पुरानो सम्बन्ध एवं संस्थाप्रतिको प्रेमले धेरै अन्याय सहेका छन् । चुपचाप बसेका छन् तर जनताले सहने सीमा नाघिसकेको छ । यसका छिटफुट झोक्काहरू देखिन थालेका छन् । यो आक्रोश नियोजित भनेर नजरअन्दाज गर्न मिल्दैन । यदि यो प्रतिक्रिया आँधीमा बदलियो भने झेल्ने कसरी ? लोकतान्त्रिक शासन प्रणालीमा हरेक नागरिकको राज्यसँग आफ्नो जीवनको सहजताको आधार माग गर्ने हक सुरक्षित हुन्छ ।

मैले खान पाइनँ । म बेघर भएँ । मेरा सन्तानले राम्रो शिक्षा पाएनन् । म रोगी भएँ । उपचार पाइँन । म बेरोजगार भएँ । म सुरक्षित भइनँ भनेर कसलाई भन्ने ? राज्यको गठन नै नागरिक हकहित र सुरक्षाका लागि भएको हो भन्ने कुरा बिर्सन कसरी मिल्छ ? अझ लोकतान्त्रिक शासन प्रणाली त जनभावनामा आधारित राजनीतिक प्रणाली हो । यस प्रणालीमा सरकारमा पुगेको व्यक्तिले आफ्ना नागरिकलाई उपेक्षा गर्न पाइँदैन । तर, नेपालमा के भएको छ ? लोकतान्त्रिक सिद्धान्तको मर्मविपरीत शासन चलाइको छ र लोकतन्त्र केही सीमित व्यक्तिहरूको निजी उद्यम भएको छ । यसो भन्दा वा लेख्दा कहाँ कमजोरी भएछ भनेर सोधखोज र आत्मसमीक्षा गर्नुको सट्टा शत्रुतापूर्ण व्यवहार गरिन्छ । यो लोकतान्त्रिक चिन्तन हुँदै होइन ।

यसैबाट वर्तमान शासन प्रणाली जनउत्तरदायी भएन भन्ने प्रमाणित हुन्छ । जनता र खासगरी युवाले उठाएको आवाज प्रायोजित हुँदै होइन । केही प्रतिशत प्रतिक्रियावादी र प्रतिगामी तत्त्व त घुसि हाल्छन् । यस्ता तत्त्वले त व्यवस्था र पार्टीमै घुसेर लोकतन्त्रलाई बदनाम गराइरहेका छन् । र वास्तवमा लोकतन्त्रलाई यस्तै तत्त्वले कठपुतली बनाएको छ ।

दुवै दलले गम्भीरतापूर्वक सोच्न र तदनुसार अघि बढ्न आवश्यक छ । थप मौलिक अनुभवका लागि मात्र वर्तमान समय खर्चिने हो भने इतिहासले निकम्मा प्रमाणित गर्नेछ । भावी पुस्ताका लागि गौरवशाली बन्ने कि अभिशाप, हाम्रै हातमा छ ।

यसलाई वर्तमान राजनीतिक नेतृत्वले बुझ्नुपर्छ । अहिले त्यो समय आएको छ । इतिहासमा यस्तो समय बिरलै आउँछ । देशका दुई ठूला पार्टीहरूले इमान्दारीपूर्वक काम गर्ने हो भने आमनिराशा घटेर जान्छ र युवाआक्रोश मत्थर हुन्छ । यसको हेक्का समयमै राख्नुपर्छ । नेतृत्वले बुझ्नुपर्ने अर्को कुरा के हो भने लोकतान्त्रिक शासन प्रणाली नेताहरूको चमत्कारले मात्र आएको होइन, सिंगो पार्टीका सदस्य र आमजनताको साझा प्रयत्न हो । अनि परिवर्तनपछि जनता कहाँ छन्, पार्टी सदस्य कहाँ छन्, के गर्दैछन् भनेर सोधखोज गर्नुपर्छ कि पर्दैन ? आजको ज्वलन्त प्रश्न यही हो ।

वर्तमान शासन प्रणालीमाथि उठेका अनगिन्ती प्रश्नहरूको मूल कारण पनि यही हो । जनता र देशको हितमा काम नगर्ने राजनीति वास्तविक राजनीति हुँदै होइन । आजसम्म यही हुँदै आएको छ । लोकतन्त्र निर्जीव संरचना मात्र होइन, कर्म र व्यवहारले अपेक्षित परिणाम दिने जीवन्त र उन्नत पद्धति पनि हो । तर, आजसम्मका हाम्रा व्यवहारले यसलाई सही प्रमाणित गर्न सकेनन् । तसर्थ, चर्चाको प्रारम्भमा उद्धृत गरिएका आध्यात्मिक गुरु एक्हार्ट टोलको जीवनमा आएको चमत्कारिक परिवर्तनझैं कांग्रेस एमालेको राजनीतिक जीवनमा परिवर्तन आउँछ कि आउँदैन ? एक्हार्टले भनेजस्तो 'जीवनमा विभिन्न अनुभवहरू आउँदै/जाँदै गरिरहन्छन् । र, प्राप्त अनुभवभन्दा थप मौलिक अनुभवहरू हामीभित्र प्रवाहित भइरहन्छन् । उनको यस अनुभूतिको आधारमा भन्नुपर्दा कांग्रेसका विगतका अनुभवहरू निकै तिक्ततापूर्ण छन् ।

ऐतिहासिक जनआन्दोलन २०४६ पश्चात नेपाली जनताले राष्ट्रको बागडोर कांग्रेसलाई जिम्मा लगाएका हुन् । वि.सं २००७ पछिका हरेक राजनीतिक अध्यायमा कांग्रेसलाई नै आफ्नो मूल अभिभावक ठानेका छन् । यसपटक पनि कांग्रेसकै अग्रसरतामा ओली नेतृत्वको सरकार गठन भएको हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । यो सरकार सफल हुँदा नि:सन्देह रूपमा बढी जस कांग्रेसले नै प्राप्त गर्नेछ । र, एमालेले पनि बारम्बार देश चलाउने अवसर पाएकाले यस गठबन्धनलाई सफल बनाउँदा एमाले समेत जिम्मेवार राजनीतिक दलको रूपमा स्थापित हुनेछ । यसका लागि मूलतः देउवा र ओलीको राजनीतिक पुनर्जन्म हुन आवश्यक छ ।

परम्परागत अर्थात् बासी चिन्तन बोकेर सत्ता सञ्चालनको रुढीविदी चरित्र प्रदर्शन गरिरहने हो भने वर्तमान प्रयोग समेत देश र जनताका लागि दुर्भाग्यपूर्ण प्रयोग सावित हुनेछ । यस विषयमा दुवै दलले गम्भीरतापूर्वक सोच्न र तदनुसार अघि बढ्न आवश्यक छ । थप मौलिक अनुभवका लागि मात्र वर्तमान समय खर्चिने हो भने इतिहासले निकम्मा प्रमाणित गर्नेछ । भावी पुस्ताका लागि गौरवशाली बन्ने कि अभिशाप, हाम्रै हातमा छ ।

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

साउन १६, २०८१

यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x