पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
काठमाडाैं | भदौ १४, २०८१
डेढ महिना अघिसम्म सँगै सत्तामा रहेका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) पछिल्लो समय मुठभेडतर्फ उन्मुख भएका छन् । यी दुवै सैद्धान्तिक हिसाबले कम्युनिस्ट विचारधारा बोक्ने दल हुन् । यिनीहरूले चुनावी तालमेल, पार्टी एकतादेखि विभाजनको चक्र पूरा गरेका मात्र छैनन्, सँगै सत्ताको अभ्यास पनि पटक–पटक गरिसकेका छन् ।
अप्रत्यासित रूपमा संसद्का २ ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि केहीसमय अघिसम्मका सहयात्री एमाले–माओवादी संसददेखि सामाजिक सञ्जालसम्म भिडिरहेका छन् । भदौ ११ गते माओवादी अध्यक्ष प्रचण्डले संसद्मा सम्बोधन गर्दै ‘नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न र अरू अपराधीलाई जोगाउन (कांग्रेस–एमाले) मिल्नु सामान्य अपराध होइन’ भन्ने आक्रामक अभिव्यक्ति दिएका थिए ।
यतिमात्रै होइन, प्रचण्डले श्रीलंका र बंगलादेशको जस्तै हालत हुन सक्ने चेतावनी पनि दिए । ‘केही दिनमै सरकार सत्ता समूहका पक्षमा जसरी खुला रूपमा उभियो, त्यसका कारण जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रूपमा बढ्दैछ,’ उनले भने, ‘त्यसका झिल्का जताततै देखिँदैछन् । त्यो आगो कतै लोकतन्त्रविरुद्ध प्रयोग होला कि भन्ने हाम्रो चिन्ता छ ।’
प्रचण्डको कडा अभिव्यक्तिकै भोलिपल्ट प्रतिनिधिसभा बैठकमा दुवै दल एकअर्काप्रति थप आक्रामक भएर उभिए ।
भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले विपक्षी दलका नेता प्रचण्डले केही विषयवस्तु उठाएपछि धारणा राख्न आवश्यक भएको भन्दै नेपालको ऊर्जा उत्पादन र वितरणको विषयमा आक्रामक अभिव्यक्ति दिए ।
‘अध्ययनले भन्छ, यदि यो देशमा १० वर्षसम्म माओवादी हिंसा नभएको भए विद्युतमा योभन्दा ठूलो क्रान्ति हुन्थ्यो । माओवादीले कतिवटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेसन पड्कायो,’ योगेशले भनेका थिए, ‘विद्युत् उत्पादन गर्न खोलामा गएका कति व्यवसायीसँग चन्दा उठायो । भगायो । असुरक्षाका कारण भागे । माओवादीको १० वर्षे हिंसा नभएको भए ७५ सालमा होइन, ६५ सालमा नै यो देश लोडशेडिङ मुक्त हुनेथियो ।’
आफूहरूले आदर्श मानेको जनयुद्धलाई एमाले नेताले हिंसा भनेपछि बैठकमा माओवादीले आपत्ति जनायो । माओवादी सांसद माधव सापकोटाले नियमापत्ति गर्दै गैरसंसदीय र अमर्यादित शब्द बोलेको भनेर आपत्ति जनाए । योगेशले हिंसा भन्ने शब्द प्रयोग गरेको भन्दै फिर्ता लिन सापकोटाले आग्रह गरिरहे । माओवादीका अरू सांसद पनि उठेर विरोध जनाउन थाले । तर, अर्कातिरबाट योगेशले पटक–पटक माओवादी हिंसा भनिरहे ।
‘हिंसाबाहेक केही होइन, यो हाम्रो परिभाषा हो,’ भन्दै योगेशले अडान लिइरहे । विरोध भएपछि अर्कालाई बोल्न नदिनु पनि हिंसा नै भएको जिकिर योगेशले गरे । माओवादीका सांसद र योगेशबीच संसदमा निरन्तर चर्काचर्की पर्यो ।
सभामुखको प्रयत्नमा पनि स्थिति साम्य भएन । सभामुखले सिनियर माओवादी सांसद देवेन्द्र पौडेललाई एक मिनेटमा कुरा राख्न समय दिए । ‘कानून र संविधान बनाएका छौं । विभिन्न आन्दोलनको समीक्षा गरेका हुन्छौं । हिंसात्मक द्वन्द्व भनिएको छैन । यसैले म खबरदारी गर्छु,’ पौडेलले भने ।
‘यस्ता प्रकारका शब्द प्रयोग गरेर नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक धरातल र अधिकार अहिलेको संविधानले दिँदैन,’ पौडेलले भने, ‘यसरकारण योगेश भट्टराईले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउनका निम्ति सभामुखलाई आग्रह गर्छु । हामी शान्ति प्रक्रियालाई अगाडि बढाउन चाहन्छौं । यस्ता संविधानविपरीतका कुरा प्रयोग नहुन् भन्ने चाहन्छौं ।’
हिंसा शब्द कसरी प्रयोग भएको छ भन्ने विषय सामान्य छलफलबाट नटुंगिने भन्दै पक्ष र विपक्षमा नजान सभामुखले आग्रह गरेपछि स्थिति सामान्य बन्न पुग्यो । पहिलो दिनको आरोप साम्य भए पनि अर्को दिन फेरि संसदमा पदम गिरी, गोकुल बास्कोटासहितका सांसद झन् आक्रामक हुन पुगे । गिरीले सुन तस्करीको प्रभावकारी छानबिन भए माओवादीको सिंगो हेडक्वार्टर नै खाली हुने र जेलको छिँडीमा पुग्ने भन्दै अर्को सनसनीपूर्ण अभिव्यक्ति दिए ।
संसद्मा मात्रै होइन, योगेश फेरि माओवादीविरुद्ध सामाजिक सञ्जालमा पनि उत्रिए ।
‘निर्दोष मानिसको हत्या गर्ने, अपहरण गर्ने, सुतिरहेका पुलिस र सेनामाथि बम हान्ने, जनताको सम्पत्ति लुट्ने, बैंक लुटेर पैसा र सुन माटोमुनि लुकाउने, रक्त चन्दन र गिटीबालुवाको तस्करी गर्ने तिमीहरूको एक ठाउँमा मात्रै छैन, जवाफ देऊ’ भनेर लेखे ।
बिहीबार नै माओवादी सांसद छिरिङ डम्डुल लामाले योगेशले जनयुद्धको बेला हतियार तस्करी गरेको आरोप लगाए । ‘जनयुद्धको नाममा आफैं चन्दा असुलेर हतियार तस्करी गर्ने अनि आफैं हिंसा गर्ने नाइकेले जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारीपन हो,’ उनले भने ।
तर, पनि बाहिर अरू पार्टी मञ्च, सार्वजनिक फोरम र सामाजिक सञ्जालबाट दुई दलका नेताहरूबीच आपसी द्वन्द्व चलिरहेको छ । सुदूरपश्चिम प्रदेशको परामर्श समिति बैठकमा पुगेका प्रचण्डले फेरि बिहीबार अर्को चेतावनी दिए ।
‘सरकारको शुरूआत र संकेत राम्रो नदेखेपछि मैले संसद्बाट बंगलादेश र श्रीलंकालाई सम्झाएको हुँ,’ प्रचण्डले कैलालीको धनगढी पुगेर भने, ‘यस्तै भइरह्यो र अलि बढी गर्नुभयो भने सडकमा आउँछौं ।’
माओवादी निरन्तर सरकार र पार्टीमाथि खनिएपछि एमालेले बिहीबार सचिवालय बैठक राखेरै माओवादीले भन्ने गरेको जनयुद्धलाई स्वतन्त्र रूपले कसैले पनि नचिन्ने बतायो ।
‘अरूले होइन, प्रचण्ड आफैंले विवाद निम्त्याउनुभएको हो । उहाँले संयम गुमाएर दलप्रति आक्षेप लगाउनुभयो । संविधानले सशस्त्र द्वन्द्व चिन्ने हो । संविधानले जनयुद्ध चिन्दैन । माओवादीले ग्लोरिफाइ गर्ने उसको कुरा हो । तर, अरू कसैले जनयुद्ध भनेको छैन । नेकपाकालमा पनि जहाँ शब्द प्रयोग गरिएको छ, माओवादी जनयुद्ध भनिएको छ,’ ज्ञवालीले बैठकपछि भने, ‘स्वतन्त्ररूपले जनयुद्ध भनेर कहीँ प्रयोग भएको छैन । डेढमहिना अगाडिसम्म हामीसँगै सहकार्यमा हुनुहुन्थ्यो । हामी सरकारमा थियौं । आफ्नो अयोग्यतालाई विषयान्तर गर्नका लागि अनेकौं खालका झूटा आरोप लगाउनुभएको छ । त्यसको प्रतिक्रियाको कुरा आएका हुन् ।’
यतिमात्रै होइन, आफ्नो राजनीतिक भविष्यमा तुवाँलो लागेपछि प्रचण्डले समाज भड्काउने अभिव्यक्ति दिएको भन्दै एमालेले सचेत हुन आग्रह गरेको छ ।
‘प्रचण्डले आफ्नो अयोग्यतालाई विषयान्तर गर्न आरोप लगाइरहनुभएको छ । प्रचण्डले अस्थिरताको शृंखला शुरू गरेपछि ठूला दलले नयाँ शुरूआत गरेका हुन्,’ एमालेले भनेको छ, ‘आफ्नो राजनीतिक भविष्यमा अनिश्चयको तुवाँलो मडारिएर हो कि पार्टीभित्र नेतृत्वको बारेमा च्यालेन्ज उत्पन्न भएपछि हो, प्रचण्डले समाजलाई भड्काउने कुरा गर्नुभएको छ ।’
जिम्मेवार नेताले श्रीलंका र बंगलादेशजस्तो बनाउँछु भनेर धम्की दिएकोप्रति एमालेले आक्रामक अभिव्यक्ति दिएको छ ।
‘च्यालेन्जको भाषा बोलेर प्रचण्डजी यो देशलाई श्रीलंका र बंगलादेशजस्तो बनाउन खोज्नुभएको हो ? जिम्मेवार मान्छेले यसरी बोल्न मिल्छ ?’ एमाले उपमहासचिव ज्ञवालीले भने, ‘यस्तो संयम नगुमाउन हामी आग्रह गर्छौं ।’
यही आरोपप्रत्यारोपबीच माओवादी सांसद लेखनाथ दाहालले सामाजिक सञ्जालमार्फत एमाले सांसद योगेशलाई बैगुनी केटो र नम्बरी ठगको संज्ञा दिए । ‘महान् जनयुद्धको बलमा प्राप्त उपलब्धिहरू उपभोग गर्ने अनि महान् जनयुद्धलाई हिंसा भन्ने बैगुनी केटो, नम्बरी ठग,’ दाहालले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनको लेखाइमा राजनीतिक संयमता देखिँदैन । तर, माओवादी उप–महासचिव जनार्दन शर्माले पनि उनको स्टाटस आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका छन् । राजनीतिक विश्लेषक मुमाराम खनाल बढी बोल्नु र एकअर्कालाई गाली गर्नु कम्युनिस्टहरूको विशेषताजस्तै रहेको बताउँछन् ।
‘कम्युनिस्ट वा वामपन्थीमा असाध्यै बढी बोल्ने, प्रतिक्रियात्मक हुने संस्कृति छ,’ खनालले भने, ‘आपसमा मिले जीवनभर नै एकता भयो जस्तो गरेर असाध्यै फुर्किने र छुटेपछि गालीगलौज र प्रतिक्रिया जनाइहाल्ने यिनीहरूको स्वभाव नै हो ।’
चौथो महाधिवेशनको धाराका प्रचण्डको स्कूलिङ त झन् अर्कालाई गाली गर्ने नै रहँदै आएको उनी बताउँछन् ।
‘कम्युनिस्ट वा वामपन्थीमा असाध्यै बढी बोल्ने, प्रतिक्रियात्मक हुने संस्कृति छ,’ खनालले भने, ‘आपसमा मिले जीवनभर नै एकता भयो जस्तो गरेर असाध्यै फुर्किने र छुटेपछि गालीगलौज र प्रतिक्रिया जनाइहाल्ने यिनीहरूको स्वभाव नै हो ।’
‘चौथो महाधिवेशन धाराका प्रचण्डको स्कूलिङ अर्कालाई आरोप लगाउने, प्रतिक्रियवादी, संशोधवादी र दक्षिणपन्थी भनिहाल्ने खालको छ,’ खनाल भन्छन्, ‘आफैंबाट फुटेर गएकालाई समेत आरोप लगाउने प्रचण्डको विशेषता हो ।’
पछिल्लो समय माओवादी आक्रामक हुनुमा सत्ताबाट विमुख हुनुको पीडा पनि कारण रहेको उनी बताउँछन् ।
‘माओवादी लामो समय सरकारमा बसेर एक्कासि एमालेका कारण बाहिरियो । यसैले हठात् सरकारबाट बाहिरिनुपर्दा तिक्तता र आक्रोश संसद्, सडक र सामाजिक सञ्जालसम्मै देखिएको छ,’ उनी भन्छन्, ‘सरकारमा जाने राज्यदोहनका लागि हो । साधन र स्रोतमाथि शक्ति र पहुँच नभएपछि नेताहरू यसैगरी आक्रोश व्यक्त गर्छन् ।’
एमालेसँग सत्तामा रहेको कांग्रेसले भने सकेसम्म संयमता देखाउने कोशिश गरेको छ । एमाले र माओवादीबीच आक्रामक दोहोरी चलिरहँदा कांग्रेस सांसद गगन थापाले ‘आफैंले लगाएको आगोले जलाउन सक्छ, ख्याल गर्नुस्,’ भन्दै राजनीतिक भाषा बोले । तर, आक्रामकता देखाएनन् । विश्लेषक खनाल कांग्रेसमा सरकार फेरबदलको विषयलाई स्वाभाविक मान्ने लोकतान्त्रिक परिपाटी भएको बताउँछन् ।
‘एमाले र माओवादीबीच एक अर्काविरुद्ध चर्को द्वन्द्व छ, तर कांग्रेस अर्को कुनामा शान्तजस्तो देखिन्छ । कांग्रेसको विशेषता नै कम्युनिस्टको जस्तो प्रतिक्रियातर्फ लागिहाल्नेतिर हुँदैन । लोकतन्त्रमा यस्तो कुरालाई प्राथमिकतामा राख्दैनन्,’ उनी भन्छन्, ‘विरोध गर्न र आलोचना गर्न पाइन्छ भन्ने कुरालाई संस्कृतिको रूपमा स्वीकार गरेका छन् । सरकार फेरबदल हुन्छ भन्ने कुरालाई उनीहरू स्वाभाविक मान्छन्, तर कम्युनिस्टहरूजस्तो खुला रूपले गालीमा उत्रिँदैनन् ।’
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...