२७ साउन २०८३, बुधबार
सम्पादकीय

‘बर्खाको खडेरी’ सामना गर्न भविष्यका लागि पनि सरकारले तयारी गरोस्

साउन १२, २०८२
काठमाडौं
‘बर्खाको खडेरी’ सामना गर्न भविष्यका लागि पनि सरकारले तयारी गरोस्

मध्य साउन लाग्दा समेत तराई–मधेशका जिल्लामा पानीको हाहाकार देखिएको छ । धान रोपेर फाँट हरियाली हुने बेलासम्म तराईका जिल्लामा आधा पनि रोपाइँ हुन सकेको छैन । रोपाइँ होइन, खाने पानीको हाहाकार मच्चिएपछि सरकारी निकायले दमकलबाट पानी वितरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

सरकारले तराई क्षेत्रलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेर सर्वसाधारण र किसानलाई राहतको तयारी गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको सुक्खा क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणपछि प्रधानमन्त्रीले धान रोपाइँका लागि तराईका जिल्लामा डिप ट्युबेल गाड्ने कामलाई तीब्रता दिन निर्देशन दिएका छन् ।

असार मसान्त या साउन पहिलो सातामा धान रोपाइँ हुनुपर्ने क्षेत्रमा अहिलेसम्म रोपाइँको टुंगो लागेको छैन । यसको प्रत्यक्ष प्रभाव धान उत्पादनमा देखिनेछ ।

अन्न भण्डारको रूपमा रहेको तराई मधेशमा धान उत्पादनमा आउने कमीले कुल गार्हस्थ उत्पादन (जीडीपी)मै असर गर्नेछ । बाँदर–बदेँलको आतंकले पहाडी क्षेत्रका खेतबारी बाझिँदै गएका कारण पनि तराईमा धान उत्पादनमा कमी आयो भने खाद्यान्नको आयात बढ्नेछ ।

मध्य बर्खाको समयमा तराईमा सुक्खा भएर ट्युबेलबाट पानी नआउने अवस्था सिर्जना हुनुका बहुआयामिक कारण छन् । चुरे विनाश एउटा कारण भएपनि जलवायु परिवर्तनको असर मुख्य कारण हो ।

कतै अनावृष्टि र कतै अतिवृष्टि भइरहेको छ । जलवायु परिवर्तनको असर कम गर्नका लागि नेपाल एक्लैको सामर्थ्यले काम गर्दैन । हिमताल फुट्ने, मनसुन शुरू नहुँदै भीषण बाढी आउने र बर्खाको समयमा सुक्खा लागेर पानीका मुहान सुक्ने यी समस्यालाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्छ ।

नेपालले गर्न सक्ने काम भनेको नदीमा खेर गइरहेको पानीलाई नहरमार्फत सिँचाइको विकास गर्ने हो ।

दुभार्ग्यको कुरा, नेपालले आफ्नो स्रोतलाई सदुपयोग गर्न सकेको छैन । एकातिर नदीमा पानी बगिरहेको छ, अर्कातिर पानी नभएर खेत बाँझो छ । सरकार कृषिमा आत्मनिर्भरताको कुरा गर्छ, तर किसानलाई सिँचाइको आधारभूत सुविधा दिन सक्दैन ।

सिँचाइ आयोजना सरकारको प्राथमिकतामा परेका छैनन् । बनिरहेका सिँचाइ आयोजना पनि सुस्त गतिमा छन् ।

पश्चिम तराईका जिल्लामा सिँचाइको आधार मानिएको भेरी–बबई सिँचाइ आयोजनामा सुस्त गतिमा काम भइरहेको छ ।

मध्य तराईका जिल्लाको कायापलट गर्ने ठानिएको सुनकोशी–मरिन डाइभर्सनको काम चलिरहेको छ । यस्तै गेमचेन्जर बन्न सक्ने गण्डकी–तिनाउँ डाइभर्सन विवादको भुमरीमा अल्मलिएको छ ।

भविष्यमा आउन सक्ने यस्तै खडेरी र सुक्खाको सामनाका लागि पनि सरकारले ठूला सिँचाइ आयोजना निर्माणलाई प्राथमिकता दिनुपर्छ ।

NAIMA

कमेन्ट गर्नुहोस्