
तीन वर्षअघि विजय तेली शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्न किताबका पानाहरू पल्टाइरहेका थिए। लोक सेवाको सामान्य ज्ञानको खण्डमा '२०७५ सालको उत्कृष्ट वातावरण पत्रकार पुरस्कार पाउने व्यक्ति को हुन्?' भन्ने प्रश्न र त्यसको उत्तरमा आफ्नै सहकर्मी 'मनोज पौडेल'को नाम देखेपछि उनी रनभुल्लमा परे।
सँगै उठबस गर्ने, एउटै फिल्डमा काम गर्ने साथीको नाम लोकसेवा र शिक्षक सेवाको पाठ्यक्रममा छापिएको देख्दा उनलाई विश्वासै लागेन। उनी सिधै पुस्तक बोकेर साथीको घर पुगे र उक्त कुराको पुस्ट्याइ गरे । तस्वीर खिच्दाखिच्दै लोकसेवाको प्रश्नोत्तर बन्न सफल अब्बल फोटो पत्रकार उनकै सहकर्मी कपिलवस्तुका मनोज पौडेल नै रहेछन् ।
तेली हाल शिक्षक सेवा आयोगमा नाम निकालेर दाङको राजपुर गाउँपालिका–७, युगबोध आधारभूत विद्यालयमा कार्यरत छन्।
कपिलवस्तु नगरपालिका–१, आनन्दबागका ५० वर्षीय पौडेल भने चरा, वन्यजन्तु, वन र वातावरणका गतिविधि तस्वीरमा कैद गरिरहेकै छन् । त्यही भएर वन तथा वातावरण मन्त्रालयले उनलाई उक्त पुरस्कार प्रदान गरेको हो। उनी फोटोमा सिर्जना खोज्छन्। नयाँ एंगल र आकर्षण दिन्छन्। जीवन्तता थप्छन्। रोमाञ्चकता बढाउँछन्। तस्वीर हेर्नेहरूलाई उमङ्गित र आनन्दको अनुभूति गराउँछन्।
संघीय राजधानी काठमाडौं बाहिर कपिलवस्तुको तौलिहवाका पौडेल अहिले मुलुककै नाम चलेका फोटो पत्रकारमा गनिन्छन्। गाउँशहर पुग्दै समाचार संकलन, लेखन, सम्पादन गर्दागर्दै अहिले उनी चरा वन्यजन्तुको तस्वीर खिच्ने वाइल्डलाइफ फोटो पत्रकारमा गनिएका छन्।
‘चराका आनीबानी, विचरण, जलक्रिया र उडान निकै रोमाञ्चक हुन्छन्,’ उनले भने, ‘त्यसैलाई क्यामरामा फ्रेमिङ गरेर आनन्दित हुन्छु।’ चराको तस्वीर खिच्न समय दिन्छन्। एकाग्रता र धैर्यता राख्छन्। ज्ञान, सीप र कलाको सम्मिश्रण गरेर उत्कृष्ट फोटो खिच्छन्। उनी बढी चरा नियाल्छन्।

मुलुकको दोस्रो पंक्षी आरक्ष जगदीशपुर तालमा जाँदाजाँदै चराप्रति मोहित बने। समाचार लेख्थे। चराका समाचारलाई प्रमाणिक र शिक्षाप्रद बनाउन वरिष्ठ चराविद् डा. हेमसागर बरालसँग सामीप्यता बढ्यो। बरालको प्रेरणा र उत्साहले उनलाई चराप्रति तृष्णा बढायो।
३ दशकदेखि पत्रकारिता गरिरहेका उनी पछिल्लो १२ वर्षदेखि फोटो पत्रकारितामा क्रियाशील छन्। चराका सेकेन्ड–सेकेन्डका मुभमेन्ट महत्त्वपूर्ण हुन्छन्। ‘संयम र धैर्यताका साथ नियाल्छु,’ उनले भने, ‘उत्कृष्ट तस्वीर आउँछ।’
उनका अनुसार चरा हेर्दा राम्रो मेडिटेसन हुन्छ। यसले उत्साहित र आल्हादित बन्छन्। मेहनत र संघर्षको प्रतिफल ठूला ब्रोडसिट पत्रिकादेखि अनलाइनमा चरा वन्यजन्तुका फोटोले राम्रो स्पेस पाउँदा खुसी हुन्छन्।
उनका तस्वीर नेपालदेखि विदेशसम्म प्रकाशन भएका छन्।
उनले उड्न सक्नेमध्ये सबैभन्दा अग्लो चरा विश्वकै दुर्लभ पक्षी सारसका उत्कृष्ट तस्वीर खिचेका छन्। उनले ६ वर्षयता हरेक वर्षजसो सारसलाई ४ महिना पछ्याउँछन्। विशेष गरी कपिलवस्तु र बुद्ध जन्मस्थल लुम्बिनी आसपासमा सारसको लाइफ स्टाइल क्यामरामा कैद गर्छन्। सारसको प्रजननदेखि गुँड बनाउने, बच्चा कोरलेर हुर्काई पहिलो उडान गर्दासम्म पछ्याउँछन्। यसैले उनलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाएको छ। बेलायतको दक्षिण एसिया केन्द्रित बहुभाषिक वातावरणीय अनलाइन 'द थर्ड पोल' ले सारस जीवनचक्रको फोटो फिचर प्रकाशित गरेको थियो। पछि अनलाइनको २०१९ को उत्कृष्ट फोटो फिचर घोषित भयो।
पारिश्रमिक पनि मेहनत अनुसार डलरमै पाए। सारसबाहेक हजारौँ माइल यात्रा गरेर नेपालमा आउने पानी चराको फोटो फिचर पनि उक्त अनलाइनले प्रकाशित गरेको थियो। दुवै फोटो फिचरलाई अन्य धेरै मुलुकका अनलाइनले साभार गरेर प्रकाशन गरे।
२०२१ मा फेरि सारसकै अर्कै फोटो स्टोरी बङ्गलादेशको चर्चित दैनिक पत्रिका 'द बिजनेस स्ट्यान्डर्ड' ले एक पेज प्रकाशन गरेपछि उनको फोटोको चर्चा अन्तर्राष्ट्रिय स्तरमै धेरै भयो। सिक्दै जान्दै फोटो खिच्न थालेका उनले विदेशी पत्रिका र अनलाइनले फोटो छाप्न थालेपछि आफ्नो फोटो पनि राम्रो रहेको जान्न थाले। ‘यसले उत्साह थप्यो,’ उनले भने, ‘त्यही भएर अहिले पनि फोटोमै ध्यान केन्द्रित गर्छु।’
उनले विश्वकै दुर्लभ भुँडीफोर गरुड, स्वर्गचरी, श्वेतवक्ष जुरेली र कैलो रविनको लाइफ स्टाइल पत्रिकामा प्रकाशन गरिसकेका छन्। उनका चराका स्टोरी म्यानमार, ब्रुनाई, थाइल्यान्ड, सिङ्गापुर, भियतनाम र भारतका अनलाइनमा पनि प्रकाशित भइसकेका छन्।

फोटोलाई कसरी नयाँ एंगल र सृजनात्मक बनाउने भन्नेमा बढी समय खर्चिन्छन्। त्यही भएर उनले खिचेका चरा वन्यजन्तुका तस्वीर प्राथमिकताका साथ प्रकाशन हुन्छन्। चराका हरेक गतिविधि शिक्षाप्रद छन्। उनीहरूको आनीबानी, रहनसहन र खानपानबारे थाहा पाउँदा चरा प्रकृतिप्रतिको बुझाइ अझ फराकिलो हुने उनी बताउँछन्।
चराबाट मानवले धेरै कुरा सिक्न सक्छन्। चराहरूबाट मानवले जीवनलाई सरल, सफल र सन्तुलित बनाउने धेरै महत्त्वपूर्ण कुराहरू सिक्न सक्छ। चरा कहिल्यै अल्छी गर्दैनन्। हरेक बिहान सबेरै उठेर आहाराको खोजीमा लाग्दा मानवलाई परिश्रमी र अनुशासित हुन सिकाउँछ। मौसम बदलिनुअघि नै चरा सुरक्षित स्थानमा बसाइँ सर्छन् र गुँड बनाउने तयारी गर्दा भविष्यको तयारी र व्यवस्थापन गर्न सिकाउँछ।
धेरैजसो चराहरू समूहमा उड्छन् (विशेष गरी भी आकारमा)। यसले उनीहरूको ऊर्जा बचाउँछ र यात्रा सहज बनाउने हुँदा एकता र टिमवर्कको सन्देश दिने गरेका छन्। एउटा सानो गुँड बनाउन चराले सयौँ पटक घाँसपात र खरपात बोकेर बनाउँछन्। ठूलो गुँड बनाउन पनि हरेस खाँदैनन्, त्यसैले धैर्यता र निरन्तरताको गतिलो सन्देश दिन्छन्।

तस्वीर खिच्दाखिच्छे चरासँग निकटता बनाएका छन्। यसले उनलाई चराप्रति आकर्षण बढाएको छ। चरा, वन्यजन्तु, वन वातावरणका सँगैसँगै जैविक विविधताका समाचार लेख्दालेख्दै उनले मुलुकका संरक्षण क्षेत्रका अधिकांश पुरस्कार पाइसकेका छन्। वन तथा वातावरण मन्त्रालयको उत्कृष्ट वातावरण पत्रकार पुरस्कारका सँगैसँगै डब्लुडब्लुएफ संरक्षण अवार्ड पाइसकेका छन्। नेपाल वातावरण पत्रकार समूहको वातावरणीय पत्रकार पुरस्कार र प्रकृतिका साथीहरू संस्थाको प्रकृति संरक्षण पुरस्कार पाइसकेका छन्।
चरा पर्यटन प्रवर्द्धन गर्न योगदान गरेकाले उनलाई लुम्बिनी प्रदेश सरकारले दङ्गीशरण बलिहाङ तृतीय पदक समेत प्रदान गरेको छ। ‘फोटोपत्रकारिता मार्फत चरा पर्यटनमा लागेको थिएँ,’ उनले भने, ‘डिभिजन वन कार्यालयले जगदीशपुर पंक्षी आरक्षको विज्ञ सदस्यका रूपमा मनोनित गर्दा खुसीको सीमा रहेन।’
चराका समाचार, आलेख, फोटो खिच्दाखिच्छे नजानिँदो तरिकाले चरा विज्ञ पो हुन पुगेँ, उनले भने। चरा पर्यटन प्रवर्द्धन गर्न उनले कपिलवस्तुको जगदीशपुर तालमा चरा फोटो प्रदर्शनी गर्दै आएका छन्।
‘प्यासन नभएको भए त्यो सम्भव थिएन। निरन्तर लागिरहेँ। कामको मूल्याङ्कन हुँदा उत्साह थपेको छ। जिम्मेवारी बढेको छ,’ उनले थपे। चराका प्राकृतिक रङ यति सुन्दर र कलात्मक हुन्छन् कि त्यसले अर्को आनन्द थप्छ। पौडेल भन्छन्, 'कसरी त्यस्तो भयो होला जस्तो लाग्छ, ढाडको सेतो, पुच्छरको रातो। टालेको कपडा लगाएजस्तो।'

चरा हेर्न धेरै धैर्यता चाहिन्छ। आधारभूत ज्ञान भने थोरै भए पनि पुग्छ। तर, यसको आनन्द चरा पछ्याउन थालेपछि मात्रै थाहा हुन्छ। चरासँग गहिरो प्रेम बस्यो। बिस्तारै अहिले चरा जानकार पत्रकार भएको हुँदा खुसी हुन्छन्।
‘पत्रकारिता गर्दागर्दै फोटोमा रुचि भयो,’ उनले भने, ‘त्यसमा पनि चरा र पर्यापर्यटन पछ्याउन थालेँ।’ क्यामरा ब्याग बोक्न कहिल्यै भुल्दैनन्। घरबाट नजिक निस्कन परोस् कि टाढा। झोलामा क्यामरा, जुम लेन्स र 'नेपालका चराहरू' पुस्तक छुटाउँदैनन्। चरासँगै पर्यटन, तराईबाट हिमाल र सनसेटलाई क्यामराको फ्रेममा गजबले पार्छन्। उनी राम्रो फोटो खिच्न योजना बनाउँछन्। लगनशीलता, धैर्यता, ज्ञान र सीपको संयोजन नै उत्कृष्ट फोटोको प्रतिबिम्ब उतार्न सिपालु छन्।
सन् २०२० को अन्तिम सूर्यास्तको तस्वीर उनले खिचेको अहिलेसम्मकै उत्कृष्ट हो। बुद्धस्थल कुदानमा गन्तव्यतर्फ फर्कँदै गरेको साइकलको अघिल्लो चक्कालाई पछ्याउँदै गरेको सूर्यास्तको तस्वीर साच्चिकै अमेजिङ थियो। चक्कासँग चम्किँदै गरेको गहना बनेर सूर्य देखिएको थियो। उत्कृष्ट मुभमेन्ट थियो। क्यामरामा फ्रिज गरेँ। कान्तिपुर दैनिकमा प्रकाशन भएपछि एकाएक भाइरल भयो। सयौँले सेयर, टिप्पणी र ट्विट गरे। धेरैले 'फोटो अफ द इयर' भनेर टिप्पणी गरेका थिए। काठमाडौँका नाम चलेका सम्पादक पत्रकारहरूले समेत सेयर गर्दा आफूलाई राम्रै सन्तुष्टि मिलेको बताए। विदेशी अनलाइनले समेत ठाउँ दिए। अमेजिङ तस्वीर भएका कारण उनलाई कसरी खिचेको? भनेर ब्लग लेख्न सामाजिक सञ्जालमा धेरै अनुरोध आयो। त्यसपछि उनले आफू कार्यरत अनलाइनमा ब्लग लेखे।
लेन्सबाट उनले ६ वर्षदेखि नेपाली र अंग्रेजी वर्षका अन्तिम सूर्यास्तका उत्कृष्ट मुभमेन्ट खिच्दै आएका छन्। उनले नयाँ–नयाँ आइडियाले खिच्ने तस्वीरलाई आफू कार्यरत सञ्चारमाध्यमका नेपाली र अंग्रेजी दैनिकले पनि उत्तिकै स्थान दिँदै प्रकाशन गर्दै आएको छ।
त्यस्तै उनले कपिलवस्तु, लुम्बिनी र भैरहवा आसपासका लोल्यान्डबाट हाइल्यान्ड हिमालका गजबका तस्वीर कैद गरेका छन्। अन्नपूर्ण हिमालको तल माछा मार्दै गरेको दृश्य होस् कि धौलागिरी हिमालको तल पुलमाथि सवारीसाधन चलेका ल्यान्डस्केप फोटो उत्तिकै चित्ताकर्षक छन्। लुम्बिनीबाट देखिएका सुन्दर हिमाल शृङ्खलासँगै अशोक स्तम्भ, विश्व शान्ति स्तूप र त्यहाँका विहार, मन्दिर, गुम्बा, चैत्य र गोन्पाका उत्कृष्ट तस्वीर पनि उतारेका छन्।

चराको स्वर्ग मानिने कपिलवस्तुको जगदीशपुर तालबाट देखिएको हिमाल र चराले बाँच्न गरेको संघर्षलाई चित्ताकर्षक शैलीमा प्रतिबिम्बित गरेका छन्। बाघ र गैँडालगायत वन्यजन्तुका तस्वीर पनि उत्कृष्ट मुभमेन्टमा खिचेका छन्। तराई मधेशदेखि हिमालका जीवनशैली, परम्परा र रीतिरिवाज पनि उनको धेरै रुचाइएका फोटोमा पर्छन्। उनले कपिलवस्तुस्थित समुद्र सतहको सय मिटरदेखि ७ हजार मिटर बढी उचाइका ५ उच्च हिमशृङ्खलाका तस्वीर एकै फ्रेममा पारेर खिचेका छन्। पिजे क्लब, युनेस्को, राष्ट्रिय फोटोपत्रकार समूह र मिडिया एड्भोकेसी ग्रुपलगायत संस्थाद्वारा आयोजित राष्ट्रिय फोटो प्रतियोगिताका १६ भन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरेका छन्।