०४ साउन २०८३, सोमबार
सरोज कोइरालाको सुशासन यात्रा

जनताको न्यायका लागि ‘थ्रेट पावर’ प्रयोग गर्ने प्रशासक

जेठ २३, २०८३
विराटनगर
जनताको न्यायका लागि ‘थ्रेट पावर’ प्रयोग गर्ने प्रशासक

‘हामी सधैंका लागि यो कुर्सीमा रहने होइनौँ, जति दिन बसिन्छ, जनताको हितमा काम गरेर जानुपर्छ भन्ने मेरो मान्यता हो ।’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको यो एउटै वाक्यले उनको सम्पूर्ण कार्यशैली, निष्ठा र सार्वजनिक सेवाप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ । प्रशासनको कुर्सीमा बसेर शक्तिको अभ्यास गर्नु धेरैका लागि एउटा अवसर हुन सक्छ, तर सरोजका लागि यो एउटा यस्तो अग्निपरीक्षा हो, जहाँ उनले हरेक दिन निमुखा जनताको आँसु पुछ्ने र बेथितिविरुद्ध उभिने कसम खाएका छन् ।

कोइरालाको जीवनकथा एउटा सानो कोठाबाट शुरू भएर अन्तर्राष्ट्रिय मञ्चहरू हुँदै पुन : आफ्नै जन्मथलोको धुलो र माटोमा फर्किएको छ । २०३६ साल फागुन १८ गते, जब देशभर फागु पूर्णिमाको उमङ्ग थियो, विराटनगरको कोशी अस्पतालमा सरोजको जन्म भयो । होलीको दिन जन्मिएका उनको स्वभावमा रङ्गीन र ऊर्जावान् छ भन्ने उनी स्वयम् पनि महसुस गर्छन् । मोरङकै बुढीगंगाको आँगनमा दौडिँदै उनको बाल्यकाल बित्यो । उनले स्थानीय नरकराम माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिए भने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट आफ्नो उच्च शिक्षा पूरा गरे ।

सरोजका पिता परशुराम कोइराला आफैँमा एउटा प्रशासनिक धरोहर थिए । विराटनगर नगरपालिकामा ३० वर्षसम्म प्रशासकीय अधिकृतका रूपमा सेवा गरेका पिताको छविले सरोजलाई सानैदेखि प्रभावित तुल्याएको थियो । बुवासँगै नगरपालिकाको कार्यालय जाँदा, त्यहाँ जनताले पाउने सेवा र कर्मचारीप्रतिको भरोसा देख्दा उनलाई लाग्थ्यो— सार्वजनिक सेवा नै जीवनको सार्थकता हो । त्यही जगमा उभिएर उनले आफ्नो भविष्यको मार्गचित्र कोरेका थिए ।

उनको जागिरे यात्रा २०६० सालमा शुरू भयो, जब उनी विराटनगरमा एमबीए पहिलो वर्षमा अध्ययनरत थिए । साथीहरूको लहलहैमा लागेर लोकसेवाको फारम भरेका उनले पहिलो प्रयासमै नायब सुब्बामा नाम निकाले । तर, उनको पहिलो पदस्थापन नै एउटा ठूलो चुनौतीका रूपमा देखापर्यो । तत्कालीन संखुवासभाको आँखिभुईं  गाउँपालिकामा उनले सेवा शुरू गर्दा देशमा चरम जनयुद्धको राप थियो । पहाडी जिल्लाका कुनाकाप्चाहरूमा सरकारी कर्मचारी हुनु भनेको मृत्युलाई हत्केलामा राखेर हिँड्नु जस्तै थियो । तत्कालीन विद्रोही माओवादी जनयुद्ध उत्कर्षमा पुगेका बेला सेना र प्रहरी जत्तिकै जोखिममा निजामती कर्मचारीहरू पनि थिए । अपहरण र हत्याका घटनाहरू दैनिक सुनिन्थे ।

त्यसबेलाको त्रास सम्झिँदै सरोज भन्छन्, ‘हामी गाउँमा बस्न सक्ने अवस्था नै थिएन । सदरमुकाम खाँदबारीमा कोठा भाडामा लिएर, त्यहीँबाट  गाउँपालिकाका कामहरू गर्थ्यौँ ।’ वृद्धभत्ता बाँड्नेदेखि विकासका साना योजनाहरू कार्यान्वयन गर्नेसम्मका कामहरू गर्दा उनीहरूले कैयौँ रात नसुती बिताएका छन् । तर, ती कठिन दिनहरूले नै सरोजलाई एउटा कठोर र निडर प्रशासक बन्ने पाठ सिकाए ।

२०६७ सालमा उनी शाखा अधिकृत बने । त्यसपछिको केही समय उनले भूमिसुधार मन्त्रालयमा बिताए पनि उनको रुचि भने उद्योग र वाणिज्य क्षेत्रमा थियो । उद्योग मन्त्रालयमा काम गर्दा उनले वैदेशिक लगानी, बौद्धिक सम्पत्ति अधिकार र ट्रेडमार्कजस्ता विषयहरूमा विशेषज्ञता हासिल गरे । यही क्रममा उनले स्विट्जरल्याण्डको जेनेभास्थित विश्व व्यापार संगठनदेखि विश्वका १५ भन्दा बढी मुलुकहरूको भ्रमण गर्ने अवसर पाए । अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्दैगर्दा उनले बुझे— संसार जतिसुकै आधुनिक भए पनि न्यायको आधारभूत सिद्धान्त सबैतिर एउटै हुन्छ ।

जेनेभाका चिल्ला सडक र अन्तर्राष्ट्रिय सभाहलहरूमा समय बिताएपछि पनि सरोजको मनमा आफ्नै देशको दुर्गमको प्यास मेटिएको थिएन । उनी भर्खरै स्थापना भएको रुकुम पूर्वमा जिल्ला निर्वाचन अधिकारी बनेर गए । रुकुमको माटोमा पुगेपछि उनले जनयुद्धको वास्तविक घाउ र त्यहाँको चरम गरिबीलाई नजिकबाट नियाले । एउटै गाउँबाट ६० जनासम्म सहिद भएको देख्दा र त्यहाँको अभाव सुन्दा उनको मन भक्कानियो । उनले महसुस गरे कि काठमाडौंको नीति र रुकुमको नियतिमा कति ठूलो खाडल छ ।

स्वास्थ्य मन्त्रालय र इटहरीको राजस्व अनुसन्धान कार्यालयमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेपछि उपसचिवमा बढुवा भएका सरोजको पदस्थापन सुदूरपश्चिमको डोटीमा भयो । तर, मनको कुनामा सधैँ एउटा इच्छा थियो— आफ्नो जन्मथलो मोरङमा फर्किएर यहाँका नागरिकको सेवा गर्ने । अन्तत: उनी सहायक प्रमुख जिल्ला अधिकारी बनेर मोरङ आइपुगे । आफ्नै बाल्यकाल बितेको ठाउँमा पदभार ग्रहण गर्दा उनी भावुक बनेका थिए । तर, त्यो भावुकतालाई उनले तत्कालै एउटा दृढ इच्छाशक्तिमा बदले ।

मोरङ प्रशासनमा सरोजको आगमनले एउटा नयाँ तरङ्ग पैदा गर्यो । उनी प्रशासनलाई ‘जिउ–हजुर’ गर्ने ठाउँ मात्र मान्दैनथे । उनको बुझाइमा प्रशासन भनेको ‘एक्सन’ लिने ठाउँ हो । उनले देखिरहेका थिए— मोरङ मिटरब्याज र ठगीको एउटा ठूलो अखडा बनेको छ । गरिब किसानका जग्गाहरू मिटरब्याजीले हडपेका छन्, वैदेशिक रोजगारीको नाममा गाउँगाउँमा एजेन्टहरूले लुट मच्चाएका छन् । यी सबै बेथिति वरुद्ध उनले एउटा ’एग्रेसिभ’ अभियान शुरू गरे ।

उनले मिटरब्याजका सयौँ उजुरीहरूलाई आफैँ बसेर सुनुवाइ गरे । करोडौँ रुपैयाँ र बिघौँ बिघा जमिन पीडितका नाममा फिर्ता गराए । यस क्रममा उनलाई रोक्न धेरै प्रयासहरू भए । शक्तिशाली राजनीतिक दलका नेताहरूका फोन आए, धम्की आए र सरुवाको चेतावनी पनि दिइयो । तर सरोज डगमगाएनन् । उनी भन्छन्, ‘प्रशासनसँग एउटा ’थ्रेट पावर’ हुन्छ । यो शक्ति भनेको नियतवश देखाइने कडापन हो, जुन समाजका अपराधी र विसंगति फैलाउनेहरूका विरुद्ध प्रयोग हुनुपर्छ । यदि प्रशासनले आफ्नो शक्ति देखाएन भने निमुखा जनताले कसको भर पर्ने ?’

उनले सार्वजनिक सेवा प्रवाहलाई मात्र सुधार गरेनन्, मोरङको प्राकृतिक स्रोतको दोहनविरुद्ध पनि कडा कदम चाले । उनले ११–१२ को परीक्षामा हुने व्यापक चिट चोरी र अनियमिततालाई रोक्न बोराका बोरा चिटहरू बाहिर निकालेर शैक्षिक माफियाहरूलाई कडा चेतावनी दिए । उनको यो कदमले जिल्लाको शैक्षिक वातावरणमा एउटा सकारात्मक दबाब सिर्जना गर्यो ।

प्रशासकीय यात्राका क्रममा सरोजले भोगेको सबैभन्दा ठूलो विडम्बना राजनीतिक दलहरूको ‘दोहोरो चरित्र’ हो । उनी भन्छन्, ‘नेताहरूको भाषा आफ्नो मान्छे पर्दा र अरूको मान्छे पर्दा विल्कुलै फरक हुन्छ । यदि उनीहरूको कार्यकर्ता पीडक छ भने ‘उसलाई दु:ख नदिनुस्’ भन्दै दबाब दिन्छन्, तर त्यही कार्यकर्ता पीडित भएर आयो भने ‘प्रशासन के हेरेर बसेको छ, तत्काल कारबाही चाहियो’ भन्दै प्रशासनको घेराउ गर्न पुग्छन् ।’ यस्तो दोहोरो चरित्रले सुशासनमा ठूलो बाधा पुर्याउने उनको ठम्याइ छ । तर, उनी यस्ता कुनै पनि पक्षपातमा नलागी केवल न्यायको पक्षमा उभिन सफल भएका छन् ।

जिल्ला प्रशासन कार्यालयलाई उनी जनताको आशा र भरोसाको अन्तिम केन्द्र मान्छन् । उनी भन्छन्, ‘अदालतमा मुद्दा चल्दा लामो समय लाग्छ, प्रक्रियाहरू झन्झटिला हुन्छन् । तर प्रशासनमा एउटा सामान्य ठाडो उजुरीको भरमा पनि पीडितले तत्काल न्याय पाउन सक्छन् । यो विश्वासलाई हामीले मर्न दिनु हुँदैन ।’

आज मोरङमा सरोज कोइराला केवल एक सहायक सिडिओ मात्र होइनन्, उनी सुशासनका एउटा बलिया पहरेदार बनेका छन् । उनीसँग शक्तिको अभिमान छैन, बरु जिम्मेवारीको गरुङ्गो भारी छ । उनले प्रशासनको कुर्सीलाई शक्ति प्रदर्शनको माध्यम होइन, सेवाको मञ्च बनाएका छन् । आफ्नो कार्यकालमा जति सकिन्छ राम्रो गर्ने र जनताको अनुहारमा मुस्कान ल्याउने उनको यो अभियानले मोरङबासीका बीचमा उनलाई एउटा लोकप्रिय र भरोसायोग्य प्रशासकका रूपमा स्थापित गरेको छ ।

‘हामी सधैँका लागि यो कुर्सीमा रहने होइनौँ’ भन्ने उनको मन्त्रले हरेक कर्मचारीलाई यो सम्झाउँछ कि पद क्षणिक हो, तर काम र त्यसले जनतामा छाड्ने प्रभाव स्थायी हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्