
विश्वप्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टले ४ हजार ८०० जना कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो संख्या कम्पनीमा कार्यरत कुल कर्मचारीको करिब २.१ प्रतिशत हो । कटौतीको सबैभन्दा ठुलो असर कम्पनीको गेमिङ डिभिजन 'एक्सबक्स'मा पर्ने बीबीसीले जनाएको छ ।
माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले कर्मचारीहरूलाई एक सन्देश पठाउँदै द्रुत गतिमा परिवर्तन भइरहेको सूचना प्रविधि उद्योगमा कम्पनीले अब ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छन्।
पुनर्संरचनाअन्तर्गत एक्सबक्स डिभिजनबाट तत्कालै १ हजार ६०० भन्दा बढी जागिरहरू कटौती हुनेछन् । हालै मात्र एक्सबक्सको सीईओ बनेकी आशा शर्माले कर्मचारीहरूलाई पठाएको सन्देशमा कम्पनीले 'एक्सबक्सको इतिहासकै सबैभन्दा ठुलो पुनर्संरचना सुरु गर्न लागेको' उल्लेख गरेकी छन्। उनका अनुसार आउँदो एक वर्षभित्र थप १ हजार ६०० जागिरहरू समाप्त गरिनेछ ।
यसका साथै, एक्सबक्स अन्तर्गतका चारवटा गेम डेभलपमेन्ट स्टुडियोहरू कम्प्लेसन गेम्स, डबल फाइन प्रोडक्सन, निन्जा थ्योरी र अनडेड ल्याब्सलाई पनि कम्पनीको यस पुनर्संरचना योजना अन्तर्गत अलग गरिने भएको छ।