
विराटनगरका कांग्रेस नेता अभिषेक गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं ल्याएको छ ।
मोरङ कारागारका कैदी बन्दीको रासन र भत्ता घोटाला गरेको आरोपमा पक्राउ परि अदालतको आदेशमा छुटेका गिरीलाई ठगी र आपराधिक विश्वासघात कसुरमा अनुसन्धान गर्न सीआईबीले काठमाडौं ल्याएको हो ।
सीआईबीका अनुसार गिरीले चार करोड २४ लाख रूपैयाँमा घर जग्गा खरिद गरेर श्रीमतीको नाममा गरेका थिए । त्यतिमात्रै होइन, एक व्यापारीबाट उनले चार करोडको चेक पनि लिएका थिए । गिरीले ती व्यापारीको गाडी, डोजर समेत कब्जा गरेर राखेका थिए ।
पीडितले सीआईबीमा उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शम्शेर जबराले जानकारी दिए ।
सोमबार साँझ विराटनगर विमानस्थलबाट जहाजमा राखेर गिरीलाई सीआईबी कार्यालय ल्याइएको थियो । विमानस्थलमा उनले आफूलाई प्रहरीले कुटपिट गरेको भन्दै हारगुहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
‘हेर्नुस्, मलाई काटेको छ, कुटेको छ, अत्यन्त दु:ख दिएर मार्ने प्रयास भइरहेको छ, हेर्नुस्, देख्न सक्नुहुन्छ यहाँ’ गिरीले भनेका थिए ।
जेल बस्दा पनि गिरीको रवाफ बेग्लै
त्यसो त गिरी समूहको ‘दादागिरी’का कारण कुनै बेला विराटनगर अशान्त थियो ।
अपहरण र शरीर बन्धक मुद्दामा ९ वर्ष जेल बसेर छुटेका उनी पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।
विराटनगर–४ मधुमारा घर भएका गिरी जेल पर्दा पनि कांग्रेस सत्तामा रहेका बेला कुनै पनि बेला जेल सरुवा गर्ने हैसियत राख्थे ।

गिरी अपहरण मुद्दामा जेल भुक्तानीको सिलसिलामा लामो समय मोरङ कारागार बसेका थिए । कैद भुक्तानीपछि पनि उनले जेलको भित्री प्रशासन चलाउँदै आएको चर्चा थियो । जेलभित्र हुँदा उनी चौकीदार थिए ।
कारागारबाटै ‘गुण्डागर्दी ग्याङ’ सञ्चालन गरेपछि गिरीलाई २०७४ सालमा मोरङ जिल्ला कारागारबाट डिल्लीबजार कारागार सरुवा गरिएको थियो । चौकीदारको भूमिकामा रहेका गिरीले कारागारमा आफू इतरका कैदीबन्दी माथि कुटपिट र यातनासँगै रकम असुली गर्ने गरेको आरोप लाग्थ्यो ।
मोरङमा कैदी बन्दीलाई दु:ख दिएको सूचना बाहिर आएपछि उनलाई २०७४ चैत २३ मा डिल्लीबजार कारागार सरुवा गरियो । तर, कांग्रेस सरकारमा आएपछि नेताहरूको दबाबमा गिरीलाई २०७८ भदौमा पुन: कारागार व्यवस्थापन विभागले मोरङ कारागार सरुवा गरेको थियो ।
२०७८ भदौ १७ मा मोरङ कारागार स्थानान्तरण गरिएपछि कारागारका अन्य कैदीबन्दी आफूहरू असुरक्षित हुने भन्दै प्रदर्शनमा उत्रिएका थिए । त्यसलगत्तै गिरीलाई केही समय सप्तरी कारागार लगिए पनि दुई सातापछि मोरङ कारागारमै स्थानान्तरण गरिएको थियो ।
मोरङ कारागार प्रवेशमा रोक लगाएको भन्दै गिरीले आफू पक्षका कैदीबन्दी परिचालन गरेर विरोधीमाथि कुटपिट गराएका थिए । त्यतिमात्रै होइन, उनले २०७८ कात्तिक २४ मा योजनाबद्ध रूपमा मोरङ कारागारमा झडप समेत गराएका प्रहरी बताउँछ । त्यतिबेला गिरीको विरोधमा रहेका चौकीदार किरण गुरुङसहित ६ जना घाइते भएका थिए ।
यो घटना छ्याप्छ्याप्ती भएपछि कांग्रेस नेताहरूकै दबाबमा रातारात चौकीदार गुरुङसहित १४ कैदीलाई झुम्कासहित झापा र इलाम कारागार सरुवा गरिएको थियो । तर, गिरी पक्षका भने कोही पनि सरुवा भएनन् ।
कारागारभित्र भएको दुई समूहको झडपमा गिरी पक्षधर कैदी गोपाल शर्माको मृत्यु भएको थियो ।
अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद भुक्तान गरी २०७९ चैत ५ गते गिरी जेलबाट छुटेका थिए । जेलबाट छुटेपछि पनि उनी आपराधिक गतिविधिमा सक्रिय रहेको प्रहरीको दाबी छ ।