
नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अनिर्वाचितहरूलाई सिंहदरबारमा शासन गर्ने अधिकार कसले दियो भन्ने प्रश्न गरेकी छन् ।
मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै झाँक्रीले सोपानमा आधारित ब्युरोक्रेसीबाट प्रशासन नचलाएर मन्त्रीहरूका पछाडी विशिष्ट श्रेणीका दर्जन-दर्जन सल्लाहकार नियुक्त गरिएको भन्दै विरोध जनाइन् ।
उनले सुशासनको नारा दिएर आएको सरकारले कुन संविधान र कानूनका आधारमा यस्ता निर्णय भएका हुन् भन्नेबारे सदनलाई लिखित रूपमा जानकारी गराउनुपर्ने बताइन् ।
सरकारको व्यवहारकै कारण सोपानमा आधारित ब्युरोक्रेसीमा रहेका धेरै जना मान्छेले धमाधम राजीनामा दिएको सुनिएको झाँक्रीको भनाइ छ ।
‘सुशासनको नारा दिएका मान्छेहरूले सोपानमा आधारित ब्युरोक्रेसीबाट प्रशासन पनि नचलाउने र अनिर्वाचितहरूले सिंदरबारमा शासन गर्ने तरिका के हो ? कुन कुन तहका सुविधाहरू कुन निर्णय, कुन संविधान र कुन कानूनले उहाँहरूलाई यो अधिकार दिएको छ ? उहाँहरूको प्रतिबद्धताभन्दा बाहिर कसरी गर्न सक्नुहुन्छ ?’, झाँक्रीले भनिन्, ‘यस विषयमा सदनमा आएर सम्बन्धित मन्त्रीहरूले अथवा प्रधानमन्त्री कार्यालयमार्फत् सरकारले सदनबाट जनतालाई जानकारी देओस् । कुन निर्णयबाट भएको यसको लिखित जानकारी दिनुपर्छ ।’