०४ साउन २०८३, सोमबार

रौतहटको गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

असार २३, २०८३
काठमाडौं
रौतहटको गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नगरपालिकाको समनपुरघाटको बालुवा, गिट्टी र ग्राभेल ठेक्कामा २ करोड ५७ लाख ६२ हजार रूपैयाँ राजस्व हिनामिना गरेको आरोपमा आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ का लागि समनपुर नाकाको नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री तथा निकासीको ठेक्का भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालिले ३ करोड २५ लाख रूपैयाँमा सकार गरेको थियो । तर, सम्झौताअनुसार तोकिएको रकम एकमुष्ट दाखिला नगरी केवल १ करोड ९ लाख ६३ हजार रूपैयाँ मात्रै बुझाइएको थियो ।

बाँकी २ करोड १५ लाख ३७ हजार रूपैयाँ तथा मूल्य अभिवृद्धि कर (भ्याट) बापतको ४२ लाख २५ हजार रूपैयाँ गरी कूल २ करोड ५७ लाख ६२ हजार रूपैयाँ नबुझाई नेपाल सरकार तथा गढीमाई नगरपालिकालाई नोक्सानी पुर्‍याइएको आयोगको आरोप छ ।

मुद्दा दायर गरिएका प्रतिवादीमा गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालि र त्यसका मुख्य सञ्चालक राधेश्याम साह रहेका छन् ।

अनुसन्धानका क्रममा बोलपत्रको सर्तविपरीत रकम पूर्ण रूपमा दाखिला नभई सम्झौता गरिएको, रकम दाखिला भइसकेको भन्दै झुटो टिप्पणी तयार गरी नगर प्रमुखबाट स्वीकृत गराइएको र त्यसका आधारमा एक महिनाका लागि अस्थायी चलनपुर्जी जारी गरी ५४ हजार ३५५ घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्न दिइएको आयोगले जनाएको छ । यसबाट ठेकेदार कम्पनीले ३ करोड ३२ लाख ६९ हजार ७ सय ८९ रूपैयाँ ५८ पैसा बराबरको गैरकानूनी लाभ लिएको आयोगको निष्कर्ष छ ।

आयोगले नगर प्रमुख यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो कायम गरी कैद, बिगोको दोब्बर जरिवाना तथा सार्वजनिक पदमा रहेका व्यक्तिका लागि हुने थप सजायको माग गरेको छ ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुर र राजस्व शाखा प्रमुख रायविरुद्ध पनि सोही ऐनअन्तर्गत कैद, दोब्बर जरिवाना तथा झुटो प्रतिवेदन दिएको कसुरमा थप सजाय माग गरिएको छ ।

यस्तै, भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालि र त्यसका मुख्य सञ्चालक राधेश्याम साहलाई मुख्य कसुरदारको मतियार बनेर गैरकानूनी लाभ लिएको आरोपमा मुख्य कसुरदारसरह कैद र जरिवाना हुनुपर्ने मागदाबी गर्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्