
नेपालको दूरसञ्चार क्षेत्रमा निजी क्षेत्रको प्रवेशले सन् २००४ मा एउटा नयाँ अध्याय शुरू गर्यो ।
'मेरो मोबाइल'को रूपमा शुरू भएको स्पाइस नेपालले छोटै अवधिमा बजारमा आफ्नो उपस्थिति बलियो बनायो ।
सन् २००८ मा टेलियासोनेराले (हाल टेलिया) स्वामित्व लिएपछि कम्पनीले थप गति लियो र सन् २०१० मा एनसेल ब्रान्डमा रूपान्तरण भयो । यसले नेपालको दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढायो र सेवा विस्तारमा तीव्रता ल्यायो ।
नेपालको दूरसञ्चार ऐनअनुसार कुनै पनि दूरसञ्चार सेवा कम्पनीमा न्यूनतम २० प्रतिशत लगानी नेपाली व्यक्ति वा संस्थाको हुनुपर्छ । त्यसैकारण एनसेलको बाँकी २० प्रतिशत शेयर खरिद बिक्रीमा नेपालका लगानीकर्ताहरूबीच ठूलो प्रतिस्पर्धा भएको थियो । दूरसञ्चार क्षेत्रमा त्यतिबेला देखिएको आकर्षक नाफा र तीव्र गतिको बजार विस्तारले सम्भवतः नेपालका सबै प्रमुख लगानीकर्ताको ध्यान आकर्षण गरेको थियो ।
टेलियाले नेपाल प्रवेश गरेको आठ वर्षपछि उच्च नाफा आर्जन गर्दागर्दै अकस्मात् नेपालबाट बाहिरिने घोषणा गर्यो । खरिदकर्ताका रूपमा मलेसियाको कम्पनी आजियाटा नेपाल भित्रियो ।
र, यो सँगै एनसेलको २० प्रतिशत शेयर स्वामित्वमा पुनः परिवर्तन भयो । ८० प्रतिशत शेयर धनी परिवर्तन हुँदा २० प्रतिशत लगानिकर्ता परिवर्तन हुनु स्वाभाविक नै भयो । यसरी निरज गोविन्द श्रेष्ठको नाममा रहेको २० प्रतिशत शेयर सुनिभेरा क्यापिटल भेन्चर्स प्रालिले खरिद गर्यो । उक्त कम्पनी भावना सिंह श्रेष्ठको नाममा छ ।
अहिले आजियाटा एनसेलबाट बाहिरिसकेको छ । सन् २०२३मा आजियाटाले नेपाल छोड्दा स्पेक्ट्रलाईट यूकेले रेनोल्ड होल्डिङको ८० प्रतिशत शेयर स्वामित्व लिँदै एनसेलको प्रमुख लगानिकर्ता बन्यो ।
स्पेक्ट्रलाईट यूकेको स्वामित्व नेपाली मूलका सिङ्गापुरी नागरिक सतिशलाल आचार्य हुन् । उनी सुनिभेराका सञ्चालक भावनाका पति पनि हुन् । त्यस्तै, एनसेलका बोर्ड सदस्य सचिनलाल आचार्य सतिशका भाइ हुन् ।
एनसेलको योगदान
एनसेलले नेपालको डिजिटल विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ । कम्पनीले १ करोड ४० लाखभन्दा बढी ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । यसले ग्रामीण क्षेत्रसम्म पनि कनेक्टिभिटी पुग्न सहयोग पुर्याएको छ ।
कम्पनीले आर्थिक रूपमा पनि ठूलो योगदान दिएको छ । २० वर्षको अवधिमा एनसेलले सरकारलाई कर तथा अन्य विभिन्न शीर्षकमा ३ खर्ब ५७ अर्बभन्दा बढी कर र शुल्क बुझाएको छ ।
त्यस्तै, कम्पनीले एक लाखभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ र शिक्षा, स्वास्थ्य तथा वातावरणमा केन्द्रित सीएसआर कार्यक्रममार्फत २ अर्ब भन्दा बढी रकम खर्च गरेको छ ।
त्यति मात्रै होइन, नेपालको दूरसञ्चार सेवाले आज जुन रफ्तार लिएको छ, त्यसको प्रत्यक्ष श्रेय एनसेललाई जान्छ ।
शुरूआति चरणमै चुस्त व्यवस्थापन र कम लगानीमा अत्याधुनिक सेवा उपलब्ध गराउँदै कम्पनीले सरकारी स्वामित्वको नेपाल टेलिकमलाई पनि प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
निर्मित विवादहरूको शृङ्खला
एउटा पुरानो भनाइ छ– तपाई जति प्रगति गर्दै जानुहुन्छ, त्यति नै तपाईँका दुस्मन थपिँदै जान्छन् । यो भनाइ आचार्य परिवारको हकमा सही साबित भएको छ ।
यी सफलताकै कारण पनि एनसेल पटक-पटक विवादमा तानिएको छ । २०१६ मा आजियाटाले एनसेलको शेयर खरिद गर्दा लाभकर प्रकरण ठूलो विषय बन्न पुग्यो ।
कानूनी आधारमा गरिएको कारोबारमा प्रश्न उठेपछि कम्पनीले ठूलो रकम तिर्यो । करको विवाद आफ्नो ठाउँमा छ, तर स्वार्थ समूहले उक्त विषयलाई यसरी गिजोल्यो कि त्यसको मूल्य कम्पनीले आजको दिनसम्म चुकाउनु परेको छ ।
पछि स्पेक्ट्रलाइटलाई शेयर बिक्री र स्मार्ट टेलिकमको सम्पत्ति लिलामीमा पनि एनसेलमाथि बिना आधारको आरोप लाग्यो । स्पेक्रट्रलाईटसँगको शेयर कारोबारलाई त सरकारले मान्यता समेत दिन अस्वीकार गरेर बसेको छ । सन् २०२३ मा भएको उक्त कारोबारबारे हालसम्म स्पष्ट राय बनाउन नसक्नु उदेकलाग्दो देखिन्छ ।
उता स्मार्ट टेलिकम प्रकरणमा पनि बिना कारण एनसेललाई तारो बनाउने प्रयास गरिएको छ । बन्द भएको दूरसञ्चार सेवा प्रदायकको धितोमा राखिएको सम्पत्ति खरिद गर्न एनसेलले विधिसम्मत तरिकाबाट लगाएको बोलीलाई समेत विभिन्न षडयन्त्रको सिद्धान्तमा आधारित भ्रामक कथाहरू बनाइ प्रवाह गरिएको छ ।
यी विवादहरूको जडमा उही पुरानो असन्तुष्टि छ— जसले २० प्रतिशत शेयर हासिल गर्न सकेनन्, उनीहरू नै कम्पनीलाई बदनाम गराएर नियन्त्रणमा लिने प्रयासमा छन् ।
भविष्यको लोभ : लाइसेन्स समाप्तिको योजना
दूरसञ्चार ऐनको दफा ३३ अनुसार केही वर्षमा लाइसेन्स अवधि सकिएपछि कम्पनी सरकारको अधीनमा आउन सक्छ । त्यसपछि पुनः प्रतिस्पर्धा हुन्छ । असफल आकाङ्क्षीहरूले त्यही मौका कुरेर वर्तमान नेपाली लगानीकर्ता आचार्य परिवारलाई जसरी पनि प्रतिस्पर्धामा आउन नदिने र आफैं हाबी हुने योजनामा लागेका छन् ।
एनसेलले नेपाललाई डिजिटल युगमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । तर, केही असफल व्यावसायिक समूहहरूको स्वार्थले कम्पनीलाई निरन्तर घेराबन्दीमा पारिरहेको छ ।
नेपालको विकास र लगानीमैत्री वातावरणको लागि यी यथार्थ बुझ्नु आवश्यक छ । एनसेलको सफलता नेपालको सफलता हो– यो राजनीतिक र व्यावसायिक स्वार्थको सिकार बन्दा नेपालमा लगानीको वातावरण छैन भन्ने सन्देश संसारभर जाने खतरा छ ।