
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुर, तत्कालीन लेखा प्रमुख कामेश्वर सहनी तथा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालि र त्यसका मुख्य सञ्चालक राधेश्याम साहलाई प्रतिवादी बनाउँदै मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
लक्ष्मीपुर–धर्मपुरघाटको बालुवा, गिट्टी र ग्राभेल ठेक्कामा ७८ लाख १५ हजार रूपैयाँ राजस्व हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।
आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ का लागि लक्ष्मीपुरदेखि धर्मपुरसम्मको नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री तथा निकासीको ठेक्का भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालिले १ करोड ५ लाख रूपैयाँमा सकार गरेको थियो ।
तर कम्पनीले सम्झौताअनुसार पूरा रकम नबुझाई धरौटी मिलानसहित ४० लाख ५० हजार रूपैयाँ मात्र दाखिला गरेको थियो । बाँकी ६४ लाख ५० हजार रूपैयाँ तथा मूल्य अभिवृद्धि कर (भ्याट) बापतको १३ लाख ६५ हजार रूपैयाँ नबुझाई कूल ७८ लाख १५ हजार रूपैयाँ राजस्व चुहावट गरिएको आयोगको आरोप छ ।
आयोगका अनुसार रकम पूरा दाखिला नभए पनि दाखिला भएको भनी झुटो विवरण उल्लेख गरी कबोल अंकको १० प्रतिशत छुटसमेत दिइएको थियो । त्यसकै आधारमा सम्झौता गरी २२ हजार ४३५ घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्न दिइएको र ठेकेदार कम्पनीले १ करोड १० लाख ९१ हजार ३०३ रूपैयाँ १२ पैसा बराबरको गैरकानूनी लाभ लिएको अनुसन्धानबाट खुलेको छ ।
आयोगले ठाकुर र सहनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत ७८ लाख १५ हजार रूपैयाँ बिगो कायम गरी कैद, बिगोको दोब्बर जरिवाना तथा झुटो प्रतिवेदन दिएको कसुरमा थप सजायको माग गरेको छ ।
यस्तै, भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालि र सञ्चालक साहविरुद्ध मुख्य कसुरदारका मतियार बनेर गैरकानूनी लाभ लिएको आरोपमा मुख्य कसुरदारसरह कैद र जरिवानाको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।