
गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा गृह प्रशासनमा सुधारका लागि आफू जिल्ला–जिल्ला पुगेर अनुगमन गरिरहेको बताएका छन् ।
फिल्डबाट प्राप्त अनुभव र स्थानीय तहबाट आएका सुझावका आधारमा गृह प्रशासनलाई थप प्रभावकारी बनाउँदै निरन्तर सुधारका काम अघि बढाइने उनले बताए।
मंगलबार राष्ट्रियसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले गृह प्रशासनले अब कागजी आश्वासनभन्दा नागरिकले भुइँ तहमा प्रत्यक्ष अनुभूति गर्ने सुरक्षा, सुशासन र निष्पक्षताको परिणाम दिनुपर्ने बताए। ‘गृह प्रशासनको अबको यात्रा कागजी आश्वासनको भाषण होइन। जनताले भुइँ तहमा प्रत्यक्ष अनुभूति गर्ने सुरक्षा, सुशासन र निष्पक्षताको ठोस परिणाम देखिनेछ,’ उनले भने, ‘यस कार्यका लागि म आफैं जिल्लामा गई अनुगमन गरिरहेको छु। यसबाट प्राप्त सुझावका आधारमा निरन्तर सुधारका कार्य अगाडि बढाउने छु।’
उनले मुलुकमा शान्ति–सुव्यवस्था र सुरक्षा कायम गर्दै प्रत्येक नागरिकको जिउधन र स्वतन्त्रताको संरक्षण गर्नु गृह प्रशासनको मुख्य दायित्व भएको बताए ।
मन्त्री गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायको भूमिकामा मात्र सीमित नराखी मानव अधिकार र कानूनी राज्यको भावनाअनुसार दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारका रूपमा विकास गर्ने सरकारको सङ्कल्प रहेको पनि बताए ।