
जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश नेपालको राजनीतिमा निर्णायक शक्ति भएकाले यसको राजनीतिक भविष्य उज्ज्वल रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् मंगलबार आफ्नो धारणा सार्वजनिक गर्दै राउतले मधेशको जनसंख्या ५४ प्रतिशत रहेको उल्लेख गर्दै मधेशको समर्थनबिना कोही पनि प्रधानमन्त्री बन्न नसक्ने दाबी समेत गरेका छन् ।
उनले विगतमा एमाले, कांग्रेस र माओवादी नेतृत्वका सरकारहरू पनि मधेशकै समर्थनमा बनेको जिकिर गरेका छन् । यसपटक पनि बालेन सरकार मधेशकै समर्थनबाट बनेको उनको भनाइ छ ।
राउतले मधेशलाई बेवास्ता गरेर कुनै पनि सरकार गठन हुन नसक्ने जिकिर गर्दै मधेश नेपालको सत्ता समीकरणमा निर्णायक भूमिकामा रहेको उल्लेख गरेका छन् ।
‘मधेशको राजनीतिक भविष्य उज्ज्वल छ, किनकि मधेश निर्णायक छ,’ उनले लेखेका छन् ।