
नेपालको बीमा उद्योग अहिले गम्भीर नेतृत्व संकटबाट गुज्रिरहेको छ। जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा तथा माइक्रो इन्स्योरेन्स क्षेत्रका कम्तीमा नौ कम्पनी स्थायी प्रमुख कार्यकारी अधिकृत (सीईओ)विना सञ्चालन भइरहेका छन्। तीमध्ये सात कम्पनीका सीईओ कानूनी व्यवस्थाअनुसार निलम्बनमा परेका छन् भने दुई कम्पनीमा यसअघि नै सीईओ पद रिक्त रहेको थियो।
बीमा प्राधिकरणको निर्देशिका अनुसार सीईओ पद रिक्त भएमा वरिष्ठ कर्मचारीलाई बढीमा तीन महिनासम्म कायममुकायम सीईओको जिम्मेवारी दिन सकिन्छ।
तर धेरै कम्पनीले यही अस्थायी व्यवस्थालाई लामो समयसम्म निरन्तरता दिएका छन्। हिमालयन रिइन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्समा कामु नेतृत्वले जिम्मेवारी सम्हालिरहेका छन् भने हिमालयन लाइफ इन्स्योरेन्सले स्थायी सीईओ मात्र होइन, कामु सीईओसमेत तोकेको छैन ।
बीमा ऐन, २०७९ ले सीईओ नियुक्त गर्ने अधिकार सम्बन्धित कम्पनीको सञ्चालक समितिलाई दिएको छ।
त्यसैले नियुक्तिमा भएको ढिलाइको पहिलो जिम्मेवारी बोर्डमाथि पर्ने देखिन्छ। यद्यपि, तीन महिनाभित्र स्थायी नेतृत्व नियुक्त गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउन नसकेको भन्दै नेपाल बीमा प्राधिकरणको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ।
बीमा उद्योग अहिले डिजिटल रूपान्तरण, नयाँ बीमा उत्पादन, साइबर तथा जलवायुजन्य जोखिम व्यवस्थापनजस्ता चुनौतीको चरणमा रहेकाले नेतृत्व रिक्तताले दीर्घकालीन रणनीतिक निर्णय, लगानी व्यवस्थापन र व्यवसाय विस्तार प्रभावित हुने सरोकारवालाको भनाइ छ।
साथै कर्मचारीको मनोबल, लगानीकर्ताको विश्वास र बीमितको भरोसामा समेत असर पर्ने चेतावनी दिइएको छ।