
फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत इजिप्ट विरुद्धको खेलमा साविक विजेता अर्जेन्टिनाले चमत्कारिक पुनरागमन गरेको छ। २–० ले पछि परेको कठिन अवस्थामा अर्जेन्टिनाले मात्र ४ मिनेटको अन्तरालमा २ गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याएको हो।
एटलान्टा स्टेडियममा जारी खेलको ७९ औँ मिनेटमा लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै अर्जेन्टिनाको गोल खडेरी तोडेका थिए। त्यसको ठीक ४ मिनेटपछि अर्थात् ८३ औँ मिनेटमा कप्तान मेसी आफैँले गोल गर्दै अर्जेन्टिनालाई हारको संकटबाट जोगाए। मेसीको यो गोलका लागि लाउटारो मार्टिनेजले उत्कृष्ट पास (असिस्ट) उपलब्ध गराएका थिए।
यसअघि इजिप्टका लागि १५ औँ मिनेटमा यासेर इब्राहिम र ६७ औँ मिनेटमा मोस्ताफा जिकोले गोल गर्दै अर्जेन्टिनालाई स्तब्ध पारेका थिए। खेलको २२ औँ मिनेटमा पेनाल्टीमा चुकेका मेसीले अन्तिम समयमा गोल गरेर आफ्नो गल्ती सुधार्दै टोलीलाई पुनः खेलमा फर्काएका छन्।