०४ साउन २०८३, सोमबार
सरसर्ती २४ घण्टा

विश्वकपको क्वार्टरफाइनलको समीकरण पूरादेखि देउवा पुत्रलाई सात दिने पुर्जीसम्म

असार २४, २०८३
काठमाडौं
विश्वकपको क्वार्टरफाइनलको समीकरण पूरादेखि देउवा पुत्रलाई सात दिने पुर्जीसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको अत्यन्तै रोमाञ्चक र नाटकीय खेलमा साविक विजेता अर्जेन्टिनाले इजिप्टमाथि ३-२ को अविश्वसनीय पुनरागमन जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

००००

२-० ले पछि परेको अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले अन्तिम समयमा तीन गोल गर्दै जित हात पारेको हो।

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै स्विजरल्याण्ड सन् २०२६ को फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

 निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।

यस खेल सकिएसँगै विश्वकपको क्वार्टरफाइनलको समीकरण पनि पूरा भएको छ । क्वार्टरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्याण्ड पुगेका छन् ।

००००

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउछु भन्ने ठगी धन्दामा पूर्वमन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझी दोषी ठहर भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलवार खाण, रायमाझी लगायतलाई उक्त ठगीधन्धामा दोषी ठहर गरेको हो ।

००००

बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ ।

पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ ।

००००

पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ ।

मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत् अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो ।

००००

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । समितिको मंगलबारको बैठकले परिमार्जनसहित उक्त कार्यविधि पारित गरेको सचिव एकराम गिरीले जानकारी दिए ।

बैठकमा समितिअन्तर्गत विभिन्न उपसमिति गठनसम्बन्धमा पनि छलफल भएको थियो ।

००००

राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई बहुमतले पारित गरेको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरे ।

००००

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलबाट तीन दल बाहिरिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सामूहिक रूपमा पत्र पठाउँदै आफूहरू दलको तर्फबाट कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका हुन् ।

००००

नेपालको बीमा उद्योग अहिले गम्भीर नेतृत्व संकटबाट गुज्रिरहेको छ। जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा तथा माइक्रो इन्स्योरेन्स क्षेत्रका कम्तीमा नौ कम्पनी स्थायी प्रमुख कार्यकारी अधिकृत (सीईओ)विना सञ्चालन भइरहेका छन्। तीमध्ये सात कम्पनीका सीईओ कानूनी व्यवस्थाअनुसार निलम्बनमा परेका छन् भने दुई कम्पनीमा यसअघि नै सीईओ पद रिक्त रहेको थियो।

००००

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मैद्रिक नीति सार्वजनिक गरेको छ । मंगलवार गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको ६० औं मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

आर्थिक वृद्धिमा सघाउन गरी आगामी आर्थिक वर्षका लागि लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको गभर्नर डा. विश्वनाथ पौडेलले बताएका छन् ।

००००

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक २४ दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार ६५१ दशमलव ६९ मा पुगेको छ ।

००००

सरकारले भ्रष्टाचार, अनियमितता र नैतिक विचलनलाई नियन्त्रण गर्दै सुशासन कायम गर्ने उद्देश्यका साथ ‘राष्ट्रिय सदाचार नीति, २०८३’ जारी  गरेको छ ।

यही असार १८ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको यो नीतिले ‘सदाचारयुक्त समाजमार्फत सुशासन र समृद्धि’को मूल लक्ष्य राखेको छ ।

००००

गृहमन्त्री सुधन गुरुङले झापाको काँकडभिट्टा नाका निरीक्षण गरेसँगै त्यहाँ कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू छानबिनको दायरमा आएका छन् ।

नाकामा देखिएको तस्करीको जालो र त्यसमा प्रहरी प्रशासनको प्रत्यक्ष संलग्नता रहेको आरोप स्थानीयले लगाएसँगै गृहमन्त्री गुरुङले इलाका प्रहरी काँकडभिट्टाका डीएसपी निशेष चापागाईं र सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्टका डीएसपी विकास थापाको मोबाइल नियन्त्रणमा लिएका हुन् ।

००००

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

००००

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

००००

सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिने पुर्जी काटेको छ ।

सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भन्दै सात दिनभित्र विभागमा आउन भनिएको हो ।  पुर्जी बूढानीलकण्ठमा रहेको देउवाको घरमा पनि टाँस गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्