
मोरङ कारागारका कैदीबन्दीले चार वर्षसम्म दिनभर श्रम गरेर बुनेका मुडा र गलैँचा बिक्रीबापतको १ करोड ७ लाख रूपैयाँ कांग्रेस नेता अभिषेक गिरी र उनका सहयोगीको व्यक्तिगत खातामा जम्मा भएको खुलासा भएको छ ।
मोरङ प्रहरीको अनुसन्धानका क्रममा २०७९ सालदेखि हालसम्मको मुडा बिक्रीबापतको रकम गिरी र उनका सहयोगी सञ्जयकुमार मण्डलको खातामा सिधै जम्मा हुने गरेको पाइएको हो । कारागारमा रहेका १ हजार १९९ कैदीबन्दीमध्ये करिब ५ सय जनाले मुडा र १ सय जनाले गलैँचा बुन्ने काम गर्छन् । उनीहरूले तयार पारेका सामग्री काठमाडौंका व्यापारी विजय साह र उनका छोरा अभिषेक साह तथा चितवनका व्यापारी डिल्लीराम पन्तले खरिद गर्ने गरेका थिए ।
सामग्री खरिद गरेबापत व्यापारी साहले ५५ लाख र पन्तले ५२ लाख रूपैयाँ गिरी र उनले तोकेका व्यक्तिको खातामा पठाएको प्रहरीले जनाएको छ ।
प्राप्त बैंक भौचरअनुसार उक्त रकम गिरीको नेपाल इन्भेस्टमेन्ट बैंक, उनका सहयोगी सञ्जय मण्डलको सिटिजन्स बैंक र कामना सेवा विकास बैंकको खातामा जम्मा भएको देखिएको छ । विवरणअनुसार सन् २०२४ को अप्रिल ३ मा ४ लाख ११ हजार ३८० रूपैयाँ र मार्च २२ मा ४ लाख ४९ हजार रूपैयाँ व्यापारी साहले पठाएका छन् ।

त्यस्तै, कनेक्ट आईपीएस मार्फत फेब्रुअरी १५ मा ४ लाख ५४ हजार ५ सय र मार्च ४ मा ४ लाख ३१ हजार ४८० रूपैयाँ कुमारी बैंकमार्फत हालिदिएको भौचरमा देखिन्छ ।
सञ्जयकुमार मण्डलको सिटिजन्स बैंकको खातामा २०२४ जुन ११ मा मात्रै ४ लाख ४९ हजार ३६० रूपैयाँ जम्मा भएको छ । मण्डल नेपाली कांग्रेस कटहरी–२ का वडा सभापति समेत हुन् । उनी पछिल्लो समय गिरीसँग ठेक्कापट्टामा साझेदार थिए । यो रकम मुडा बिक्री मात्र नभई कैदीबन्दीको जाडो र गर्मी भत्ताबापतको समेत असुली भएको कारागारको ‘ए ब्लक’ प्रशासनको दाबी छ ।
यसैगरी, असार १२ गते मोरङ कारागारको ‘ब्लक बी’ मा रहेका ५४४ जना कैदीबन्दीलाई जनही २५ सयका दरले वितरण गरिएको १३ लाख ६० हजार रूपैयाँ भत्ता पनि गिरीका सहयोगीहरूले जबर्जस्ती संकलन गरेको आरोप छ । यस असुलीमा मण्डलसँगै विनोद सिंह, तरकारी आपूर्तिकर्ता विजय कामत र केही कारागार कर्मचारीको समेत संलग्नता देखिएको प्रहरीको दाबी छ ।

सोही सूचनाका आधारमा प्रहरीले असार १३ गते गिरीलाई विराटनगर–८ स्थित निवासबाट पक्राउ गरेको थियो । यद्यपि, सोमबार मोरङ जिल्ला अदालतले उनलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिए पनि अदालतबाट छुट्नासाथ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पुन: पक्राउ गरी काठमाडौं पुर्याएको छ ।
गिरीलाई सीआईबीले किन गर्यो पक्राउ ?
गिरीमाथि निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई पहुँचका आधारमा ठेक्का पारिदिने भन्दै ठगी गरेको र श्रेष्ठको आरसी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिका सवारी साधन कब्जामा लिएर कवाडीमा बेचेको गम्भीर आरोप छ ।
श्रेष्ठले दिएको निवेदनअनुसार गिरीले विराटचोक–घिनाघाट सडक प्रोजेक्टको काम जिम्मा लिएर सो काममा प्रयोग भएको एउटा हिटाची एक्साभेटर र लु १ क १४०६ नम्बरको टिपर जानकारीबिनै कवाडीलाई बेचिदिएका थिए । अर्को एउटा टिपर र पानी बोक्ने ट्यांकर पनि गिरीले आफ्ना मान्छे लगाएर एक वर्षदेखि कब्जामा राखेर फिर्ता नदिएको श्रेष्ठको आरोप छ ।
गिरीले हुलाकी राजमार्गको केही खण्ड पनि पेटी ठेक्कामा लिएका थिए । कांग्रेस र अन्य दलका नेतासँग आफ्नो पहुँच रहेकाले ठेक्का लिने गरेको उल्लेख छ ।
पढ्नुहोस् यो पनि- कांग्रेस नेता अभिषेक गिरीलाई सीआईबीले किन ल्यायो काठमाडौं ?
सामाग्री फिर्ता माग्दा परिवारका सदस्यहरूलाई मार्ने र बेपत्ता पारिदिने धम्की दिएपछि त्रसित बनेका श्रेष्ठले काठमाडौंको विष्णु बूढानीलकण्ठस्थित २१७.०१ वर्गमिटरको घरजग्गा गिरीकी कान्छी श्रीमती सोनु आचार्यको नाममा ६ महिनाअघि राजीनामा पास गरिदिएको उल्लेख गरेका छन् ।


यति मात्र नभई, गिरीले श्रेष्ठको कम्पनीका दुइवटा खाली चेकमा जबर्जस्ती हस्ताक्षर गराएर लगेको र त्यसमध्ये एउटा चेकमा ५ करोड ४५ लाख ६० हजार ४०५ रूपैयाँ आफैंले भरी बैंकमा बाउन्स गराएर मोरङ प्रहरीमा जाहेरी दिन लगाएको श्रेष्ठले आरोप लगाएका छन् ।
त्यस्तै, श्रेष्ठले हेटौंडाको जग्गा बिक्री गर्दा पाउनुपर्ने ५० लाख रूपैयाँको चेक समेत गिरीले ज्यान मार्ने धम्की दिएर आफ्नै नाममा काट्न लगाई लिएर गएको निवेदनमा भनिएको छ ।
सीआईबीका प्रवक्ता, एसएसपी अनुपम शमशेर जबराका अनुसार गिरीलाई ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरिएको हो ।
काठमाडौं जिल्ला अदालतले गिरीलाई ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणजन्य कसुरमा अनुसन्धानका लागि मंगलबार तीन दिनको म्याद दिएको छ ।
मोरङ प्रहरी प्रमुख, एसपी कवित कटुवालले घटनाको विस्तृत अनुसन्धान भइरहेको र गिरीका सहयोगीहरूको प्रत्यक्ष संलग्नता देखिएकाले अन्य तथ्य पनि क्रमैसँग खुल्दै जाने बताएका छन् ।