
सीमा विवाद सम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएको ४४ दिनपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित भएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन उपस्थित भएका हुन् ।
सीमा विवाद सम्बन्धमा बालेनले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलले दैनिक विरोध जनाइरहेका छन् । बालेनले जेठ १७ गते संसद्मा सांसदको प्रश्नको जवाफ दिएका थिए ।
यसैबीच, प्रधानमन्त्री संसद्मा उपस्थित हुँदा संसद्को नियम मिचेको भन्दै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति गरेका हुन् ।
राप्रपा सचेतक खुस्बु ओली बोल्दै गर्दा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछाने संसद बैठकमा प्रवेश गरेका थिए ।
कुनै सदस्य बोलिरहेको बेला सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने नियम उल्लंघन गरेको भन्दै महरले रूलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए । प्रधानमन्त्री आकस्मिक रूपमा संसद्मा उपस्थित भएको भन्दै उनले कटाक्ष गरे ।
रास्वपा सभापति लामिछाने र बालेनबीच आइतबार सरकार सञ्चालनलगायत विभिन्न विषयमा छलफल भएको थियो । त्यसको २ दिनपछि उनीहरू सँगसँगै संसद्मा पुगेका हुन् ।