
फिफा विश्वकप–२०२६ को फाइनल साविक विजेता अर्जेन्टिना र स्पेनबीच खेलिँदै छ । खेल न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार सोमबार बिहान १२:४५ बजे शुरू हुनेछ ।
स्पेन र अर्जेन्टिना उपाधिका लागि आमनेसामने हुँदा समर्थकको आँखा मैदानका खेलाडीमा मात्र होइन, खेल सञ्चालन गर्ने रेफ्रीमाथि पनि उत्तिकै केन्द्रित रहने छ ।
जारी विश्वकपको बहुप्रतिक्षित फाइनल खेलमा मुख्य रेफ्रीको जिम्मेवारी स्लोभेनियाका स्लाभको भिन्सिचले पाएका छन् ।
४७ वर्षीय स्लाभको फुटबल जगतका एक परिपक्व र सम्मानित नाम हो । स्लोभेनियाको मारिबोरका निवासी स्लाभकोले सन् २००७ मा स्लोभेनियाको शीर्ष डिभिजन लिगबाट आफ्नो रेफ्री करिअर शुरू गरेका थिए ।
सन् २०१० मा फिफाको मान्यता प्राप्त रेफ्री बनेपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । विश्व फुटबलका ठूला प्रतियोगिताहरूमा उनको उपस्थिति निरन्तर रहँदै आएको छ ।
उनले मुख्य रेफ्रीको भूमिकामा सन् २०२१ को युरोपेली च्याम्पियनसिपको क्वार्टरफाइनलमा इटाली र बेल्जियम, सन् २०२३ को नेसन्स लिगको सेमिफाइनलमा स्पेन र इटाली तथा सन् २०२४ को युरो कपको सेमिफाइनलमा स्पेन र फ्रान्सबीचको) खेल सफलतापूर्वक सम्पन्न गरेका थिए ।
उनले युरोपका दुई प्रतिष्ठित क्लब प्रतियोगिताका ७२ भन्दा बढी खेलहरूमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् ।
खासगरी, सन् २०२२ को यूईएफए युरोपा लिग फाइनलमा फ्रान्कफर्ट र रेन्जर्स तथा र सन् २०२४ को प्रतिष्ठित यूईएफए च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रिड र बोरुसिया डर्टमन्डबीचको खेल पनि उनले नै खेलाइएको थिए ।
यी खेलहरूको प्रदर्शनले उनलाई विश्वकै उत्कृष्ट रेफ्रीको श्रेणीमा उभ्याएको छ । यसै वर्ष उनले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिख र रियल म्याड्रिडबीचको रोमाञ्चक खेल पनि खेलाएका थिए ।
सन् २०२२ को कतार संस्करणमार्फत उनले विश्वकपमा ‘डेब्यू’ गरेका थिए । रोचक कुरा त के हो भने, सन् २०२२ को विश्वकपमा अर्जेन्टिनाले साउदी अरेबियासँग भोगेको समूहगत चरणको अप्रत्याशित हारको खेलमा पनि उनी नै मुख्य रेफ्री थिए ।
त्यसैले, उपाधि रक्षाको अभियानमा रहेको अर्जेन्टिनाका लागि यो फाइनल थप अर्थपूर्ण बनेको छ । यस पटकको विश्वकपमा पनि उनले आफ्नो अब्बल क्षमता प्रस्तुत गरेका छन् ।
प्रतियोगिताका क्रममा इक्वेडरका खेलाडीलाई मुख छोपेर कुरा गरेको आरोपमा भीएआरको सिफारिसमा रातो कार्ड देखाएर उनले चर्चा बटुलेका थिए ।
जुलाई १६ मा आफू फाइनल खेलको रेफ्रीका रूपमा छनोट भएको खबर पाउँदा उनी निकै भावुक देखिएका थिए । फिफाले सार्वजनिक गरेको उनको त्यो प्रतिक्रियाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
फाइनलमा उनलाई सहकर्मी स्लोभेनियाकै टोमाज क्लानिक र आन्द्राज कोभासिचले सहायक रेफ्रीका रूपमा साथ दिनेछन् । जोर्डनका अधम मखादमे चौथो रेफ्रीका रूपमा रहनेछन् ।
फुटबलको सबैभन्दा ठूलो मञ्चमा विश्वभरका लाखौँ दर्शकको उपस्थितिबीच उनले कसरी खेललाई न्यायपूर्ण ढंगले सञ्चालन गर्नेछन्, त्यो भने हेर्न बाँकी नै छ ।