२७ साउन २०८३, बुधबार
परदेशले लुटेको जवानी

रेमिट्यान्सको चर्को मूल्य: पैसा कमाउन खाडी पसेका युवा धमाधम मिर्गौला गुमाएर फर्किँदै !

साउन १२, २०८३
बुटवल
रेमिट्यान्सको चर्को मूल्य: पैसा कमाउन खाडी पसेका युवा धमाधम मिर्गौला गुमाएर फर्किँदै  !

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ खिल्जीका २६ वर्षीय गणेश सुनारको साढे दुई वर्षयताको नियमित कर्म भएको छ, हप्तामा तीनपटक अस्पताल धाउनु ।

मिर्गौलाका रोगी उनी डायलासिस गराउन हरेक सोमबार, बुधबार र शनिबार बुटवल रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पुग्छन् ।

‘घरपरिवारको रेखदेख गर्नुपर्ने बेला युवा अवस्थामै आफैँलाई अरूको स्याहार चाहिने अवस्थामा पुगेँ,’ आँखामा टिलपिल–टिलपिल आँसु बनाउँदै गणेशले भने ।

null

उनी २२ वर्षको कलकलाउँदो र रहरलाग्दो उमेरमा घरको जिम्मेवारी बोध गर्दै आर्थिक अवस्था सुधार गर्न रोजगारीका लागि दुबई उडेका थिए ।

दुबईमा गणेश होलसेल मार्केटिङको क्षेत्रमा काम गर्थे । दैनिक काम गर्ने समय आठ घण्टाको थियो, तर उनी थप रकम जुटोस भनेर ‘ओभरटाइम’ सहित १२ घण्टासम्म पनि काममा खट्थे ।

त्यसबाट उनले मासिक ३५ देखि ४० हजार रूपैयाँसम्म कमाउँथे पनि । काम गर्दागर्दै उनलाई एक्कासि ज्वरो आयो । ज्वरो चेक गराउँदा उनलाई रगतको कमी भएको रिपोर्ट आयो । ‘ब्लड’ किन कम भयो भनेर चेकजाँच गर्दा उनको दुवै मिर्गौला बिग्रिएको थाहा भयो ।

समस्या देखिएपछि उनले दुईपटक दुबईमै डायलासिस गराए । त्यसपछि तुरुन्तै नेपाल फर्किए । नेपाल फर्किएपछि ६ महिना काठमाडौंमा बसेर सिभिल अस्पतालमा डायलासिस गराए ।

काठमाडौंको बसाइ महँगो भएपछि घरबाट केही मगाएर खान पनि सकिन्छ, अलि खर्च पनि कम होला भनेर बुटवल झरेको गणेश सुनाउँछन् ।

‘तीन वर्ष कमाएको पैसा केही विदेश जाँदा लागेको ऋण तिर्दा र काठमाडौंमा बसेर उपचार गराउँदा सकियो,’ गणेश भन्छन्, ‘बुटवलमा अहिले दाइको छोरासँग बसेर नियमित डायलासिस गराइरहेको छु । निःशुल्क डायलासिस भनिए पनि एकपटक अस्पताल जाँदा–आउँदा र औषधिका लागि ७००/८०० खर्च हुन्छ ।’

मुटु अस्पतालबाट सेवा लिइरहेका गणेशलाई मिर्गौला प्रत्यारोपण गर्न पाए हुन्थ्यो भन्ने आशा छ । मानव शरीरको अङ्ग प्रत्यारोपण ऐनअनुसार बिरामीले नजिकको आफन्त/नातेदारबाट मिर्गौला प्रत्यारोपण गर्न सक्छन् । गणेशकी आमाको निधन भइसकेको छ । बुवा वृद्ध छन् । एउटा दाइ मधुमेहको बिरामी छन्, त्यसमा पनि वैदेशिक रोजगारीमै छन् । मामाघरतर्फ पनि वृद्ध हजुरबा–हजुरआमा भएकाले त्यो पनि गणेशले सम्भव देखेका छैनन् ।

‘कर्ममा जे लेखेको छ त्यही भोग्ने त रहेछ जीवनमा, जति बाँचिन्छ–बाँचिन्छ अब के गर्ने कुनै उपाय छैन,’ गणेश भन्छन् । एउटा निरोगी व्यक्तिको ‘ब्लड’ मा रहेको विषाक्त पदार्थ र फोहोर मिर्गौलाले छुट्याउँछ र पिसाबको माध्यमबाट शरीर बाहिर निकाल्छ ।

मिर्गौलाले काम गर्न छाडेको व्यक्तिमा यही प्रक्रिया हेमोडायलासिस मेसिनले गरेर रगत शुद्ध बनाउँछ । बिरामीको शरीरबाट रगत निकालेर शुद्ध बनाई फिर्ता पठाउने यो प्रक्रियामा कम्तीमा तीन–चार घण्टासम्म लाग्छ । डायलासिस प्रक्रिया अल्पकालीन उपाय भएकाले दीर्घकालीन समाधानका लागि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

****

पाल्पाको रिब्दीकोट गाउँपालिका–पालुङ मैनादीका ३९ वर्षका कृष्णबहादुर अर्गली रोजगारीका लागि कतार पुग्दा ग्यास प्लान्टमा काम गर्नुपर्ने अवस्था भयो । विदेश पुगेको एक वर्ष नपुग्दै उनको नाइटो (नाभी) एक्कासि सुन्निएर आयो ।

चेक गर्दा दुवै मिर्गौलामा समस्या देखिएपछि उनी छाँगाबाट खसेझैँ भए । दुवै मिर्गौला बिग्रेका अर्गलीको पाल्पाको तानसेनस्थित डायलासिस सेन्टरमा उपचार हुँदै आएको छ ।

null

‘युवा अवस्थामै यस्तो रोगले समात्यो । मिर्गौलाको समस्या देखिएपछि श्रीमतीले पनि डिभोर्स गरिन् । अहिले एउटा छोरा सहारा छ,’ कृष्ण भन्छन् ।

कृष्णले आमाको मिर्गौला प्रत्यारोपणको प्रयास गरेर अस्पतालसम्म पनि पुर्‍याए । आमामा छारे रोगको संक्रमण रहेछ । छारे रोगको उपचार गर्दागर्दै आमाको लडेर मृत्यु हुन पुगेपछि सबै आशा मारेर डायलासिस गरी तानसेनमा कोठा भाडामा लिएर जीवन धानेको उनी सुनाउँछन् ।

‘ग्यास प्लान्टमा अति गर्मी हुन्थ्यो, शीतलताका लागि चिसो पानीमा ग्लुकोजजस्तो पाइने वस्तु मिसाएर खाने गरिन्थ्यो, त्यसले प्रेसर र सुगर बढाउने रहेछ, त्यसैले गर्दा मलाई यस्तो भएजस्तो लाग्छ,’ कृष्ण त्यो बेलाको अवस्था अहिले सम्झन्छन् । मिर्गौला रोगको शुरूआति लक्षण देखिँदैन, अन्तिम चरणतिर मात्र देखिन्छ, जुन बेला धेरैजसोको मिर्गौला काम नलाग्ने बनिसकेको हुन्छ ।

****

अर्घाखाँची छत्रदेव गाउँपालिका–४ केरुङ्गाका दाजुभाइ ३४ वर्षका मित्रमणि न्यौपाने र ३१ वर्षका कमल न्यौपाने कपिलवस्तुमा नियमित डायलासिस गर्छन् । मित्रमणि भारतमा मजदुरी गर्दागर्दै बिरामी परेपछि एपोलो अस्पतालमा चेकजाँच गर्दा उनका दुवै मिर्गौलामा समस्या देखियो ।

कमल

भाइ कमल दुबईमा काम गर्दागर्दै उनका पनि मिर्गौलामा समस्या देखिएपछि उनीहरू घर फर्किएर एउटै सेन्टरमा डायलासिस गराइरहेका छन् । युवा उमेरमै दीर्घरोगी बनेका दुई दाजुभाइको उपचार सेवामा मित्रमणिकी श्रीमती सुमित्रा कँडेल खटिएकी छन् । डायलासिसका लागि दाजुभाइ अहिले कपिलवस्तुमा डेरा लिएर बसेका छन् ।

मित्रमणि

‘उपचार खर्च धान्न र घर चलाउन धेरै समस्या छ । धन कमाउन गएका दाजुभाइ रोगी बनेर घर आउनुभयो,’ सुमित्रा भन्छिन्, ‘दुवै दाजुभाइलाई २८ वर्षको उमेर पुग्दा समस्या देखियो । यो रोग त निको पनि नहुने, सम्पत्ति पनि सकिने रहेछ ।’

माथिका यी केही घटना प्रतिनिधि मात्र हुन् । परिवार पाल्न र घरको आर्थिक स्थिति सुधार्न लुम्बिनी प्रदेशसहित देशका विभिन्न जिल्लाका धेरै युवा शक्ति खाडी मुलुकमा रोजगारीका लागि गएका छन् । त्यसरी जानेमध्ये धेरैले कमाएर जीवनस्तर सुधारे पनि कतिपय प्रचण्ड गर्मी, परिवर्तित हावापानी, कामको प्रकृतिलगायतका कारण मिर्गौला खराब भएर फर्किने गरेका छन् ।

देशमा रोजगारी नभएपछि गरिबीका कारण परिवार पाल्नका लागि विदेश जाने नेपाली युवाको संख्या हरेक वर्ष बढ्दो छ । आर्थिक अवस्था कमजोर भएकाले रोजगार गन्तव्य खाडी मुलुक बनिरहेको छ ।

लुम्बिनी प्रदेशका युवा पनि वैदेशिक रोजगारमा जानेमा अग्रपङ्क्तिमा पर्छन् । पैसा कमाउन विदेश जाँदा केहीले अकालमा विदेशमै ज्यान गुमाएका छन् भने धेरै युवा जटिल रोग लागेर बीचैमा घर फर्कन बाध्य छन् । त्यसमा पनि पछिल्लो समय मिर्गौला खराबीका कारण फर्कनेहरू धेरै छन् ।

आर्थिक वर्ष २०८२/०८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ७ लाख ९२ हजार १८७ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ८ लाख ३९ हजार २६६ थियो । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०८२/०८३ मा ४७ हजार ७९ ले कम हो । त्यसमध्ये लुम्बिनी प्रदेशबाट १ लाखमाथि छन् ।

वैदेशिक रोजगारीमा गएको बेला मिर्गौला बिग्रिएका हुन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीका ३४ वर्षीय गोविन्दबहादुर झाँक्रीको पनि । उनी मलेसियाको एक केमिकल बनाउने उद्योगमा काम गर्थे । गर्मीमा केमिकलसँग खेल्दा त्यसको असर गन्ध हुँदै शरीरसम्म पर्थ्यो । काम गर्दागर्दै उनको स्वास्थ्य कमजोर भयो । २५ वर्षको उमेरमा उनको दुवै मिर्गौला फेल भयो । उनले ९ वर्षदेखि बुटवलमा ‘मिर्गौला’ डायलासिस गर्दै आएका छन् ।

null

धेरै कामदारको माग आउने र जाने खर्च कम लाग्ने भएकाले साउदी अरब, कतार, युएई, ओमानलगायत खाडी राष्ट्र नेपालीका श्रम गन्तव्य मानिन्छन् ।

वैदेशिक रोजगारमा जाने युवाको ठूलो समूहले खाडीमा ४० डिग्रीसम्म खुला आकाशमुनि पसिना बगाउँदै कडा परिश्रम गर्नुपर्ने हुन्छ । उच्च तापक्रम, लामो समयको एकोहोरो श्रम, कामको प्रकृति, अस्वस्थ खानपान र जीवनशैली, मानसिक तनाव आदिले श्रमिकमा मिर्गौला फेलको जोखिम बढाउने मिर्गौला रोग विशेषज्ञहरू बताउँछन् ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ नेफ्रोलोजिस्ट डा. रजत कायस्थका अनुसार अनियन्त्रित मधुमेह, अनियन्त्रित ब्लड प्रेसर र जथाभावी औषधि सेवन प्रमुख कारण हुन् ।

null

‘विदेशमा गएकाहरूको खानपान नमिल्नु, चर्को नुन, मासु बढी, पानी कम पिउनु, फास्टफूड, कोल्ड ड्रिङ्क्स बढी खानु, तिर्खा लाग्दा पनि पानी खान नपाउनु र सही आराम नपाउनु र धेरै कामको मार परेर समस्या आउने गरेको देखिएको छ,’ डा. कायस्थ भन्छन्, ‘चर्को गर्मीमा लेबर काम गर्दा पसिना शरीरमा भिज्छ । त्यो पसिनामार्फत फोहोर फाल्न नसकेर पनि मिर्गौला फेल हुने जोखिम बढ्ने हो ।’ मिर्गौला बिग्रनबाट जोगिन सुगर र प्रेसरलाई नियन्त्रणमा राख्नेसँगै स्वस्थ खानपान, शारीरिक व्यायाम र नियमित चेकजाँच आवश्यक रहेको डा. कायस्थको भनाइ छ ।

लुम्बिनी प्रदेशमा दसवटा अस्पताल र डायलासिस सेन्टरले मिर्गौलाको डायलासिस सेवा दिँदै आएका छन् । सबैभन्दा धेरै रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल, मुटु अस्पताल, भैरहवा युसिएमएससहित छन् । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले मुटु अस्पताल र रोटरीद्वारा पाल्पा, कपिलवस्तु, लमही, वालिङमा डायलासिस गर्ने धेरैजसो वैदेशिक रोजगारीमा गएका युवाहरू रहेको बताउँछन् ।

उनले छिट्टै पश्चिम नवलपरासीमा पनि डायलासिस सेन्टर सञ्चालनमा ल्याउने तयारी रहेको बताए । डायलासिस गर्ने अस्पताल २४ सै घण्टा व्यस्त रहन्छन् ।

null

बिरामीलाई पालोअनुसार समय दिएर बोलाउने गरिन्छ । अस्पतालमा मिर्गौलाले काम नगरेका बिरामी १५ वर्षका युवकदेखि वृद्धवृद्धासम्म छन् ।

विदेशमा रहेका कामदारमा मिर्गौला रोगको जोखिम बढी भए पनि संसारभरका मानिसहरू यो रोगबाट पीडित छन् । ‘मिर्गौलासम्बन्धी रोग लाइफ स्टाइलसम्बन्धी ‘डिजिज’ पनि हो,’ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेत भन्छन्, ‘विदेशमा रहेका युवामा परिवर्तित हावापानी, पानीको मात्रामा क्वालिटी अपुग, मादक पदार्थको सेवनले पनि मिर्गौलामा समस्या ल्याउने गर्छ ।’ ‘रोगको प्रकृतिले भन्दा पनि रोग बढ्दै गएको तरिकाले मिर्गौला फेलको समस्या भयावह बन्न सक्छ,’ उनी भन्छन्, ‘४० वर्षमाथि उमेर पुगेकाले वर्षमा एकपटक सुगर र प्रेसरको समस्या भएकाले ६/६ महिनामा कम्तीमा एकपटक मिर्गौलाको जाँच गरौँ भन्न चाहन्छु ।’ जाँच गर्न आउने बिरामीमध्ये कोही न कोही विदेशबाट फर्किएकाहरू हुने गरेको डा. बस्नेतको भनाइ छ ।

लुम्बिनी प्रदेशमा अहिले एक हजार बिरामीले नियमित डायलासिस गराइरहेका छन् । त्यसमध्ये वैदेशिक रोजगारीबाट फर्किएकाहरू पनि छन् । मिर्गौला रोगको उपचार अति खर्चिलो छ । ८० प्रतिशत बिग्रिएपछि बल्ल यो रोगका लक्षण देखिन्छन् ।

null

उपचारमा गए पनि बिग्रिएको मिर्गौलालाई निको बनाउन सकिँदैन । सरकारले मिर्गौला काम नलाग्ने भएका बिरामीलाई निःशुल्क उपचारअन्तर्गत डायलासिस गर्न सहयोग गर्दै आएको छ ।

यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि प्रत्यारोपण गर्नका लागि २ लाख रुपैयाँसम्म दिँदै आएको छ । मिर्गौला रोगका बिरामी शारीरिक शिथिलताका कारण काम गर्न सक्दैनन् ।

यस्तोमा उनीहरू खर्च चलाउन सरकारले जीविकोपार्जन भत्तास्वरूप दिने मासिक पाँच हजारमा निर्भर रहँदै आएका छन् । तर, यो रकम समयमा नआउँदा समस्या हुने गरेको बिरामीहरू बताउँछन् । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा सांसद खेम सारूले पछिल्ला वर्ष मिर्गौलाको समस्या धेरै देखिएको बताउँदै त्यस्ता बिरामीलाई मिर्गौला प्रत्यारोपणका लागि २ लाख रूपैयाँसम्म दिने गरेको बताए । यस्ता मिर्गौला पीडित बिरामीको संख्या हरेक वर्ष दोब्बरभन्दा बढी थपिँदै गएको सारूको भनाइ छ ।

NAIMA

कमेन्ट गर्नुहोस्