२७ साउन २०८३, बुधबार
विवादमा सिभिल अस्पतालका नयाँ नेतृत्व

बालेन सरकारले रोजेका 'हाकिम'– घाँटीको बिरामीको पाठेघर फाले, क्यान्सर भएकालाई प्रतिबन्धित औषधि !

साउन १२, २०८३
काठमाडौं
बालेन सरकारले रोजेका 'हाकिम'– घाँटीको बिरामीको पाठेघर फाले, क्यान्सर भएकालाई प्रतिबन्धित औषधि !

नेपाल मेडिकल काउन्सिलबाट एकपटक लाइसेन्स निलम्बनको कारबाही भोगिसकेका र थप गम्भीर उजुरीहरू अनुसन्धानकै चरणमा रहेका डा. जितेन्द्र परियारलाई वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले निजामती कर्मचारी (सिभिल) अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेको तथ्यले गम्भीर प्रश्न खडा गरेको छ ।

परियारको लाइसेन्स २०६८ सालमा घाँटीको शल्यक्रिया गर्नुपर्ने बिरामीको पाठेघर र दुवै डिम्ब ग्रन्थि निकालिएको गम्भीर चिकित्सकीय त्रुटिपछि काउन्सिलले ६ महिनाका लागि निलम्बन गरेको थियो । त्यसयता पनि उनीविरुद्ध चिकित्सकीय लापरबाही र आर्थिक अनियमिततासम्बन्धी उजुरीहरू परेका छन्, जसमध्ये केही अझै विचाराधीन छन् ।

यी सबै तथ्यलाई बेवास्ता गर्दै सरकारले २०८३ साउन ४ गते परियारलाई सिभिल अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । अस्पतालको चिकित्सकीय एवं प्रशासकीय नेतृत्व दुवै कार्यकारी निर्देशकले नै गर्छन् ।

यति संवेदनशील पदमा गरिएको विवादित नियुक्तिले सरकारको नियतमाथि नै प्रश्न उठेको छ ।

घाँटीको बिरामीको पाठेघर निकालिदिए!

घटना २०६८ साल साउन २४ गतेको हो ।

रुपन्देहीको साविक शंकरपुर गाविस ३ की थाइराइड क्यान्सरकी बिरामी ३२ वर्षीया छमकुकुमारी बोहोरा घाँटीको शल्यक्रियाका लागि बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको 'आर.टी. एण्ड ई.एन.टी. वार्ड'को बेड नम्बर ४२ मा भर्ना भएकी थिइन् ।

साउन २५ गते पालो नपाएपछि उनको शल्यक्रिया २६ गते बिहानको पहिलो सूचीमा राखियो ।

अर्कोतर्फ, साउन २५ गते नै ४२ वर्षीया केशमाया गुरुङ पाठेघरको क्यान्सरको शल्यक्रियाका लागि 'सर्जिकल वार्ड ३'को बेड नम्बर ६१ मा भर्ना भइन् ।

साउन २६ गते बिहान, ई.एन.टी. वार्ड इञ्चार्ज नर्सिङ अधिकृत सावित्री भुर्तेलले छमकुकुमारीको सम्पूर्ण आवश्यक फाइल, औषधि र रगत तयार पारिन् ।

त्यसपछि वार्डका स्टाफ नर्स माया ढकाल र एटेन्डेन्ट लिलाकुमारी श्रेष्ठ बिहान ८:४० मा छमकुकुमारीलाई लिएर अपरेसन थिएटर पुगे ।

सोही समयमा, सर्जिकल वार्ड ३ की स्टाफ नर्स लक्ष्मी न्यौपानेले केशमाया गुरुङलाई शल्यक्रियाका लागि तयार पारिन् र वार्डका स्टाफ नर्स मनु शर्मा तथा सहयोगी कृष्णराज न्यौपानेले केशमायालाई लिएर बिहान ८:३० मा अपरेसन थिएटर पुर्‍याए ।

तर, अपरेसन थिएटरको पूर्व तयारी रूममा दुवै बिरामीलाई निकै छोटो समयको अन्तरालमा बुझ्ने काम एउटै नर्स आरती चौधरीबाट भयो । नर्स चौधरीले दुवै बिरामीलाई बुझिसकेपछि उनीहरूको फाइल र बिरामी साटिने मुख्य भूल यहीँ हुन पुग्यो ।

त्यस दिन अपरेसन थिएटरमा गाइनोलोजी विभागका लागि 'टेबल नम्बर ३' र ई.एन.टी. विभागका लागि 'टेबल नम्बर ४' छुट्याइएको थियो ।

तर, टेबल नम्बर ३ मा केशमाया गुरुङको सट्टा छमकुकुमारी बोहोरालाई सुताइयो र उनको अगाडि केशमायाको फाइल राखियो ।

त्यहाँ चिकित्सक डा. जितेन्द्र परियार, डा. नितु शर्मा, डा. सुमन सिंह, नर्सहरू उमा काफ्ले र सुनिता अधिकारी तथा एनेस्थेसिया प्राविधिक इन्द्रदेव पण्डित र सहयोगी पद्मा थापा महतो खटिएका थिए ।

एनेस्थेसिया टोलीमा चिनियाँ चिकित्सक डा. माङ, डा. भावना वाग्ले र डा. रञ्जना कुमारी शाह सहभागी थिए ।

शल्यक्रियाअघि एनेस्थेसिया रजिस्ट्रार डा. भावना वाग्लेले बिरामीको घाँटीको पछाडि सानो डल्लो र खत देखेपछि यसबारे गाइनो चिकित्सक डा. जितेन्द्र परियारलाई जानकारी गराइन् ।

डा. सुमन सिंहले पनि घाँटीमा खत भएको देखेपछि जानकारी गराएका थिए । तर, डा. जितेन्द्रले उक्त डल्लो आफैंले छामे पनि चेतावनीको यो संकेतलाई पूर्णरूपमा बेवास्ता गरे र पेटको शल्यक्रिया अगाडि बढाए ।

यसबीचमा उनीहरूबीच परामर्श गर्ने संवाद भने भएको देखिन्छ । तर, शल्यक्रिया त्यसको परवाह नगरी तोकिएकै समयमा गरिएको देखिन्छ ।

null

 

अस्पतालले गरेको आन्तरिक छानबिनमा डा. परियारले आफूसहितको टीम प्रोफेसनल रूपमा रेस्पोन्सिबल हुन नसकेको स्वीकारेका थिए ।

'सर्जरी गरुञ्जेल कुनै थाहा नै भएन । अपराह्न १२:३० बजे पछि मात्र कार्यक्रममा रहँदै गर्दा डा. बिनुमा श्रेष्ठमार्फत थाहा पाएँ कि अपरेसन गरिएको बिरामी फरक परेछ भनेर । मलाई लाग्छ, सबै टीम नै प्रोफेसनल रेस्पोन्सिवल हुनुपर्‍यो । त्यो नदेखिँदा अलि दु:ख लाग्यो,' डा. परियारले समितिसँगको बयानमा भनेका थिए ।  

null

​एनेस्थेसिया मेडिकल अफिसर डा. रञ्जना कुमारी शाहले बिरामीको पेटको भाग शेभ गरिन्, जसलाई उनले आफैँले ओटी टेबलसम्म लगेर बेहोस पारेकी थिइन् ।

त्यसपछि डा. परियारले बिरामीलाई ४२ वर्षकी केशमाया गुरुङ नै सम्झिएर उनको पाठेघर र दुवै डिम्ब ग्रन्थि निकाल्ने गम्भीर शल्यक्रिया पूरा गरे ।

यसै समयमा, छमकुकुमारीको वास्तविक शल्यक्रिया हुनुपर्ने 'टेबल नम्बर ४'को भेन्टिलेटर बिग्रिएको खबर आयो । ई.एन.टी. सर्जन डा. अनिल विक्रम कार्कीले भेन्टिलेटर बिग्रेकाले छमकुकुमारीको शल्यक्रिया रद्द गर्न डा. जयप्रकाश झालाई निर्देशन दिए ।

छमकुकुमारीलाई प्रतीक्षा कक्षमा राखिएको भन्दै बाहिर रहेका उनका आफन्तहरू दाजु लक्ष्मण खत्री र काका पूर्णबहादुर खत्रीलाई 'शल्यक्रिया रद्द भएको' जानकारी गराइयो, तर उनीहरूकी बिरामी वास्तवमा टेबल नम्बर ३ मा अर्कै शल्यक्रिया गराइरहेकी थिइन् ।

दिउँसो १२:१५ बजे शल्यक्रिया सकिएपछि ओटी रिकभरी नर्स उपासना तिवारीले रिकभरी कक्षबाट पोस्ट-अप वार्डकी नर्स रचना घिमिरेलाई बोलाएर 'केशमायाको शल्यक्रिया सफल भएको' भन्दै फाइल र बिरामी हस्तान्तरण गरिन् । रचना घिमिरेले सहयोगी सिर्जना ढुङ्गानाको सहयोगमा बिरामीलाई पोस्ट-अप वार्डको बेडमा ल्याइन् ।

पोस्ट-अप वार्ड इञ्चार्ज दुर्गा खनालले बिरामी आएपछि फाइल हेरेर केशमायाका आफन्तलाई बोलाइन् । तर, आफन्तले ‘यो हाम्रो बिरामी होइन, यो त छमकुकुमारी बोहोरा हो’ भने ।

छमकुकुमारीका आफन्तले पनि आफ्नो बिरामीको घाँटीको अपरेसन हुनुपर्नेमा पेट काटिएको देखेर चिच्याउन थाले । नर्स रचना घिमिरेले बिरामी छमकुकुमारीसँग सोध्दा उनले टाउको हल्लाएर आफू केशमाया नभएको र छमकुकुमारी भएको संकेत गरिन् ।

यो देखेपछि नर्स दुर्गा खनाल हतार-हतार ओटी प्रिपरेसन कक्षमा पुगिन्, जहाँ उनले छमकुकुमारीको वास्तविक फाइल टेबलमै अलपत्र परेको फेला पारिन् ।

उनले यो कुरा गाइनो चिफ डा. बिनुमा श्रेष्ठलाई सुनाइन् । डा. बिनुमाले तत्कालै डा. जितेन्द्र परियार र गाइनो विभागका प्रमुख डा. विनय ठाकुरलाई खबर गरिन् ।

उनले गलत बिरामी ओटीमा पुर्‍याउने डा. रञ्जनाकुमारी शाहलाई ‘तिम्रो गल्तीले गलत बिरामीको शल्यक्रिया भयो’ भन्दै सचेत गराएकी थिइन् । यो सबै कुरा उक्त घटनाको छानबिन गर्न अस्पतालद्वारा गठित छानबिन समितिको प्रतिवेदनको अंश हो ।

अस्पतालले कन्सल्टेन्ट डा. भोला रौनियारको संयोजकत्वमा ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो । जसमा कन्सल्टेन्टहरू डा. चिनबहादुर पुन, डा. विनयकुमार ठाकुर, डा. अञ्जनीकुमार झा र डा. बिनुमा श्रेष्ठ, जुनियर कन्सल्टेन्ट डा. देजकुमार गौतम, रजिस्ट्रारहरू डा. कृष्णसागर शर्मा र डा. भावना वाग्ले, नर्सिङ सुपरभाइजर उषा थापा, सिस्टर राजेन्द्र मल्ल तथा सिनियर स्टाफ नर्स दुर्गा खनाल सदस्य थिए ।

छानबिन टोलीसँगको कुराकानीमा पीडित बिरामी छमकुकुमारी बोहोराले आफूलाई भित्र लगेपछि घाँटीको रोगबारे केही कुरा नगरी सुई लगाएर सिधै पेट काटेको पीडा पोखेकी थिइन् ।

उनका काका पूर्णबहादुर र भाइहरू लक्ष्मण तथा ईश्वर खत्रीले छमकुकुमारीका श्रीमान् भारतीय सेनामा कार्यरत रहँदा १२ वर्षअघि कारगिल युद्धमा शहीद भएको र उनकी १४ वर्षीया छोरी (अस्मिता) बुटवलको बोर्डिङमा पढ्ने गरेको दुःखद पृष्ठभूमि सुनाउँदै उनको भविष्य बर्बाद पारिएको भन्दै रोइकराई गरे र न्यायको माग गरेका थिए ।

त्यसपछि अस्पतालले आजीवन निःशुल्क उपचार गर्नेसहित विभिन्न सहमति गरेको थियो ।

अस्पतालले बनाएको छानबिन समितिको प्रतिवेदनको डिजिटल कपी

यस विषयमा नेपाल मेडिकल काउन्सिलमा पनि उजुरी परेको थियो ।

यो गम्भीर मानवीय त्रुटिलाई मध्यनजर गर्दै काउन्सिलले अन्ततः मुख्य चिकित्सक डा. जितेन्द्र परियारको चिकित्सकीय लाइसेन्स ६ महिनाका लागि निलम्बन गरेको थियो ।

यसमा डा. परियार मात्र नभएर सिंगो टीमकै दोष देखिन्छ । प्रश्न उठ्नुको मुख्य कारण अपरेसन नै उनले गरेका थिए ।

'घाँटीमा डल्लो देखिएपछि अपरेसन रूममा पटक-पटक यसबारे कुराकानी भएको छ । यति ठूलो संकेत पाउँदा–पाउँदै बिरामी वा तिनका कुरुवासँग कुराकानी वा थप कागजात झिकाएर हेर्ने काम केही भएको देखिँदैन,' एक डाक्टरले लोकान्तरसँग भने, 'पहिलो कुरा त उहाँको प्यासेन्ट नै होइन, अर्कोतर्फ पूर्व संकेत पाइसकेको अवस्थामा समेत बेवास्ता गर्नु गम्भीर लापरवाही हो ।'

यसमा फाइल साट्ने नर्स र अपरेसन गर्ने डाक्टर बराबर जिम्मेवार हुने उनको तर्क छ ।​

बिरामीको क्यान्सर पुष्टि हुँदा प्रतिबन्धित औषधि सिफारिस र टेकुमा उजुरी

डा. परियारमाथि आवश्यक कारबाहीको माग गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा २०८३ असार २१ गते अर्को नयाँ उजुरी दर्ता भएको छ ।

चिकित्सकीय लापरबाहीका कारण क्यान्सर पीडित श्रीमती गुमाउनुपरेको हुनाले दोषी चिकित्सक परियारलाई कारबाहीको माग गर्दै पीडित (मृतकका श्रीमान)ले उजुरी दिएका हुन् । यसअघि नेपाल मेडिकल काउन्सिलमा पनि आवश्यक कारबाहीको माग गर्दै उजुरी गर्दा राजनीतिक दबाबमा सफाइ दिएको भन्दै उनले प्रहरीमा उजुरी दिएका हुन् ।

उजुरीमा उल्लेख भएअनुसार, २०७९ असार २९ गते उनकी श्रीमतीले पाठेघरको परीक्षणका लागि डा. जितेन्द्र परियारसँग परामर्श लिएकी थिइन् । सोही सल्लाहअनुसार असार ३० गते गरिएको रगत परीक्षणको रिपोर्टमा उनलाई क्यान्सर लागेको पुष्टि भइसकेको थियो ।

क्यान्सर पुष्टि भइसकेको अवस्थामा पनि सम्बन्धित औषधि दिनुको सट्टा डा. परियारले आफ्नो पुर्जामा नेपाल सरकार औषधि व्यवस्था विभागबाट बिक्री-वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको निषेधित औषधि लेखिदिनुका साथै आवश्यक उपचार प्रक्रिया अगाडि नबढाएको आरोप उजुरीमा लगाइएको छ ।

प्रतिबन्धित औषधिको सेवन र उचित उपचार नपाएका कारण बिरामीको स्वास्थ्य अवस्था झन्-झन् जटिल बन्दै गएपछि पीडित पक्षले उनलाई थप उपचारका लागि भारत पुर्‍याएका थिए ।

डा. परियारको लापरबाही र गलत औषधि सिफारिसका कारण उपचारमा भएको ढिलाइले गर्दा अन्ततः बिरामीको २०८० पुस १० गते मृत्यु भएको उजुरीमा उल्लेख छ ।

बिरामीको मृत्युपछि उनका श्रीमानले नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गराएका थिए । तर, राजनीतिक दबाब र काउन्सिलको छानबिन समितिका एक जना सदस्यको प्रभावका कारण दोषी चिकित्सकलाई उन्मुक्ति दिने गरी प्रतिवेदन तयार पारिएको आरोप उजुरीमा छ ।

उजुरीकर्तालाई उक्त छानबिन प्रतिवेदन समेत हेर्न नदिई केवल सफाइ दिने निर्णय मात्र जानकारी गराइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिइएको उजुरीमा दाबी गरिएको छ ।

डा. परियार यसअघि पनि उपचारका क्रममा त्रुटि गरी नेपाल मेडिकल काउन्सिलबाट कारबाहीस्वरूप लाइसेन्स निलम्बनमा परिसकेका चिकित्सक भएकाले दोस्रोपटक नियतवश उन्मुक्ति दिइएको पीडितको आरोप छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा परेको उजुरी

मेडिकल काउन्सिल स्रोतका अनुसार, यदि यो प्रकरणमा उनीमाथि निष्पक्ष छानबिन भएर दोस्रोपटक लाइसेन्स निलम्बन भएको भए, कानूनी रूपमा 'पटके' ठहरिई उनको चिकित्सक लाइसेन्स सधैँका लागि खारेज हुन सक्ने अवस्था थियो । त्यसैले उनलाई जोगाउन राजनीतिक रूपमा ठूलै शक्ति लागिपरेको थियो र काउन्सिलले डा. परियारलाई उक्त आरोपबाट सफाइ दिएको स्रोतले खुलायो ।

फेलोशिपको अनुदानमा अनियमितताको आरोप

विवाद यतिमा मात्र सकिँदैन । डा. परियारमाथि विदेशी विनिमय डलर अपचलन सम्बन्धमा आवश्यक छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को उजुरी पनि परेको छ ।

सिभिल अस्पतालमै फेलोशिपअन्तर्गत शैक्षिक कार्यक्रमका लागि आएको वैदेशिक अनुदानको विद्यार्थीको रकम आफूखुसी चलाएको आरोप उनीमाथि लागेको हो ।

स्त्री क्यान्सर रोगमा फेलोसिपअन्तर्गत प्रतिवर्ष २ जना विद्यार्थीलाई पढाउन भनी वर्षको १० हजार डलरका दरले आउने गरेको वैदेशिक अनुदान रकम विगत ६ वर्षजतिको उनले आफूखुसी चलाएको आरोपसहित अख्तियारमा उजुरी परेको हो ।

फेलोशिप कार्यक्रम संयोजक हुँदा उक्त रकमको विनिमयमा उनले अपचलन गरेको आरोपसहित उजुरी अख्तियारमा दायर भएको हो । त्यो उजुरीका विषयमा अख्तियारले छानबिन अगाडि बढाएको स्रोतले खुलाएको छ ।

कलङ्कको दागमाथि कार्यकारी निर्देशकको ताज!

एकपटक लाइसेन्स नै निलम्बन र पटक-पटक उजुरी परेका व्यक्तिलाई वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले सिभिल अस्पतालको कार्यकारी निर्देशकजस्तो गरिमामय र संवेदनशील पदमा नियुक्त गरेको छ ।

तर, कतिपय उजुरी अहिले पनि अनुसन्धानका क्रममा नै रहेका बेला परियारलाई नियुक्त गरिएको हो । एकपटक कारबाहीमा परिसकेको र फेरि छानबिनको दायरामा रहेको व्यक्तिलाई नियुक्त गर्न मिल्दैन भन्ने कानून त छैन, तर यस विषयमा सरकारमाथि गम्भीर नैतिक प्रश्न उठेको छ ।

यी सबै गम्भीर आरोपबारे डा. परियारसँग प्रतिक्रिया लिन खोज्दा उनले अहिले यस विषयमा केही नबोल्ने बताए । आवश्यक परेको बेलामा पछि प्रतिक्रिया दिने भन्दै उनी पन्छिए ।

NAIMA

कमेन्ट गर्नुहोस्