
शोधकर्ताहरूले पहिलोपटक टाढाको एउटा तारालाई परिक्रमा गरिरहेको पृथ्वीजस्तै चट्टानी ग्रह वरिपरि वायुमण्डल रहेको प्रमाण फेला पारेका छन् ।
शोधकर्ताहरूका अनुसार यो खोज हाम्रो सौर्यमण्डल बाहिर पनि पृथ्वीजस्तै अवस्था भएका ग्रहहरू हुन सक्ने अहिलेसम्मकै सबैभन्दा बलियो प्रमाण हो ।
यस ग्रहको वायुमण्डलमा हिलियम ग्यास भेटिएको छ । हिलियम आफैंमा जीवनका लागि उपयुक्त मानिँदैन, तर वैज्ञानिकहरूको विश्वास छ कि त्यहाँ अन्य ग्यासहरू पनि हुन सक्छन् ।
यस अनुसन्धानका प्रमुख लेखक हार्वर्ड विश्वविद्यालयका डा. कोलिन चेरुबिमले यसलाई अत्यन्त ठूलो उपलब्धि भनेका छन् ।
उनले भने, 'यो पहिलो पटक हो, जब अर्को ताराको बसोबासयोग्य क्षेत्रमा रहेको कुनै चट्टानी ग्रहमा वायुमण्डल रहेको पुष्टि भएको छ ।'
एलएचएस ११४० बी (LHS 1140 b) नामक यो ग्रह पृथ्वीबाट ४८ प्रकाशवर्ष टाढा छ ।
यसले हाम्रो सूर्यभन्दा निकै सानो रातो तारालाई परिक्रमा गर्छ ।
अहिलेसम्म वैज्ञानिकहरूले टाढाका ताराहरूको परिक्रमा गर्ने ६ हजारभन्दा बढी ग्रहहरू पत्ता लगाइसकेका छन् ।
तर यो नयाँ खोज विशेष छ, किनभने यसले विज्ञानको सबैभन्दा ठूलो लक्ष्यमध्ये एक अर्को ग्रहमा जीवनको खोजीतर्फ अर्को महत्वपूर्ण कदम अघि बढाएको छ ।
'साइन्स' पत्रिकामा प्रकाशित यस अनुसन्धानका लेखकहरूले स्पष्ट रूपमा भनेका छन् कि उनीहरूले अहिलेसम्म अर्को कुनै ग्रहमा जीवन भेट्टाएका छैनन् ।
उनीहरू भन्छन्, 'तर कुनै ग्रहमा जीवनको सम्भावना हुन त्यहाँ पानी हुनु आवश्यक छ । र, पानी त्यतिबेला मात्र रहन सक्छ, जब ग्रह आफ्नो ताराबाट उचित दूरीमा हुन्छ ।'
'यदि ग्रह ताराको धेरै नजिक भयो भने अत्यधिक गर्मी हुन्छ । धेरै टाढा भयो भने अत्यधिक चिसो हुन्छ । त्यसैले ग्रह यस्तो दूरीमा हुनुपर्छ, जहाँ तापक्रम न धेरै तातो होस् न धेरै चिसो, बरु जीवनका लागि अनुकूल होस् ।'
ग्रह विज्ञानका विज्ञहरूले यसलाई 'गोल्डिलक्स जोन' (Goldilocks Zone) भन्छन् । यो नाम एउटा लोककथाकी पात्र गोल्डिलक्सबाट राखिएको हो, जसलाई आफ्नो दलिया न धेरै तातो न धेरै चिसो, ठीक उपयुक्त तापक्रमको चाहिन्थ्यो ।
अहिलेसम्म वैज्ञानिकहरूले आफ्ना-आफ्ना ताराहरूको गोल्डिलक्स जोनमा सयौं ग्रहहरू पत्ता लगाइसकेका छन् ।
तर, तीमध्ये केही दर्जन मात्रै पृथ्वीजस्तै साना र चट्टानी ग्रह हुन् । यस्तो विशेषता भएका ग्रहहरूमा जीवनको सम्भावना हुन सक्ने महत्वपूर्ण संकेत मानिन्छ ।
यद्यपि, अहिलेसम्म तीमध्ये कुनै पनि ग्रहमा वायुमण्डल भेटिएको थिएन ।
अहिले पहिलोपटक यस्तो भएको हो ।
हालसम्म यस ग्रहको वायुमण्डलमा केवल हिलियम ग्यास मात्र फेला परेको छ ।
सम्भवतः यो माथिल्लो वायुमण्डलमा रहेको हुन सक्छ । हिलियम मात्र जीवनका लागि उपयुक्त होइन ।
तर वैज्ञानिकहरूको विश्वास छ कि वायुमण्डलको तल्लो तहमा जीवनका लागि बढी अनुकूल अन्य ग्यासहरू पनि हुन सक्छन् ।
हार्वर्ड विश्वविद्यालयकै डा. डेभिड शार्बोनोले सबैभन्दा महत्वपूर्ण कुरा भनेको हाम्रो सौर्यमण्डल बाहिर पहिलोपटक पृथ्वीजस्तै ग्रहमा वायुमण्डल भेटिनु भएको बताए ।
उनले भने, 'मानिसहरू सधैं ठूला प्रश्नहरूको उत्तर खोज्न चाहन्छन् । के हामी ब्रह्माण्डमा एक्लै छौं?'
'के पृथ्वी वा हाम्रो सौर्यमण्डल बाहिर पनि जीवन छ? यस दिशामा यो अध्ययन ठूलो उपलब्धि हो, किनभने पहिलो पटक हाम्रो सौर्यमण्डल बाहिर अर्को ताराको बसोबासयोग्य क्षेत्रमा रहेको चट्टानी ग्रहमा वायुमण्डल पत्ता लागेको छ ।'
यद्यपि, जीवनको खोजीमा वैज्ञानिकहरूको ध्यान केवल एलएचएस ११४० बी मा मात्र केन्द्रित छैन ।
के२-१८बी (K2-18b) नामक सब-नेप्च्युन ग्रहप्रति पनि वैज्ञानिकहरूको विशेष चासो छ ।
यस ग्रहभित्र पानीले भरिएको क्षेत्र हुन सक्ने अनुमान गरिएको छ । यो ग्रह त्यतिबेला चर्चामा आएको थियो, जब वैज्ञानिकहरूले त्यहाँ डाइमेथाइल सल्फाइड नामक ग्यासको संकेत देखेका थिए ।
पृथ्वीमा यो ग्यास समुद्री जीवहरूसँग सम्बन्धित मानिन्छ ।
तर सन् २०२५ मा नासाको नेतृत्वमा गरिएको पुनः विश्लेषणले त्यो संकेत पुष्टि गर्न पर्याप्त बलियो नभएको देखायो ।
साथै, यो ग्यास जीवन नभई प्राकृतिक प्रक्रियाबाट पनि बन्न सक्ने तथ्य पनि सार्वजनिक भयो ।
त्यसैगरी ट्र्यापिस्ट–१ (TRAPPIST-1) तारालाई परिक्रमा गर्ने सात चट्टानी ग्रहहरू पनि वैज्ञानिकहरूका लागि अझै रहस्यमै छन् ।
नासाको जेम्स वेब स्पेस टेलिस्कोप ले ट्र्यापिस्ट–१डी (TRAPPIST-1d) मा पृथ्वीजस्तै वायुमण्डल हुने सम्भावनालाई अस्वीकार गरिसकेको छ ।
तर ट्र्यापिस्ट–१ई (TRAPPIST-1e) सम्बन्धी प्राप्त तथ्यांक अझै पर्याप्त स्पष्ट नभएकाले कुनै ठोस निष्कर्ष निकाल्न सकिएको छैन ।