
अमेरिकाले चीनलगायत अन्य देशहरूबाट आयात हुने मानवजस्तै देखिने (ह्युमनोइड) र चार खुट्टाले हिँड्ने (क्वाड्रुपेड) रोबोटहरूको आयातमा रोक लगाएको छ।
अमेरिकाको फेडरल कम्युनिकेशंस कमिशनले यो निर्णयका पछाडि राष्ट्रिय सुरक्षा र साइबर सुरक्षासँग जोडिएका जोखिमहरूलाई मुख्य कारण बताएको छ । यद्यपि, यो प्रतिबन्ध हाल अमेरिका नपुगेका रोबोटहरूमा मात्र लागू हुनेछ भने यसअघि नै प्रयोगमा आइसकेका रोबोटहरू यसको दायरा बाहिर रहनेछन् ।
अमेरिकाको यो निर्णयप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ । वासिङ्टनस्थित चिनियाँ दूतावासले अमेरिकाले कुनै पनि ठोस प्रमाणबिना चिनियाँ कम्पनीहरूलाई निशाना बनाएको आरोप लगाएको छ । चीनले आफ्ना वैध हितहरूको रक्षाका लागि आवश्यक जवाबी कदम चाल्ने चेतावनीसमेत दिएको छ।
देशका अत्यावश्यक सेवाहरूमा विदेशी कम्पनीका रोबोटहरूको प्रयोग बढ्दै गएमा त्यसले राष्ट्रिय सुरक्षामा गम्भीर खतरा निम्त्याउन सक्ने बुझाइ अमेरिकाको छ।
सरकारलाई यो कुराको आशंका छ कि कुनै पनि प्रकारको विवाद वा तनावको स्थिति सिर्जना हुँदा यस्ता रोबोटहरूको आपूर्ति प्रभावित हुन सक्छ । यसका साथै, साइबर आक्रमणमार्फत बिजुलीको ग्रिड (विद्युतीय सञ्जाल), सञ्चार नेटवर्क र अन्य महत्त्वपूर्ण प्रणालीहरूलाई समेत निशाना बनाइन सक्ने खतरा रहेको छ ।
यो निर्णय त्यस्तो समयमा बाहिर आएको छ, जब अमेरिका र चीनबीच आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स र अन्य उन्नत प्रविधिहरूमा अग्रता हासिल गर्ने होडबाजी चरम सीमामा पुगेको छ ।
यो प्रतिबन्ध सबै विदेशी कम्पनीहरूमाथि लागू हुने भए पनि यसको सबैभन्दा ठूलो मार चीनमाथि पर्ने निश्चित जस्तै छ । किनकि, हाल चीन विश्वको सबैभन्दा ठूलो रोबोट निर्माता र सबैभन्दा ठूलो बजार बनिसकेको छ ।
सन् २०२४ मा चीनले आफ्ना कारखानाहरूमा २ लाख ९५ हजार औद्योगिक रोबोटहरू जडान गरेको थियो, जबकि अमेरिकाले मात्र ३४ हजार २०० रोबोटहरू जडान गर्यो। अर्थात्, चीनले अमेरिकाको दाँजोमा करिब ९ गुणा बढी रोबोटहरू प्रयोगमा ल्यायो।
अमेरिकामा प्रयोग हुने अधिकांश औद्योगिक रोबोटहरू जापान र युरोपबाट आउने गर्छन् ।