२७ साउन २०८३, बुधबार
दुखिरहेको तराई-मधेश

फिल्डका सुरक्षाकर्मीले देखेको कप्तानगञ्जको त्यो रात– चोकको झण्डा थियो विवादको मुख्य कारण !

विश्लेषक भन्छन्– 'तलसम्मै भिजेका स्थापित दल निष्क्रिय रहँदा सम्हाल्ने कोही भएन'
साउन १४, २०८३
काठमाडौं
फिल्डका सुरक्षाकर्मीले देखेको कप्तानगञ्जको त्यो रात– चोकको झण्डा थियो विवादको मुख्य कारण !
तनावपछिको कप्तानगञ्ज

सुनसरीको कप्तानगञ्ज । यो ठाउँ पहिला त्यति चर्चामा थिएन । आइतबार रातिको घटनाले कप्तानगञ्ज सडकदेखि संसदसम्म गुञ्जिएको छ ।

द्विपक्षीय झडप, सुरक्षाकर्मीको गोली र त्यसपछि उत्पन्न परिस्थितिले अन्य जिल्लामा पनि तनाव फैलिएको छ ।

कप्तानगञ्जमा आइतबार राति के भयो ? परिस्थिति काबुबाहिर किन गयो ? सुरक्षाकर्मी कहाँ चुके ? लगायत प्रश्नको उत्तर खोज्ने प्रयास लोकान्तरले गरेको छ । त्यहाँ खटिएका सुरक्षाकर्मी र स्थानीय प्रशासनसँग कुराकानी गर्दा कप्तानगञ्जमा धार्मिक हिंसा भड्किनुको मुख्य कारण चोकमा राखिएको झण्डा फेर्ने घटना हो ।​

कप्तानगञ्जमा एउटा मुख्य चोक छ । तर, दुई धर्मावलम्बीले यसलाई छुट्टा–छुट्टै नाम दिएका छन् । हिन्दूले श्रीराम चोक र मुसलमानले बीपी चोक भन्ने गरेका छन् ।

इदको मोहरम मेलाका बेला मुस्लिम धर्मावलम्बीले आफ्नो झण्डा टाँगेर मेला गरे । साउनबाट बोलबम शुरू भयो ।

त्यसअघि हिन्दू युवाहरूले मोहरममा मुसलमानले टाँगेको झण्डा झिक्न स्थानीय तह र जिल्ला प्रशासनसम्मलाई गुहारेका थिए । झण्डा झिकिएन ।

गएको आइतबार राति त्यही चोकमा बोलबमको नारा लगाउँदै चर्को आवाजमा डिजे बजाउँदै आएको एउटा समूहले खाली ड्रममा राखिएका बाँसमा ‘जय भोले’ भनेर झण्डा टाँगे । त्यतिबेलासम्म रातिको आठ बजेको थियो । अनि शुरू भयो होहल्ला ।

मुस्लिम समुदायका मानिसहरू बाहिर निस्किन थाले । दुई पक्षबीच भनाभन र हानाहान शुरू भयो ।

शुरूमा सामान्य नै होला भनेर प्रहरी प्रशासनले पनि खासै वास्ता गरेन । इन्स्पेक्टरको नेतृत्वमा एउटा टोली पुग्यो ।

इन्स्पेक्टरको टोली पुगेर सम्झाउन खोज्दा उनलाई भाटाले टाउकामा हानेर भीडले घाइते बनाइदियो ।

उनी अहिले चार टाँका लगाएर उपचाररत छन् । सात जना प्रहरी घाइते भए । त्यसपछि डीएसपीकै टोली त्यहाँ पुग्यो ।

त्यहाँ दुई समूहबीच बाँसको भाटा र लौरो हानाहानको स्थिति थियो । पहिला पुगेको टोलीले स्थिति नियन्त्रणमा लिन सकेन । अनि माथि (जिल्ला प्रहरी कार्यालय सुनसरी) मा रिपोर्टिङ गर्‍यो ।

थप मद्दत जानै पर्ने स्थिति बन्यो । जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रमुख एसपी विदामा थिए । डीएसपीले प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरे । सीडीओले सशस्त्र प्रहरीका डीएसपीलाई सम्पर्क गरेर थप मद्दत पठाई प्रहरीको समन्वयमा काम गर्न निर्देशन दिए ।

जानकारहरूका अनुसार कप्तानगञ्जमा हिन्दूकै बाहुल्यता छ । मुस्लिम समुदायका ४० घर मात्रै छन् । आइतबार सशस्त्र प्रहरीको टोली मुस्लिमबहुल क्षेत्रमै परिचालित थिए ।

थप मद्दत कप्तानगञ्ज पुग्दा स्थिति काबु बाहिर पुगिसकेको थियो । झडपमा संलग्न दुवैतर्फले एकअर्काको घरटहरा जलाउन थाले ।

रातको साढे १० बजिसकेको थियो । अकस्मात विद्युत् लाइन गयो । त्यसपछि कप्तानगञ्ज अन्धकार बन्यो । अन्धकारमा प्रहरीका केही थान टर्चले काम गरेन । त्यहाँ को झगडालु, को सुरक्षाकर्मी एकले अर्कोलाई चिन्ने र बुझ्ने सम्भावना टर्‍यो । अनि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीको हवाइफायर बर्सिन थाल्यो ।

हवाइफायरले स्थिति नियन्त्रणमा आउनुको साटो झन् चर्कियो । आक्रोशित दुवै समूहको निशानामा परे सुरक्षाकर्मी (प्रहरी र सशस्त्र प्रहरी) । घर–घरबाट भाला, खुकुरी र तरबार लिएर आएका समूहले सुरक्षाकर्मी लक्षित आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि ताकेरै गोली प्रहार गर्ने स्थिति बनेको घटनास्थलमा रहेका सुरक्षाकर्मी बताउँछन् । १० जनालाई गोली लाग्यो । यतिबेलासम्म रातको साढे १२ बजिसकेको थियो ।

‘स्थिति त्यसपछि झन बिग्रियो, जब सुनसरीका रास्वपा सांसद लालविक्रम थापा घटनास्थलमा पुगेर उत्तेजित भाषण गरे,’ घटनास्थलमा खटिएका एक सुरक्षा अधिकारीले लोकान्तरसँग भने, ‘एक त मुस्लिम युवाहरू सांसद थापासँग आक्रोशित थिए, अर्कोतर्फ उनले उल्टै भीडलाई उकास्ने गरी प्रशासनविरुद्ध जथाभावी बोल्न थाले । भीड झन् आक्रोशित बन्यो ।’

सांसद थापालाई उत्तेजित भाषण गर्न रोक लागाउने सामर्थ्य कसैको भएन । ती सुरक्षा अधिकारीका अनुसार भीडले सुरक्षाकर्मी देख्नै नहुने, दुई पक्षको झडप रोक्ने प्रयास असफलजस्तै भयो ।

राति १ बजेपछि स्थिति सामान्यजस्तै बनेको थियो । तर, सोमबार बिहानैदेखि दुवै समूह हातमा घरेलु हतियारसहित आगजनी र तोडफोडमा उत्रिए । प्रशासनले कर्फ्यु आदेश जारी गर्‍यो । सेना परिचालित भए । स्थानीयले कर्फ्युलाई अवज्ञा गर्दै तोडफोड र आगजनीलाई निरन्तरता दिइरहे ।

‘अवस्था यस्तो भयो कि हिन्दूले मुस्लिम देख्नै नहुने, मुस्लिमले हिन्दूलाई देख्नै नहुने, हामीले त दुवै पक्षको सुरक्षा गर्नुपर्ने भयो,’ फिल्ड खटिएका एक सुरक्षाकर्मीले लोकान्तरसँग भने, ‘भाला, त्रिशुल र धारिलो हतियार लिएर आएकाले कुन बेला आक्रमण गर्ने हुन् भन्ने डर समेत पैदा हुन्थ्यो ।’

आइतबार रातिदेखि बिहीबारसम्मै कप्तानगञ्ज अशान्त छ । आज मात्रै त्यहाँ प्रहरी र सशस्त्र प्रहरी गरी एक सय १० जना र नेपाली सेनाका २ सय हाराहारीमा सुरक्षाकर्मी खटिएका छन् । तर, पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

मोरङदेखि पर्सासम्मै पुग्यो असर

कप्तानगञ्ज अझै अशान्त छ । कप्तानगञ्ज घटनामा दुई जनाको मृत्यु भइसक्यो । त्यहाँ हिन्दू र मुसलमान भन्दै युवाहरू आमनेसामनेको अवस्थामै छन् । यसको असर मोरङ, सप्तरी, सिरहा, धनुषा र पर्सासम्मै पुगिसकेको छ ।

सिरहा र धनुषा प्रशासनले निश्चित स्थान ताकेर बिहीबार अपराह्नदेखि अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेका छन् । सिरहाको लाहान र गोलबजारमा आगजनी र तोडफोड भएको छ । धनुषाको रामानन्द चोकमा बिहानैदेखि टायर बालेर स्थानीय प्रदर्शनमा उत्रिएका थिए ।

सिरहामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेका २० वर्षीय गणेश यादवको घटनास्थलमै मृत्यु भएको हो ।

बिहीबार दिनभरजसो जनकपुर बजार बन्द रह्यो । राजनीतिक स्थिरता नहुनु र तल्लो तहसम्म जग बसेका राजनीतिक दलहरू निष्क्रिय रहनुले नै कप्तानगञ्ज घटना चरमोत्कर्षमा पुगेको विश्लेषण राजनीतिक विश्लेषकहरूको छ ।

‘लोकल लेभलमा द्विपक्षीय झैझगडा पहिला पनि हुन्थ्यो, सर्वदलीय बैठक बसेर तत्काल समाधान गर्थे, झगडाको आगो त्यहीँ निभ्थ्यो । तर, अहिले भीडलाई सम्झाउने र बुझाउने शक्ति निष्क्रिय छ,’ राजनीतिक विश्लेषक चन्द्रकिशोरले लोकान्तरसँग भने ।

उनले सुरक्षा निकाय डिमोरलाइज भएकाले पनि स्थिति बिग्रिँदै गएको बताए । ‘एकातर्फ राजनीतिक शक्ति निष्क्रिय भए, अर्कोतर्फ प्रशासनलाई डिमोरलाइज गरियो,’ उनले थपे, ‘जेनजी आन्दोलनपछि जसरी सुरक्षा निकायमाथि सरकारी हस्तक्षेप बढ्न थाल्यो, त्यसैको असर अहिले देखिन थालेको हो, कसले किन रिक्स लिने ? सीडीओहरू आत्तिएका छन् । प्रहरी प्रशासन आत्तिएको छ । यस्तो अवस्थामा राज्य सामाजिक सञ्जालमा रमाएर बस्नुहुँदैन ।’

अहिले सरकारमा रहेको रास्वपाको जनमत तल्लो तहमा सक्रिय नभएकै कारण भीडलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेको बुझाइ चन्द्रकिशोरको छ । सामाजिक घृणा फैलाउने घटनालाई सरकारले समान्यीकरण गर्नु र त्यसलाई उकास्ने काममा स्वार्थ समूह लाग्दा परिस्थिति काबुबाहिर जाने डर यथावत रहेको उनी बताउँछन् ।

समाजलाई भड्किन नदिन अनेक उपाय हुँदा–हुँदै पनि सरकार सामाजिक सञ्जाल र सेनामाथि भर पर्दा त्यसको परिणाम राम्रो नहुने तर्क चन्द्रकिशोरको छ ।

अर्का राजनीतिक विश्लेषक कृष्ण पोखरेल मधेश प्रदेशमा वा अन्य प्रदेशमा रहेका अल्पसंख्यक समुदाय विशेषगरी मुस्लिम समुदायको सुरक्षामा राज्यले बेलैमा ध्यान दिनुपर्ने बताउँछन् ।

उनले भने, ‘देवानगञ्ज घटना छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्छ । यो सँगै अब झडप मधेश प्रदेशतिर गइसक्यो, यस्तो अवस्थामा राज्यले सुझबुझ ढंगले काम गर्नुपर्छ ।’

देवानगञ्जबाट शुरू भएको घटनालाई साम्प्रदायिक रंग दिने प्रयास भइरहेको उनले बताए ।

‘विगतमा पनि यस्ता झडप हुन्थे, तुरुन्तै समाधान हुन्थ्यो, तर अहिले एकपछि अर्को जिल्लामा प्रदर्शन भइरहेका छ । यो सामान्य घटना होइन,’ उनी भन्छन्, ‘मधेश प्रदेश अलि संवेदनशील छ । धार्मिक–साम्प्रदायिक हिंसा विस्तारै जातीयतातिर गयो भने यसले झन् ठूलो विस्फोट हुन सक्छ, सरकार गम्भीर हुनुपर्छ ।’

पत्रकार एवं विश्लेषक रामरिझन यादव जनप्रतिनिधि र प्रशासनको लापरबाहीका कारण कप्तानगञ्जनको घटनाले ठूलै रूप लिएको बताउँछन् ।

उनले भने, ‘मोहरम मेलामा झण्डा झिकिदिन पटक–पटक स्थानीय तह र प्रशासनलाई भन्दा पनि उनीहरूले नझिकेपछि स्थिति अशान्त बन्न पुग्यो, अब यो आगो मधेशमा पनि सल्किसक्यो । साम्प्रदायिक दंगा बेलैमा रोक्ने प्रयास भएन भने स्थिति भयावह हुने देखिन्छ ।’

उनले परिस्थितिको फाइदा उठाएर त्यहीँभित्र खेल्ने समूह चिनेर सुझबुझपूर्ण तबरले सरकार अगाडि बढ्नुपर्ने बताए ।

NAIMA

कमेन्ट गर्नुहोस्