
विश्व फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफए) अहिले इतिहासकै सबैभन्दा गम्भीर संकटको संघारमा उभिएका छन् ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबल प्रतियोगितामा निजी लगानीकर्ता भित्र्याउने र प्रतियोगिताको स्वामित्वको केही अंश बिक्री गर्ने विवादास्पद योजना अघि सारेपछि फुटबल जगतमा भूकम्प गएको हो ।
यदि फिफाले यो योजना अघि बढाए, च्याम्पियन स्पेनसहित युरोपका सबै राष्ट्रले विश्वकप बहिष्कार गर्ने चेतावनी दिएका छन् । युरोपेली देशका राष्ट्रिय फुटबल संघहरूले फिफालाई विश्वकप बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।
यो विवाद यति चर्किएको छ कि खेलप्रेमीहरूले यसलाई सन् २०२१ मा विश्व फुटबललाई हल्लाएको ‘युरोपियन सुपर लिग’ प्रकरणपछिकै सबैभन्दा ठूलो संकटका रूपमा हेरेका छन् ।
फिफाले ‘फिफा फरवार्ड इन्टरप्राइज’ अर्थात्, (एफएफई) नामक एउटा व्यावसायिक सहायक कम्पनी खडा गर्ने र त्यसमा बाह्य निजी लगानीकर्ताहरूलाई ‘सेयर’ बेच्ने योजना बनाएको छ ।
यसका लागि फिफाले आफ्ना दुई सय ११ सदस्य राष्ट्रहरूबीच मतदान गराउँदै छ । फिफा अध्यक्ष इन्फान्टिनोले यो प्रस्तावलाई समर्थन गर्ने राष्ट्रहरूलाई चार करोड अमेरिकी दिने प्रलोभन दिएका छन् ।
उनले आगामी सेप्टेम्बर १९ तारिखसम्ममा यो योजना स्वीकार गर्न सदस्य राष्ट्रहरूलाई समयसीमा पनि तोकेका छन् ।
फिफाको भित्री योजनाअनुसार, यदि यो प्रस्ताव पारित भए अमेरिकाको ‘थ्राइभ इटरनल’ नामक भेन्चर क्यापिटल फर्म यसमा प्रमुख लगानीकर्ता बन्नेछ ।
यूईएफएले फिफाको यो कदमलाई फुटबलको गरिमामाथिको गम्भीर प्रहार भन्दै कडा आपत्ति जनाएको छ । यूईएफएले यो निर्णय लागू भए विश्वकप नै बहिष्कार गर्ने कडा चेतावनीसमेत दिएका छन् ।
युरोपेली संघका सदस्यहरूले एउटै स्वरमा भनेका छन्, ‘विश्वकप कुनै लगानीको वस्तु होइन । यो पुस्ता–पुस्तादेखि खेलाडी र समर्थकहरूले बनाएको खेलको विरासत हो । यसको कुनै पनि अंश निजी लगानीकर्तालाई सुम्पिन मिल्दैन । विश्वकप बिक्रीका लागि हुँदै होइन ।’
युरोपेली फुटबलको शक्ति केन्द्र मानिने यूईएफएले यसलाई ‘नेतृत्वको असफलता’ र ‘डर–धम्कीपूर्ण शासन’को संज्ञा पनि दिएको छ ।
यूईएफए उपाध्यक्ष लाउरा म्याकएलिस्टरले यो प्रस्ताव खेलको अस्तित्वकै लागि खतरा भएको बताएकी छन् । उनले फिफा अध्यक्षको यो कदमले विश्वकपको गरिमालाई नै संकटमा पार्ने टिप्पणी गरेकी छन् ।
युरोप मात्र होइन, उत्तर र मध्य अमेरिकाको फुटबल नियामक निकाय ‘कन्काकाफ’ले पनि फिफाको यो प्रस्तावलाई ठाडै अस्वीकार गरेको छ ।
कन्काकाफले फिफा अध्यक्ष इन्फान्टिनोमाथिको विश्वास गुमेको गम्भीर टिप्पणी पनि गरेको छ । उनीहरूले छोटो समयसीमा तोकेर पारदर्शी छलफलबिना नै योजना थोपर्न खोजेकोमा आरोप लगाए ।
बेलायतकी संस्कृति मन्त्री लिसा नान्डीले पनि यो कदमको आलोचना गरेकी छन् । उनी भन्छिन्, ‘फुटबल अर्बपति लगानीकर्ताको होइन, यो समर्थकहरूको खेल हो । चुप लागेर बस्नु हुँदैन ।’
फिफा र यूईएफएबीचको यो विवादले फुटबलको भविष्यलाई नै अनिश्चित बनाइदिएको छ । यदि, युरोपेली टोलीहरूले विश्वकप बहिष्कार गरे भने त्यो फिफाका लागि आत्मघाती कदम हुनेछ ।
पछिल्ला विश्वकपहरूमा सेमिफाइनलसम्म पुग्ने अधिकांश टोली युरोपका नै हुने गरेका छन् । युरोपबिनाको विश्वकपको व्यावसायिक मूल्य र आकर्षण कल्पना गर्नै नसकिने हुन्छ ।
विशेषज्ञहरूका अनुसार, यदि यो विवाद छिट्टै सुल्झिएन भने विश्व फुटबल दुई खेमामा विभाजित हुन कसैले रोक्न सक्ने छैन ।
यद्यपि, एफएका पूर्वअध्यक्ष डेभिड बर्नस्टाइनजस्ता व्यक्तित्वहरू भने यो विवादको उपयुक्त समाधान निस्कनेमा आशावादी छन् ।
फुटबलको इतिहासमा यो एउटा यस्तो मोड हो, जहाँ पैसा र खेलको विरासत आमने–सामने छन् । अब फिफा पछि हट्छ वा फुटबलको यो महाकुम्भ साँच्चै नै निजी लगानीकर्ताको हातमा पुग्छ ? यसको जवाफ आगामी केही दिन वा साताभित्रै स्पष्ट हुनेछ ।