
कठिन छनोट चरण पार गरेर पनि आगामी एसियाली खेलकुदमा सहभागी हुन नपाएका ई–स्पोर्टस खेलका खेलाडीहरूले सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
केही समयअघि भियतनाममा आयोजना भएको छनोट प्रतियोगितामा सातौँ वरीयता हासिल गरेर नेपाली टोलीले आगामी एसियाली खेलकुदमा स्थान पक्का गरेको थियो।
एसियाली खेलकुदको २०औँ संस्करण आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ ।
गत जुन १५ तारिखभित्रमा एसियाली खेलकुदका लागि खेलाडी दर्ता गरिसक्नुपर्ने समयसीमा तोकिएको थियो । तर, सरकारले त्यो अवधिभित्र ई–स्पोर्टसका खेलाडीको नाम दर्ता गराएन।
छनोट चरण पार गरेर पनि एसियाली खेलकुदमा सहभागिताको अवसरबाट वञ्चित गराइएको भन्दै खेलाडीहरूले मानसिक तनाव भोग्नु परेको दु:खेसो खेलाडीहरूले गरेका छन् ।
खेलाडीहरूले सरकारसँग स्पष्ट जवाफ पनि माग गरेका छन्। ई–स्पोर्टस खेलाडीहरूले आफूहरू कानुनी उपचारको खोजीमा लाग्ने चेतावनी पनि दिएका छन् ।
पछिल्लो समय नेपालमा पनि ई–स्पोर्टस खेल निकै लोकप्रिय बन्दै गएको छ । यसअघि, १९औँ एसियाली खेलकुदमा पनि नेपाली ई–स्पोर्टस खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
खेलाडीहरूका अनुसार, हाल नेपालमा ई–स्पोर्टस एसोसिएसन अफ नेपाल (इशान) र नेपाल ई–स्पोर्टस संघ (नेसा) गरी ई–स्पोर्टस खेलका दुईवटा संघ अस्तित्वमा छन् ।
यी दुई संघबीच देखिएको आपसी विवादका कारण नै खेलाडीहरू मारमा परेका हुन्, जुन सगम्र खेल क्षेत्रकै लागि दूर्भाग्यपूर्ण हो ।
नेपाल पब्जी टोलीका व्यवस्थापक होमराज तामाङका अनुसार, यी दुई संघबीच आपसी समन्वय भए खेलाडीहरूले अझै पनि देशको प्रतिनिधित्व गर्दै एसियाड खेल्न पाउने सम्भावना छ ।
उनी भन्छन्, ‘यी दुई संघबीच समन्वय भएमा अझै पनि हाम्रा खेलाडीले एसियाड खेल्न पाउने सम्भावना छ । छनोट भएर पनि खेल्न नपाउँदा खेलाडीहरू मानसिक तनावमा छन्,’ उनी भन्छन् ।
उनले ई–स्पोर्टस खेलाडीलाई एसियाडमा सहभागी नगराउनुको कारणबारे आफूहरूले सरकारसँग जवाफ माग गरेको जानकारी पनि उनले दिए ।
‘यो प्रतियोगिताका लागि हाम्रा खेलाडीले लामो तयारी गरेका थिए । छनोट चरण पनि पार गरे । तर, खेल्नबाट भने वञ्चित भएका छन् । हामीले सरकारसँग जवाफ मागेका छौं । तर, अहिलेसम्म कतैबाट पनि चित्तबुझ्दो जवाफ पाएका छैनौं,’ उनले गुनासो गरे।
उनले आफूहरू पटक–पटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र ई–स्पोर्टस संघमा पनि गएको तर, स्पष्ट जवाफ नपाएको बताए ।
ई–स्पोर्टसका दुईवटा संघ अस्तित्वमा रहँदा आफूहरू राजनीतिक दाउपेचको शिकार भएको आरोप खेलाडीहरूले लगाएका छन्।
यसअघि, सकारले ई–स्पोर्टससहित २३ खेलका खेलाडीलाई आगामी एसियाली खेलकुदमा सहभागी गराउने भएको थियो । तर, अन्तिम समयमा आएर ई–स्पोर्टसको नाम हटाइएको हो ।
हाल सरकारले नेपाल ओलम्पिक कमिटी (एनओसी)मार्फत २२ खेलका खेलाडीको नाम एसियाडका लागि दर्ता गराएको छ। तर, त्यसमा ई–स्पोर्टसलाई समेटिएको छैन ।
नेपालबाट पब्जी मोबाइल, मोबाइल लेजेन्ड्स र अनर अफ किङ्सका १२ जना खेलाडी एसियाडका लागि छनोट भएका छन्। तर, ई–स्पोर्टसका खेलाडीहरू एसियाडको अन्तिम तयारीमा व्यस्त हुनुपर्ने समयमा सहभागिताकै सुनिश्चितताका लागि विभिन्न निकाय धाउन बाध्य छन् ।
यसअघि, चीनमा आयोजित १९औँ एसियाडमा नेपाली ई–स्पोर्टस खेलाडी पदकको नजिक पुगेर चुकेका थिए । पब्जी खेलाडी दीपेश गुरुङ भन्छन्, ‘सरकारले खेलाडीको परिश्रम र मर्मलाई बुझ्न सकेन । निकै चित्त दु:खेको छ । छनोट चरण पार गरेर पनि खेल्न नपाउनु दूर्भाग्य हो।’
उनी यतिसम्म हतप्रभ र निराश छन् कि, आगामी एसियाली खेलकुदमा सहभागिता जनाउन नपाए खेलजीवनबाटै सन्न्यास लिने गुनासो गर्छन्।
अर्का युवा खेलाडी समीर कोस्टेलो पनि सरकारको व्यवहारबाट आफूहरू हतास भइसकेको बताउँछन् । ‘एसियाली खेलकुदजस्तो ठूलो प्रतियोगितामा छनोट हुन नै निकै संघर्ष गर्नुपर्छ । हामी त छनोट चरण नै पार गरेर आएका छौँ । त्यैपनि सरकारले बेवास्ता गरिरहेको छ,’ २० वर्षीय समीर भन्छन् ।
यसैगरी, अर्का खेलाडी सोनु कार्की पनि सरकारले नै बेवास्ता गरेपछि परिवारले आफूलाई अब सम्पूर्ण ध्यान अध्ययनमा केन्द्रित गर्न सुझाव दिएको बताउँछन् । ‘खै कसलाई के भन्ने, सुन्नु पर्ने निकायले नै बेवास्ता गरेपछि ?’ उनी भन्छन् ।
समग्रमा, नेपालमा ई–स्पोर्टसका दुईवटा संघ अस्तित्वमा रहनु नै विवादको मुख्य कारण हो । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ को दफा २२ (२क) ले भने ‘प्रत्येक खेलका लागि एउटा मात्र खेल संघ हुनुपर्ने’ व्यवस्था गरेको छ ।