२७ साउन २०८३, बुधबार

आईसीसी क्रिकेट विश्वकप–२०२७ : अफ्रिकी क्रिकेटमा आएको कायापलट र नयाँ युगको शुरूआत

साउन १६, २०८३
काठमाडौं
आईसीसी क्रिकेट विश्वकप–२०२७ : अफ्रिकी क्रिकेटमा आएको कायापलट र नयाँ युगको शुरूआत
  • फिरदोष मुन्डा

सन् २००३ मा अफ्रिकी भूमिमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेट आयोजना हुँदा त्यहाँको क्रिकेटको स्वरूप आजको भन्दा निकै फरक थियो ।

तत्कालीन समयमा माखाया एनतिनीजस्ता खेलाडीका लागि विश्वकप खेल्नु कल्पनाभन्दा बाहिरको कुरा थियो भने टेम्बा बाभुमा केवल १२ वर्षका थिए । कागिसो राबडाले त खेलको शुरूआतसमेत गरेका थिएनन् ।

तर, त्यसको २४ वर्षपछि सन् २०२७ मा अफ्रिकाले पुन: पुरुष एकदिवसीय विश्वकप आयोजना गर्दैछ । यसपटकको प्रतियोगिताले केवल क्रिकेट मात्र नभई अफ्रिकी महादेशमा आएको आमूल परिवर्तनको कथा पनि बोल्नेछ ।

दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाको सह–आयोजनमा हुने विश्वकपको १४औँ संस्करणले ‘अल्पसंख्यकको खेल’बाट ‘जनताको खेल’मा बदलिएको अफ्रिकी क्रिकेटको नयाँ तस्वीर प्रस्तुत गर्नेछ ।

आगामी विश्वकपको औपचारिक शुभारम्भ गर्दै ‘कम फर द क्रिकेट, स्टे फर द कल्चर’ अर्थात्, ‘क्रिकेटका लागि आउनुहोस् र संस्कृतिका लागि बस्नुहोस्’ भन्ने नारा तय गरिएको छ ।

दक्षिण अफ्रिकी टोलीका कप्तान बाभुमा यो प्रतियोगिता अफ्रिकाको लुकेको सुन्दरता र विविधता प्रदर्शन गर्ने सुनौलो अवसर भएको बताउँछन् ।

उनी भन्छन्, ‘यो हाम्रा लागि एउटा उत्कृष्ट अवसर हो । अब दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबिया मिलेर केही राम्रो गर्ने समय आएको छ ।’

दक्षिण अफ्रिकाका स्टार बलर कागिसो राबडाले पनि घरेलु मैदानमै विश्वकप खेल्न पाउने कुराले आफूहरू निकै उत्साहित बनेका बताएका छन् ।

सन् २००३ को विश्वकपमा दक्षिण अफ्रिकी टोलीको प्रदर्शन र त्यसपछिको आलोचनालाई सम्झँदै पूर्वखेलाडी एनतिनीले सञ्चारमाध्यमहरूसँग खेलाडीमाथि अनावश्यक दबाब नदिन आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘हामीले सन् २००३ यता धेरै प्रगति गरेका छौँ, अब त्यसैमा केन्द्रित हुनुपर्छ ।’ राबडाले पनि पहिलेको तुलनामा अहिले क्रिकेटमा धेरै विविधता आएको र दर्शकको दायरासमेत फराकिलो भएको बताएका छन् ।

जिम्बाब्वे क्रिकेटका पूर्वकप्तान ह्यामिल्टन मासाकाड्जाले पनि आफ्नो देशमा क्रिकेटले सामाजिक संरचनालाई समेट्दै अघि बढेको र खेलको लोकप्रियता ह्वात्तै बढेको उल्लेख गरे ।

यसैगरी, नामिबियाले पनि आफ्नो ४० लाख जनसंख्याबीच क्रिकेटलाई जीवन्त बनाउन नयाँ र अत्याधुनिक रंगशालाहरू निर्माण गरेको छ ।

यसपटकको विश्वकपले केवल खेलमात्र होइन, क्षेत्रीय एकताको सन्देश पनि दिने अपेक्षा गरिएको छ । हाल दक्षिण अफ्रिकामा विदेशीप्रतिको बढ्दो घृणाको समस्यालाई लक्षित गर्दै दक्षिण अफ्रिकाका पूर्ववित्तमन्त्री ट्रेभर म्यानुएलले गतिलो सन्देश दिएका छन् ।

उनी भन्छन्, ‘सिमाना र राहदानीभन्दा माथि उठेर हामी एक हुनुपर्छ । घृणा, असहिष्णुता र हिंसाका लागि हाम्रो समाजमा कुनै स्थान छैन ।’

राजनीतिक खिचातानीका बाबजुद दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले क्रिकेटमार्फत अफ्रिकाको नयाँ उचाइको सपना देखिरहेका छन् ।

हालैका दिनहरूमा अफ्रिकी क्रिकेट संघले विभिन्न नयाँ प्रतियोगिताहरू शुरू गर्ने योजना सार्वजनिक गरिरहेको छ ।

व्यावसायिक रूपमा अन्य महादेशको तुलनामा पछि परे पनि अफ्रिकी क्रिकेटले ‘दिस टाइम फर अफ्रिकी’ अर्थात्,’ ‘यो समय अफ्रिकाको हो’ भन्ने सन्देशलाई विश्वसामु छर्न थालेको छ ।

NAIMA

कमेन्ट गर्नुहोस्