२७ साउन २०८३, बुधबार
रामबहादुरको रामकहानी

चुनाव हारेपछि जागिर खुवाउन स्कूल खोले, बाँझो बारीमा चिया रोपे, त्यसपछि उनले चुनाव हारेनन्

साउन १६, २०८३
विराटनगर
चुनाव हारेपछि जागिर खुवाउन स्कूल खोले, बाँझो बारीमा चिया रोपे, त्यसपछि उनले चुनाव हारेनन्

इलामको मङ्गलबारे गाविस हाल (देउमाई नगरपालिका)मा २०४८ सालको चुनावी सरगर्मी उत्कर्षमा थियो । बहुदलपछिको पहिलो स्थानीय निर्वाचन भएकाले युवाहरूमा छुट्टै जोस थियो । त्यही भीडमा एकजना जुझारु युवक थिए- रामबहादुर राना मगर । 

विद्यार्थी राजनीतिमा राम्रै नाम कमाएका, अनेरास्ववियुको केन्द्रीय कमिटीसम्म पुगिसकेका रामबहादुरलाई लाग्थ्यो, उनको जित सुनिश्चित छ । तर, जब मतपरिणाम सार्वजनिक भयो, उनी छाँगाबाट खसेझैँ भए । उनी चुनाव हारिसकेका थिए । 

त्यो हार केवल अंकको हार मात्र थिएन, त्यो उनको अस्तित्व र पहिचानमाथि लागेको एउटा ठूलो प्रश्नचिन्ह थियो । हारको पीडाले छटपटिएका रामबहादुरले केही दिन एकान्तमा बसेर हारको सूक्ष्म विश्लेषण गरे । उनले पत्ता लगाएको निष्कर्ष निकै नमीठो तर यथार्थपरक थियो । 

समाजमा उनको आफ्नै परिचय नै बनेको रहेनछ । मानिसहरूले उनलाई फलानोको छोरो वा त्यो टाठाबाठाको नाति भनेर त चिन्थे, तर रामबहादुर रानाको आफ्नै छुट्टै वजन समाजमा स्थापित भइसकेको रहेनछ । नेपाली समाजको त्यो पुरानो संरचना, जहाँ मानिसलाई उसको बाबुबाजेको नामबाट चिनिन्छ, त्यही संरचना उनको राजनीतिक यात्रामा तगारो बनेर उभियो । उनले बुझे- समाजमा आफ्नो कुरा बिकाउन र मानिसको विश्वास जित्न पहिले आफ्नो नामको अगाडि लागेको पुर्ख्यौली बिल्ला हटाएर आफ्नै कर्मको एउटा नयाँ ब्रान्ड बनाउनुपर्छ । त्यतिबेला चुनाव जित्नका लागि रोजगारीलाई सबैभन्दा ठूलो एजेन्डा बनाइन्थ्यो । जसले धेरै जागिर खुवायो उसलाई नै नेता मान्ने गर्थे ।

त्यही हारको जगमा उभिएर उनले एउटा नयाँ बाटो रोज्ने निर्णय गरे । त्यतिबेला इलामको माथिल्लो भेगमा शिक्षाको अवस्था दयनीय थियो । गुणस्तरीय शिक्षाका लागि आफ्ना बालबालिकालाई कि त तराईका ताता फाँटमा झार्नुपर्थ्यो कि त टाढाको होस्टलमा पठाउनुपर्थ्यो । 

यो समस्यालाई रामबहादुरले आफ्नो परिचय बदल्ने अवसरको रूपमा लिए । उनले आफ्ना केही विचार मिल्ने साथीहरूलाई भेला पारे र एउटा आँटिलो प्रस्ताव राखे- गाउँमै सुविधासम्पन्न निजी विद्यालय खोल्ने । फलत: २०५० सालमा सूर्योदय शिक्षा सदनको स्थापना भयो । 

यो कुनै सामान्य विद्यालय मात्र थिएन, यो रामबहादुरको सपनाको पहिलो इँटा थियो । स्कूल खोलेर जागिर खुवाउने र चुनाव जित्ने पनि उनको लक्ष्य थियो । आलोकाचो उमेर नै भएकाले उनले काम गरे पनि ढङ्ग भने पुर्‍याउन सकेनन् ।

उनले एउटा यस्तो जोखिम मोले, जुन आजको समयमा पनि सुन्दा अचम्म लाग्छ । उनले विद्यालय खोल्दा नर्सरीबाट मात्र शुरू गरेनन्, बरु एकैचोटी कक्षा ९ सम्म सञ्चालन गर्ने अनुमति लिए । तत्कालीन समयमा पहाडी जिल्लामा कक्षा ९ सम्मको निजी विद्यालय चलाउनु र त्यसको अनुमति लिनु फलामको चिउरा चपाउनु सरह थियो । 

क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटा धाउँदाका ती दिनहरू निकै कष्टकर थिए । ‘अनुमतिका लागि त्यहाँ जाँदा कागजात पुगेन भने अहिले जस्तो सजिलो यातायातको साधन थिएन,’ उनले भने, ‘ठूलो संघर्ष गरेर बिद्याल सञ्चालन गरीयो ।’

तर, उनको दृढ इच्छाशक्ति अगाडि प्रशासनिक झमेलाहरू पराजित भए । विद्यालय सञ्चालनमा आयो र छोटो समयमै यसले इलामभरि चर्चा कमायो । विद्यालयको संस्थापक प्रिन्सिपलका रूपमा उनी घर–घरमा पुगे ।  अब उनी फलानोको छोरो मात्र रहेनन्, उनी समाजका छोराछोरीको भविष्य उज्ज्वल बनाउने रामबहादुर सर बने ।  शिक्षाको यो ज्योतिले उनको गुमेको साख मात्र फर्काएन, समाजमा एउटा बौद्धिक व्यक्तित्वको छवि पनि निर्माण गरिदियो ।

null

शिक्षाको क्षेत्रमा एउटा इँटा थपेपछि उनको नजर इलामका ती बाँझा पाखाहरूमा पुग्यो, जहाँ केवल तितेपाती र ऐँसेलुका झाडी मात्र उम्रिन्थे । इलाम चियाका लागि प्रसिद्ध भए पनि धेरैजसो ठूला बगान कि त सरकारी थिए कि त बाहिरिया लगानीकर्ताका । 

स्थानीय मानिसहरू ती बगानमा केवल मजदुरका रूपमा मात्र काम गर्थे । ‘हाम्रो जमिनमा बाहिरका मान्छे आएर चिया रोप्ने र हामी चाहिँ रमिते मात्र बन्ने ?’ भन्ने प्रश्नले उनलाई गिजोलिरह्यो ।  उनले फेरि एउटा नयाँ आर्थिक क्रान्तिको बिगुल फुके ।  

उनले आफ्ना साथीहरू, जसमा केही प्राध्यापक, वकिल र डाक्टरहरू पनि थिए, उनीहरूलाई समेटेर एउटा ठूलो व्यावसायिक योजना अघि सारे । झण्डै ४ सय रोपनी बाँझो र झाडीले भरिएको जमिन खरिद गरेर उनले चिया रोप्ने योजना बनाए ।

त्यो जमिन यस्तो थियो, जहाँ धेरै वर्षदेखि खेतीपाती भएको थिएन । तर, त्यही झाडी फाँडेर जब उनले चियाका बिरुवा रोपे, तब इलामको त्यो पाखोले नयाँ जीवन पायो ।  जङ्गलको पुरानो माटो सुरक्षित भएकाले उनले रोपेका बिरुवा ९० प्रतिशतभन्दा बढी बाँचे ।  यो एउटा ठूलो सफलता थियो । आज त्यही बगान पानीटारको नामले चिनिन्छ । 

पानीटार आज केवल चिया उत्पादन गर्ने थलो मात्र होइन, यो इलामको एउटा सानदार पर्यटकीय गन्तव्य बनेको छ । त्यहाँको हरियाली र चियाका बुट्टाहरूको सुन्दरताले आज हजारौं पर्यटकलाई आकर्षित गरिरहेको छ । नेपाली चलचित्रका सुटिङदेखि चर्चित म्युजिक भिडियोका दृश्यसम्म पानीटारका यी पाखाहरूमा कैद हुन थालेका छन् । सामाजिक सञ्जालमा भाइरल हुने तस्वीरले पानीटारको चर्चा देश–विदेशमा पुर्‍याएको छ । यो चिया बगानले प्रत्यक्ष रूपमा सयौंलाई रोजगारी दियो भने अप्रत्यक्ष रूपमा इलामको पर्यटनलाई नयाँ उचाइमा पुर्‍यायो ।

यसरी शिक्षा र उद्योगका माध्यमबाट रामबहादुरले आफ्नो एउटा यस्तो बलियो आधार तयार पारे, जसलाई कसैले छोरो र नातिको बिल्ला भिराएर नजरअन्दाज गर्न सक्दैनथ्यो । ६ वर्षको यो अन्तरालमा उनले राजनीतिलाई भुलेका भने थिएनन् ।  बरु, उनले त राजनीतिका लागि आवश्यक पर्ने सबैभन्दा ठूलो पुँजी ‘जनविश्वास’ कमाइरहेका थिए । 

२०५४ सालमा पुन: स्थानीय निर्वाचनको साइत जुर्‍यो । ०४८ सालमा चुनाव हारेको त्यही पद र त्यही भूगोलमा उनी फेरि उम्मेदवार बने । तर यसपटकको माहोल ०४८ सालको भन्दा बिल्कुलै फरक थियो ।  यसपटक उनीसँग केवल एउटा राजनीतिक दलको झण्डा मात्र थिएन, उनीसँग त सयौं विद्यार्थीको भविष्य जोडिएको स्कूल र सयौं मजदुरलाई गाँस दिने चिया बगानको ठोस योगदान थियो । 

null

जनताले यसपटक उनलाई केवल एउटा नेताका रूपमा मात्र होइन, बरु एउटा सफल उद्यमी र समाजसेवीका रूपमा हृदयदेखि स्वीकार गरे । परिणामस्वरूप, उनले भारी मतका साथ निर्वाचन जिते । ०४८ सालको त्यो नमीठो हारले उनलाई जुन पाठ सिकाएको थियो, ०५४ सालको जितले त्यसलाई प्रमाणित गरिदियो । त्यो जितले उनलाई स्थानीय राजनीतिबाट माथि उठाएर राष्ट्रिय राजनीतितिर डोर्‍यायो ।

उनी पछिल्लोपटक  इलाम २ (२)बाट दुई पटक प्रदेशसभामा निर्वाचित भइसकेका छन् । उनी कोशी प्रदेशको कृषि र आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् । तर, उनी आफ्नो यो सफलताको श्रेय ती ०४८ सालका मतदाताहरूलाई दिन्छन्, जसले उनलाई हराएर आफ्नो परिचय खोज्न बाध्य पारेका थिए । 

यदि उनले त्यो चुनाव जितेका भए, सायद उनी एउटा सामान्य राजनीतिक कार्यकर्ता मात्र भएर सीमित हुने थिए । तर, त्यो हारले उनलाई शिक्षा र उद्योगको मैदानमा पुर्‍यायो, जसले उनलाई एउटा परिपक्व र दूरदर्शी नेता बनायो । पानीटारको त्यो हरियाली आज पनि रामबहादुरको मेहेनतको कथा सुनाइरहेको छ । 

आज पनि जब मानिसहरू पानीटारमा बसेर चियाको चुस्की लिन्छन् वा त्यहाँका तस्वीर सामाजिक सञ्जालमा देख्छन्, उनीहरूले एउटा यस्तो मान्छेको संघर्षलाई सम्झिन्छन्, जसले आफ्नो अस्तित्वका लागि बाँझो पाखोमा सपना रोपेको थियो । उनको यो जीवन यात्रा केवल एउटा व्यक्तिको कथा मात्र होइन, यो त हारलाई जितमा बदल्न चाहने हरेक युवाका लागि एउटा जीवन्त पाठ हो । 

राजनीति भनेको केवल पद र शक्ति मात्र होइन, बरु यो त समाजको आवश्यकता र विकाससँग जोडिने एउटा माध्यम हो भन्ने कुरा रामबहादुरले आफ्नै कर्मबाट प्रमाणित गरेर देखाएका छन् ।

NAIMA

कमेन्ट गर्नुहोस्