२७ साउन २०८३, बुधबार
अवैध ट्राभल डकुमेन्ट धन्दा

परराष्ट्रका सहसचिव पक्राउ प्रकरण: १७ वर्षअघिको घटना, जर्मन दूतावासको पत्रले खुलेको थियो पोल

साउन १८, २०८३
काठमाडौं
परराष्ट्रका सहसचिव पक्राउ प्रकरण: १७ वर्षअघिको घटना, जर्मन दूतावासको पत्रले खुलेको थियो पोल

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार पक्राउ गरेका परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईविरुद्ध साउन ११ गते काठमाडौं जिल्ला अदालतमा राहदानी ऐनविरुद्धको कसूरमा मुद्दा दायर भैसकेको खुलेको छ ।

परराष्ट्र मन्त्रालयमा तत्कालीन समय (करिब १७ वर्षअघि) मा नायब सुब्बा पदमा कार्यरत रहेका भट्टराईमाथि गैरकानूनी रूपमा यात्रा अनुमतिपत्र जारी गरेको अभियोग लागेको हो  ।

उनीले तत्कालीन राहदानी ऐन, २०२४ को दफा ५ तथा हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) बमोजिमको कसूर गरेको अभियोगपत्रमा दाबी लिइएको छ ।

भट्टराईले परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा राहदानी र यात्रा अनुमतिपत्र जारी गर्ने जिम्मेवारीमा रहँदा नेपाल सरकारको पूर्वस्वीकृति वा गृह मन्त्रालयको सिफारिसविना नै गैरकानूनी रूपमा झुट्टा विवरणका आधारमा तिब्बती शरणार्थीहरूलाई यात्रा अनुमतिपत्र जारी गरेको अभियोगपत्रमा उल्लेख छ ।

ती यात्रा अनुमतिपत्रहरू नेपाली दूतावास कायरो (इजिप्ट) पठाउने भनी मन्त्रालयबाट बुझिएको भए पनि कायरो नपुर्‍याई गैरकानूनी रूपमा तिनै तिब्बती शरणार्थीहरूलाई जर्मनी जानका लागि उपलब्ध गराइएको अभियोगपत्रमा उल्लेख छ ।

जर्मन राजदूतावासको पत्रबाट शुरू भएको अनुसन्धान

यो मुद्दाको अनुसन्धान जर्मन राजदूतावासले सन् २०११ जुन ३ मा पठाएको पत्रबाट शुरू भएको अभियोगपत्रमा उल्लेख छ ।

जर्मन राजदूतावासमा दुईवटा तिब्बती परिवार (चुङ्गोत्साङ र गोङ्दा साङ) का सदस्यहरूले पारिवारिक पुनर्मिलनका लागि जर्मनी जान भिसा आवेदन दिएका थिए ।

उनीहरूले भिसा आवेदनको साथमा नेपालको परराष्ट्र मन्त्रालयबाट सन् २००९ अगस्ट ४ र डिसेम्बर १४ मा जारी भएका सक्कल नेपाली यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) पेस गरेका थिए ।

दूतावासले सोधपुछ गर्दा ती परिवारले आफूहरू भर्खरै तिब्बतबाट आएका शरणार्थी भएको र जर्मनीमा रहेका आफ्ना श्रीमती वा आमाहरूलाई भेट्न जान चाहेको बताएका थिए ।

नवआगन्तुक तिब्बती शरणार्थीले कसरी नेपाली यात्रा अनुमतिपत्र प्राप्त गर्न सके भन्ने कुरामा शंका लागेर राजदूतावासले परराष्ट्र मन्त्रालय र अध्यागमन विभागमा  बुझ्दा परराष्ट्र मन्त्रालयबाट ती कागजात जारी भएको तर, अध्यागमन विभागबाट कुनै सिफारिस नभएको खुल्यो ।

दूतावासले थप सोधपुछ गर्दा ती निवेदकहरूले प्रत्येक यात्रा अनुमतिपत्र प्राप्त गर्नका लागि करिब ४ लाख नेपाली रुपैयाँ बुझाएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान सुनिश्चित गर्न थप ४ लाख रुपैयाँ बुझाउनुपर्ने सर्त रहेको स्वीकार गरेका थिए ।

राजदूतावासको अनुसन्धानबाट ती परिवारहरू सन् १९८१ देखि नै भारतको देहरादुनस्थित तिब्बती बस्तीमा दर्ता रहेको र उनीहरूका बालबालिका पनि भारतमै जन्मेको प्रमाणित भएपछि भिसा आवेदन रद्द गरिएको ब्यहोरा राजदूतावासको पत्रमा उल्लेख थियो ।

भट्टराईले बयानमा के भनेका थिए?

आरोपी पुष्पराज भट्टराईले २०८२ माघ २३ गते गरेको बयानमा आफू सन् २००९ अगस्ट ४ मा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा राहदानी र यात्रा अनुमतिपत्र जारी गर्ने जिम्मेवारीमा कार्यरत रहेको स्वीकार गरेका छन् ।

तर, उनले बयानका क्रममा आफूले यात्रा अनुमतिपत्र प्राप्त गर्ने तेन्जिन नामग्याल चुङ्गोत्साङ लगायतका तिब्बती नागरिकहरूलाई नचिनेको, नदेखेको र कहिल्यै भेटसमेत नगरेको दाबी गरेका छन् ।

ती यात्रा अनुमतिपत्रहरू कसरी दुरुपयोग भए भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताएका थिए । यात्रा अनुमतिपत्रहरूमा आफ्नो दस्तखत जस्तो देखिए पनि ती दस्तखतहरू आफ्नो नभएको र कसैले खराब नियत राखेर आफ्नो दस्तखत अभ्यास गरी कीर्ते गरेको हुन सक्ने जिकिर उनले बयानमा गरेका थिए ।

प्रहरीले पेस गरेका सबुत प्रमाण

तर, उनको दाबीविपरीत प्रहरीले अनुसन्धानका क्रममा थुप्रै प्रमाण संकलन गरी अदालतमा पेस गरेको छ ।

तेन्जिन नामग्याल चुङ्गोत्साङ, तेन्जिन तेन्धार चुङ्गोत्साङ, पेन्त्शोग गोङ्दा साङ, छिमे गोङ्दा साङ र ङावाङ गोङ्दा साङका नाममा जारी भएका ५ थान सक्कल यात्रा अनुमतिपत्रहरू (नम्बरहरू क्रमशः ए०२६५१८, ए०२६५२३, ए०२६२२५, ए०२६२२६ र ए०२६२२७)लाई प्रहरीले प्रमाणको रूपमा पेश गरेको छ ।

त्यसैगरी, भिसा प्रक्रियाका क्रममा कैफियत देखिएपछि अनुसन्धानका लागि पठाइएको जर्मन राजदूतावासको पत्रलाई पनि प्रमाणको रूपमा पेश गरिएको छ ।

केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, महाराजगञ्जको परीक्षण प्रतिवेदनमा भट्टराईको नमूना हस्ताक्षर र विवादित यात्रा अनुमतिपत्रहरूमा रहेको हस्ताक्षरको लेखक एउटै व्यक्ति भएको अर्थात् ती हस्ताक्षरहरू पुष्पराज भट्टराईकै भएको प्रमाणीकरण भएको कुरालाई पनि अर्को प्रमाणको रूपमा पेश गरिएको छ ।

तिब्बती शरणार्थीहरूले उल्लेख गरेको काठमाडौंको बौद्ध ठेगानामा कुनै पनि तिब्बती शरणार्थी क्याम्प नरहेको भनी तिब्बती शरणार्थी शिविरको कार्यालयले पठाएको पत्रलाई पनि अर्को प्रमाणको रूपमा पेश गरिएको छ ।

अभियोगपत्रमा प्रतिवादी पुष्पराज भट्टराईले साविकको राहदानी ऐन, २०२४ को दफा ५ र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) बमोजिमको कसूर गरेको प्रमाणित भएको दाबी गरिएको छ ।

यस कसूरबापत उनलाई राहदानी ऐन, २०७६ को दफा २२ को उपदफा (१) बमोजिम २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा १ वर्षदेखि ३ वर्षसम्म कैद वा दुवै सजाय गर्न माग दाबी गरिएको छ ।

साथै, झुट्टा विवरण पेश गरी जारी गरिएका ती ५ थान यात्रा अनुमतिपत्रहरूलाई राहदानी ऐन, २०७६ को दफा १५ बमोजिम रद्द गर्न समेत माग गरिएको छ ।

अदालतमा मुद्दा पेश गर्दा प्रतिवादी भट्टराई फरार रहेको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्न समेत अदालत समक्ष माग गरिएको थियो ।

त्यसपछि नै सोमबार भट्टराई पक्राउ परेका हुन् ।

हेर्नुहोस्, अभियोगपत्र :

NAIMA

कमेन्ट गर्नुहोस्