
आगामी भदौ २६ गते (सेप्टेम्बर ११)देखि नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक प्रतिक्रिया पाएको छ ।
नेपालमा रिलिज हुनुअघि नै सात देशमा आयोजना गरिएका चलचित्रका विभिन्न शो ‘सोल्ड आउट’ भएपछि यसको विदेश प्रदर्शन थप व्यापक बन्ने भएको हो ।
निर्माण टिमका अनुसार चलचित्र अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, दुबई, कतार र बहराइनमा प्रदर्शन हुनेछ । ती देशमा रहेका नेपाली दर्शकमाझ चलचित्रप्रति उल्लेखनीय आकर्षण देखिएको जनाइएको छ ।
चलचित्रको अन्तर्राष्ट्रिय वितरण अस्ट्रेलियामा आशिस एन्ड नमस्ते इन्टरटेनमेन्ट, अमेरिका र क्यानडामा चलचित्र इन्टरटेनमेन्ट, बेलायतमा ९७७ इभेन्ट्स तथा दुबई, कतार र बहराइनमा साथीभाइ इन्टरटेनमेन्टले गर्नेछन् । निर्माण पक्षका अनुसार यी सबै बजारमा अग्रिम रूपमा आयोजना गरिएका शो प्रदर्शनअघि नै ‘सोल्ड आउट’ भएका छन् ।
सशान कँडेलको निर्देशन रहेको चलचित्रको कथा माधव शर्माले लेखेका हुन् भने सङ्गीत तथा प्रस्तुति अर्जुन पोखरेलको रहेको छ । चलचित्रमा पारस बम ठकुरी र दिव्या रायमाझी मुख्य भूमिकामा देखिएका छन् ।
चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन् । दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माताका रूपमा रहेका छन् भने शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता हुन् ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रले नेपालमा प्रदर्शन हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा राम्रो चर्चा बटुलेको छ ।
निर्माण पक्षका अनुसार विभिन्न देशमा अग्रिम शो ‘सोल्ड आउट’ हुनु प्रवासी नेपाली दर्शकमाझ नेपाली चलचित्रप्रतिको बढ्दो आकर्षणको संकेत हो । साथै, आगामी दिनमा अन्य देशमा पनि चलचित्रको प्रदर्शन विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ ।