
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई गैरकानूनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमती उमा प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिट सोमबार अदालतमा दर्ता भएको हो ।
भक्तपुरको मध्यपुर ठिमी वडा नम्बर ६ निकोसेरा बस्दै आएका ५७ वर्षीय दुर्गाप्रसाद प्रसाईंलाई जिल्ला प्रहरी परिसर, भक्तपुरले गैरकानूनी रूपमा नियन्त्रणमा लिएको रिटमा दाबी गरिएको छ ।
निवेदिका उमा प्रसाईंले दर्ता गराएको रिटमा नेपालको संविधानको धारा ४६ तथा धारा १३३ को उपधारा (२) र (३) बमोजिम बन्दीप्रत्यक्षीकरण लगायतका उपयुक्त आदेश जारी गरी प्रसाईंलाई गैरकानूनी हिरासतबाट तत्काल मुक्त गर्न माग गरिएको छ ।
निवेदनमा देशको अर्थतन्त्रमा देखिएको नकारात्मक सूचक, बढ्दो युवा पलायन र आर्थिक मन्दीको सन्दर्भ उल्लेख गर्दै 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान' मार्फत शान्तिपूर्ण नागरिक जागरण अभियान सञ्चालन गरिरहेको अवस्थामा गैरकानूनी रूपमा पक्राउ गरिएको जिकिर गरिएको छ ।